डा. बाबुराम भट्टराईले दिए ओलीलाई चुनौती:

डा. बाबुराम भट्टराई:

नेपालका केही पुराना शक्ति र नेताहरुले निराश भएका जनतामा आशा देखाएर आर्थिक-सामाजिक रुपान्तरणको दिशातिर लिएर जानुको सट्टा उल्टो काम गरिरहेका छन् । यो नेपालीहरुको समस्या अरु कसैले सिर्जना गरिदिएको हो र हाम्रो देशभित्रको कुनै अमूक समुदायले सिर्जना गरेको समस्या हो भनेर हाम्रा युवालाई भ्रमित पार्ने र क्षणिक लाभ लिने प्रयत्न गरिरहेका छन् ।

व्यक्तिसँग मेरो कुनै आग्रह होइन । ओलीजीसँग मेरो सदभावपूर्ण सम्वन्ध छ ।

राजनेता वा तानाशाह दुबै संकटमै जन्मन्छन्Baburam-bhattarai

समाज विकासका क्रममा जुन अन्तरविरोधहरु पैदा हुन्छन्, तिनको वस्तुसंगत ढंगले हल खोल्नुपर्छ । खासखास विन्दुमा एउटा सही वैज्ञानिक विचार र राजनेताहरु जन्मने गर्छन् । तिनले तत्कालका समस्या हल गरेर अग्रगामी निकास दिन्छन् ।

तर, इतिहासमा कहिलेकाँही यस्तो पनि हुन्छ कि त्यो अन्तरविरोधको वस्तुसंगत ढंगले हल गर्नुको सट्टा क्षणिक लाभ लिने, जनताको ध्यान अन्यत्र मोड्ने र आफ्ना अत्यन्त पिछडिएका सोच र चिन्तनमार्फत आफ्नो स्वार्थपूर्ति गर्ने नकारात्मक प्रवृत्ति पनि देखा पर्छन् ।

युरोपमा जतिबेला सामन्तवादका विरुद्ध पादरीहरु, राजा महाराजाहरुको निरंकुशता चरमचुलीमा थियो, त्यसविरुद्ध फ्रान्सेली क्रान्तिले एउटा अग्रगामी निकास दिने काम गर्‍यो । त्यो क्रान्तिले स्वतन्त्रता, समानता, भ्रातृत्वको नारा अगाडि सारेर समाजलाई अग्रगमनको दिशा दियो ।

त्यस्तै अमेरिकामा जुन दास प्रथा थियो, त्यसको उन्मूलन गरेर अमेरिकी समाजलाई अग्रगमनतिर लैजाने सकारात्मक भूमिका अब्राहम लिंकनले खेले ।

रुसमा युद्धले थकान भएको समाज थियो । वाक्क दिक्क भएर देश तहस-नहस भइरहेका बेला लेनिनले शान्ति, रोटी र समानताको नारा दिएर रुसी समाजलाई अगाडि लैजाने काम गरे ।

यस्ता केही मान्छेहरु इतिहासमा महान विचारक/राजनेता भएर आए भने अर्कोतिर जर्मनीमा हिटलर आए । पहिलो विश्वयुद्धमा जर्मनीको हारपछि जुनखालको असमान सम्झौता त्यहाँ लादियो र जर्मनीमा बेरोजगारी लगायतका समस्या चुलिँदै गए, त्यसलाई हिटलरले अत्यन्त नकारात्मक ढंगले पेश गरे । खासगरी यहुदीहरु, जो सफल ब्यापारी थिए, उनीहरुका कारणले गर्दा र त्यस्तै बाहिरबाट आएका मानिसहरुले गर्दा जर्मनीमा समस्या आयो भनेर हिटलरले चरम ‘जर्मन राष्ट्रवाद’को नारा उचाले र नाजीवादको नारा अघि सारे ।

हिटलरको सिद्धान्त नै ‘राष्ट्रिय समाजवाद’ थियो । अलिकति लेफ्ट कभर जस्तो पनि, अलिकति राष्ट्रवाद जस्तो पनि । तर, सारमा उनीबाट चरम नाजीवाद र फासीवादको अभ्यास भयो । त्यसले दोस्रो विश्वयुद्ध ल्यायो र जर्मनलाई तहस-नहस बनायो । लाखौं यहुदीहरु मारिए ।

यस्तै घटना मुसोलिनोको इटालीमा पनि भयो । पछि ल्याटिन अमेरिकामा पिनोसे लगायतका तानाशाहहरुले यस्तै गरे । विश्वमा यस्ताखालका नकारात्मक उदाहरणहरु देखिन्छन् ।

