ऊर्जामन्त्री शर्मा सम्मानित

sharmaकाठमाडौँ, ४ चैत । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विद्युत्भार कटौतीमुक्त अभियानलाई सफल बनाएको भन्दै ऊर्जा मन्त्री जनार्दन शर्मालाई अभिनन्दन गरेको छ ।
क्रान्तिकारीले आज नयाँ बानेश्वरमा ऊर्जा मन्त्री शर्मालाई सम्मान गर्दै नयाँ नेपाल निर्माणका लागि मुलुकको ऊर्जा क्षेत्रमा अझै धेरै काम गर्न आग्रह गरेको हो ।

क्रान्तिकारीले मन्त्री शर्मालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मानपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले उज्यालो नेपालको अभियान विद्युत् बाल्ने मात्रैै नभई समग्र आर्थिक विकासका लागि समेत भएको बताए ।
उनले विद्युत्भार कटौतीमुक्त गर्ने कार्य सामान्य प्रक्रिया भएको जानकारी दिँदै विगतमा प्राधिकरणलाई डुबाउने र आफ्नो स्वार्थ पूरा गर्न लागेकाहरु क्रमशः हट्दै गएपछि नेपाली जनताले परिवर्तनको महसुस गरेको उल्लेख गरे ।
सरकारले मुलुकको ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति गर्ने लक्ष्यका साथ विभिन्न दश जलाशययुक्त आयोजना निर्माणको प्रक्रियामा लैजान लागेको र त्यसले चाँडोभन्दा चाँडो परिणाम निकाल्ने उनले बताए ।

मन्त्री शर्माले सरकारले माध्यमिक शिक्षा परीक्षाको सन्दर्भ पारेर मुलुकभर नै विद्युतभार कटौती अन्त्य गरेको त्यसलाई निरन्तर अगाडि बढाइने र जनतालाई राहत दिन कुनै पनि कन्जुस्याइँ गरिने छैन भने ।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले मुलुकमा सकारात्मक काम गर्ने व्यक्तित्वलाई सम्मान गर्ने योजनाअनुसार नै आफूहरुले पहिलो चरणमा ऊर्जा मन्त्री शर्माको सम्मान गरेको बताए । माइतीघरबाट बाजागाजासहितको ¥याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।

 

photo

NOC1-250x300