कथा : अतित

amrit-bhusal‘के तिमीले मलाई चिनेकी छ्यौ ?’
‘छैन ।’
‘किन फ्रेन्ड रिक्वेक्ट पठाको त ?
‘तिमी राम्रो मान्छे छौ नि । त्यसैले ।’
‘चिन्दै नचिनी कसरी राम्रो मान्छे भन्छ्यौ ?’
(हिहिहि, हाँसेको स्टिकर)
‘मेरा दोषी आँखाले नदेखे पनि मेरो मनले देखेको छ नि, तिमीलाई ।’
‘ह्या वाहियात कुरा नगर न यार,

को हो तिमी खुरुक्क भन ।’
‘किन तिमी रिसाएको ?

ल हेर मेरो फोटो, मलाई चिन्छौँ ।’ (म्यासेजमा फोटो आयो)
उसको फोटोलाई मैले मोबाइलमा सेभ गरेँ र जुम गरेर धेरै बेर हेरेँ । ऊ असाध्यै राम्री थिई । जवान केटीको फोटो जवान केटाले कसरी हेर्छ ? के–के हेर्छ ? मैले पनि त्यसैगरी हेरेँ ।

मुखबाट फ्याट्टै निस्कियो, ‘कस्तो च्वाँक केटी’ ।

सिभिल महलको हिमालयन जाभाको टेबल नम्बर १५ मा बसेर चुरोट र कफीको चुस्कीमा केटीको फोटो नियाल्दै थिएँ ।
पुनः म्यासेज आयो, ‘होइन फेन्ट भयौ कि क्या हो फोटो हेरेर ?’
‘हो त । कसैको नभएको तिम्रो फोटो ! फेन्ट भएको थिएँ, तिमीले ब्युँभmाइदियौ ।’
‘हो हई । ल अहिलेलाई बाई गरौँ, साँझ आऊ न अनलाइन, मज्जाले गफ गरौँला ।’
‘तिम्रो परिचय पाऊँ न । अनि पो गफ गरौँला ।’
त्यति लेखेर पठाउँदासम्ममा ऊ फेसबुकबाट अफलाइन भई । अर्को चुरोट सल्काउँदै त्यहाँबाट उठ्ने तर्खरमा थिएँ । यसो घडी हेरेको दिउँसोको १२ः१० भएको थियो । बेलुका ४ः३० को प्लेनबाट बुटवल फर्कनु थियो । काठमाडौंको काम छिटो सक्नतिर लागेँ ।
‘कृपया आ–आफ्नो मोबाइल स्विच अफ गर्नुहोला ।’ बुद्ध एयरको एयर होस्टेज नानीको मधुर आवाज गुन्जियो बेलुका ४ः४५ बजे ।

खल्तीको मोबाइल तुुरुन्त निकालेर एरोप्लेन मोडमा राखें । फेसबुकको म्यासेन्जरमा म्यासेज आएको कुरा देखायो, मोबाइल हेरेँ ।
‘ह्याभ अ सेफ जर्नी !’
त्यही केटीको म्यासेज रहेछ ।
प्लेन जमिन छाडेर आकाशमा पुगिसकेको थियो । पुनः त्यो केटीको फोटो हेर्न मोबाइलको ग्यालरीमा गएँ, जताततै हेरेँ । सेभ भएनछ ।

