किन आएन नेपालमा चिनहुक हेलिकाेप्टर ?

Chin-hukfacebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

  • बसन्त भुजेल 

२०७२ बैशाख १२ गते जब नेपालमा विनासकारी भूकम्प गयो, तुरुन्तै , विश्वको ध्यान आकर्षण भयो । बेलायतकी लोकप्रिय अधिकारकर्मी जोहोना लुम्लेको मन छोयो । उनले विश्वभरी राहतको आह्वान गरिन , क्षणभरमै धेरै राहत सामाग्री जम्मा भयो । उद्धार तथा राहतका लागि बेलायतले चिनहुक हेली २ वटा हेलिकोप्टरहरु पठायो । ४० टन उद्धार सामाग्री बोकेर काठमाडौं बाट १० मिनेट भित्रै प्रभावित क्षेत्रमा पुग्न सक्ने ती हेलिकोप्टरका साथमा गोर्खा पल्टनको उद्धार टोली पनि आएको थियो । तर ती हेलीहरु दिल्लीबाट यता आउन सकेनन् । भारतको इसारामा नेपाल सरकारले आउन दिएन ।

तीन –चार टन पनि बोक्न नसक्ने भारतीय हेलिकोप्टर उडाएर नौटंकी गरियो । नेपाललाई कव्जा गर्ने प्रयास गरियो । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल भारतका बहानहरुले भरिए । एक प्रकारले कब्जाकै रणनीति थियो त्यो । यति मात्रै होइन पोखराको एयरपोर्ट पनि भारतीय बहानहरुले नै भरिए । यता बेलायती चिनहुक हेलिकोप्टरहरुलाई भारतमै राख्दा अरबौं खर्च मात्रै भयो । तर नेपालमा राहत र उद्धारको काम गर्न दिइएन । त्यहीँबाट फर्काइयो । कसको इसारामा कसरी यस्तो भयो ? त्यो सबै बुझ्न सकिन्छ । त्यतिबेला नेपाल भारतको अघोषित उपनिवेश जस्तो भएको महशुस जनताले गरे ।

यही मौकामा नेपाल खाने भारतको रणनीतिपछि चीनको जनमुक्ति सेना खासाबाट जवरजस्ती नेपाल छिर्न खोज्यो । तब मात्रै भारतको होस उड्यो । अमेरिकी मिसनहरु नेपाल र भारतलाई सोधपुछ नै नगरी फाइटर विमान लिएर काठमाडौंको एयरपोर्टमा उत्रिए । त्यसपछि भारतको होस थप उड्यो । यस पछि भारत आफै पछि हट्यो ।

जब नेपालमा कुनै संकट पर्छ तब भारतले साँच्चिकै गिद्धेदृष्टि लगाउँछ भन्ने यो पछिल्लो उदाहरण हो । आफुलाई नेपाली हौं भन्ने भारतीय दलालहरु ‘र’ को इसारामा सिंहदरबारमा तामझाम गर्ने गर्छन् । देशमा राहत वाड्न, आलो घाउमा मलम पट्टी लगाउन त कता कता भ्रष्टाचारमा निर्लिप्त हुन्छन् । गिद्धले सिनो लुछेजस्तो बैदेशिक सहयोग लुछ्न प्रतिस्पर्धा हुन्छ । कतिले कर्कटपाता घोटाला गरे, कतिले टेन्ट घोटाला गरे । चामलका बोरा आफ्ना कार्यकर्तालाई बाँडे । नगद रकमको त हिसावै छैन । अष्टे«लियामा रहेका नेपाली शेष घले राहत बाढ्न आउँदा सरकारले उल्टै दुर्व्यवहार गर्यो । भूकम्पबाट भत्केका धेरै घर शेष घलेले पुनः निर्माण गरिदिए, तर उनको नाम निशान छैन । गोर्खा वेलफेयरले नेपालमा यस्ता काम शताब्दीदेखि गर्दै आएको छ , तर नेताहरुलाई गोर्खा वेलफेयरको नाम समेत थाहा छैन । नेपालीका निम्ति पसिना बगाउँदै आएकी जोहोना लुम्लेको नाम समेत नेताहरुलाई थाहा छैन । कसले कति सहयोग गर्यो ? लेखाजोखा छैन । भूकम्पले भत्केका सर्वसाधारणका संरचना कस–कसले कसरी निर्माण गरिदिए ? भन्ने अभिलेख सरकारसँग छैन । बनाउन कति बाँकी छ ? किन बन्न सकिरहेको छैन ? त्यो पनि सरकारलाई थाहा छैन । केही पात्रले कतार, दुवैमा गएर उठाएको राहत रकमबाट बनेका छाप्रालाई मात्रै राष्ट्रिय संजालमा हाइलाइट गरिन्छ । व्रिटिश गोर्खा वेलफेयरले बनाइदिएका विद्यालय भवनको फोटो पनि देखाँइदैन, समाचार पनि बन्दैन ।

गुल्मीको भार्सेमा खानेपानीको ठूलो आयोजना सम्पन्न भयो । पानी वितरण भयो । तर कसले बनायो ? सरकारमा रहने दलालहरुलाई थाहा पनि छैन । किनकी यस्ता परियोजना सिधै गरिव जनताका घरदैलोमा जाने भएकोले अरिङ्गालहरुले मह चुस्न पाउने कुरै भएन । यो कुरा राजनीतिक दलका कार्यकर्ताहरुलाई राम्रोसँग थाहा छ । किनकी यस्ता परियोजनामा स्थानीय तहका कार्यकर्ताहरुले दोव्वर तेव्बर रकमका नक्कली विल भरपाई बनाएर पैसा खान पाउँदैनन् । सबै रकम काममा लगानी हुने भएकोले डोजर आतंक गरेर भीरपाखा भत्काउन पाइँदैन । त्यसैले सरकारका दलालहरु यस्ता परियोजना देखे पनि नदेखेजस्तो गर्छन् ।

