कविता : बन्ने छ सुन्दर, शान्त र समृद्ध नेपाल

बुराम पन्थी ‘गुल्मेली’

साथीहरू भन्छन्
हाम्रो देश बिग्रियो
हाम्रो देशमा मानवता हरायो
जनता राजनीतिको शिकार हुन बाध्य छौँ
म सोचमग्न हुन्छु
मनमनै आफैभित्र प्रश्न उठ्छ ।

एउटा बिरामीको पीडा कम गराउने
डाक्टरमा के मानवता छैन ?
साना बच्चाबच्चीको सिँगान पुछ्दै
शिक्षाको ज्योति फैलाउनेहरूमा
के मानवता छैन ?
पशुपतिनाथको बाहिर
वृद्धाश्रममा खाना बाँड्ने दयालु
मनहरूमा के मानवता छैन ?
दृष्टि गुमेकाहरूलाई डोर्याउने
सारथीहरूमा के मानवता छैन ?
जेलमा बेकसुर थुनिएका नाबालकहरूलाई
आश्रय दिनेहरूमा के मानवता छैन ?
आफ्नै जीवन बेचिएको थाहा नपाएर
वेश्यालयसम्म पुगेका चेलीहरूलाई फर्काएर
आश्रय दिनेहरूमा के मानवता छैन ?
भूकम्पले क्षतविक्षत बनाएको जीवनलाई
आश्रय दिनेहरूमा के मानवता छैन ?
दिन दुःखीको सेवा गर्दै हिँड्ने मनहरूमा
के मानवता छैन ?

भ्रष्टचारीलाई कीरा परोस् भन्दै
आवाज बुलन्द पार्नेहरूमा मानवता छैन ?
आफ्नो पद र आम्दानी छाडेर संसारको कुनाकुनाबाट राष्ट्रका लागि जीवन समर्पण गर्छु भनेर फर्किएकाहरूमा के मानवता छैन ?
विदेशमा आफ्नो श्रम बेचेर घर र देशको
खर्च धान्नेहरूमा के मानवता छैन ?
राष्ट्रका लागि पटकपटक मर्न तयार हुने
जिउदा सहिदहरूमा के मानवता छैन ?
निस्वार्थ भावमा देशको सेवा गर्दै गरेका
कर्मठ राजनीतिज्ञहरू र कर्मचारीहरूमा
के मानवता छैन ?
वा भिक्षा माग्दै हिँड्ने लाचार युवा जोगीलाई
भिक्षा दिने ती वृद्ध आमामा के मानवता छैन ?

हो साथी तिमीले भनेको ठीकै हो
उनीहरूमा मानवता छैन
किनकि
उनीहरू ईश्वरीय काम गरिरहेका छन्
उनीहरू ईश्वरीय बरदान हुन् ।
छन् यसै माटोमा हिरा मोतीका टुक्राहरू
हामीले केलाउन सक्नुपर्छ
समुन्नत नेपालको लागि देशलाई
कर्मठ नयाँ सोचका युवालाई जिम्मा लाउनुपर्छ

छन् कोही राष्ट्रका दुष्मनहरू
हरतरहले मानवता गुमाएकाहरू
अब हामी युवाले नै तह लगाउनुपर्छ ।
मेरो मातृभूमिको आँगनमा
जब सुविचारको फूल फक्रिएर
सुगन्ध फैलिने छ
त्यतिखेर निस्तेज हुने छन्
नेपाल आमाका दुष्ट लेन्डुपेहरू, धर्म बेच्ने दलालहरू
जनताले लखेट्ने छन् एक दिन
ती अस्थिरता निम्त्याउने विध्वंशकारीहरूलाई
र बन्ने छ सुन्दर शान्त र समृद्ध नेपाल !

-तम्घास गुल्मी

 

photo

NOC1-250x300