कोभिडको तेस्रो लहर र चुनौती

प्रदिप्नराज पन्त

भाइरसको सङ्क्रमण मौसमी हुन्छ र निश्चित समयको अन्तरालमा पुनरावृत्ति हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनलगायत अन्य स्वास्थ्य सङ्गठनहरूले लहरको उल्लेख गरे पनि लहरको कुनै औपचारिक र आधिकारिक परिभाषा चाहिँ गरेका छैनन् । लामो समयसम्म भाइरस सङ्क्रमणको सङ्ख्या बढ्ने र घट्ने क्रमलाई बुझाउन लहर (वेभ) को प्रयोग गर्ने गरिएको छ । सामान्यतः लहर शब्दको प्रयोग रोगको मौसमी प्रकृतिलाई वर्णन गर्नका लागि गरिएको हुन्छ । अधिकांश भाइरसको सङ्क्रमण मौसमी हुन्छ र निश्चित समयको अन्तरालमा पुनारावृत्ति हुन्छ । सङ्क्रमण बढ्यो, त्यसपछि घट्यो र केही समयपछि बढ्यो भने त्यो लहरको सङ्केत हो । यसलाई बुझ्न तथ्याङ्कहरूलाई अध्ययन गर्ने हो भने अझ सहज हुन्छ ।

कोभिडको सङ्क्रमण दर जेठको अन्तिम सातादेखि घट्न थालेको थियो । दुई महिनाअघि दैनिक नौ हजारको सङ्ख्यामा रहेको कोभिड सङ्क्रमण साउनको तेस्रो हप्तासम्म दैनिक तीन हजारभन्दा पनि कम देखियो । यदाकदा सङ्क्रमण दर उकालो लागेको देखिए पनि सक्रिय सङ्क्रमितको सङ्ख्या जेठको दोस्रो सातातिर एक लाख सोह्र हजारभन्दा माथि पुगेको भए पनि अहिले विगत दुई हप्तादेखि निरन्तर बढिरहेको छ । जेठको दोस्रो हप्तालाई उच्च बिन्दु मानेर त्यसपछि सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आउनेक्रम जारी रहेको भए अहिलेसम्म सङ्क्रमित दर साउनको दोस्रो हप्तामा नै आठ हजारभन्दा तल हुनुपथ्र्याे तर त्यसो भएन । यसको मतलब नेपालमा दोस्रो लहर नै सकिइसकेको छैन । स्पष्ट छ, हामी दोस्रो लहरको व्यवस्थापनमा कहीँ चुकेका छौँ र दोस्रो लहर नसकिँदै तेस्रो लहर आउने सम्भावना बढ्दो छ । सङ्क्रमितको सङ्ख्या घट्दै एउटा निश्चित बिन्दुमा पुगेर स्थिर रहने र त्यसपछि फेरि बढ्यो भने त्यसलाई तेस्रो लहर आएको मान्न सकिन्छ । तेस्रो लहर भन्नासाथ अनियन्त्रित तरिकाले अनुमानै नगरेको हिसाबमा सङ्क्रमण बढ्नु मात्रै होइन । जनसङ्ख्याको अनुपातमा एउटा निश्चित बिन्दुपछि नियमित तरिकाले सङ्क्रमण वृद्धि भयो भने पनि त्यसलाई तेस्रो लहर भनेर बुझ्न पर्छ ।

