कथा : एक सर्को चुरोट ।

आफूभन्दा राम्रो दुनियाँमा अरु कोही छैन जस्तो लाग्थ्यो। आफू नै शक्तिशाली अनि आफू नै राम्री।churot

  सन्तान जन्मनु पूर्व नै अभिभावकका आँखामा सन्तानको भविष्यबारे सपनाहरु दौडिन थाल्छन्। जन्मेपछि त उनीहरु सबैलाई सुनाउँछन् आफ्ना सपनाहरु। आमा भन्छिन्– मेरी छोरीलाई डाक्टर बनाउने हो। बाबु भन्छन्– मेरी प्यारी नानूलाई इन्जिनिएर बनाउने। हरेक बाबुआमाले देख्ने यस्ता सपनाहरु मेरा आमाबुवाले पनि आफ्ना आँखामा सजाएका थिए।

ती सपना सुन्दासुन्दै हुर्किएँ म। विस्तारै जवानीले जीवनमा पाइला टेक्दै थियो। मनमा इच्छाहरु तीव्र गतिमा बढ्दै थिए। बाउआमाको सपनाका कुरा विष जस्ता लाग्न थालेका थिए। पढाइको कुरा सम्झँदा पनि दिमागमा बम बिस्फोट हुन्थ्यो। शिक्षक देखेर रिस उठथ्यो। पढाइ हापेर पौडी खेल्न जान्थे। अरु केटीभन्दा फरक थिएँ, अनि फरक थिए मेरा अघिपछि हिँड्ने दोस्तीहरु। छोरी भएर पनि म छोरा जस्तै थिएँ। ड्रेस अप पनि केटा कै गर्थें किनकि मेरा केटा साथीहरु धेरै थिए। उनीहरुको माझमा म पनि केटा देखिन चाहन्थेँ।

स्कूल जान भनेपछि मनमा एलर्जी हुन्थ्यो। पढन जाने भनेर घरबाट हिँडेपनि म सिनेमा हल जान्थें। जति पढेपनि अन्तिम जाँचमा आलु नै आउँथ्यो। यसै आलु उसै आलु ट्युसन पढने पैसाले पनि मोजमस्ती गर्थे। पढेपनि अन्त्यमा बिहे गरेर अरुको घरमा दासी नै बन्नुपर्छ भन्ने लाग्थ्यो। के का लागि पढनु अनि केका लागि रटिनु? उ बेलामा १२ कक्षा पास गरेकी मेरी आमाले के नै गरिन र? बिहे गरेपछि सासूससूराको सेवा र घरको कामकाज गर्दै ठिक्क छ। सकरात्मक सोचलाई भेलले बगाउँदै यस्तै यस्तै नकरात्मक सोचहरुको टुसा मनमा पलाउँदै थियो।

आफूभन्दा राम्रो दुनियाँमा अरु कोही छैन जस्तो लाग्थ्यो। आफू नै शक्तिशाली अनि आफू नै राम्री। अहिलेको उमेर मोजमस्ती गरेर बिताउन पर्छ जस्तो लाग्थ्यो। गर्नुपर्छ मोज, सक्नुपर्छ बाआमाको पैसा, आखिर म बाआमाकी एक्ली छोरी। बाउ विदेशमा पैसा कमाउन गएकै छन्। मेरा सबै आवश्यकताहरु पूरा गरेकै छन्, आखिर के का लागि पढनु? यी र यस्तै कुराले मेरो दिमाग भरिएको थियो।

मान्छे म त्यति राम्री त होइन तैपनि केटाहरुको कमी थिएन। जसले पैसा दिन्छ त्यही केटासगँ अफयेर चलाइदिन्थे। मायाको अर्थ थाहा थिएन। कसैको भावनाको कदर गर्दैनथें। छोरी मान्छे भएर घरमै बस्नुपर्छ, खाना बनाउनुपर्छ, घरको कामकाज सिक्नुपर्छ भन्ने मान्यतालाई म किराले खाएको दाँत फालेजस्तै जरैदेखि उखालेर फाल्न चाहन्थे, जसले गर्दा अरु दातहरु किराले नभेटुन्। के छोरी मान्छेको मात्र खाने मुख हुन्छ? छोराहरु पनि त खाना खान्छन्। सधैँ महिलाहरुलाई नै दासी बनाएर उनीहरु चाही डुल्न पाउने? म भित्र विद्रोहको राँको बल्थ्यो। आमाले जतिसुकै गाली गरेपनि घर छाडेर बाहिर हिँड्थे। केटी साथीभन्दा केटा साथीहरु बढी थिए।

कक्षा ८ मा पढ्दा पहिलो पटक मैले चुरोट तानेकी थिएँ। एक सर्को चुरोटले मलाई फनफन्ती घुमाएको थियो। केटाहरुले पहिलो पटक भएर त्यस्तो भएको बिस्तारै बानी पर्छ भनेर सान्तवना दिए। चुरोट खाएपछि धुँवा उडाउन निकै रमाइलो लाग्थ्यो। बिस्तारै बानी बस्दै गयो। आजभन्दा भोलि, भोलिभन्दा पर्सी चुरोटतिर आकर्षण बढ्दै गयो।

