आदर्श पार्टीको कुरा गर्नेले पार्टी खोलेर व्यवहारमै गएपछि थाहा पाउँछन्’ देवेन्द्र पौडेल, संगठन विभाग प्रमुख, नयाँ शक्ति पार्टी, नेपाल

Devendra-Paudel-1नेपालमा वैकल्पिक राजनीतिक शक्ति स्थापित गर्ने भनेर लाग्नु भएको लामै समय भइसक्यो । कसरी अगाडि बढिरहेको छ यो अभियान ?

सापेक्षिकरुपमा सफलतापूर्वक अगाडि बढिरहेको छ । अभियान भनेर हामीले पार्टी घोषणाभन्दा अगाडिको प्रचारात्मक चरणलाई लिएका थियौं । त्यो चरण बढी प्रचारमुखी थियो । वैकल्पिक राजनीतिक पार्टीको औचित्य, आवश्यकता र महत्वबारे ग्राउण्ड तयार बनाउनको लागि जेठ ३० गतेसम्म सम्प्रेषणमुलक गतिविधि गरेका थियौं । जेठ ३० देखि आजसम्म आउँदा झण्डै सात महिना बितेको छ । यो अन्तरालमा पार्टीको जुन संरचनाहरु बनेका छन्, यो त्यतिधेरै निराशाजनक छैन । आशालाग्दो छ । नेपालको इतिहासमा पहिलोपटक यति छोटै अवधिमा ७५ वटै जिल्लामा संरचना बनाउन सक्ने नयाँ शक्ति पहिलो पार्टी हो ।

संरचना त बनाउनुभयो । पार्टी, नेता र कार्यकर्ताको नेपालमा कमी छैन । यो भिडमा तपाईंको नेता, पार्टी र कार्यकर्तालाई कसरी फरक र नयाँ छन् भनेर छुट्याउने ?

यो चुनौतीकै विषय छ । पार्टीको स्केच बनाएर मात्रै पुग्दैछ, संरचनालाई परिचालनमार्फत जनतासँग जोडेर उनीहरुको मुद्दालाई सम्बोधन गर्दै जनताले नै अपनत्व महसुस नगरीकन निर्वाचनमा र वैकल्पिक शक्ति निर्माणमा उपयुक्त नतिजा निकाल्न सकिँदैन । यो चुनौती हामीले महसुस गरिरहेका छौं र कार्यकारी राष्ट्रपति र आर्थिक समृद्धिको एजेन्डालाई ठोस र मूर्तरुपमा अगाडि बढाएका छौं । यो केवल बहसको लागि मात्र होइन, कार्यक्रमिक रुप दिएर कार्‍यान्वयनमा अगाडि बढ्नुपर्छ भन्ने सोच बनाएका छौं ।

यस्तो पनि बुझाई देखियो कि नयाँ शक्ति फिल्मको हिरो आएजसरी आउँछ, दुई चार महिनामा देशको विकास र समृद्धि गर्दछ ।

 

अहिलेसम्मको समिक्षा नै गरौं । अरु पार्टीहरुले भन्दा हामीले यो यो फरक गरियो भन्ने केही अनुभूति छन् यहाँसँग ?