सामान्यतया सरकार र आमनागरिकको विश्वास के छ भने तेस्रो लहर लामो समयसम्म चल्दैन । रहे पनि यसबाट बच्न सरकारसँग प्रशस्त साधनस्रोत छ र कुशलतापूर्वक प्रबन्ध गर्न सक्छ । यो केही हदसम्म सही पनि छ । पहिलो त स्पेनिस फ्लु तीन लहरपछि समाप्त भएको थियो । यसैले मानिसले कोरोना भाइरसले पनि तीनचोटि प्रभाव देखाएपछि स्वतः निष्क्रिय हुन्छ भन्ने अनुमान लगाए । यो सही अनुमान भएन । मुख्य कारण कोरोना भाइरसको आनुवंशिक कोडको उत्परिवर्तन हो । खोप लगाउन ढिला भयो भने भाइरसले मानव शरीरले उत्पादन गर्ने ‘एण्टिबडी’ सँग बच्नका लागि समय पाउँछ । यसकारण खोप लगाउन जति ढिला हुन्छ, भाइरसले हुर्कने मौका पाउँछ र कहिलेकाहीँ उत्परिवर्तन भइसकेपछि खोपले काम नगर्ने हुनसक्छ । यसकारण तेस्रो लहर आयो भने पनि लहर सकिना साथ ढुक्क भएर बस्न मिल्दैन । अहिलेसम्मको स्थिति हेर्दा नेपालमा कोभिडको जोखिम छ र दशँैपछि कात्तिक पहिलो हप्तासम्म सावधानी अपनाइएन भने सङ्क्रमणको जोखिम ज्यादै उच्च हुने सम्भावना छ ।
सरकारले महामारी सुरु भएपछि स्वास्थ्य पूर्वाधारमा व्यापक सुधार गरेको देखिन्छ । करिब २४० भेन्टिलेटरको सङ्ख्याबाट अहिले एक हजार ३८ भएको छ भने करिब १५ सय आईसीयू शøया, झण्डै दुई हजार उच्च निर्भरता एकाइ (सघन कक्ष) विकास गरिएको छ । यसका साथै विदेशका विभिन्न दाता, प्रवासी नेपालीले दान गरेका भेन्टिलेटर हिसाब गर्दा यो सङ्ख्या निकै बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । हुन त अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार यो सङ्ख्या करिब तीन करोड जनसङ्ख्याका लागि सामान्य अवस्थामा समेत नपुग हो तर सुधार भएको मान्न सकिन्छ ।

तेस्रो लहरको महामारीमा र प्रभाव पहिलाभन्दा पछि कमजोर हुन्छ अर्थात् सैद्धान्तिक हिसाबमा तेस्रो लहर पहिलाभन्दा कमजोर हुनैपर्छ । यस्तो किन हुन्छ भने समय अन्तरालपछि मानव शरीरले स्वयं पनि प्रतिरक्षा प्रणाली विकास गरेको हुन्छ र भाइरस निष्क्रिय हुने गर्छ । यद्यपि, कोभिड–१९ मा नेपाललगायत धेरै देशका वैज्ञानिक तर्क र अनुसन्धान उल्टो भएको छ । तेस्रो लहर दोस्रो लहरको तुलनामा कमजोर पनि हुनसक्छ । नेपाल सरकारले परीक्षण गरेको बाहेक ठूलो सङ्ख्याका मानिस अपुष्ट रूपमा सङ्क्रमित भएका छन् । पिसिआर टेष्ट दुई प्रतिशतभन्दा कम भए टेष्ट गर्न नपर्ने र १२ प्रतिशत नाघ्यो भने टेष्टको दायरा बढाउनुपर्ने वैज्ञानिक मान्यता हो तर अहिले सङ्क्रमण दर हाराहारी २५ प्रतिशत भएकोले अपुष्ट सङ्क्रमित सङ्ख्या उल्लेखनीय छ भन्ने कुरा बिर्सन मिल्दैन । यसको मतलब निको हुनेको सङ्ख्या पनि सरकारले अभिलेख गरेको भन्दा ज्यादै ठूलो छ भने झण्डै ३२ लाख मानिसले दुवै मात्रा खोप लगाइसकेका छन् । सरकारका अनुसार ४० लाख थप मानिसले एक मात्रा खोप लगाइसकेका छन् । जसको कारण जनसङ्ख्याको केही हिस्सामा प्रतिरक्षा प्रणाली विकास भएको छ ।

सरकारले स्वाथ्य पूर्वाधारको विकास गर्नुको साथै जनस्वास्थ्यका मापदण्ड पालन गर्ने सिलसिलामा संवेदनशील भएको हुँदा तेस्रो लहर खतरनाक नहुने पूर्वआकलन गर्न सकिए पनि दोस्रो लहरको अनुभवले स्थितिमा आशावान हुनुको साटो सतर्क रहन सिकाएको छ । व्यवहारमा अथवा तयारीको दृष्टिकोणले स्वास्थ्य देखभाल र पूर्वाधारको अवस्थामा अझै निकै सुधार गर्नुपर्ने अहिले पनि देखिन्छ । यसका लागि अभुतपूर्व स्तरमा निवेश र स्वास्थ्य जनशक्तिको परिचालन गर्नुपर्ने देखिन्छ । झण्डै तीस हजार सङ्ख्यामा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी पदस्थापना नहुनु र करार तथा अस्थायी जनशक्ति परिचालन गर्न निकै चुनौतीपूर्ण छ । यद्यपि, यसको तत्काल आवश्यकता छ र सरकारले प्राथमिकताको आधारमा काम गर्नुपर्छ । यदि प्राथमिकताको पहिचान नगरी काम गरियो भने भविष्यमा कोभिडको क्रुरताबाट बच्न असम्भव हुन्छ ।

