गेरुवस्त्र लाउनेलाई धर्मका नाममा अधर्म गर्ने छुट छैन (टिप्पणी)

बबिता ढकाल

सन्त त्यस्ता व्यक्तिलाई भनिन्छ, जसले सत्यको अनुशरण गर्छन्, आत्मज्ञानी हुन्छन् । यो कोटीमा सन्त कवीर दास, सन्त तुलसीदास, सन्त रैदास आदीका नाम आउँछन् । सन्त शब्द ‘सत्’ शब्दको कर्ताकारक बहुबचन हो । यसको अर्थ साधु, सन्यासी, त्यागी पुरुष वा महात्मा हुन्छ ।

अहिले ‘सत्’ हराएको छ । अब सन्तको परिभाषालाई कसरी बुझ्ने ?

आफुलाई सन्त हुँ भन्ने र आफ्नो नामको जप गर्न लगाउनेको लामै लर्काे छ यो समाजमा । यो लर्काे विशेषगरि नेपाल र भारतमा धेरै हदसम्म फैलिएको छ । प्रायः हिन्दु धर्मका अनुयायी भनिनेहरु पतित बन्दै गइरहेका छन् । ख्रिष्टियानीटीको महान पास्टर, एल्डर बन्नेहरु स्खलित भइरहेका छन् ।  धर्मकै खोल ओढेर अधर्म गर्नेहरुले समाज दुषित बनाइरहेका छन् । धर्मको सारतत्वलाई ब्यापार गर्नेहरुको मोहजालका पछाडि हामी अन्धभक्त भै लागेका पनि छौं ।

हिन्दु संस्कारमा अनुयायी भनेका आफ्ना सन्तान जस्तै मानिन्छन् । तर सबै सन्त र सिद्धबाबा भनिएका कहाँ अभिभावक हुन्छन् र ? धर्म र संस्कारको प्रवचन दिएजस्तै संस्कारित हरेक काहाँ हुन्छन् र ? सन्तको खोल ओढेका धेरै बाबाबाट धेरै अनुयायीहरु पीडित छन् ।

धर्मको कुरा गर्दा काल माक्र्सले भनेका छन्, ‘धर्म भनेको उत्पीडित वर्गको सिंङ हो, मुटुविहीन संसारको मुटु हो र आत्माहीन समाजको आत्मा हो ।’ उनले धर्मलाई अफिमसँग तुलना गरेका छन् । काल माक्र्सले मात्रै होइन, हेगेलले पनि धर्मलाई राज्य र समग्र संसारको मेरुदण्डका रुपमा व्याख्या गरेका छन् । हुन त अहिले दुबै यो संसारमा छैनन् तथापी धर्मको यो विभेद र विवाद संसारभरि कायम नै छ ।

कोही धर्मका आडमा शासन गर्न चाहन्छन्, कोही व्यापार गर्न चाहान्छन् । त कोही धर्मकै खोल ओढेर अपराध गर्छन् । अहिले त योग र धर्मलाई जोडेर पनि हेर्ने गरीएको छ । आध्यामिक चिन्तनलाई पनि धर्मका रुपमा हेरिन थालिएको छ ।

हिन्दुमात्र नभई अन्य धर्महरु पुस्तौंसम्म एउटा धर्मगुरु अनि उनका हाँगा, अनुयायी र पछ्याउने बिचारहरुको आडमा चलेको छ । धर्मका नाममा बाबाहरुको कमि नेपालमा पनि कहाँ छ र ? धर्मका नाममा खेती गर्नेहरुको कमी छैन हाम्रो समाजमा । धर्मको नाममा महिलालाई भोग गर्नेहरुको कथा पनि छ हाम्रै समाजमा । कोही त आफ्नो अपराध लुकाउन कर्मको खोल ओढेर तपस्यामा लिन भएको स्वाङ पनि गर्छन् ।

यस्ता ढोंगी बाबाहरु मध्ये केही समाज सामु नाङिदै जाँदा धर्मका आडमा ताण्डव मच्चिएको प्रष्ट हुँदै गएको छ । भारतमा सन्त महन्तका रुपमा  महिला अनुयायीहरुलाई यौन दुव्र्यवहार गरेर जेल परेका धेरै उदाहरण छन् । आशाराम बापुदेखि, रामरहिम, सन्त रामपालसम्मका कर्तुतले धर्मका नाममा केके हुँदो रहेछ खुल्दै गइरहेको छ ।  पछिल्लो समय यस्ता घटना नेपालमा पनि घट्न थालेका छन् ।

आफुलाई स्वयं ‘सिद्धबाबा’ घोषणा गरेका सुनसरी बराहक्षेत्रका कृष्ण बहादुर गिरीले महिला अनुयायीमाथि बलात्कार गरेको आरोप छ । छविलाल गिरीका कान्छी श्रीमतीबाट २०३७ सालमा सोलुखुम्बुमा जन्मिएका कृष्ण गिरीले त्यहीँको स्थानीय विद्यालयमा कक्षा सातसम्मको पढाई सकेपछि घर छोडेर हिँडेको ६ वर्षपछि सन्तको भेष धारण गरेको बताइन्छ । गेरु वस्त्र धारण गरी घर आउनु अघि उनले ६ पेज लामो पत्रसमेत लेखेका थिए । जसमा उनले आफुले भारतको विश्वविद्यालयमा वेदाचार्य गरेको, आयुर्वेदमा आचार्य गरेको, जर्मनको विश्वविद्यालयमा स्नातकोत्तर गरेको दाबी गरेका छन् ।

