क्यासिनोमा प्रवेश निषेधको असर : जुवा खेल्न नेपाली विदेश धाउँदै

वैदेशिक रोजगारी, अध्ययन, भ्रमण र कामविशेषले नेपाली विदेश जानुलाई स्वाभाविक मानिन्छ । तर, जुवा खेल्न नेपाली विदेश जान्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । ‘क्यासिनो प्रवेशमा रोक लगाइएपछि सालिन्दा हजारौं नेपाली जुवा खेल्न विदेश जाने गरेका छन्,’ क्यासिनो र्याड कार्यकारी निर्देशक प्रसन्नमान श्रेष्ठले भने, ‘भारतको गोवा, सिक्किम, श्रीलंका, मलेसिया, मकाउ र सिंगापुरसम्म पुगेर नेपाली जुवा खेलिरहेका छन् । जुवा खेल्न जति विदेशी नेपाल आउँछन्, त्योभन्दा बढी नेपाली विदेश पुगेर खेलिरहेका छन् ।’ विदेशसम्म पुगेर जुवा खेल्दा नेपाली पैसा बिदेसियो । नेपाली पैसा विदेश पठाउने वातावरण कसरी बन्यो ? यतातिर कसैको ध्यान गएको छैन । जसरी पनि नेपाललाई नै घाटा भइरहेको छ ।prasanna-man-shrestha-1-768x498

पर्यटन प्रवद्र्धन गर्ने ‘प्रडक्ट’ मध्ये क्यासिनो पनि एक मानिन्छ । दुई सय डलर बुझाएपछि सिंगापुरका नागरिक क्यासिनो प्रवेश गर्न पाउँछन् तर नेपालमा त्यस्तो व्यवस्था छैन । व्यवस्था नहुँदा जुवा खेल्न नेपाली विदेश धाइरहेका छन् । क्यासिनो र्याड कार्यकारी निर्देशक श्रेष्ठको मान्यता छ, ‘मापदण्ड बनाएर राम्रो आयस्रोत भएकाले क्यासिनो प्रवेश गर्ने प्रावधान बनाइए नेपाली पैसा नेपालमै होल्ड गर्न सकिन्थ्यो ।’

राम्रो आयस्रोत भएका नेपालीले क्यासिनो खोलेका छन् । पाँचतारे होटलका सुविधामध्ये क्यासिनो पनि एक हो । ‘जोकोही नेपाली पाँचतारे होटल पसेर खान सक्छन् भने उनलाई त्यहींभित्र खुलेको क्यासिनो प्रवेशमा किन रोक्नु ? उनी सोध्छन्, ‘सम्बन्धित व्यक्तिसँग क्षमता छ भने क्यासिनो प्रवेश गर्न किन नपाउने ?’

निश्चित श्रेणीका मानिसलाई क्यासिनो प्रवेश दिनू भनी सरकारले नीति बनाउनुपर्ने क्यासिनो सञ्चालकहरूको भनाइ छ । १०÷२० हजार कमाउनेले क्यासिनो छिर्ने आँट गर्दैनन् । जोसँग कमाउने बाटो छ, जसले मासिक करोडौं रुपैयाँ करमात्रै तिर्छ भने उसले क्यासिनो प्रवेश गरेर के भो त ? यसप्रति सरकारको दूरदृष्टि नहुँदा नेपाली विदेश पुगेर जुवा खेल्न बाध्य छन् । क्यासिनोले ‘रेभेन्यु जेनेरेट’ गर्छ । सरकारलाई ‘सपोर्ट’ गर्छ । पर्यटनसँगसँगै फुटकर व्यापारीको आयआर्जन बढाउँछ ।
जुवा खेल्न ५० हजार पर्यटक नेपालमा

पहिले सालिन्दा तीन लाख विदेशी पर्यटक जुवा खेल्नकै लागि नेपाल आउँथे । तीमध्ये अधिकांश भारतीय थिए । भारतमै क्यासिनो खुलेपछि उनीहरू उतै रहे । जुवा खेल्न कमै आउन थाले । श्रेष्ठले सुनाए, ‘पछिल्लो समय जुवा खेल्न वर्षभरिमा ५० हजार पर्यटक पनि नेपाल आएका छैनन् ।’