अहिले २१ औं शताब्दीको दोस्रो दशकमा आउँदा सन् १९०८ पछि जुन पुँजीवादी अर्थतन्त्रमा संकट देखापरेको थियो, त्यसको सकारात्मक समाधान निस्कन सकेको छैन । नकारात्मक समाधानका निम्ति कहिले इराक युद्ध, कहिले अफगानिस्तान युद्ध, कहिले सिरिया युद्ध गरेर विषयान्तर गर्ने काम मात्रै अमेरिकी शासकहरुले गरिराखे । यो बीचबाट अहिले डोनाल्ड ट्रम्प जस्ता विशुद्ध अराजनीतिक व्यापारी मान्छे अगाडि आएका छन् । र, उनले अमेरिकाको संकट भनेको बाहिरबाट आउने मेक्सिकन, एसियन, चाइनिजहरु हुन् र उनीहरुले रोजगारी खोसिदिएका हुनाले अमेरिकन गोरा युवाहरु समस्यामा परे भनेर यसरी भावनामा भड्काइदिए कि जनता नै भ्रमित भए । यही कारणले गर्दा कसैले अपेक्षा नगरेको चुनावी सफलता हात पारेर ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका छन् ।Baburam-bhattarai

अमेरिकाको संकट ट्रम्पको उल्टो बाटो

ट्रम्पले चाइनिज फर्मलाई बहिस्कार गर्ने, मेक्सिकनलाई आउन नदिने नारा दिइरहेका छन्, यो दिगो हुन सक्दैन

सबैले अहिले विश्लेषण के गरिरहेका छन् भने नकारात्मक ढंगले समस्यालाई तत्काल पपुलिष्ट तरिकाले विषयान्तर गरेर सत्तामा पुग्ने र अन्ततः एउटा गम्भीर संकट (युद्ध, सामाजिक संकट र अस्थिरता) तिर लिएर जाने यो एउटा प्रयत्न हो ।

अमेरिकाको अहिलेको जुन संकट हो, त्यो त एकाधिकार पुँजीवाद चरम सीमामा पुगेका कारणले भएको हो । एक प्रतिशत विरुद्ध ९९ प्रतिशत भन्ने नारा बढेको छ । अर्थात धनी एक प्रतिशतको हातमा यति धेरै सम्पत्ति केन्दि्रत छ कि बाँकी ९९ प्रतिशतले आफूलाई निकै संकटपूर्ण महसुस गरेका छन् । यसको वस्तुसंगत र वैज्ञानिक समाधान खोज्नुपर्छ । यसकै निम्ति थोमस पिकेटी लगायतका थोरै वाम कोणबाट विकल्प दिने कोशिस गरिरहेका छन् ।

तर, त्यसविपरीत डोनाल्ड ट्रम्पले चाइनिज फर्महरुलाई बहिस्कार गर्ने, मेक्सिकनहरुलाई आउन नदिने भन्ने नारा दिइरहेका छन् । यो पुँजीवादी अर्थतन्त्रको सिद्धान्त विपरीत छ र दिगो पनि हुन सक्दैन ।

नेपालको सन्दर्भः जनताको निराशामा खेल्ने प्रयास

पछिल्लो ७०/८० वर्षदेखि नेपालको राणाशाही, पञ्चायती निरंकुशता र राजतन्त्रविरुद्ध संघर्ष गरेर हामीले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍यायौं । तर, त्यो पुरै संस्थागत भइसकेको छैन । राजनीतिक परिर्वतनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक लाभ जनताले हासिल नगरिसकेको जुन अवस्था छ । र, यसले गर्दा जनतामा एक प्रकारको बेचैनी छ ।

यत्रो राजनीतिक परिर्वतन भयो, त्याग बलियान भयो, युद्ध भयो, क्रान्ति भए तर, त्यसको परिणाम त प्राप्त भएन भनेर गरिबी र बेरोजगारीको दुश्चक्रमा परेका जनता बेचैन भइरहेका छन् ।

यसलाई सकारात्मक निकास दिन प्रयास गर्नुपर्ने अहिलेको आवश्यकता छ । यो भनेको राजनीतिक परिर्वतनलाई टिकाउ बनाउने गरी आर्थिक-सामाजिक परिर्वतनको एजेण्डा तीव्ररुपमा अगाडि बढाएर देशभित्र जातीय क्षेत्रीय विविधतामा एकता कायम गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । र, यही नै सकारात्मक निकास पनि हो ।

