कांग्रेस किन हार्‍यो ? देउवाले राजीनामा देलान् ?

Nepali-congress-768x513

 

 
नेपाली कांग्रेस प्रत्यक्षतर्फको चुनावमा मात्रै अलोकप्रिय हुने र समानुपातिकमा चाहिँ लोकप्रिय नै भइरहने अनुमान गर्न सकिँदैन ।कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाममा सुधार हुनेछ । तर, खाँडले भनेको त्यो ‘सुधार’ ले कांग्रेसलाई ठूलो दल बनाउने र सरकारमा लैजाने सम्भावना लगभग सकिएको छ ।

दोस्रो संविधानसभाको चुनावसम्म सबैभन्दा ठूलो दल रहेको र स्थानीय चुनावमा दोस्रो भए पनि एमालेको हाराहारीमै रहेको कांग्रेस अहिले प्रत्यक्षतर्फ एमालेसँग होइन, माओवादीसँग संघर्ष गरिरहेको छ ।

अहिलेसम्म के विश्लेषण गरिँदै आएको छ भने समानुपातिकमा नेपाली कांग्रेसले ल्याउने मत बढी हुनेछ र त्यही मतका आधारमा कांग्रेसले माओवादीलाई ह्वात्तै जित्न सक्छ । तर, देशैभरि बढेको कांग्रेसको अलोकप्रियतालाई हेर्दा समानुपातिकमा पनि माओवादी र कांग्रेसवीच प्रतिस्पर्धा नहोला भन्ने स्थिति अब रहेन ।

नेपाली कांग्रेस प्रत्यक्षतर्फको चुनावमा मात्रै अलोकप्रिय हुने र समानुपातिकमा चाहिँ लोकप्रिय नै भइरहने अनुमान गर्न सकिँदैन । तैपनि अहिले यति भन्न सकिन्छ कि माओवादी र कांग्रेसमध्ये को दोस्रो पार्टी बन्ने भन्ने विषयको छिनोफानो समानुपातिक मतले नै गर्नेछ ।

 

आम जनता भन्दा मुठ्ठीभर मानिसहरुको कुरा सुन्ने र भ्रष्टाचार र कमिसनतन्त्रमा भर पर्ने ‘कांग्रेस स्कुलिङ’ का प्रणेता देउवा आफैं थिए । त्यस्तो नभएको भने उनले ६४ सदस्यीय मन्त्रिमण्डलको झुण्ड बनाउने नै थिएनन्, उनी संविधानले भनेअनुसार २५ सदस्यीय सरकार बनाएर चुनावमा जाने थिए ।

तर, देउवाले जनताको आवाज र भावना सुन्दै सुनेनन्, अरु कसैका कुरा सुनेर निर्णय लिए । त्यसको मूल्य उनी र उनको पार्टीले निर्वाचनमा चुकाउनुपर्‍यो ।

हुन त वाम गठबन्धन बनेका कारणले पनि कांग्रेसले गणितमा पराजय भोग्नुपरेको हो । तर, माओवादीलाई विश्वासमा लिन नसक्नु कांग्रेसको दलीय हितका लागि देउवाको अदुरदर्शिता नै मुख्य कारक बन्यो ।

यी सबै परिस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व आफैंले लिएर पाँच वर्षसम्म पार्टीलाई जनपक्षीय बनाउनेतिर लाग्छन् या कांग्रेसलाई झनै विद्रूप बनाउँदै लैजान्छन् ? यो हेर्न बाँकी छ ।

तर, अझै पनि कांग्रेसले खेलाँची गर्‍यो भने कांग्रेसको वर्तमानमात्रै होइन, भविश्यसमेत धरापमा पर्न सक्छ । त्यसबेला कांग्रेसलाई भगवानले पनि जोगाउन सक्ने छैनन् ।

कांग्रेसको पुनर्जागरण कति सम्भव ?

चुनावमा नेपाली कांग्रेस किन हार्‍यो भन्ने पहिलो प्रश्न हो । तर, योभन्दा अर्को गम्भीर प्रश्न के छ भने अबको ५ वर्षपछि कांग्रेसको पुनर्जागरण सम्भव होला कि नहोला ?

सर्वप्रथमतः कांग्रेस नेताहरुले नेपाली राजनीतिको ‘रियल ग्राउण्ड’ नै चिन्न सकेनन् । नेपाली जनता भ्रष्टाचारको अन्त्य भएको हेर्न चाहन्छन् । तर, कांग्रेस नेताहरुले ०४८ सालदेखि चिरञ्जीवी वाग्ले र खुमबहादुरहरुले सुरु गरेको भ्रष्ट संस्कारलाई नै निरन्तरता दिए । त्यसैलाई संस्थागत गरे । फलाए, फुलाए ।

कांग्रेसका दार्शनिक नेता रामचन्द्र पौडेल बेलाबखत भन्ने गर्छन्, लोकतन्त्रमाथि वामपन्थी र दक्षिणपन्थी (राजावादी) अतिवादले प्रहार गरेका कारण कांग्रेसले मुलुकको विकास गर्न नसकेको हो

