कथा : श्रीमतीको खुशी

सुखदुःख भनेका कुमालेको चक्र जस्तै हुन् । मान्छे जति सुखी हुन्छ त्यति नै दुखी पनि हुन्छ, अर्थात् सुख र दुखको योग अन्त्यमा जिरो नै हुन्छ । यसको अर्थ चाहे गरिबको झुपडीमा होस् वा धनीको महलमा, त्यहाँ सुखको पल हुन्छ अनि दुःख पनि लुकेको हुन्छ । वास्तवमा सुखदुःख मान्छेको हृदयमा महसुस हुने कुरा हुन । फाइभ स्टार होटल जस्तो महलमा बस्ने अनि त्यस्तै भोजन गर्ने मानिस दिनभरिको पसिनासँग साटेर ल्याएको चार मुठी खाना सपरिवार बाँढेर आधा पेट खाने मान्छेभन्दा खुशी हुन्छ भन्ने हुँदैन ।images

एकजनाको जागिर, त्यही पनि प्राइभेट कम्पनीमा, त्यसको भरमा दुई बूढाबूढी काठमाडौँको ठाउँमा डेरा भाडा गरेर बस्नु पर्दा पनि श्रीमती खुशी देख्दा अमनको मन गदगद फुल्छ, गोदावरी फूल जस्तै । उसले ठान्दछ “संसारको सबभन्दा खुशी मान्छे म नै हो ।” उसलाई खुशी हुन कुनै भयङ्कर कारण चाहिँदैन । श्रीमतीको खुशी देखेर अमन खुशी हुन्छ, फेरि अमनको खुशी देखेर श्रीमती खुशी हुन्छिन् । अण्डा पहिला कि चल्ला पहिला भनेजस्तै को पहिला खुशी हुन्छ यकिन छैन । तर दुवै सधैँ खुशी छन् । अमनलाई थाहा छ, यो धर्तीमा ऊभन्दा धनी धेरै छन्, उसलाई यो पनि थाहा छ ऊभन्दा पनि गरिब धेरै छन् तर उसलाई लाग्छ ऊभन्दा खुशी कमै छन् ।

अलि पहिलाका मान्छेको मुख्य इच्छा हुन्थ्यो राम्रो काम गर्ने अनि मरेपछि स्वर्ग जाने । उनीहरु मान्छे भएर पृथ्वीमा जन्मँदा धेरै दुःख छ र अर्को जुनी पनि मान्छे भएर पृथ्वीमा जन्मनु नपरोस् अथवा मुक्ति पाइयोस् भन्ने इच्छा राख्थे । तर आजकलका मान्छे त्यति अध्यात्ममा विश्वास गर्दैनन् । उनीहरुको मुख्य इच्छा हुन्छ धेरैभन्दा धेरै पैसा कमाउने । पढ्ने किन ? राम्रो जागिर खाएर टन्न पैसा कमाउन, डाक्टर बन्ने किन ? टन्न पैसा कमाउन । सीए बन्ने किन ? टन्न पेसा कमाउन । अनि मान्छे यति पैसा कमाउन चाहन्छ कि जति कमाए पनि उसलाई पुग्दैन । पैसा कमाउने होइन अबका मान्छेको मुख्य लक्ष्य हुनुपर्छ “खुशी हुने” । खुशी हुनु नै सबभन्दा ठूलो कुरा हो र खुशी हुन पैसा कमाउनै पर्छ भन्ने छैन ।