देशको अहिलेको ठूलो समस्या भनेको यति ठूलो राजनीतिक परिर्वतनपछि यी उपलब्धिलाई संस्थागत गरेर छिटोभन्दा छिटो आर्थिक सम्वृद्धिको दिशामा लिएर कसरी जाने भन्ने हो । देशभित्रको जातीय, क्षेत्रीय विविधतालाई समेटेर इन्द्रेणी राष्ट्रिय एकता कायम गर्नु आजको आवश्यकता हो ।

तर, यतातिर नगई उल्टै यो समस्या भनेको मधेसी, आदिवासी जनतातिका कारण उत्पन्न भएको हो, अथवा कुनै कुनै बाहृय शक्तिले सिर्जना गरिदियो भनेर समस्याबाट उम्कने र क्षणिक लाभ लिने प्रवृत्ति देखा पर्दैछ, जुन अन्त्यन्त हानीकारक छ ।

त्यस्तो उल्टो सोचाइ राख्नेहरुले तत्काल मानिसहरुलाई भ्रमित पारेर चुनावी लाभ लिन सक्लान्, अन्ततः यसले देशको हित गर्दैन । र, यसबाट डरलाग्दो जातीय, क्षेत्रीय द्वन्द्व हुने र देश अस्थिरतामा फस्ने खतरा हुन्छ । त्यसकै लाभ लिएर विदेशी शक्तिहरुले अझ बढी खेल्ने र हस्तक्षेप हुने खतरा पनि हुन्छ ।

यस्तो इतिहासका खासखासका मोडहरु क्षणिक, छुद्र, व्यक्तिगत, दलगत स्वार्थ हेरेर होइन, राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजनेता बन्ने कोशिस नेताहरुले गर्नुपर्छ । र, जनताले पनि कुनै नेता वा शासकले क्षणिक चर्का कुरा गरेर ध्यान अन्यत्र मोड्न खोज्यो भने त्यसप्रति सतर्क भएर आफ्नो समाज र देशको हितलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । यो नै आजको आवश्यकता हो ।

राजतन्त्र वाम कभरकोओलीज्मवीच गठबन्धन

नश्लवाद वाम र दक्षिण दुबै कभरमा आउँछ । जर्मनीमा वाम कभरभित्र राष्ट्रियता र वामको घालमेल गरेर नाजीवादका रुपमा आयो भने अमेरिकामा श्वेत राष्ट्रवादको नेतृत्व गरेर ट्रम्प आइरहेका छन् । रुप पक्षमा अन्तर होला तर, सारमा त्यसले गर्ने भनेको देशमा ठूलो विग्रह ल्याउने नै हो । ठूला शक्तिहरुका कारण अन्तराष्ट्रिय रुपमा ठूलो नोक्सान हुने खतरा रहन्छ । म त्यसैको सम्भावना बढी देख्छु ।

नेपालको सन्दर्भमा भन्नु पर्दा दक्षिणपन्थ कमजोर हुन गयो, किनभने मूलतः राजतन्त्रले त्यसको नेतृत्व गरेको थियो । अहिले लोकतान्त्रिक-गणतान्त्रिक आन्दोलनका कारण राजतन्त्रकै कभरभित्रबाट अब यो शक्ति आउन गाह्रो छ । यस्तो अवस्थामा राम्रो आधार भएको वामपन्थको कभरभित्र त्यही दक्षिणपन्थी सार बोकेको चिन्तन अगाडि आउन खोजेको छ, यो अत्यन्त घातक छ ।

अहिले पनि नेपालमा पश्चगामी शक्तिहरुले पुरानै कुराहरु गर्छन् । नेपाललाई एकल जातीय राष्ट्रका रुपमा परिभाषित गर्छन् । सुघौली सन्धीयता भारतसँग निरन्तर असमान सम्वन्ध छ, त्यसलाई बदलेर सही अर्थमा स्वाधीन र आत्मनिर्भर नेपाल बनाउने आर्थिक नीति लिन नसक्ने र उल्टै तिनै बाहृय शक्तिको व्यापारिक पुँजीसँग आर्थिक स्वार्थ जोडेर आर्थिक लाभ लिने काम गर्छन् । तर, उनीहरु जनतालाई छल्न राष्ट्रवादको कुरा गर्छन् । पञ्चायत कालमा जे गरियो, त्यो नै पछिल्लो चरणमा ज्ञानेन्द्र र केही पूर्वपञ्चहरुले गर्न खोजे । तर, त्यो शक्तिको आकार धेरै खुम्चिइसक्यो ।