संवत् २०७० वैशाख ६ सम्म नेपालमा १० क्यासिनो सञ्चालनमा थिए । वैशाख ७ बाट सबै क्यासिनो बन्द भए । अहिले पाँचवटा मात्रै खुलेका छन् । क्यासिनो नियमावली जारीपछि क्यासिनो उद्योगमा लगानी गर्न चाहनेहरू तर्सेका छन् । क्यासिनोलाई जुन तरिकाले सञ्चालन गर्नुपर्ने हो, त्यो किसिमले चलाउन सकिएको छैन । पाँच क्यासिनोका लागि ५० हजार पर्यटक हात्तीको मुखमा जिरासरह हो ।

एउटै क्यासिनोले ६÷७ सयजनालाई रोजगारी दिएको छ । विदेशी पर्यटक आएनन् भने ६/७ सयजनालाई कसरी रोजगारी दिने ? क्यासिनो र्याड कार्यकारी निर्देशक श्रेष्ठले दुःखेसो पोखे, ‘क्यासिनोमैत्री नियमावली नहुँदा आफ्ना स्टाफलाई मासिक तलब खुवाउनसमेत धौ/धौ परेको छ । होटल र सरकारलाई पैसा तिर्ने त परको कुरा भयो । क्यासिनो सञ्चालकको खल्ती रित्याएर जेनतेन धानिरहेका छौं ।’ रोजगारीमा मात्रै नभएर यसको असर साना व्यापारीमा समेत परेको उनले औंल्याए । क्यासिनोले समाजमा धेरै मानिस स्थापित भएको बताउने उनको ठम्याइ छ, ‘त्यसलाई दृष्टिगत गर्दै सरकारले नीति बनाइदिए क्यासिनोको भविष्य धेरै राम्रो छ ।’

जुवा खेल्न नेपाल आउने चिनियाँ बढी

चीनको मकाउलाई क्यासिनो सिटीका रूपमा नमुना देश मानिए पनि जुवा खेल्न नेपाल आउने चिनियाँ नागरिक बढी रहेका छन् । त्यसपछि भारत, बंगलादेश, पाकिस्तानबाट धेरै कम र आक्कलझुक्कल अमेरिकी र बेलायती नागरिक आउने गर्छन् । उनीहरू नेपाल आएको बेला क्यासिनो प्रवेश गरेजस्तोमात्रै गर्ने गरेका छन् ।
गोवाको विकासमा क्यासिनोको देन

गोवाको विकास क्यासिनो उद्योगबाट सम्भव भएको हो । गोवा पुगेर भर्खरै फर्केका श्रेष्ठको दाबी छ, ‘विकासको दृष्टिले युरोपियन कन्ट्रीभन्दा गोवा कम छैन ।’

नेपालमा पनि क्यासिनो उद्योग व्यवस्थित गर्न सके ‘रेभेन्यु जेनेरेट’ गरी मुलुकको विकासमा खर्चन सकिन्छ । ‘यो कुरा सरकारमा बस्नेले सोच्न आवश्यक छ,’ उनको बुझाइ छ, ‘हामीसँग पर्यटनमार्फत अघि बढ्ने बाटो प्रशस्त छन् । तर, सरकारी नीति कहाँ छ त ? सरकारले क्यासिनोमैत्री नीति बनाएर क्यासिनो उद्योग तथा पर्यटन व्यवसायलाई नेपालको आयस्रोतको मुख्य आधार बनाउन जरुरी छ ।’casino

क्यासिनोबाट करोडौं कमाउने भाग्यमानी

क्यासिनोमा जागिर खाएर करोडौं कमाउन सकिँदैन तर कुनै न कुनै रूपमा क्यासिनोसँग जोडिएर कमाउने नभएका होइनन् । क्यासिनोका लागि मासु, अन्डा, मादक पदार्थ, जुस, चुरोट, बियर आदि÷आदि ‘सप्लाइ’ गरेरै करोडौं कमाउने धेरै छन् ।

त्यतिमात्रै होइन, जुवा खेल्न ल्याउनेलाई पनि सम्बन्धित क्यासिनोले प्रतिशतका आधारमा ‘कमिसन’ दिने गरेको छ । एक व्यक्तिले एक लाखबराबरको जुवा खेल्यो भने उसलाई क्यासिनोसम्म ल्याउनेले पाँच प्रतिशतमात्रै कमिसन पायो भने पाँच हजार रुपैयाँ हात पार्छ ।