स्कुलमा जस्तोसुकै कडा नियम लगाएपनि म स्कुल छाडेर भागिहाल्थें। कहिलेकाहीँ स्कुल गइयो भने सबैले आज त टुरिस्ट आएकी छे भन्थे। प्रिन्सिपलका भविष्यबारेका लेक्चर पनि खाइन्थ्यो कहिलकाँही शिक्षकको कुटाइपनि खाइयो। घरमा आउँदा आमा पढेर ठूलो मान्छे बन्नुपर्छ भनेर सम्झाउनु हुन्थ्यो। म सोच्थें– के नपढ्ने मानिस ठूला भएका छैनन्? घर, स्कुल जताततै पढाइ, पढाइ भन्छन् सबै आफूलाई भने पढाइ शब्दले नै वाक्क बनाएको थियो।

पढाइप्रति वाक्क लागेपछि मैले आठ कक्षाको अन्तिम परीक्षा नदिइकनै स्कुल छोडें। त्यसपछि कहिल्यै पढन मन लागेन। मेरा केटी साथीहरु भन्दा धेरै केटा साथीहरु नै थिए। केटीहरू चुरोट तान्ने थाहा पाएपछि मबाट टाढा टाढा भाग्थे र एकआपसमा कुरा गर्थे– त्यो त चुरोटे हो भनेर। केटीहरुले साथी नबनाएपनि मलाई मतलब भएन किनकि मेरा अघिपछि हिँडने केटा साथीहरु टन्नै थिए। उनीहरुको कुरा नराम्रो लागेपनि हो मा हो थपिदिएपछि पैसा खर्च गरिहाल्थे।

पढाइ छोडेपछि दिनभर केही काम हुँदैनथ्यो। दिनभर डुलिन्थ्यो। बिस्तारै चुरोट हुँदै मेरो लत गाँजामा बस्न थाल्यो। गाजा तान्न सुरु गरें। हाम्रो ग्याङमा अर्को केटी साथी पनि आइन्। जिन्दगी मोजमस्तिमा नै बित्न थाल्यो। आफन्त, घर परिवार कसैको मतलब लाग्दैनथ्यो। गाँजाबाट बढेर म ड्रग लिने भैसकेकी थिएँ। एकदिन नपाउँदा भाउन्न छुट्थ्यो, छटपटाउँथे, अनि भौतारिन्थें। जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै जसरी पनि पैसा जुटथ्यो अनि पैसा जुटेपछि ड्रग जुट्थ्यो।

समाजमा म घृणित भइसकेकी थिएँ। बाटोमा भेटिने साथीभाइ, इष्टमित्र शिर निहुराएर नबोली हिँड्थे। मभन्दा घृणित मेरी आमा भएकी थिइन्। मेरै कारणले घर बेचेर बसाई सर्नुपरेको थियो। मेरा लागि सपना देख्ने आँखामा मोतीका दानाजस्ता आँसु टिलपिल पार्दै आमाले मलाई सम्झाउथिन् यसो नगर भनेर। मलाई भने आमाको आँसुभन्दा नसा नै प्यारो थियो। कुलत नै प्यारो थियो।

दिन, महिना हुँदै वर्ष बिते। म कुलतमा नसामा डुबिरहेकी थिएँ। एकदिन सधै भेटिने जक्सनमा थियौ, लुकेर ड्रग लिदै थियौं, अचानक प्रहरी आएर हामीलाई पक्रेर लग्यो। त्यो रात प्रहरी चौकी मै बस्नु पर्ने भयो। जिन्दगीमा सबैभन्दा बढी तडपेको समय नै त्यही थियो। एक हप्ता मामाघरमा राखेपछि मेरो परिवारको सहयोगमा सुधार केन्द्र लगियो। सुधार केन्द्रमा बस्दापनि धेरै तडपिएँ। कहिलेकाहीँ त माथिल्लो तलाबाट नै हाम फाल्दिउ जस्तो हुन्थ्यो।

रियाभमा दिइने दैनिकको औषधि, काउन्सेलिङ र मेडिटेसनले बिस्तारै म ठीक भएँ। नयाँ जीवन पाएँ। अहिले म त्यही सुधार केन्द्रमा स्वयंसेवी बनेर काम गर्छु। विगतका ती दिनहरु सम्झँदा शरीरमा काँडा उम्रिन्छ। मन सिरिङ हुन्छ। विगतलाई बिर्सिएर वर्तमानमा रमाउन खोज्दैछु। विगतमा गरेका गल्तीलाई केलाउँदै छु, निमोठ्दै छु, अनि चिमोट्दै छु।

अझैपनि मप्रति समाजको कुदृष्टि नै छ। छोरी भएर पनि बिग्रेकी भन्छन्। यसको त बिहे गर्न पनि गाह्रो हुन्छ, भन्छन्। अचेल म सोच्छु-छोरो कुलतमा लाग्यो भने सजिलै माफी दिने यो समाजले छोरीलाई भने माफी दिन नसक्दो रहेछ। के एकपटक बिग्रेकी छोरी पछि सुध्रिन सक्दिन र?’

मेरी साथीले आफ्नो कथा सुनाइसकेपछि लामो श्वास तानी र मलाई हेरी। मसँग उसको प्रश्नको जवाफ थिएन। उसको कुराले मलाई पनि मौन बनायो।

हामीले अर्डर गरेको चिया सेलाइसकेको थियो। चिसो चिया पिउन सुरु गर्‍यौं। चिया पसलको अर्को छेउमा कलेज ड्रेस लगाएकी एउटी केटी चुरोट तानिरहेकी थिई। चुरोटको सर्को तानिरहेकी त्यो केटीले पनि कुनै दिन उसकी साथीलाई सोध्ली–के एकपटक बिग्रेकी छोरी पछि सुध्रिन सक्दिन र?

 

photo

NOC1-250x300