नेपालको बहुजातीय यथार्थतालाई अस्वीकार गर्दै एकल जातीय राज्यको परिकल्पना गर्नु भनेकै प्रकारान्तरमा राजतन्त्र/ सामन्तवादलाई ल्याउनु हो । किनकि राजतन्त्रको आधार भनेकै एकल जातीय अहंकारवादमा आधारित थियो । त्यसैले यी दुबै (राजतन्त्र र ओलीज्म) मा स्वतः ‘नेचुरल अलाएन्स’ भइहाल्छ ।

केपीजी त मुखौटा (नाम) मात्र हो । एजेण्डा त राजतन्त्रकै हो । त्यसैले यो खतरनाक छ । राजतन्त्रको नाममा जनताले स्वीकार नगर्ने भएकाले वाम खोलभित्रबाट त्यो एजेण्डा ल्याइयो भने जनता भ्रमित भएर केही समय पछाडि लाग्न पनि सक्छन् । त्यसरी आएको हुन सक्छ यो ।

अहिले हामीले कुनै व्यक्ति वा पार्टी विशेषविरुद्ध बोल्नुभन्दा पनि नेपालको जुन समस्या छ, त्यसको वास्तविक समाधान खोज्नुपर्छ । यसका निम्ति-

पहिलो, देशभित्रका विभिन्न जाति र क्षेत्र समुदायबीच एकता कायम गर्ने गरी नेपालको राष्ट्रियतालाई इन्द्रेणी राष्ट्रियताका रुपमा परिभाषित गरेर जानुपर्छ ।

दोस्रो, आर्थिकरुपमा जुन चरम परनिर्भरता छ, त्यसकै कारण नाकाबन्दी जस्ता समस्या भोग्नुपरेको छ । यसको अन्त्यका निम्ति सबल अर्थतन्त्र विकास गर्नुपर्छर् । भारत र चीन दुबैसँग गतिशील पुलका रुपमा, आर्थिक पुलका रुपमा विकास गरेर देशलाई आर्थिक रुपले अन्तरनिर्भर बनाउने र देशलाई सम्वृद्धिको दिशामा लैजाने काम गर्नुपर्छ ।

हाम्रा बेरोजगार युवाहरुको संख्या बढ्दो छ । उनीहरुमा असन्तुष्टि र निराशा फैलँदो छ । यसका निम्ति देशभित्र औद्योगीकरण तीव्र गरेर ठूलो पैमानामा रोजगारी सिर्जना गर्नुपर्छर् । यो नै आजको आवश्यकता हो ।

तर, यसलाई विषयान्तर गरेर देशभित्रैकै एउटा समुदायका जनतालाई दुस्मन बनाएर ध्यान अन्यन्त्र मोड्ने प्रयत्न भइरहेेको छ, जो ओलीज्मका रुपमा आउन खोजेको छ । यो बडो घातक हुन्छ । यसलाई बेलैमा रोक्न सक्नुपर्छ ।

म त सुगौली सन्धीदेखिकै परनिर्भरता अन्त्य गर्नुपर्छ भनेर लड्दै आएको मान्छे हुँ, ओलीजीसँग यसको के समाधान छ ? आउनुस् टुँडिखेलमा उभिएर घन्टौं बहस गर्न तयार छु

ट्रम्पले जसरी नेपालमा चुनाव जित्न गाह्रो

ट्रम्पले जसरी नश्लीय कुरा गरेर हामीकहाँ चुनाव जित्न त्यति सहज छैन । किनभने बहुसंख्यामा कुनै पनि जाति छैन । सबै अल्पसंख्यामा छन् ।

नयाँ शक्तिले परिकल्पना गरेका तीनवटा जातीय क्लस्टरहरु छन्, खसआर्य, आदिवासी-जनजाति र मधेसी थारुको एक तिहाइ जनसंख्या छ । एउटाको मात्रै पक्ष लिएर देशको राजनीति गर्छु भन्ने वस्तुसंगत देखिँदैन । त्यसैले त्यो अन्ततः असफल त हुन्छ नै, तर पछिल्लो चरणमा सत्ता र विकासको लाभ लिएको शहरीय मध्यम वर्गको भावना भड्काएर क्षणिक लाभ लिने हुन सक्छ । तर, यो दिगो भने हुँदैन ।

