‘कालापानीबारे वार्ता कहिले हुन्छ ? भारत के भन्छ ? हामी के गर्दैछौं ? थाहा चाहियो !’

नेपाली भूमि मिचेर भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउन सत्तारुढ दलकै सांसदले माग गरेका छन् ।

सोमवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा नेकपा सांसद रामनारायण बिडारीले नयाँ नक्साबारे नेपालले पठाएको कूटनीतिक नोटबारे सरकारको जवाफ माग गरेका हुन् ।

‘कालापानीमा सीमा मिचिएकोबारे सरकारले डिप्लोमेटिक नोट पठाएको कुरा सुनियो । भारतसँग वार्ता कहिले हुन्छ ? मित्रराष्ट्र के भन्छ ? हामी त्यो भूभागमा के गर्दैछौ ? यसबारे सदनलाई थाहा चाहियो !’ बिडारीले संसदमा भने ।

भारतले एकपक्षीय नक्सा प्रकाशित गरेर विवाद निम्त्याएको भन्दै उनले नेपालले पनि छिटोभन्दा छिटो नक्सा प्रकाशित गर्नुपर्ने बताए ।

भारतले एकतर्फी रुपमा नक्सा प्रकाशित गरेको विरोधमा जनस्तरबाट सुगौली सन्धीभन्दा पहिलेको ‘ग्रेटर नेपाल’को नक्सा प्रकाशित गरिसकेको भन्दै बिडारीले भने, ‘सरकारले छिटोभन्दा छिटो नक्सा प्रकाशित गरोस् ।’

पञ्चायती सत्ता टिकाउन कालापानीमा भारतीय सैनिक राख्न दिएका राष्ट्रवादी चुइँक्क नबोलेको भन्दै उनले रोष व्यक्त गरे । उनले विगतका सरकार नालायक भएको आरोप लगाए ।

 

photo

NOC1-250x300