क्यासिनो र्याडमा ६ सयजनाले रोजगारी पाएका छन् । २००३ मा खुलेको र्याडमा कार्यरत ६० प्रतिशतले काठमाडौंमा घर/घडेरी जोडेका छन् ।
‘प्लेयर’ ले २७ हजार डलर जित्दा अदालत हाजिर
क्यासिनोमा एक व्यक्तिले तीन लाखभन्दा बढी खेल्न पाउँदैन । त्योभन्दा बढी खेले राष्ट्र बैंकले अनुगमन गर्छ । बढी खेल्न चाहनेले त्यसको रिपोर्ट सम्बन्धित क्यासिनोले राष्ट्रबैंकलाई बुझाउनुपर्छ । ‘अर्बपतिले म खेल्छु भनेमा उसले खेल्न किन नपाउने ?’ क्यासिनो र्याड कार्यकारी निर्देशक श्रेष्ठले अतीत सुनाए, ‘तर, प्लेयरको रिपोर्ट राष्ट्रबैंकमा बुझाउनुपर्छ । क्यासिनोमा जित्ने प्लेयर पनि छन् । क्यासिनो र्याडबाटै रसियन नागरिक २७ हजार डलर जितेको थियो । उनी विमानस्थलमा समातिए । यत्रो पैसा कहाँबाट हात लाग्यो भनेर सोध्दा क्यासिनोमा जितेको बयान दिएछन् । त्यसपछि मैले उनले जितेकै हो भनेर अदालतमा बयान दिएको थिएँ ।’

स्थापित क्यासिनो सञ्चालक विस्थापित

क्यासिनो नियमावली ०७० जारीपछि स्थापित क्यासिनो सञ्चालक विस्थापित भएका छन् । जारी नियमावलीअनुसार २५ करोड ‘पेडअप क्यापिटल’ हुनैपर्ने, त्यो पनि तुरुन्त बुझाउनुपर्ने, सालिन्दा चार करोड तिर्नुपर्ने, २५ प्रतिशत आकस्मिक लाभकर बुझाउनुपर्ने भएपछि बन्द भएका अधिकांश क्यासिनो पुनः सञ्चालनमा आउन सकेका छैनन् । ‘सरकारले क्यासिनो उद्योगलाई सुधार्दै लैजानुपर्नेमा मार्न उद्यत छ,’ उनले आरोप लगाए, ‘खिलराज रेग्मी नेतृत्व सरकारले यस्तो नियम लागू गरेर गए पनि लोकतान्त्रिक युगसुहाउँदो भएन ।’ अहिलेसम्म तीन क्यासिनोले लाइसेन्स लिएका छन् भने दुई÷तीन क्यासिनो ‘स्टे अर्डर’ मा चलेका छन् ।

क्यासिनोमा हार्ने बढी

क्यासिनो र्याडले ६ सयजनालाई रोजगारी दिएको छ । ६ सयजनाको मासिक तलब (खाना, युनिफर्म, यातायात खर्च) सहित एक करोड २५ लाख हुन्छ । होटलको भाडा र सरकारलाई सालिन्दा तीन करोड बुझाउनुपर्छ । उनले भने, ‘यदि खेलाडी आएर हारेन भने हामीले कसरी धान्ने ? खेलाडी आउँछन्, खेल्छन्, मनोरञ्जन लिन्छन् । सय खेलाडीमध्ये १० ले जित्छन्, ८० जनाले हार्छन् । त्यही पैसा व्यवस्थापन गरेर क्यासिनो रन गर्ने हो ।’

५० वर्षमै क्यासिनो उद्योग धराशयी

संवत् २०२३ मा नेपालमा क्यासिनो खुलेको होे । तत्कालीन अधिराजकुमार हिमालयविक्रम शाहले सोल्टी होटलमा क्यासिनो सञ्चालन अनुमति लिएका थिए । त्यसलाई आधार मान्दा नेपालमा क्यासिनो सञ्चालनमा आएको ५० वर्ष पुगेको छ । त्यतिबेला पनि क्यासिनो प्रवेशमा नेपालीलाई निषेध थियो, अहिले पनि छँदै छ । शाहले त्यो समयमा सिक्किममा क्यासिनो सञ्चालन गरेर बसेका भुटानी राजाका नातेदार लेन्डुप दोर्जेलाई ‘क्यासिनो नेपाल’ को व्यवस्थापन सम्हाल्नेगरी ल्याएका थिए । दोर्जेले छाडेपछि अमेरिकी नागरिक रिचर्ड डोयल (आरडी) टटलले त्यो अवसर पाएका थिए ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ०४८ पछि सरकारले पाँचतारे होटललाई क्यासिनो सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिएको थियो । उसले अनुमति दिएको २२ वर्षपछि नेपालमा सञ्चालित क्यासिनो पुनः सञ्चालनमा आउन नसक्नेगरी थला परेको छ ।