यस्तो पनि बुझाई देखियो कि नयाँ शक्ति फिल्मको हिरो आएजसरी आउँछ, दु्ई चार महिनामा देशको विकास र समृद्धि गर्दछ । जनताको यस्तो चाहना र अपेक्षा हुनु स्वभाविक छ । तर नियमले त्यस्तो भन्दैन । हिरोइज्म भनेजस्तै आउँदा बित्तिकै सबै सफाचट गर्न सक्ने भन्ने हुँदैन । त्यसको एउटा प्रक्रिया छ । पार्टी जनताको बीचमा हुनुपर्‍यो । जनताले निर्वाचित गर्नुपर्यो । राज्य प्रणालीलाई प्रयोग गरेर कार्यक्रम गर्नुपर्यो । अर्थप्रणालीलाई प्रयोग गरेर कार्यक्रमिक रुप दिएपछि मात्रै हामीले लिएको कार्यक्रमलाई अगाडि बढाउनुपर्छ । यसरी हेर्दा सबै उस्तै उस्तै हुन् कि भन्नेजस्तो लाग्न सक्छ । जनताले अपेक्षा गर्नु स्वभाविक हो । त्यो आवश्यकता पनि छ । नेपालका पुराना राजनीतिक दलहरुले संक्रमणकाललाई यति लम्ब्याए कि छिटोभन्दा छिटो कोही आएर तत्काल नयाँ पार्टीले केही भूमिका खेल्दिए हुन्थ्यो कि भन्ने चाहना हुनु स्वभाविक छ । तर, हामीसँग अहिले यथेष्ट जनमत छैन । सदनबाट निर्णय नगरिकन, गणितीयरुपमा उपस्थिति नभईकन राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप पुर्‍याउन सकिँदैन । त्यो पनि त जटिलता छ ।

यति नै कुराहरु पर्याप्त होलान् त नयाँ र वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुन ?

अरु कतिपय कामका हिसाबले केही नयाँपन दिने प्रयास हामीले गरिरहेका छौं । कार्यक्रमको रुपरेखा र एजेन्डाका हिसाबले हामी अगाडि छौं । जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्छ भनेर पहिलोपटक संस्थागतरुपमा निर्णय गरेर हामीले दबावका कार्यक्रम अगाडि बढाइरहेका छौं । पार्टीको कार्यक्रम र कार्यदिशा नै सुशासन र समृद्धिको हुनुपर्छ भनेर कार्यक्रम र लक्ष्य किटान गर्ने पार्टी हाम्रो पार्टी मात्रै छ । यी दुई महत्वपूर्ण एजेन्डाका दृष्टिले हामीले नेतृत्व गरिरहेका छौं । शैली र प्रणालीका दृष्टिले पनि समानुपातिक र समावेशी पहुँच र प्रतिनिधित्वको कुरालाई लोकतान्त्रिक अभ्यासको विधिद्वारा सुरुवात गर्ने हामीले भनेका छौं । कतिपय कमिटीहरुमा यो हामीले सुरु पनि गरिसकेका छौं । कोरियामा पहिलो निर्वाचन भयो, म आफैं पनि सहभागी भएँ । प्रत्यक्ष निर्वाचनको सुन्दर अभ्यास त्यहाँ साथीहरुले गर्नुभयो । यसरी प्रणालीमा पनि केही नयाँपन हामीले दिइरहेका छौं । अभियानलाई अधिवेशनको स्तरमा पुर्‍याउँदा आन्तरिकरुपमा पनि बाह्यरुपमा पनि केही नयाँपन दिएर अगाडि बढ्ने लक्ष्यअनुरुप नै काम गरिरहेका छौं ।

पहिचानको कुरा गर्नुभयो, खासगरी कम्युनिष्टहरुले नै राज्य सत्तामा समानुपातिक समावेशी भए पनि पार्टीमा हुँदैन । किनकी पार्टी त विचारद्वारा चल्ने हो भन्ने गर्दछन् । तर यहाँहरुले त पार्टीमै क्लस्टरको कुरा गरिराख्नु भएको छ ?

