कैलाली – कञ्चनपुरः देउवाको किल्लामा ओलीको दोस्रो धावा !

४ चैत, काठमाडौं । नेकपा एमालेले कैलाली कञ्चनपुरमा धूलो उडाउँदै मेची महाकाली अभियानको समापन गरेको छ Ser-bahadur-Deuwa-and-Kp-oli। विगतको चुनावी परिणामलाई आँकलन गर्दा कैलाली-कञ्चनपुर नेपाली कांग्रेसको प्रभावक्षेत्र हो । संविधानसभाका दुईवटा चुनावमा शेरबहादुर देउवा कञ्चनपुर र कैलालीका जनप्रतिनिधिसमेत हुन् ।

अघिल्लो निर्वाचनको परिणाम कस्तो आएको थियो भन्ने आधारमा पछिल्लो चुनावको विश्लेषण गर्नु नेपाली राजनीतिमा निकै कठिन छ । यसका लागि कैलाली कञ्चनपुरमा पहिलो संविधानसभाको रिजल्ट हेर्दा स्पष्ट हुन्छ

आगामी संसदीय चुनावमा पहिलो दल बन्ने अभियानमा रहेको नेकपा एमालेका लागि कैलाली कञ्चनपुरका चुनाव क्षेत्रहरु निकै महत्वपूर्ण हुनेछन् । त्यहाँ उसले जीत हात पारेमा आफ्नोमात्रै सीट थपिने होइन कि कांग्रेसको सीट घटाउन पनि त्यसले भूमिका खेल्न सक्छ । यही कारणले गर्दा कैलाली कञ्चनपुरमा हुने कांग्रेस र एमालेवीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुनेछ ।

स्थानीय निकायको पुरानो तथ्यांक आँकलन गर्ने हो भने एमालेका लागि पनि कैलाली र कञ्चनपुर प्रतिष्ठाको विषय हो । ०५४ सालको स्थानीय चुनावमा कैलालीको टीकापुर नगरपालिका र धनगढी नगरपालिका दुबैमा एमालेले कब्जा जमाएको थियो । कञ्चनपुरको महेन्द्रनगर नगरपालिका पनि एमालेले नै जितेको थियो ।

कैलाली जिविस सभापतिमा कांग्रेस र उपसभापतिमा राप्रपाले बाँडेका थिए भने कञ्चनपुर जिविसमा एमालेका ऋषिराज लुम्साली र उपसभापतिमा पनि एमालेले जित हात पारेको थियो ।

स्थानीय तहमा एमालेले ०५४ सालमा प्राप्त गरेको जीत यसपालिको स्थानीय तहको चुनावमा पनि कायमै राख्नु उसका लागि चुनौती र प्रतिष्ठाको विषय बनेको छ ।

कांग्रेसको ६ सीट, एमालेको एउटामात्रै

हाल कैलालीमा ६ वटा र कञ्चनपुरमा ४ वटा गरी यी दुई जिल्लामा कुल १० वटा चुनाव क्षेत्रहरु छन् ।

दोस्रो संविधानसभामा कैलालीबाट कांग्रेस र फोरम लोकतान्त्रिकले २/२ सीट जिते भने एमाले र माओवादीले एक/एक सीट जिते । कांग्रेसले हारेका सबै ठाउँमा दोस्रो पोजिसन ल्यायो ।

कञ्चनपुरबाट दोस्रो संविधानसभामा कांग्रेसले ४ वटै सीट जित्यो । शुन्य सीटमा खुम्चिएको एमाले ३ वटा क्षेत्रमा निकटतम प्रतिद्वन्दी बन्यो । रमेश लेखकको क्षेत्रमा एमाले तेस्रो पोजिसनमा झर्‍यो ।
यो तथ्यांकका आधारमा हेर्दा अघिल्लो चुनावमा कैलाली-कञ्चनपुरका १० सीटमध्ये कांग्रेसले ६ र एमालेले १ सीट जितेका थिए । अब यहाँ एमालेले कांग्रेसमाथि धावा बोल्ने र उसलाई दुबै जिल्लामा हार खुवाउने रणनीति बनाएको देखिन्छ । मेची महाकाली अभियान त्यसैको एउटा पहेली हो ।

यस्तो पनि हुँदोरहेछ !