दिनभरि थाकेर आयो, सिमसिम पानीले गर्दा अगमनले लगाएको लुगाको बाहिरी पत्र निथ्रुक्क भिजेको हुन्छ । भित्री पत्र पसिनाले भिजेको हुन्छ । धन्न बीचको पत्र चाहिँ ओभानै हुन्छ । घर आयो, बाहिरको लुगा फुकाल्यो, भित्रको पनि फुकाल्यो । मात्र एक पत्र लुगाले उसलाई जाडो त हुँदो हो तर श्रीमतीको मुस्कानले न्यानो बनाइदिन्छ । तात्तातो भात गुन्द्रुकको झोलसँग नै किन नहोस् एकअर्कालाई हेर्दै खाँदा यस्तो मीठो लाग्छ । सायद त्योभन्दा मीठो खानेकुरा अरु छैन यो दुनियाँमा । तपतप छानाबाट शीत नै चुहेको किन नहोस् श्रीमतीसँग अँगालोमा बाँधिएर सुत्दा पुस महिनाको जाडो नि जाडो लाग्दैन उसलाई । यस्तो मीठो निद्रा लाग्छ, निद्रामा कहिल्यै सपना पनि देख्ने फुर्सद हुँदैन उसलाई ।

कहिले काहीँ अमन भन्थ्यो “यसो १०, ८ वर्ष अरबतिर गएर अलि अलि धन कमाएर ल्याउन पाए अर्काको घरमा बस्नु पर्दैन थियो । अनि टिनको छानो मुनि के बस्नु पथ्र्यो र हगि बूढी ?” श्रीमती भन्छे “किन चाहियो ढलान गरेको घर, आखिरीमा छाडेरै जानुपर्ने हो क्यारे । अनि भाडामा बसे पनि भाडा तिरेपछि त आफनै त हो नि । हजुर विदेश गएपछि यसरी दुईजना खुशी साथ वस्न कहाँ पाइन्छ र ? फेरि त्यहाँ तपाईं एक्लै भएर मन बरालिएर अर्कै कसैलाई मन पराउन थाल्नुभयो भने के गर्ने नि । यता मेरो मन पनि भड्किएर अन्तै लागेँ भने नि ? यस्तो खुशीको संंसार त भताभुङ्ग हुन्छ । विदेश जाने विचार मनैबाट हटाइदिनुहोस् । ”

बिहान अफिस जाँदा पनि १ घण्टा, फर्कदा पनि साइकलमा एक घन्टा, अफिसमा ननग्राजुयट दोस्रो श्रेणीको अफिसर अमनको कम्मर कति दुख्दो हो ? शरीर कति कर्करी खाँदो हो, ढाड कति दुख्दो हो ? तर श्रीमतीले सुत्नु अघि तोरीको तेल तताएर मालिस गरिदिँदा उसको सारा थकान गायव हुन्थ्यो । अमन श्रीमतीलाई पनि भन्थ्यो– “तिमी पनि घरको कति काम गरेकी छ्यौ, खाना बनाउनु पर्यो, खाजा बनाउनुपर्यो, मालसामान किनेर ल्याउनु पर्यो, अनि १० मिनेट टाढाको ढुङ्गे धाराबाट दिनको दुई पटक पानी बोकेर ल्याउनुपर्यो । तिमीलाई पनि गाह्रो भएको छ, आऊ तेल लगाइदिन्छु ।” श्रीमती बूढा जिस्किएको भन्ठान्थी । अनि गलल्ल हाँस्दै भन्थी “यति काम त गर्नैपर्यो नि घरमा बस्ने मान्छेले । मलाई यति कामले गर्दा त एक्सरसाइज गर्न परेको छैन ।” यस्तै तरिकाले अमनका दिनहरु प्हिला पनि बिते, अहिले पनि चलिरहेको छ, पछि कसरी नचल्ला र ?