यो मान्छेको मनोविज्ञान र उसको आत्मिक स्वतन्त्रताको सम्बोधिकरणको सवाल हो । मान्छेलाई जहाँजहाँ उत्पीडनको अनुभूति छ, त्यसको अन्त्य नगरी वास्तविक लोकतन्त्रको अभ्यासमा हामी जान सक्दैनौं । नेपालमा यो यथार्थ हो कि यहाँ विभिन्न पृष्ठभूमि भएका समुदायको उपस्थिति छ । यहाँ बहु भाषा, धर्म र संस्कृति भएकोले हामीले बहुभाषीय, बहुजातिय, बहुसांस्कृतिक उपस्थिति भएको देश भनेर हामी सबैले मानेका छौं । त्यो छ भनेर न मानेका छौं । खाली त्यसको अभिव्यक्ति ऐना हेरेजस्तै हुनुपर्यो । जसरी ऐना हेर्दा हामी जे छ, त्यही देखिन्छौं, त्यसको अभिव्यक्ति राज्यमा पनि र पार्टीमा पनि अभिव्यक्त गरौं भनेका हौं हामीले । विभिन्न उपक्लस्टरहरु र मुख्य मुख्य तीन क्लस्टरहरु र तराई, पहाड र हिमाल यी तीनवटा विशेषता, तीन ठाउँमा बस्ने जनसमुदायहरुलाई नजोडिकन उनीहरुको आत्मिक सम्बोधिकरण हुँदैन । यसो नगरी सार्वभौमिकतासँग सम्बन्धित राष्ट्रिय एकता पैदा गर्न सकिँदैन ।

मान्छेलाई जहाँजहाँ उत्पीडनको अनुभूति छ, त्यसको अन्त्य नगरी वास्तविक लोकतन्त्रको अभ्यासमा हामी जान सक्दैनौं ।

तपाईंहरुले भनेजस्तो त भइरहेको छैन, मुलुक त अर्कै बहस र दिशामा अगाडि बढिरहेको छ ?

अहिले मुलुकमा दुई अतिहरु छन् । कतिपयले यसलाई वाद पनि भनेका छन्, म चाहिँ भन्दिनँ । एकातिर खस आर्यहरुलाई नै देशभक्तिको पहरेदारको रुपमा व्याख्या गर्ने ओली प्रवृत्ति, यसले एउटा भड्काउको सम्बोधन गरिरहेको छ । त्यसको प्रतिवाद गर्नुपर्छ भन्ने नाउँमा देशै अलग बनाउनुपर्छ भन्ने सिके राउत प्रवृत्ति छ । यी दुवै प्रवृत्तिले सामाजिक एकता र अखण्डतालाई खलल बनाएर गलत दिशातिर मुलुकलाई अगाडि बढाउन भूमिका खेलिरहेको छ । र, हामीले नै त्यस्तो वैज्ञानिक कुरा उठाइरहेका छौं कि यी दुवै प्रवृत्ति गलत छन् । नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र नेपालकै आन्तरिक राष्ट्रियताहरुको सम्वर्द्धन र प्रवर्द्धनको लागि यी तीनवटै विशेषता भएकाहरुलाई सम्बोधन गरेर जानुपर्छ भनेर हामीले समानुपातिक र समावेशी पहुँच र प्रतिनिधित्वलाई सुनिश्चितता भएको राजनीतिक प्रणालीको आवश्यकतामाथि जोड दिइरहेका छौं । यसले मात्रै हामीलाई जोड्न सक्छ ।

यहाँले नै स्वीकार गर्नुभयो, दुईवटा अतिवादले गर्दा देशको संक्रमण लम्बिने र यसको भविष्य अनिश्चित हुने सम्भावन बढ्दै गइरहेको छ । यी समस्याहरुको सुरक्षित अवतरण कसरी होला जस्तो लाग्छ ?

आदिवासी जनजातिहरुले मधेस र खस–आर्यलाई सम्मान गर्नुपर्‍यो । कहाँकहाँ अप्ठ्यारो पर्‍यो, कहाँकहाँ समस्या पर्‍यो ? त्यसको पक्षमा उहाँहरुले बोल्दिनुपर्छ । मधेसी समुदायहरुले पहाडी खस आर्य र जनजातिको समस्याको बारेमा बोल्दिनुपर्छ । खासगरी खस आर्य र आदिवासी जनजाति जो पहाडमा बस्छन् हिमाल बस्छन् उनीहरुले मधेसको पीडाको बारेमा बोल्दिनुपर्छ । यसरी एकअर्कामा हामी फ्युजन भएर सहकार्य गरेर गइयो भने यो समस्याको हल हुन्छ । भड्काउने होइन । उत्तेजित बनाउने गरेर गइयो भने झन् बिग्रिन्छ । एकअर्कालाई सम्मान गर्न र एकीकृत भएर जानुपर्छ । म दोहोर्‍याएर भन्न चाहन्छु, जो छौं, जस्ता छौं, त्यस्तै त एकले अर्कालाई ग्रहण गरिदिनुपर्यो नि त ! त्यसरी मात्र हामी अगाडि बढ्न सकिन्छ ।