अघिल्लो निर्वाचनको परिणाम कस्तो आएको थियो भन्ने आधारमा पछिल्लो चुनावको विश्लेषण गर्नु नेपाली राजनीतिमा निकै कठिन छ । यसका लागि कैलाली कञ्चनपुरको विगतको चुनावी नतिजा हेर्दा स्पष्ट हुन्छ ।

पहिलो संविधानसभा ०६४ मा माओवादीले कैलालीबाट ६ वटै सीट जितेको थियो भने कांग्रेस र एमाले दुबैले शून्य सीटमा चित्त बुझाएका थिए । त्यस्तै कञ्चनपुरका ४ मध्ये ३ वटा सीट माओवादीले जितेको थियो ।

पहिलो संविधानसभामा यी जिल्लाका १० सीटमध्ये ९ सीटमा माओवादी र एउटामा कांग्रेस -शेरबहादुर देउवा)ले जितेका थिए । एमाले शून्य सीटमा खुम्चिएको थियो ।

पहिलो संविधानसभामा १० मध्ये ९ सीट जितेको माओवादी दोस्रो संविधानसभामा १ सीटमा खुम्चियो भने एकसीट जितेको कांग्रेस ६ सीटमा उक्लियो । पहिले शून्य सीट जितेको एमालेले पनि माओवादीको बराबरी अर्थात एक सीटमा चित्त बुझायो ।

एक कार्यकालमै यति धेरै चुनावी उतार चढाव हुने नेपाली राजनीतिको विशेषता भएकाले कैलाली कञ्चनपुरको भावी परिणामलाई विगतको गणितले प्रभाव नपार्न सक्छ ।

एमालेको पहिलो धक्का

पहिलो संसदीय चुनाव (०४८साल)को तथ्यांकका आधारमा हेर्दा कैलाली र कञ्चनपुर कांग्रेसको गढका रुपमा स्थापित थियो । तर , कांग्रेसको गढमा ०५१ को मध्यावधि चुनावमा एमालेले पहिलोचोटि धावा बोल्यो ।

स्थानीय चुनावको मिति बैशाख ३१ गतेका लागि तोकिएको अवस्था छ । तर, ०५४ सालमा वामदेव गृहमन्त्री भएर स्थानीय चुनाव गराउँदा एमालेलाई जति सजिलो थियो, उसलाई अहिले त्यति सजिलो छैन

०४८ को चुनावमा कैलाली र कञ्चनपुरका कुल ५ सीटमध्ये पाँचवटै सीटमा कांग्रेस विजयी बनेको थियो । पहिलो संसदीय चुनावमा कैलालीमा तीनवटा मात्रै चुनाव क्षेत्रहरु थिए, जहाँ तीनवटै कांग्रेसले जितेको थियो । कञ्चनपुरमा दुईवटा मात्रै चुनाव क्षेत्र थिए, त्यहाँ पनि कांग्रेसले नै क्लिन स्विप गरेको थियो ।

मध्यावधि चुनाव (०५१) मा कैलालीमा ४ वटा चुनाव क्षेत्र बने, जसबाट एमालेले ३ सीट जित्यो भने कांग्रेसले एउटामात्रै सीट जित्यो । गिरिजा सरकारको अलोकपि्रयता र एमालेको लोकपि्रयताको असर कैलाली कञ्चनपुरको चुनावी नतिजामा प्रकट भयो ।

कञ्चनपुरमा पनि ०५१ को चुनावमा कांग्रेसले धुलो चाट्यो । कञ्चनपुरमा त्यसबेला तीनवटा चुनाव क्षेत्रहरु थिए, जहाँ एमाले तीनवटै सीट हात पार्‍यो । अघिल्लो चोटि जिल्लाका सबै सीट जितेको कांग्रेस शुन्य सीट मा झर्‍यो ।