हालै गरिएको सर्वेक्षणमा पाँच महिनामा करिब दुई लाख थप सक्रिय सङ्क्रमित हुने प्रक्षेपण गरिएको छ । यसरी प्रक्षेपण गर्दा सबै परिवर्तनीय चर (भेरिएबल)हरू नियन्त्रित भएका थिए कि थिएनन् भन्ने महत्त्वपूर्ण छ । लामो समयको प्रक्षेपण गर्नु नेपालजस्तो अस्थिर सरकार हुने देशमा सायद सान्दर्भिक हँुदैन । खोपलाई मात्र आधार बनाएर प्रक्षेपण गर्नुभन्दा अन्य सूचकाङ्कहरू– अति संवेदनशील, सङ्क्रमित, रोगबाट लाभ प्राप्त गरिसकेका, पूर्ण रूपले निको भएका र मृत्यु भएका सबैलाई आधार बनाएर प्रक्षेपण गरिएको भए भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने आकलन गर्न सहज हुने थियो ।

नेपालले गम्भीरताका साथ तयारी गर्नुपर्छ, किनकि तेस्रो लहर आउने सम्भावनालाई नकार्न मिल्दैन । हाम्रो सम्पूर्ण तयारीको निर्भरता हामीले कोभिडलाई कसरी लिएका छौँ भन्नेमा भर पर्छ । समयोचित योजनाले भविष्यमा कोभिडबाट बच्न र क्षति कम गर्न सहयोग पु-याउँछ । अहिले कोभिड सङ्क्रमितको सङ्ख्यामा कमी आउनको मतलब यो होइन कि हामी सुरक्षित छौँ । कोभिडको अर्को लहर आउनसक्ने सम्भावना प्रबल छ । यसकारण योजनासहित कदम चाल्नुपर्छ । कोभिड–१९ को चुनौती समयसँगसँगै फरक–फरक हुन्छ । यसैले सावधान रहन जरुरी छ ।

सबभन्दा पहिला नेपाल सरकार र सरोकारवाला सबैले यथार्थ तथ्य सार्वजनिक गर्न सङ्कोच मान्नु भएन । जे छ, त्यसलाई सही रूपमा प्रस्तुत गर्नुपर्छ । तथ्य या आधारबिना नीति–नियमका साथै प्रभावी कार्यक्रम सरकारले बनाउन नसक्ने त छँदैछ, अन्य सरोकारवालाले पनि सरकारलाई निगरानी र जनतालाई सुसूचित गर्न सम्भव हुँदैन । हालै पाँच महिनाका लागि सक्रिय सङ्क्रमितको पूर्वानुमान गरिएको भए पनि कोभिडको स्थायी प्रभाव या समष्टिगत रूपमा यसको प्रभाव कस्तो होला भनेर कसैले पनि अनुमान गरेको देखिँदैन । कोभिडले प्रभाव नगर्ने कुनै पनि क्षेत्र छैन । यो भाइरस स्वास्थ्यका लागि मात्र होइन, सबै क्षेत्रमा यसको प्रभाव खतरनाक छ । शिक्षामा, अर्थ व्यवस्थामा र साथसाथै मन–मस्तिष्क सबैतिर यसको प्रभाव छ र सरकारको सम्पूर्ण शक्ति यसको भय हटाउन नै केन्द्रित हुनुपर्छ । खोप आउँदैछ, स्वास्थ्य पूर्वाधार विकास भएको छ र मानिसले जनस्वास्थ्यको मापदण्ड पालना गरेका छन् भनेर ढुक्क हुनुको सट्टा खतरा अझै छ भनेर निरन्तर सावधानी र सर्तकता अपनाउनु नै तेस्रो लहरसँग बच्ने सर्वोत्तम उपाय हुनेछ ।

 

photo

NOC1-250x300