निर्वाचन पनि आउन लाग्यो । यहाँहरुको एजेन्डा त गाउँगाउँसम्म पुगिसक्यो भन्दा पनि हुन्छ । तर पार्टी त अलि सदरमुकाम र राजधानीतिर तर लागेर बसेजस्तो देखिन्छ । गाउँगाउँसम्म फैलने योजना के छ यहाँहरुसँग ?

ठीक भन्नुभयो यहाँले । हामीले अस्ति झन्डै दश दिन लगाएर देशभरीको रिपोर्टहरु संकलन गर्यौं । हामी कहाँ र कति पुग्यौं त ? यसरी हेर्दा, हामीले एक सय ७ वटा जिल्ला संरचनाहरु बनायौं । भौगोलिक र गैरभौगोलिक गरेर ११ वटा प्रदेश बनायौं । २३ वटा आंगिक संगठनका केन्द्रीय संरचनाहरु बनाइसक्यौं । यसैगरी नेपालीहरु पुगेका २८ वटा देशहरुमा पनि हामीले कमिटीहरु बनायौं । संगठनात्मक संरचनाको सञ्जाल यसरी बिस्तार भइरहेको छ । गाउँपालिका र नगरपालिकातिर पनि हामी पुग्यौं कि पुगेनौं भनेर हामीले हेर्यौं । संगठन विभाग बसेर समिक्षा गर्दा झण्डै ४० प्रतिशत गाउँपालिका र नगरपालिकामा हाम्रो कमिटीहरु बनेका छैनन् । यो यथार्थ हो । एक लाख पार्टी सदस्यहरु जम्मा भएर सामूहिक प्रतिवद्धतासहित हामीले पार्टी घोषणा गर्यौं । एक वर्षभित्र तीन लाख बनाउने पार्टी सदस्यता भनेको, त्यसलाई अझै तिव्रता दिनु जरुरी छ । राजधानी, सदरमुकाम र सहरतिर अलि बढी केन्द्रित भएको हो कि भन्ने कुरा आंशिकरुपमा सत्य हो । त्यसलाई गाउँ, नगर र वडासम्म पुर्‍याउने र निर्वाचनको तयारी गर्ने भनेर घरघरमा नयाँ शक्ति भनेर अभियान सञ्चालन गरेका छौं, यसले धेरै उभार ल्याइरहेको छ ।

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनेर लागिरहनुभएको छ, नेपालमा यो अभियानलाई अगाडि बढाउँदा यहाँहरुले कस्ता चुनौतीहरु सामना गर्न परिरहेको छ ?