कर्मचारी, प्रहरी आदिको सरुवामा घुस खानु कांग्रेस नेताहरुको दैनिक खान्कीजस्तै बन्यो । कांग्रेस नेताहरु भ्रष्टाचारको पर्याय बने । अन्ततः यही भ्रष्टाचारकै कारणले गर्दा ०४८ सालयता देशमा न बिकास भयो, न अमन चयन ।

जनताले ०६२/०६३ पछि देशमा परिवर्तन चाहेका थिए । यही परिवर्तनको आकांक्षाका लागि हजारौंको रगत बगेको थियो । तर, यसको मर्म नेताहरुले बुझेनन् । लोकतन्त्र, वीपीको समाजवाद इत्यादि नारा जपिसकेपछि जे गर्दा पनि हुन्छ भन्ने नेताहरुको बुझाइ देखियो । व्यापारी, तस्कर, ठूलाठूला ठेकेदारहरु अनि घैंटे डनहरु कांग्रेसजन साथी बने, सारथी बने ।

डा. रामशरण महतको ‘स्कुल अफ थट’ का कारण उद्योगधन्दाहरु कौडीका भाऊमा बिक्री भए । निजीकरणले देश टाट पल्टियो । युवाहरु विदेश पलायन हुन बाध्य भए । विदेशमा छोराछोरी पढाउने कांग्रेसका रिटाडर्य उमेरका नेताहरुले मुलुकको गरीबीमाथि अनवरत रजाइँ गरे । तर, शिक्षा स्वास्थ्य जस्ता आधारभूत विषयमा गरीब जनताको पहुँच बढाउन कांग्रेस नेताहरुले फिटिक्कै ध्यान दिएनन् । दिनै चाहेनन् । सोझा जनतालाई चुनावमा मासु चिउरा ख्वाएपछि जे गर्दा पनि हुन्छ भन्ने उनीहरुले ठाने ।

जनता चुपचाप–चुपचाप कांग्रेस नेताहरुले मच्चाएको ब्रह्मलुट, भ्रष्टाचार र अव्यवस्थाको शिकार बनिरहन बाध्य भए । लोकतन्त्रका लागि केही वर्ष, केही महिना जेल बसेको बाहना बनाउँदै चारतारे झण्डा ओढेर देशको सम्पत्तिमा रजाइँ गर्ने काम भयो यसअवधिमा निरन्तर हुँदै आयो । कांग्रेसले वीपीको समाजवाद मात्रै बिर्सिएन, लोककल्याणकारी राज्यको अवधारणालाई नै रामशरण महतको थ्यौरीको चास्नीमा खोलेर घुट्क्याउने काम गर्‍यो ।

कांग्रेसका दार्शनिक नेता रामचन्द्र पौडेल बेलाबखत भन्ने गर्छन्, लोकतन्त्रमाथि वामपन्थी र दक्षिणपन्थी (राजावादी) अतिवादले प्रहार गरेका कारण कांग्रेसले मुलुकको विकास गर्न नसकेको हो । तर, पौडेलको यो भनाइले नेपाली कांग्रेसभित्रको खराबीलाई पूरै ढाकछोप गर्छ । जबसम्म कांग्रेस नेताहरुले कुतर्कको घुम्टोमा छोपिएर आफूभित्रको फोहोरको गन्ध पत्तो लगाउन सक्दैनन्, तबसम्म वामपन्थीको विरोध गरेकै भरमा कांग्रेसको पुनर्जागरण सम्भव छैन ।

देशको विकास नहुनुमा उग्रवामपन्थी र दक्षिणपन्थीहरुलाई दोष देखाउने कांग्रेसले यो चुनावमा तिनै दक्षिणपन्थीलाई हलो र गाईमा भोट हालेर आफ्नो दाबीको आफैं खण्डन गरिसकेको छ । कांग्रेस नेताहरुले अरुलाई गलत देखाएर आफू सही सिद्ध हुने अवैज्ञानिक प्रयास गर्दै आएको देखिन्छ ।

त्यसैले, अब बन्ने सम्भावित बहुमतको सरकारलाई समेत जनता र मिडियाले निरन्तर खबरदारी गरिराख्नुपर्नेछ । नभए यिनीहरु मैमत्त भएर बहुलाउन सक्छन् र हामीसँग बहुमत छँदैछ भनेर फेरि पुरानै ढर्रामा चल्न सक्नेछन् ।हामीलाई चाहिएको स्थिर सरकार मात्रै होइन, जनपक्षीय एवं भ्रष्टाचाररहित स्थिर सरकार हो । यसका लागि एमाले र माओवादी भरपर्दो शक्ति होइनन् । जनताले यी दललाई शंकाको सुविधासहित बहुमत दिएका हुन् ।

वाम नेताले यो कुरा बुझ्न सकेनन् भने कांग्रेसले ५ वर्षपछि त्यसको लाभ उठाउन त सक्ला । तर, पुरानो कांग्रेसले होइन, सुधारिएको कांग्रेसले मात्रै ।तथापि, देउवा नेतृत्वको कांग्रेस सुध्रिने सम्भावना अति नै क्षीण छ ।

 

photo

NOC1-250x300