पहाड ट्रष्ट भनेर एउटा ट्रस, युकेमा खडा छ । यसको याद गर्दा मिस्टर फूलरलाई कहिल्यै विर्सन सकिन्न । उहाँ (आरएसएमइ) व्रिटिश सरकारको आर्मी कलेजका डाइरेक्टर हुनुहुन्थ्यो । बरमटम च्यथामा र मेडस्टेन उहाँको घर थियो । उहाँको नेपाली (गोर्खाली) सँग सुमधुर सम्वन्ध थियो । दशैं र तिहारमा टीका लगाइदिनु हुन्थ्यो । उहाँकी श्रीमतीले पनि टीका लगाइदिनु हुन्थ्यो । सेल रोटी पकाउनु हुन्थ्यो । पहाड ट्रष्ट मार्फत उहाँले नेपालका कुना काप्चामा राम्रा विद्यालय भवनहरु बनाई दिनुभयो । जीवनभर नेपालमै बसेर विद्यालय भवन बनाउनु भयो ।

कादुरी सर एड वार्ड कादुरीको पनि नेपालको ग्रामिण क्षेत्रमा ठूलो योगदान छ । नेपालका ग्रामिण क्षेत्रमा झोलुंगे पुल तथा खानेपानी आयोजना निर्माणमा उहाँको ठूलो योगदान छ, तर राज्यले उहाँहरुलाई कहिल्यै चिनेन । यो देशमा बेलायतीहरुको धेरै ठूलो लगानी छ । यसको लेखा जोखा जरुरी छ ।

राहत र पुननिर्माणका लागि आएको चिन हुक हेली त फिर्ता पठाउनेहरुलाई के भन्ने ? आफुलाई गोर्खाली चेली भन्न रुचाउने बेलायती अभिनेतृ जोहोना लुम्ले जो हलिउडका अस्कर अवार्ड विजेता समेत हुन् । उनले आह्वान गरेर पठाएको राहतको रकम आफ्नो खल्तीमा हाल्न नपाउने संकेत देखेपछि सरकारमा रहेका दलालहरुले सिधै मागे, तर नेपालका शासकहरु भ्रष्टाचारमा कति निर्लिप्त छन् ? भन्ने कुरा बेलायतलाई थाहा नभएको होइन । बेलायतीहरु निकै सचेत छन् । तसर्थ व्रिटिश सरकारले आफ्नै संस्था डिएफआइडी मार्फत धेरै ठूला ठूला सहयोगहरु सिधै जनता कहाँ पुर्याउँदै आएको छ । यदी बेलायत सरकारले चाहेमा बेलायत भन्दा नेपाल धेरै धनी बनाउन सक्छ । तर भारत र भारतीय दलालहरु बेलायतको लगानी आउँदा तर्सन्छन् । बेलायती लगानी आयो भने भारतलाई फाइदा हुँदैन, नेपाल समृद्ध हुन्छ भनेर नै यस्ता षड्यन्त्र भइरहेका छन् । नेपालको कृषि र जलस्रोतमा जबसम्म आफ्नो अधिपत्य कायम हुँदैन तबसम्म भारतले सिंहदरबारका आफ्ना दलाल मार्फत नेपालको बिकासमा अंकुस लगाइरहन्छ ।

नेपाली जनताले जबसम्म सिंहदरबार र वालुवाटारमा रहेका भारतीय दलालहरुलाई विस्थापित गर्दैनन् तबसम्म मुलकको विकास र समृद्धि हुनेमा शंका छ । विगतका घटनाले प्रष्ट देखाइ सकेको छ । नेपाल बनाउन नदिने दलाल को हो भन्दा पनि, को होइन ? भन्ने कुरा हो । लैनचौरबाट भारतको तलव भत्ता खाएर भारतको दलाली गर्नेहरुको कब्जामा जबसम्म बालुवाटार र सिंहदरबार रहन्छ तबसम्म नेपालको यो दुर्गतीको अन्त्य हुँदैन । तसर्थ सारा नेपाली जनताले अब ढिला नगरी भारतीय दलालहरुलाई सिंहदरवारबाट हटाई संवैधानिक राज संस्था पुनर्वहाली गर्नु पर्छ । थापनाकै लागि भए पनि बेलायतमा जस्तै राज संस्था राख्न जरुरी छ ।

किन फिर्ता पठाइयो बेलायतको चिनहुक हेली ?
राहत पनि बेलायतले र पुननिर्माण पनि बेलायतले नै गरिदिएपछि यी दलालहरुले लुट्न नपाउने भए । उनीहरुको मुखमा माड बन्द हुने भयो । त्यसैले फिर्ता पठाइएको हो । त्यतिबेला बेलायतको सहयोग आउन सकेको भए दलालहरुको पत्तासाफ हुने निश्चित थियो । बेलायतले कसरी विकास गर्छ ? भन्ने कुरा यी दलालहरुलाई थाहा थियो । नेपालको विकास हुन नदिने प्रमुख देश नै भारत हो ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

 

photo

NOC1-250x300