पहिलो कुरा त वैकल्पिक राजनीतिक शक्ति हो भनेर टिमबद्ध रुपमा प्रस्तुत भएर अगाडि बढ्ने कुरामा चुनौती रहेका छन् । किनभने विभिन्न पृष्ठभूमिको केन्द्रीकरण रहेको छ । त्यो धेरै राम्रो र सकरात्मक पुँजी पनि हो । तर त्यसलाई बुझाईमा, कार्यक्रममा र अभियानमा एकीकृत गरेर परिचालन गर्ने कुरा त्यत्तिकै चुनौतीपूर्ण पनि छ । दोस्रो चुनौती, जनताले अनुभूत गर्ने गरी कार्यक्रमको प्रस्तुति गर्न सक्ने कि नसक्ने भन्ने छ । हामीले ठूला ठूला सभा नगर्ने भन्यौं, चन्दा नउठाउने भन्यौं । त्यसले हामीलाई अलि अप्ठेरो पारिराखेको छ । आर्थिक स्रोत कहाँबाट जुटाउने, परिचालन कसरी गर्ने भन्ने कुराले किन अप्ठेरो पारिराखेको छ भने जति बैठकहरुले भए आन्तरिक स्रोतहरुबाट भइरहेका छन्, जुन कमिटीको बैठक हुन्छ, त्यही कमिटीले उठाएर खर्च गरिरहेका छन् । तर ठूला ठूला कार्यक्रमहरु गर्नका लागि खर्च बढी चाहिन्छ । यसरी हामीले सुरुमा गरेका कतिपय अन्तरक्रिया र भेलाहरुको प्रस्तुती हिरोइज्म जस्तोगरी भयो, व्यवहारमा त गाह्रो छ रुपान्तरण हुन, लागू गर्न । यो पनि हाम्रो चुनौती हो ।

तेस्रो, हामीलाई मानिसहरुले उत्पादन र समृद्धिको एजेन्डालाई लिएर जन्मिएको पार्टीको रुपमा बुझेका छन् । यद्यपि यो काम राज्यले गर्ने हो भोलि कुनै व्यक्ति, पार्टी, कुनै संघसंस्था वा कुनै कम्पनीले गरेर राज्यलाई नै फेर्न सक्दैनौं । तर, हामीले यो ठोस र मूर्तरुपमा यहाँ गरियो है नमूना कामको रुपमा भन्ने भएको छैन, यद्यपि सुरुवात गर्ने प्रयत्न गर्दैछौं । लगानी कम्पनीहरु खोलेर साथीहरुको शेयर जम्मा बनाएर केही कामहरु हामीले गर्दैछौं । यो कुरा मानिसहरुले अलि धेरै अपेक्षा गरेका छन्, छिटो हुनुपर्यो भन्नेछ । यो काम ठोस र मूर्तरुपमा अभिव्यक्त गर्न केही ढिलाई भइरहेको छ ।

यी दुवै प्रवृत्तिले सामाजिक एकता र अखण्डतालाई खलल बनाएर गलत दिशातिर मुलुकलाई अगाडि बढाउन भूमिका खेलिरहेको छ ।

नेपालमा राजनीतिक दलहरुले पार्टी चलाउन र चुनाव जित्न चन्दा उठाउने र पार्टी सत्ता र राजनीतिक सत्तामा पुगेपछि त्यही रकम भ्रष्टाचार गरेर उठाउने दुष्चक्रमा फसिरहेका छन् । तर व्यवहारमा जाँदा फेर्छु भन्न सजिलो फेर्न गाह्रो हुने रहेछ भन्ने हो तपाईंहरुको अनुभव ?

विलकुल होइन, सम्भव छैन भन्ने ठाउँमा हामी पुगेका छैनौं ।

चन्दा नउठाएर पनि पार्टी चलाउन सकिन्छ ?

