के हो बाँझोपन, कसरी हटाउने

timthumbकुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्ननिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ। बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतीपूर्ण समस्या हो। एक वर्षसम्म महिलामा रजस्वला भएदेखि र पुरूषमा वीर्य उत्पादन हुन थालेपछि नियमित यौन सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ । बाँझोपन दुई प्रकारका हुन्छन्( प्राथमिक र दोस्रो। कहिले पनि बच्चा बसेको छैन भने त्यसलाई प्राथमिक बाँझोपन भनिन्छ। त्यस्तै एउटा बच्चा बसेपछि लामो समयसम्म प्रयास गर्दा पनि नबसेमा भने यो दोस्रो खालको बाँझोपन हो।

किन यस्तो हुन्छ?

सत्तरीदेखि असी प्रतिशतसम्म बाँझोपन हाम्रो आफ्नै कारणले हुन्छ। यो एउटा आश्चर्यको कुरा हो। तर, सत्य यही हो। यो सबै कारण आफ्नो व्यवहार र दैनिक क्रियाकलापमा भर पर्छ। पन्ध्रदेखि बीस प्रतिशत कारण मात्रै जन्मजात हुन्छ। पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको फर्मेशन राम्रो नहुने जस्ता कारणले जन्मजात बाँझोपना हुन्छ। सत्तरीदेखि असी प्रतिशत कारणमा सबैभन्दा महत्वपूर्ण कारण संक्रमण हो। महिलामा जनचेतनाको अभाव छ। संक्रमण भएपछि पनि उनीहरु जँचाउन आउँदैनन्। फोहर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुख्छ भने यी सबै कुरा हुँदा पनि उनीहरू चिकित्सक कहाँ जाँदैनन्। जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछि मात्रै उनीहरू चिकित्सक कहाँ जान्छन्। यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने बाँझोपनबाट बचाउन सकिन्छ। पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्यूबमा संक्रमण गराउँछ। ट्यूवमा संक्रमण भएपछि ट्यूब व्लक हुन्छ। ट्यूब व्लक हुनेबित्तिकै बच्चा बस्दैन। बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ। स्पर्म तलबाट पाठेघरभित्र छिरेर ट्यूबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ। यदि ट्यूब ब्लक हुन्छ भने बच्चा बस्दैन। त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो। दोस्रो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ। महिलाको उमेर एउटा महत्वपूर्ण पाटो हो। यो कुरा पुरूषको हकमा लागू हुँदैन। महिलाको एउटा निश्चित उमेर हुन्छ। यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउण्ट’ हुन्छ। उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ। यो कसैको बढी हुन्छ कसैको कम हुन्छ। त्यसैले उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ। जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेश कुरा निकाल्छौ। जस्तै महीनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सूरू गर्छ। एउटा अण्डा बन्नलाई आठ दस वटा अण्डाको समूह चाहिन्छ। त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ। महिनावारी भएको १३, १४ दिनसम्म एउटा अण्डा मात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ। एउटा अण्डा मात्रै परिपक्व हुन्छ त्यो अण्डा कसैको १२ कसैको १३ र कसैको १४ दिनमा बन्छ। त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ। यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ।

आमा बन्नलाई तीस वर्षको वरिपरि राम्रो

महिलाको उमेर पैतीस, चालिस नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ। त्यसबाट आउने राम्रो अण्डाहरुको मात्रा पनि स्वतः कमी हुन्छ। यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ। तीस वर्षभन्दा कम उमेरको महिला र पैतीस वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने पैतीस वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या दश गुणा बढी हुन्छ। पहिला महिलाहरू सक्रिय थिएनन्। उनीहरु घरकै काममा केन्द्रीत रहन्थे। बिहे भयो बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए। त्यसैले बाँझोपनको समस्या पनि कम थियो। आजको समयमा किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरु पढाई र आफ्नो ‘करीयरमा’  वा व्यवसायमा ध्यान दिन्छन्। जसले गर्दा बिहे ढिलो हुन्छ। मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दा भन्दै एउटा उमेर जान्छ। यदि कसैले बेलैमा बिहे गर्छु बच्चा जन्माउँछु भन्यो भने यो समस्या हुँदैन। एउटा महिलाको लागि बच्चा जन्माउन पैतीस वर्षभन्दा तलको उमेर हुनैपर्छ बच्चा जन्माउन। तीस वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो। पैतीस वर्ष त कट्नै भएन। अर्को महत्वपूर्ण कारण लामो समयको ‘ग्याप’। सामान्यतया विहे भएपछि महिलामा ‘इन्फेक्शनको’ समस्या बढी हुने सम्भावना हुन्छ। यदि कसैको ‘इन्फेक्शनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ। बिहे भएपछि पनि चार, पाँच वर्षपछि बच्चा जन्माउँछु भन्ने मान्यतासमेत बढ्दै गएको छ। यो अबधिमा हुने ग्यापको कारणले पनि ‘इन्फेक्शन’ हुनसक्छ। हाम्रो देशमा अधिकांश दम्पत्तिलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा हुँदैन। यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन्। गर्भपतन सधै सुरक्षित हुन्छ भन्ने पनि छैन। कोही क्लिनिकमा जान्छन् कोही कता जान्छन्, कोही लुकाएर गर्छन्। यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो। असुरक्षित र गैर कानुनी गर्भपतनले ‘इन्फेक्शन’ गराउँछ। कहिले कहिले नराम्रो सामाग्री प्रयोग गर्दा पाठेघर नै जानसक्छ। त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो। बिहे गरेपछि पनि कसैले कपर्टी राख्छन् आफैं गएर। कसैले तीन महिनाको सुई लिन्छन्। कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कती साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ। त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ। गर्भनिरोधक साधनको सही उपयोग एकदमै जरूरी छ।