अर्थात् ०५१ को चुनावमा कैलाली र कञ्चनपुरका ७ सीटमध्ये सातैवटा एमालेले जितेको थियो । यो चुनावी नतिजा ०४८ सालको भन्दा ठ्याक्कै उल्टो थियो । र, कांग्रेसका लागि एमालेले दिएको यो निकै ठूलो धक्का थियो ।

तर, अर्को संसदीय चुनाव (०५६) मा महाकाली सन्धी र पार्टी विभाजनको मार एमालेले महाकालीकै बगरमा नराम्रोसँग भोग्यो । र, दुबै जिल्लाबाट उ, पत्तासाफ भयो ।

जसरी पहिलो संविधानसभामा मौलाएको माओवादी दोस्रो संविधानसभासम्म पुग्दा ओइलायो, त्यस्तै पीडा एमालेले ०५६ सालमा भोगेको देखिन्छ । ०५६ को आम निर्वाचनसम्म आइपुग्दा एमाले फेरि ०४८ सालमा जस्तै कांग्रेसबाट बढारियो कैलाली कञ्चनपुरमा ।

कञ्चनपुरका ३ वटै सीट ०५६ को संसदीय चुनावमा कांग्रेसले जित्यो । कैलालीका ४ वटै सीट पनि कांग्रेसले नै जित्यो । र, एमाले फेरि दुबै जिल्लाबाट शुन्य सीटमा झर्‍यो ।

अहिले एमालेका लागि चुनावी माहौल लगभग ०५१ सालकै जस्तो अनुकूल बनेको छ । उसले महाकाली सन्धीमा गरेको हस्ताक्षरको मसीमात्रै सुकेको छैन, महाकाली सन्धीका अभियन्ता ओली आफैं राष्ट्रियताका अभियन्ता बनेका छन्

कैलाली कञ्चनपुरमा ०४८ र ०५६ सालमा शुन्य सीट ल्याएको एमालेले ०६४ को संविधानसभामा पनि शुन्य सीटमै चित्त बुझायो । दोस्रो संविधानसभामा भने उसले एक सीट जितेको अवस्था छ ।

तर, अहिले एमालेका लागि चुनावी माहौल लगभग ०५१ सालकै जस्तो अनुकूल बनेको छ । उसले महाकाली सन्धीमा गरेको हस्ताक्षरको मसीमात्रै सुकेको छैन, महाकाली सन्धीका अभियन्ता ओली आफैं राष्ट्रियताका अभियन्ता बनेका छन् । यसले गर्दा कैलाली कञ्चनपुरमा एमालेको ‘कम ब्याक’ असम्भवै चाहिँ छैन ।

एमालेको पक्षमा जसरी माहौल बनेको छ, कांग्रेसको पक्षमा त्यस्तो छैन । कांग्रेस सरकारमा छ र बदनाम छ । यो स्थितिमा शेरबहादुर देउवाले ०६४ सालमा गरेजस्तै आफ्नोमात्रै सीट सुरक्षित गर्ने र पार्टीलाई हराउने स्थिति पनि नआउला भन्न सकिँदैन ।

विगतमा कांग्रेसबाटै सांसद बनेका रामजनम चौधरीले फोरम लोकतान्त्रिकबाट चुनाव जित्नु र त्यहाँ थरुहट आन्दोलन चर्कनुले आगामी चुनावमा केही न केही प्रभाव पार्ने छ, कांग्रेस र एमालेका लागि ।

त्यसो त कञ्चनपुरको एउटा क्षेत्रमा राप्रपाको पनि सामान्य जनाधार देखिन्छ । गत संविधानसभामा कञ्चनपुर क्षेत्र नं ४ मा एमालेका उर्वादत्त पन्तले राप्रपाका धर्मराज जोशीको भन्दा कम मत ल्याएका थिए । उर्वादत्तको मत ४५ सय थियो भने राप्रपाका जोशीले ४९ मतका साथ तेस्रो स्थान हासिल गरेका थिए । यो ठाउँमा राप्रपा विगतमा दोस्रो स्थानसम्म आउने गरेको थियो । र, आगामी चुनावमा उसले त्यहाँ एकसीट जित्ने लक्ष राख्न सक्छ ।