२, ४ वर्ष पहिला श्रीमती बच्चा पाउनुपर्यो भनेर दिक्कै गर्थी । “आफूलाई बच्चा खेलाउने कस्तो रहर छ । कसैले बच्चालाई डोर्याएर हिँडेको देख्दा, काखमा खेलाएको देख्दा मनै कटक्क काटिन्छ” भन्थी । अमन चाहिँ खिस्स हाँसेर सम्झाउथ्यो “पर्ख न अहिले हतार नगर, बल्ल त २५ वर्ष पुगियो । फेरि बच्चा पाएपछि काम बढ्छ, खर्च बढ्छ । पछि विचार गरौँला नि । अनि बच्चा पाएपछि त हाम्रो माया पनि त घट्ने होला । तिमीले मलाई गर्ने माया, मलाई र बच्चालाई बाँढ्नुपर्यो । त्यस्तै मैले गर्ने माया पनि ।”

आजकल त श्रीमतीले अमनले भन्दा बढी कुरा बुझेकी छिन् । भन्छिन्, “बच्चा पाउनभन्दा त नपाएकै ठीक । मेरो माया सबै हजुरलाई अनि हजुरको माया सबै मलाई । बच्चा नभएपछि आफनो मात्र चिन्ता हुन्छ । अनि हेर्नुहोस् न संसारमा हत्या, हिंसा, व्यविचार कस्तो बढेको छ । वच्चा पायो, कहिले कसरी ठूलो होला भन्ने पीर, कहिले कस्तो पढ्ने हो भन्ने पीर, कहाँ जाला, के गर्ला भन्ने पीर । त्यति मात्र हो र ? ठूलो भएपछि कस्तासँग बिहे गर्ने हो, नातिनातिना कस्ता हुने हुन् ? केके हो के हो, पीर र चिन्ताको कुन्यु ।” अनि आखिरीमा श्रीमतीकै इच्छाअनुसार स्थायी परिवार नियोजन गरेका हुन् ।

बिहे भएको एक वर्षदेखि नै गाउँमा साथीहरुले, आफन्तले बच्चा भयो कि छैन भनेर सोध्न थालेका हुन् । बिहे गरेको ७ वर्षसम्म बच्चा नभएको थाहा पाउनेहरुले चाहिँ “यिनीहरुको बच्चा नहुने रहेछ” भन्ने अनुमान गरिसकेका थिए । थाहा नहुनेहरुले त “कति बच्चा छन् भनेर सोध्थे ।” के थाहा किन उनीहरुले बच्चा पाएका छैनन् भन्ने कुरा ।

हुन त अमनका दाइ, दिदीका छोराछोरीहरु प्रशस्तै थिए । तर पनि कान्छो छोराले बच्चा नपाउँदा गाउँमा बाआमालाई कस्तो चिन्ता भयो होला ? बिहे गरेको नौ महिनादेखि कान्छाको नाति खेलाउन पाइएला भनेर कुर्दाकुर्दै अझै केही छेकछन्द छैन । नाति नातिना होलान् भनेर उनीहरुले गाउँमा चौतारा पोखरी बनाए, सप्ताहा लगाए, हरिवंश पुराण लगाए, अमनकी आमाले त अझ ठाडा बत्ति, लाख बत्तिसमेत बालिन्, तर नातिनातिना अझसम्म भएनन् । पहिले त नातिको इच्छा थियो उनीहरुको, अव त नातिनातिना जे भए पनि हुन्छ, तर जसरी पनि एउटा त पाउन पाए हुन्थ्यो भन्ठान्थेँ । उता अमनका श्रीमानश्रीमतीको चाल अर्कैथियो । बाटै बन्द गरेपछि कसरी आउँथे छोराछोरी, सत्य युग हो र खेतबाट पनि, आगोबाट पनि बच्चा जन्मने ?

अमनका श्रीमानश्रीमतीले बच्चा नभएको कारण बारे कहिल्यै आफ्ना बाबाआमालाई भनेनन् । उनीहरुले आफ्ना बाबाआमाको लागि खुशी दिन त सकेनन् तर आफूहरु सधैँ खुशी रहे । खुशी हुने विशेष रहस्य केही थिएन । अमनश्रीमतीको खुशी देखेर नै खुशी थियो अनि श्रीमती अमनको खुशी देखेर ।

 

photo

NOC1-250x300