घर छाडेर भौंतारिएको ६ वर्षमै उनले विश्वविद्यालयबाट कसरी डिग्री हासिल गरे ? कसरी जर्मन सम्म पुगे ? आयुर्वेदका ज्ञाता कसरी भए ? प्रश्नहरु अनुत्तरित छन् ।

डेढ दशकअघि चतरा आएका कृष्ण बहादुर उर्फ कृष्णदास गिरीले सरकारी जग्गा नै कब्जा गरी धर्मको नाममा ब्यापार गर्दा उनको विगत नहेरी अनुशरण गर्ने जमात ठूलो छ । रामनाम जप्दै गेरुवस्त्र धारण गरेका कथित ‘सिद्धबाबा’ले राष्ट्रका ठूल्ठूला ब्यक्तिलाई सम्म झुकाउने सामथ्र्य राखेका छन् । चतरामा उनले धर्मका नाममा गर्ने धार्मिक अनुष्ठानमा राष्ट्रपतिदेखि प्रधानमन्त्री, ठूल्ठूला राजनीतिक दलका नेतालाई सम्म उभ्याउन सकेका थिए । तर, नारीको अनुहार सीधा हेर्दापनि पाप ठान्ने सन्तलाई बलात्कारकै आरोप लागेपनि समग्र हिन्दुधर्म प्रति नै आघात पुगेको छ ।

‘सिद्धबाबा’का काण्ड यतिमात्र छैन । यीनले चारवर्ष अघि इटहरीस्थित बालग्रामका दुई बालिकालाई पढाउने बहानामा आश्रममै यौन शोषण गरेको घटना सार्वजनिक भएको थियो । तर, त्यो घटनालाई शक्तिको आडमा लुकाइयो ।

आयुर्वेदका जानकार गिरीले शक्तिबद्र्धक जडिबुटी खाएर महिला अनुयायीलाई समेत जडिवुटी खुवाएर लठ्याउने, कामवासना जागृत गराउने गरेको भनिन्छ । महिला अनुयायीसँगको उठवसको विवादमा आफ्नै भाई एनकुमार गिरीलाई कुटेका कथित ‘सिद्धबाबा’को चरित्र कस्तो थियो होला ? अनुमान मात्रै लगाउन सकिन्छ ।

उनले बराहक्षेत्रको सुनसरी मोरङ सिंचाई आयोजनाको १३ बिघा जग्गा कब्जा गरेर सुरुमा आर्युवेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको भनिएपनि त्यहाँ अपराधकर्म मात्र हुन्छ भन्ने सिद्ध हुँदै गएको छ । उनले शिविर सम्पन्न भइनसक्दै घेराबारा गरेर  मन्दिर, हनुमानको प्रतिमा, रामनन्दचार्य सेवा पीठका भवनहरु धमाधम निर्माण गरी शक्तिको आडमा सरकारी सम्पत्तिको दोहन गरेका छन् ।

यसरी धर्मको आडमा समाजलाई भ्रमित गराउनेहरुको कूकर्म हाम्रै आँखा अगाडी छर्लंग भइरहँदा हामी चैं उनीहरुकै अन्धभक्त हुनु भनेको समाज र राष्ट्रको निम्ति ठिक हैन । धर्मको आडमा बारम्बार अधर्मीहरुको जन्म हुन्छ, अधर्मीहरुको कारण समाज विग्रन्छ भने, त्यस्तालाई सजाय दिनु राज्यको कर्तब्य हो । तर, यहाँ त राज्य नै धर्मका नाममा अधर्म फैलाउनेका पक्षमा नतमस्तक छ ।

धार्मिक अपराधीहरुलाई संरक्षण गर्दै जाने हो भने धर्म र आस्थाका नाममा महिला मात्र हैन समाज र राष्ट्र नै बलात्कृत भइरन्छन् । यस्ता धार्मिक अपराधीलाई समाजमा गेरुवस्त्र धारण गरेर बस्ने अधिकार छैन । जसरी एउटा विग्रेको आलुलाई बोरामा राख्दा सम्पूर्ण आलु विग्रिन्छ, त्यसरी नै धर्मका नाममा कलंकितहरुलाई समाजमा खुलेआम छाड्दा समाज नै दुषित हुन्छ । अहिले ‘सिद्धबाबा’का कर्तुतले प्राचिन हरिद्धार बराहक्षेत्र चतराधाम दुषित भइरहेको छ । त्यसलाई अब सफा गर्ने बेला आएको छ ।

नोट : मकालु खबरबाट साभार गरिएको ।

 

photo

NOC1-250x300