क्यासिनोको पृथक पहिचान

पर्यटन प्रवद्र्धन गर्न नेपालमा क्यासिनो आवश्यक छैन भन्नेहरू पनि छन् । तर, क्यासिनो र्याड कार्यकारी निर्देशक प्रसन्नमान श्रेष्ठ त्यसो भन्नेसँग सहमत छैनन् । नेपालमा पर्यटन प्रवद्र्धन गर्ने धेरै माध्यम छन् । तर, हरेक माध्यमको आ/आफ्नै पहिचान हुन्छ । जस्तो नाइट क्लब, क्यासिनो, प्याराग्लाइडिङ, ट्रेकिङलगायत सबैको आ/आफ्नै अस्तित्व र पहिचान छ । क्यासिनो र्याड कार्यकारी निर्देशक श्रेष्ठको ठम्याइ छ, ‘क्यासिनो उद्योगले नेपाललाई धेरै ठूलो गुन लगाउन सक्छ । अन्ततः यो उद्योग नेपालको गहना हुनेछ ।’ मलेसियामा एउटै क्यासिनो छ । सिंगापुरमा पनि एउटै क्यासिनो छ । जुन क्यासिनोले सिंगापुरको २३ प्रतिशत आर्थिक आयस्रोतमा टेवा पुर्याएको छ । क्यासिनोमैत्री नीति आए नेपालमा खुलेका क्यासिनोले सिंगापुरको एउटै क्यासिनोले अर्थतन्त्रमा पुर्याएजस्तै योगदान पुर्याउने उनको जिकिर छ ।

क्यासिनो हेर्ने सरकारी दृष्टि नकारात्मक

एकताका नेपालीसँग अथाह पैसा थियो । जग्गा, कार्पेट, पस्मिना ‘बुम’ थियो । पैसा खर्च गर्ने ठाउँ थिएन । त्यसबेला नेपाली लुकीछिपी क्यासिनो प्रवेश गर्थे । रोक्न सरकारको भूमिका देखिएन । जबर्जस्ती गर्न खोज्ने नेपालीलाई क्यासिनो सञ्चालकले प्रवेश गराउन विवश थिए । ‘प्रवेशका लागि मारपिट चलेपछि रोक्ने कसरी ?,’ उनले जानकारी गराए, ‘अहिले पूर्ण रूपमा बन्द छ । नेपाली प्रवेश गराए लाइसेन्स खारेज हुने नियमावलीमा उल्लेख छ ।’

गाउँगाउँ, टोलटोलमा जुवा खेल्नुलाई सामान्य ठानिन्छ । लुँडो, क्यारिमबोर्डमा ‘बेट’ राखेर खेलेकै छन् । उनी सोध्छन्, ‘त्यसलाई जुवा भन्ने कि नभन्ने ? क्यासिनोलाई हेर्ने दृष्टि किन साँघुरो ?’ सरकारले क्यासिनोलाई हेर्ने दृष्टि मैत्रीपूर्ण र फराकिलो हुनुपर्ने श्रेष्ठको भनाइ छ । सरकारले क्यासिनो उद्योग हेर्ने नकारात्मक सोच परिवर्तन गर्न आवश्यक रहेको बताउने उनले दाबी गरे, ‘नेपालको क्यासिनो उद्योग यो अवस्थामा गुज्रन पर्ने थिएन र भविष्यमा पनि गुज्रन्छजस्तो लाग्दैन । नेपालको क्यासिनो उद्योग वर्ष दिनभित्रमा धेरै राम्रो हुन्छ । सरकारद्वारा जारी नियमावली परिवर्तन गर्नैपर्छ । मुल्ुकमा जुन दिन साँच्चिकै लोकतान्त्रिक सरकार बन्छ, त्यो दिन क्यासिनो नियमावली परिवर्तन हुन्छ÷हुन्छ ।’

 

photo

NOC1-250x300