बाहृय शक्तिको हस्तक्षेप छ भनेर हामी सबैले बुझेका छौं । तर, त्यसको अन्त्य गर्ने तरिका भनेको हाम्रो देशभित्रका जातीय, क्षेत्रीय समुदायका जनतालाई एकतावद्ध गर्ने हो । त्यसपछि गरिबी, बेरोजगारी र आर्थिक परनिर्भरता अन्त्य गरेर अन्तरनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने र सम्वृद्धिको दिशामा लिएर जाने । नयाँ शक्ति नेपालले यसकै प्रयन्त गरिरहेको छ । तर, पुराना राजनीतिक शक्तिहरु र मुख्यतः ओलीजीले फेरि यो विषयलाई ट्रम्पले जस्तै अन्तै मोडेर चुनावी लाभ लिने प्रयत्न गरेको देखिएको छ । यो अन्त्यन्त खतरनाक छ र हामी सबै सचेत हुनुपर्छ ।

भारतीय हस्तक्षेप रोक्ने ओलीजीसँग समाधान के ?

जहाँसम्म भारतीय हस्तक्षेपको कुरा छ, अमूक नाकाबन्दीसँग मात्रै जोडेर यसलाई हेर्न हुँदैन । यो सुघौली सन्धीदेखिकै निरन्तरता हो, जुन बेलाबखत प्रकट हुन्छ ।

यसको सार भनेको नेपाल आर्थिकरुपमा भारतको अर्धउपनिवेशका रुपमा गाँसिन पुग्यो र आर्थिकरुपले क्रमशः झन बढी आर्थिक परनिर्भर हुनुपुग्यो, त्यसकै परिणाम स्वरुप भएको अभिव्यक्ति हो नाकाबन्दी । सच्चा देशभक्त र राष्ट्रवादीले यसलाई बदल्नेतिर पो लाग्नुपर्छ । त्यसलाई के कदम चालियो भने बदल्न सकिन्छ भनेर सच्चा देशभक्त र राष्ट्रवादीले हेर्नुपर्छ ।

तर, यसलाई बदल्नेतिर कदम नचाल्ने, आर्थिक परनिर्भरतालाई अन्त्य गर्न सिन्को नभाँच्ने र कुनै कार्यक्रम पनि नल्याउने तर, उही फटाहा गोठालोले बाघ आयो, बाघ आयो भनेर ढाँटेजस्तो गर्ने । हाम्रा प्रत्येक शासकले यस्तै गर्दै आएका छन् । अहिले ओलीजीले पनि यही गर्नुभएको छ । यो नेपालको हितमा छैन ।

संविधान संशोधन त हाम्रो आन्तरिक मामिला हो । हामीले आन्तरिक समस्या हल गर्न नसकेको हो कि संघीयता र संविधान संशोधन नै भारतले उठाएको हो ? यसमा हामी प्रष्ट हुनुपर्‍यो ।

राज्य पुनर्संरचना र संघीयता त माओवादी जनयुद्ध, मधेस आन्दोलनले उठाएको हो । यसलाई संविधानमा ठीक ढंगले सम्बोधन गर्न नसक्दा मधेसमा आन्दोलन भयो र त्यसको लाभ लिएर भारतले नाकाबन्दी लगाउन पुग्यो । त्यसैले यसको समाधान भनेको आदिवासी जनजाति, मधेसी थारुको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने, राष्ट्रियता कायम गर्ने र भारतले गर्न चाहेको हस्तक्षेप रोक्ने । यो पो हो त सुल्टो तरिका ।

म त सुगौली सन्धीदेखिकै परनिर्भरता अन्त्य गर्नुपर्छ भनेर लड्दै आएको मान्छे हुँ । ओलीजीसँग यसको के समाधान छ ? म त प्रष्टै भनिरहेको छु, भारत र चीनको गतिशील पुलका रुपमा नेपाललाई पुनर्परिभाषित गरौं । र, अर्थतन्त्रलाई यस्तो अन्तरसम्वन्धित ढंगले विकास गरौं कि भारत र चीन दुबैको लगानी आओस्, र दुबैको बजारको लाभ हामीले लिन सकौं । नेपालको आर्थिक सम्वृद्धि पनि होस् र स्वानीधताको व्यवहारतः रक्षा पनि होस् । यो पो सुल्टो बाटो हो । यसमा के खोट छ ? आउनुस् टुँडिखेलमा उभिएर घन्टौं बहस गर्न तयार छु ।

baburam-1.jpg-bbb

 

photo

NOC1-250x300