सम्भव छ तर चन्दा नै नउठाउने हामीले कहिल्यै भनेका छैनौं । चन्दा कुन कुन समुदायसँग कुन परिणाममा कसरी लिने ? भन्ने कुरामा एउटा नीति बनाएर पारदर्शी हुनुपर्छ भन्ने कुरा हामीले गरेका हौं । चन्दा नै कहिल्यै नलिने भनेर हामीले भनेका छैनौं । अलिकति व्यवहारिक अप्ठेरो कहाँनेर छ भने राजनीतिक पृष्ठभूमिबाट निरन्तर सक्रिय भएर नयाँ शक्तिमा आउनुभएका साथीहरुलाई साँच्चिकै समस्या परेको छ । उहाँहरुको दैनिकी र घरखर्चको त कुरै छाडौं, पार्टीको काममा हिंड्दाखेरि समस्याहरु पैदा भएको छ । गैरराजनीतिक क्षेत्रहरु वा विभिन्न पेशा व्यवसायबाट आउनु भएका साथीहरु जो उत्पादनमा जोडिएर, आयआर्जनको काममा भाग लिइरहनुभएको छ, उहाँहरुको हकमा त्यति समस्या छैन । हामीले आदर्शको कुरा त गरेका छौं तर, संक्रमणकाल छ किनकी पार्टी नै बनाउने प्रक्रियामा छौं । यो एउटा सेटमा गइनसकेको छैन, आन्तरिक लेवी र शुल्कहरु व्यवस्थित बनाएर एउटा प्रक्रिया, प्रणालीमा ल्याउन सकिसकेका छैनौं । योजना त छ हाम्रो, तीन लाख पार्टी सदस्य भए, त्यसलाई पाँच लाख पुर्‍याउने र त्यसको नियमन लेवी, शुल्क आदिबाट गरेर पार्टी चलाउने त हाम्रो लक्ष्य छ । तर संक्रमणकालमा भएकोले त्यहाँसम्म पुग्न सकिरहेका छैनौं र यसलाई चुनौतीकै रुपमा लिएका छौं । तर फेरिपनि कतिपय साथीहरुले बिस्तारै बिस्तारै आफ्नै ठाउँबाट व्यवस्थापन गर्दै जानुभएको छ । कठिनाइ रहेछ यसमा । साथीहरुलाई हामीले भनेका पनि छौं, हामी लडाईहरुमा जाने पनि होइन, जेल जाने पनि होइन । तर, यी कठिनाईहरु सामना गरेर नयाँ शक्ति बनाउनुपर्छ । अप्ठेरोका बावजुद पनि साथीहरु हिंडिरहनुभएको छ । कयौं उदाहरणहरु छन्, यसले एउटा खुसीको अनुभूति पनि गराएको छ ।

खासगरी नेपालका वामपन्थी भन्नेहरुले भावनात्मक र उत्तेजनात्मक कुराहरु गरेर भड्काउने काम गरिरहेका छन् । साँझ बिहान उनीहरुकै गुलामी गरेर सरकारमा जाने प्रयत्न गर्छन् र दिउँसो चाहिँ युवाहरुलाई भावनात्मक कुरा गरेर राष्ट्रियताको गफ दिन्छन् ।

 

फरक प्रसंगमा कुरा गरौं, ब्रेक्जिटपछि डोनाल्ड ट्रम्पको विजयसम्म हेर्दा यो वैकल्पिक शक्ति निर्माणको लागि हाम्रो सन्दर्भमा अनुकूलता हो कि प्रतिकूलता हो ?

मैले चाहिँ, प्रतिकूलता बढ्दै गएको महसुस गरेको छु । पुरानो भाषामा भन्दा दक्षिणपन्थी, तर म परम्परावादी प्रवृत्ति हुर्कंदै गएको छ । बेलायतका केही घटनाहरु, संसारभरीका प्रतिभाहरु केन्द्रीकरण गरेर विकास गरिएको अमेरिका, यसलाई पनि बदलेर परम्परागत प्रणालीबाट चलाउने प्रयास भइरहेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ । यस्तो वहाव आएको छ कि नेपालका पार्टीहरु असफल भए, केही पनि गर्न सकेनन् । यसको विकल्प भनेको केवल एकात्मक राज्य प्रणाली हो । हिन्दूवाद हो, पछाडि फर्कनुपर्छ । बेकार परिवर्तन गरिएछ, किन छाडिएछ ? भन्नेतिर गइरहेको छ । आन्दोलनबाट आफूले प्राप्त गरेको हकअधिकार र स्वतन्त्रताको प्रयोग गरेर त्यसैलाई बिर्सने, त्यो कसरी आयो भन्ने बिर्सेर परम्परातिर फर्कने प्रवृत्ति नेपालमा देखा पर्नु भनेको वैकल्पिक राजनीतिक शक्ति निर्माणको लागि धेरै अनुकूल समय हो जस्तो लाग्दैन । तर, फेरि पनि सीमा भने नाघिसकेको छैन । अहिले पनि पार्टीका कामहरुमा हिंड्दा, जनसमुदायसँग भेटघाट, अन्तक्रिया गर्दा आलोचना पनि छ तर सँगसँगै वैकल्पिक धारको आवश्यकता महसुस गर्दै एकप्रकारको अपेक्षा पनि गरेका छन् ।

