चुनाव हारेका राणाले कमल थापासँग भने–‘नेतृत्वलाई सजग गराउँछु।

काठमाडौं, फागुन १०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापासँग २ हजार ५ सय ५३ मतले पराजित प्रदीपविक्रम राणाले हिन्दु राष्ट्र र प्रजातन्त्रसहितको राजतन्त्रको सवालमा आफूले नेतृत्वलाई सजग गराइरहने बताएका छन्।

लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीजस्ता दिग्गज नेताहरूले मैदान छोडेपछि अप्रत्याशित रुपमा कमल थापाविरूद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएका राणाको चर्चा अहिले पार्टी भित्र चुलिएको छ।

हिजोसम्म कसैले नचिनेका काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष राणाले पार्टीको अध्यक्ष पदमा ल्याएको २ सय ५१ मतलाई लिएर पार्टीभित्रका दिग्गज नेताहरू पनि चकित परेका छन्। पार्टीको केन्द्रियस्तरका नेताहरूले यस निर्वाचनमा एक महिनादेखि नै चुनावी अभियानलाई तीब्र बनाएका थिए। उनीहरू ४ दिनअगाडि देखि निर्वाचन क्षेत्रमा आफ्नो पम्प्लेट र प्रचार–प्रसार गर्न व्यस्त थिए।

तर, निर्वाचन अगाडिसम्म कुनै प्रचार–प्रसार नगरेका र एउटा पम्प्लेट पनि नटाँसेका राणाप्रतिको आकर्षणलाई लिएर पार्टी भित्र खैलाबैला मच्चिएको छ। ‘हामीले कल्पना पनि गरेका थिएनौ। पार्टीका तीन दिग्गज नेताले सर्वसहमती गरेको अवस्थामा पनि उनले यति मत ल्याउँछन भनेर’, केन्द्रिय सदस्यका एक प्रत्यासीले कुरा बाहिर ल्याएका थिए ।

राणाले अध्यक्ष पदमा थापासँग पराजित भएपछि भने–‘मेरो काम अब पार्टीको विचारधारालाई व्यवहारिकरूपमा प्रजातन्त्रसहितको राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने दिशातर्फ अग्रसर हुनेछ।’ उनले भने छोटो कुराकानी गर्दै ५ विकाश क्षेत्रलाई ५ संघीय प्रदेश बनाउनु पर्ने, त्यो भन्दा थप्न नहुने एजेन्डालाई पार्टीभित्र जोडदार रुपमा उठाउने बताए।

राणाले प्रजातान्त्रिक अभ्यासमा आफू हारेकोमा यसलाई सहजरुपमा लिएको बताए। ‘मेरो अबको खबरदारी पार्टीको एजेन्डा लागु गराउनेमा केन्द्रित हुनेछ।’

राप्रपाको सोमबार सकिएको अध्यक्ष पदको निर्वाचनमा ३ हजार १ सय २६ मत खसेको थियो। जसमा ८१ मत बदर भएको थियो। निर्वाचनमा अध्यक्षका प्रत्यासी कमल थापाले २ हजार ८ सय ४ मत ल्याएर विजयी भएका थिए। राणाले २ सय ५१ मत ल्याएका थिए।

 

photo

NOC1-250x300