बाँझोपन कसरी हटाउने?

समयमा बिहे गर्ने, समयमा बच्चा जन्माउने हो भने बाँझोपनको समस्या नै हुँदैन। इन्फेक्सनको समयमा नै उपचार गर्नुपर्छ। गर्भनिरोधका साधन प्रयोग गर्नुभन्दा पहिला चिकित्सकसँग छलफल गर्नुपर्छ। आफूलाई सुहाउने साधनको मात्रै प्रयोग गर्नुपर्छ। बेलाबखत आफ्नो जाँच गर्नुपर्छ। असुरक्षित गर्भ रह्यो भने त्यसलाई सुरक्षित ठाउँमा गएर गर्भपतन गराउनुपर्छ। यती सावधानी अपनायो भने बाँझोपनको समस्या असी प्रतिशतले समाधान हुन्छ। यति गर्दा पनि बाँझोपनको समस्या आयो भने यसको कारण पत्ता लगाउनुपर्छ। ट्यूवको कारणले होकी डिम्बाशयले काम नगरेको हो त्यो पत्ता लगाउनुपर्छ। कहिलेकाँही थाइराइड र हर्मोनको कारणले पनि बाँझोपन हुन्छ। यसको उपचार गर्नुपर्छ। यदि ‘डिम्बाशयमा’ अण्डा छैन भने अरू महिलाको डिम्बाशयबाट अण्डा ल्याएर आफ्नै श्रीमानबाट ‘फर्टीलाईज’ गरेर ‘टेस्टट्यूव बेबी’ बनाउन सकिन्छ।

बाँझोपन हुने कारण

कुनै एक कारणले मात्र बाँझोपन हुदैन । बाँझोपन हुने कारण धेरै छन् । महिला र पुरुष दुबैका समस्याका कारण बाँझोपन हुनसक्छ। जस्तै ,

१.पुरुषमा वीर्य उत्पादन कम हुनु वा नहुनु, महिलामा पाठेघरमा समस्या हुनु।

२.लामो समयसम्म अस्थायी साधनको प्रयोग गर्नु। (कपर्टी, तीन महिने सुई वा विभिन्न साधन)

३.पाठेघरमा संक्रमण (इन्फेन्सन)हुनु।

४.पटक–पटक गर्भ फ्याल्नु।

५.महिनावारी रोक्ने औषधिको बढी सेवन गर्नु।

६. बढी तौल हुनु तथा थाइराइडको समस्या हुनु।

७.लागूऔषधको अत्याधिक सेवन आदि।

बाँझोपनका लक्षण :

अधिकांशमा बाँझोपनको लक्षण नदेखिन पनि सक्छ। तर अनियमित महिनावारी हुनु तथा धेरै दुखाई हुनु, यौन सम्पर्क गर्दा अति पीडा हुनु, यौन सम्पर्कका बेला पुरुषको यौन अंग उत्तेजित नहुनु। साथै यौन रुची घट्नु, आँखा धमिलो देखिनु वा कपाल बढी झर्नेहरुमा बाँझोपन हुने संभावना बढी हुन्छ।

बाँझोपनबाट बच्ने उपाय

१.सकेसम्म २० देखि ३० वर्षको उमेर भित्र बच्चा जन्माउने योजना बनाउने।

२.पहिलो बच्चा नभएकाले अस्थायी साधनको प्रयोग गर्दा बिचार पुर्‍याउने।

३.धेरैपटक गर्भनिरोधक औषधिको प्रयोग नगर्ने साथै असुरक्षित गर्भपतन पनि नगराउने।

४. तौललाई नियन्त्रणमा राख्ने।

५. लागुपदार्थको सेवन नगर्ने।

६. विद्यालय उमेर देखिनै यौन तथा बाँझोपनको बारेमा शिक्षा दिने-लिने।

 

photo

NOC1-250x300