फोरम लोकतान्त्रिक र माओवादीको चढावभन्दा पनि उतार नै बढ्ता देखिएका कारण यो निश्चित छ, आगामी चुनावमा यी दुई जिल्लामा बहुकोणात्मक नभएर दुईकोणात्मक प्रतिस्पर्धा नै तीव्र बन्ने देखिन्छ ०४८, ०५१, ०५६ र ०६४ सालमा जस्तै ।

आगामी संसदीय चुनाव कहिले हुन्छ भन्ने मिति निश्चित भएको छैन । स्थानीय चुनावको मिति बैशाख ३१ गतेका लागि तोकिएको अवस्था छ । तर, ०५४ सालमा वामदेव गृहमन्त्री भएर स्थानीय चुनाव गराउँदा एमालेलाई जति सजिलो थियो, उसलाई अहिले त्यति सजिलो छैन । एमालेका लागि यो उसको प्रतिकूलता हो भन्दा फरक नपर्ला ।

अर्कोतर्फ एमालेको विपक्षमा सत्तापक्षका दलहरु अघोषित-घोषित तालमेलमा गए भने एमालेका लागि त्यो अर्को प्रतिकूलता हुन सक्छ । दृष्टान्तका लागि ०५६ सालको चुनावमा राप्रपा र कांग्रेसले तालमेल गर्दा एमालेले कैलाली जिविसमा सभापति र उपसभापति दुबैमा हार व्यहोर्नुपरेको थियो । अहिले पनि एमालेविरुद्ध त्यस्तै घेराबन्दी हुन सक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ ।

७ नं प्रदेशमा कांग्रेस र एमाले बराबर

सेती महाकालीका संसदीय चुनावमा शुरुका दिनमा वामपन्थीहरु कमजोर र कांग्रेस बलियो रहँदै आएको देखिन्थ्यो । तर, पछिल्ला दिनहरुमा सुदुर पश्चिममा वामपन्थी र कांग्रेसवीच पौंठेजोरी चल्दै आएको छ ।

दोस्रो संविधानसभाको चुनावी परिणामलाई हेर्दा ९ जिल्ला समेटिएको ७ नम्बर प्रदेशमा एमाले र कांग्रेसको सीट संख्या बराबरी छ ।

प्रदेश नं ७ मा ९ वटा जिल्ला छन् । ती जिल्लाको कुल संसदीय सीट संख्या २१ छ । यसमध्ये कांग्रेसले ९ सीटमा जित हात पारेको छ भने एमालेले ९ सीटै जितेको छ । बाँकीमा फोरम लोकतान्त्रिकले २ सीट र माओवादीले एक सीट जितेको छ ।

दार्चुला, बझाङ र बाजुरा र अछाममा एमालेले गत चुनावमा कांग्रेसलाई क्लिन स्विप गरिदिएको थियो । बैतडी र डोटीमा कांग्रेस र एमालेले एक एक सीट बाँडेका थिए । डडेलधुरा र कञ्चनपुरमा कांग्रेसले एकलौटी जितेको थियो ।

आगामी चुनावमा निर्वाचन क्षेत्र घट्दैछन् । २४० निर्वाचन क्षेत्रलाई १६५ मा झार्दा ७ नम्बर प्रदेशका २१ सीट घटेर १५ सीटको हाराहारीमा आउने देखिन्छ । यसरी सीट घट्दा बझाङ र अछाममा एक्लै जितेको एमालेलाई बढी असर पर्छ । कञ्चनपुरमा एक्लै जितेको कांग्रेसलाई पनि केही घाटा पर्न सक्छ ।

तर, कैलाली कञ्चनपुर र सुर्खेतमा जनसभा गरेर एमालेले यसपटक ७ नम्बर र ६ नम्बर प्रदेशका पहाडी जिल्लामा समेत कांग्रेसलाई धक्का दिन खोजेको उसका जनसभामा पहाडबाट उतारिएका समर्थकहरुले संकेत गरेका छन्, जुन कांग्रेसका लागि चुनौतीको विषय हुन सक्छ ।

 

photo

NOC1-250x300