खोपडीभित्रको गिदीलाई त्यो को केटी हो भन्ने सोच्नलाई तीव्र र क्षमताले भ्याएसम्म सक्रिय बनाएँ । तर, पत्ता लाउन सकिनँ ।
५–६ दिनको काठमान्डुको बसाइ, साथीभाइसँगको रमाइलोले गर्दा सुत्न नसकेको म, बेलुका ८ बजे नै निदाएछु ।
मोबाइलमा घन्टी बज्यो र ब्युँझिएँ । फोन रिसिभ गरेँ । उसैले मीठो मधुर आवाजमा ‘अनलाइन आउन प्लिज’ भनी । फेसबुक म्यासेन्जर खोलेँ । उताबाट म्यासेज आइहाल्यो ।
‘छोटो दूरीको हवाई यात्रा कस्तो भयो ?’
‘कस्तो भयो भनेर भनौं ? तिम्रो बारेमा सोच्दा सोच्दै भैरहवा आइसकेछु ।’
‘मलाई थाहा थियो, तिमी मेरोबारे सोच्दै मोबाइल चलाउँदै थियौ हैन ?’
‘कसरी थाहा भो तिमीलाई !’
‘हिहिहि !’ हाँसेको स्टिकर पठाउँदै भनी । म तिमीपछाडिको सिटमा थिएँ ।
मेरो दिमाग फनफनी घुम्यो, पछाडिको सिटमा त दुईजना अर्धबैंसे लोग्ने मानिस थिए । पत्याइनँ र भनेँ, ‘ह्या पागल कुरा नगर न यार । आखिर को हौं तिमी ?’
उसले आफ्नो परिचय त दिइन, तर प्लेनभित्रका मेरा हरेक क्रियाकलाप भनेर आफू पनि त्यही प्लेनमा भएको प्रमाणित गरी । भनी, ‘अब त विश्वास भो होला नि हैन ?’
भनें, ‘प्रमाणसहित पेस गरेपछि त मान्नुपर्यो नि, बरु भन तिमी को हौ ?’
‘मेरो परिचय पाउनुअगाडि एउटा कुरा भनूँ ?’
‘मस्त निन्द्रामा डिस्टर्ब गरिहाल्यौ, एउटा के, दुइटा कुरा गर न ।’
‘होइन एउटा मात्र भन्छु ल !’
मैले हास्दै भनेँ, ‘ल ल भन ।’
‘साँच्ची भनौं ?’
‘भन न ।’
‘अतित, म तिमीलाई प्रेम गर्छु ।’ सँगै लभको स्टिकर पनि आयो ।
मैले टाइप गरेँ, ‘चिन्नु न जान्नु के को प्रेम ? ह्या वाहियत कुरा ।’
भन्न त भनेँ । तर कसैले प्रेम गर्छु भनेर भन्दा मन खुसी भएर फुरुक्क परेको थियो । किनकि जीवनमा पहिलोपटक प्रेम प्रस्ताव आएको थियो कसैको ।
उसले भनी, ‘मनमनै खुशी छौ । तर रिसाए जस्तो गर्छौ ? तर पनि आई लभ यू अतित । नाउ बाई–बाई, टक टु यू लेटर ।’
म अलमल्ल परेँ । सिलिङ्गमाथि नाचिरहेको पंखाजस्तै दिमाग घुम्न थाल्यो । पर्समा राखेको चुरोट लिएर छतमा गई तान्न थालें । त्यही केटीको कल्पना गर्दै र सोच्दै । त्यतिन्जेल मध्यरातको १२ः३० भइसकेको थियो ।
अर्को दिन अफिसमा आफ्नै कामको हतार थियो । त्यत्तिकैमा म्यासेज आयो, ‘आई लभ यू अतित । आई मिस यू सो मच ।’
‘के नाटक गर्छौ यार, को हो तिमी ?’ टाइप गरेर सेन्ड गर्न खोजेँ तर सेन्ड भएन । उसको प्रोफाइल खोल्न सर्च इन्जिनमा गएँ तर ‘सरी, डिन्ट फाइन्ड एनी पिपल’ भन्यो ।
दिमागले अफिसको कामभन्दा उसैबारे बढी सोच्न थाल्यो । त्यस रात पनि फोन आयो । मधुर र निर्दोष आवाजमा सुनेँ, ‘अतित, आई लभ यू । मिस यू सो मच ।’ तुरुन्त फोन काटियो । घडी हेरेको १२ः१० भइसकेको रहेछ । निदाउने प्रयास गरेँ ।
एक हप्तासम्म यो प्रक्रिया निरन्तर रह्यो । म पागलजस्तो हुन थालेँ । शनिवारको रात फरक नम्बरबाट फोन आयो । रिसिभ गरँे । उसले मधुर आवाजमा ‘अतित, आई लभ यू, मिस यू सो मच’ भन्छे भन्ने लागेको थियो । तर भनी, ‘अनलाइन आऊ न प्लिज !’
म अनलाईन भएँ । उसले भनी, ‘सरी ल अतित, मैले तिमीलाई दुःख दिएँ ।’
मैले अलि रिसाएजस्तो गरेर भनेँ, ‘दुःखमात्र होइन, पागलै बनाउन थाल्यौ । आखिर के चाहन्छौं तिमी मसँग ?’
‘के चाहान्छु र अतित । म तिम्रो माया चाहन्छु ।’
उसको कुरा सुनेर दिक्क लाग्यो र झर्किदै भनेँ, ‘ओहो ! अब चाहिँ साँच्ची पागल भएँ । आखिर तिम्रो नाम के हो ?’
‘खुस्बु । चिन्यौ अब ?’
नाम कतै सुनेजस्तो लाग्यो । दिमाग फनफन्ती घुम्न थाल्यो ।
त्यत्तिकैमा उसले भनी, ‘तिमीले अञ्चल अस्पतालभित्रको क्याबिनमा बसेर चुरोट खाएको असाध्यै मन परेको थियो ।’
मैले लाडिदै भनें, ‘ओई खुस्बु, कहिलेको कुरा गर्दैछौ ?’
‘४÷५ वर्ष अगाडिको ।’
‘खै, मैले त बिर्सिएँजस्तो लाग्यो ?’
‘हुन सक्छ । तर मैले बिर्सिएकी छैन ।’
‘उसो भए यतिका वर्षपछि किन कन्ट्याक्टमा आएको ? ल भन त ।’
‘यस्तै हो अतित । समय पाएकी थिईनँ । अर्को कुरा यत्रो कुरा गर्ने हिम्मत थिएन । अहिले हिम्मत जुटाएर भनेँ– आइ लभ यू ।’
‘तिमी अहिले कहाँ छौ ?’
‘अस्पतालमा’
‘कुन ?’
‘लुम्बिनी जोनल अस्पताल ।’
‘उसो भए म भेट्न आउँछु । कुन डिपार्टमा छौ ?’
‘मेन गेटबाट भित्र आउ । तिमीलाई कुरेर बस्छु ।’