आवश्यकता त हो, तर तपाईंहरु सक्नुहुन्छ कि सक्नुहुँदैन ? छोटो समयमा तिव्र गतिमा देशको कायापलट नगरिकन मान्छेहरुले पत्याउनेवाला छैनन्, त्यो काम तपाईंहरुबाट हुन्छ कि हुँदैन भन्ने प्रश्न भने छ । आवश्यकता महसुस छ, शुभकामना पनि छ, तर मान्छे लागिहाल्दैनन् । राम्रो गर्नुहोला भन्छ, तर गरिदिने कस्ले ? यसर्थ, हामीले आव्हान गरेका छौं, समृद्धि र सुशासनको एजेन्डामा ध्रुवीकृत होऔं । मिलेर काम गरौं । यो एउटा पार्टी मात्रै नभएर देश निर्माण गर्ने अभियान पनि हो । त्यसर्थ, प्राप्त उपलिब्धहरुको रक्षा गर्दै विकास, निर्माण र समृद्धिमा जानुपर्छ । आन्दोलनबाट प्राप्त उपलब्धि पनि गुम्नेगरी काम गर्यौ भने त्यो अगाडि बढाई होइन, पछाडि हटाई हुनेछ । उपलब्धिहरुलाई आधार मान्ने, त्यो विन्दूमा टेकेर अगाडि बढ्नुपर्छ भनेका छौं । यति छोटो अवधिमा एकदमै प्रभावकारी ढंगले हाम्रो अभियान भने अगाडि बढिरहेको छ । नेपालको राजनीतिक पार्टीहरुको इतिहास हेर्दा, कांग्रेस ००४ सालबाट सुरु भयो, कम्युनिष्टहरु ००६ सालबाट सुरु भए । राजतन्त्रको पनि लामो इतिहास छ, यसमा आस्था राख्ने मानिसहरु पनि छन् । कतिपय क्षेत्रीय पार्टीहरु पनि छन्, यी सबै पार्टीहरुको पृष्ठभूमि हेर्दा र हाम्रो पृष्ठभूमि हेर्दा धेरै निराशाजनक नतिजा छैन । हामी धेरै आशावादी छौं ।

तर कुरा गर्न जति सजिलो काम गर्न छैन । आदर्श पार्टीको कुरा गर्नेहरुले जब पार्टी खोलेर व्यवहारमा जान्छन्, उनीहरुले थाहा पाउँछन् । सेलिब्रेटी भएर र भावनात्मक कुरा गरेर पार्टी बनाउन सजिलो छैन ।

 

अन्तर्राष्ट्रिय राजनीतिको परिवेश हेर्दा नेपालमा पनि राष्ट्रवादी धार भनेर कमल थापा र केपी ओलीहरुले एउटा ध्रुवको नेतृत्व गरिरहेका छन् । नेपालमा नयाँ शक्तिले त्यसको वैकिल्पक ध्रुव अथवा प्रतिध्रुव स्थापित गर्न सक्छ त ?

