चेम्जोङको कालो आकाश सार्वजनिक

उपन्यासकार इक्साहाङ चेम्जोङको दोस्रो उपन्यास ‘कालो आकाश’ सार्वजनिक भएको छ । 

बिहीबार राजधानीमा आयोजित एक समारोहबीच लेखक तथा टिप्पणीकार युग पाठक, कवि बिमला तुम्खेवा साहित्यकार तथा पत्रकार चेतनाथ धमला र एनआरएन मलेसियाका महासचिव सुन्दर आलेले सयुक्त रुपमा उपन्यास विमोचन गरेका हुन् ।

“यस उपन्यासमा चेम्जोङले लिम्बू समुदायको काँचो माटोलाई उतारेका छन्,” उपन्यास विमोचनका क्रममा पाठकले भने, “लिम्बू संस्कृति र मिथकका क्षेत्रमा पौरवी गर्ने जोकोहीका लागि यो उपन्यास एउटा सन्दर्भ सामग्री भएको छ ।” 

त्यसैगरी कवि तुम्खेवाले लिम्बू समुदाय भित्रका यावत सुख–दुःखलाई उपन्यासमा मिहिन र गहन ढङ्गले बुनिएको बताइन् । 

“प्रेम कथामा आधारित रहेर चेम्जोङले लिम्बू समुदायका सजिला र अफ्ट्याराहरुलाई उपन्यासमा बुनेका छन् ।” उनले भनिन् ।  

यसअघि ‘अनर्थ प्रेम’ उपन्यास लेखिसकेका चेम्जोङको यस दोस्रो उपन्यास काङ्सोरे मिडियम प्रालिले प्रकाशन गरेको हो । 

२ सय मूल्य राखिएको १ सय ४३ पृष्ठ समाविष्ट यस उपन्यास बिक्रीबाट प्राप्त सम्पूर्ण रकम वृद्धा आश्रय घरलाई प्रदान गरिने काङ्सोरे मिडिया प्रालिका मिलन लिम्बूले बताए ।

 

photo

NOC1-250x300