म गाडी लिएर अञ्चल अस्पताल पुगे । गेटनिर पुग्नै लाग्दा फोन आयो ।
‘अतित गाडी पार्किङ गरेर हस्पिटल पछाडि आऊ ।’
उसले भनेअनुसार हस्पिटलपछाडि गएँ । तर देखिनँ । बरु फोन आयो । उसले बताएको बाटो पछ्याउँदै गएँ । त्यसैबीच उसले भनी, ‘अतित, सरी ल । तिमीले ढिला ग¥यौ । आई लभ यु । मिस यु सो मच ।’ त्यसपछि फोन राखी । यसो अगाडि हेरेको त ‘पोस्ट माटम गृह’ लेखिएको थियो ।
मलाई डर लाग्यो । फटाफट बाहिर निस्कन थालेँ । त्यत्तिकैमा हस्पिटलभित्रको पुरानो स्टाफलाई देखेँ र सोधेँ, ‘दाइ, यहाँ खुश्बु भन्ने स्टाफ छ र ?’
उनले मलिन स्वरमा भन्यो, ‘थिइन् भाइ । साह्रै असल र मिलनसार । राम्री पनि । तर के गर्नु । ऊ त्यो छतबाट चिप्लेर लडिन् र मृत्यु भयो ।’
उनको कुरा सुनिनसक्दै म उभिएको जमिन भासिएको अनुभूति भयो । चारैतिर कालो फैलिएको थियो । अतितको कालो !

 

photo

NOC1-250x300