म व्यक्ति विशेषको नाम लिन चाहन्नँ । दुई प्रकारका अतिवादहरुले न देशको सम्बोधन गर्न सक्छ, न देशलाई निकाश दिएर अगाडि बढाउन सहयोग गर्छ, यसले देशलाई लैजाने खाल्टोमै हो । यसर्थ, उनीहरु विकल्प हुनैसक्दैनन् । केही भावनात्मक कुरा गरेर जनतालाई भड्काउने काम केही समय टिक्न सक्ला तर यो अस्थायी हो । वैकल्पिक राजनीति, विचार र एजेन्डालाई अभियानात्मकरुपमा अगाडि बढाएर मात्रै यी सबै अतिवादहरुलाई हामीले नियन्त्रण गर्न सक्छौं र देशको राष्ट्रियता र सार्वभौमिकतालाई रक्षा गर्न सकिन्छ । हरेक नागरिकलाई देशको माया हुन्छ, राष्ट्रियताको भावनात्मक कुरा गरेर केही मानिसलाई अस्थायीरुपमा भड्काइएको मात्रै हो, त्यो अस्थायी नै हुन्छ । छिमेकी कहिल्यै फेर्न सकिँदैन । भारत र चीनजस्ता विशाल छिमेकीलाई हामीले फेर्न सक्दैनौं । ६ देखि ८ प्रतिशत आर्थिक वृद्धिदर भारतको छ र ८ देखि १० प्रतिशत आर्थिक वृद्धिदर चीनको छ । बंगलादेशको आर्थिक वृद्धिदर सात प्रतिशत छ । उनीहरुको बीचमा हामी छौं । देशको राष्ट्रियता र सार्वभौकिताको रक्षा गर्दै उनीहरुलाई प्रयोग र परिचालन गर्न सक्ने सन्तुलित कुटनीतिक अभ्यास हामीले गर्न सक्नुपर्छ । खासगरी नेपालका वामपन्थी भन्नेहरुले भावनात्मक र उत्तेजनात्मक कुराहरु गरेर भड्काउने काम गरिरहेका छन् । साँझ बिहान उनीहरुकै गुलामी गरेर सरकारमा जाने प्रयत्न गर्छन् र दिउँसो चाहिँ युवाहरुलाई भावनात्मक कुरा गरेर राष्ट्रियताको गफ दिन्छन् । आजको एक्काइसौं शताब्दीको देशभक्तिको भावनाको यस्तो प्रवृत्तिले प्रतिनिधित्व गर्न सक्दैनन् ।

कतिपयले नेपालमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक त थियो तर नयाँ शक्ति भन्नेहरुले आफू नयाँ पनि बनेनन् र अबको १०–२० वर्ष नयाँ शक्ति बन्न पनि नदिनेभए भन्ने आरोप लगाउँछन् नि ?

म उहाँहरुको गालीलाई स्वागत गर्छु । लोकतन्त्रमा गाली गर्न पाइन्छ । तर हामी कसैको गालीको खण्डन गर्न जन्मिएको दल होइनौं । केही गरौं भनेर कोशिस गर्ने हो । अरुको आलोचना गरेर आफ्नो उन्नति चाहने हाम्रो लक्ष्य होइन । हामी केही गरेर आफैं अगाडि बढ्न चाहन्छौं । नयाँ शक्ति नबनोस् भन्नेहरुले पनि यस्तो प्रचार गरिरहेको पाउँछु मैले । यो कुरा प्रकारान्तरले पुष्टि हुँदै पनि गएको छ । सँगै यो नबनोस् तर हाम्रो नेतृत्वमा बनोस् भन्ने पनि छन् केही । हाम्रोबाट सबैलाई ठाउँ खुल्ला छ, सबैले नयाँ कुरा लिएर आउन पाउँछन् । प्रतिस्पर्धा गरेर कसैले नयाँ काम गरेर स्थापित हुनसक्छन् भने भोलि समायोजन भएर जान पनि सकिन्छ । तर कुरा गर्न जति सजिलो काम गर्न छैन । आदर्श पार्टीको कुरा गर्नेहरुले जब पार्टी खोलेर व्यवहारमा जान्छन्, उनीहरुले थाहा पाउँछन् । पार्टी भनेपछि आलोचना पनि सहेर अगाडि बढ्नुपर्छ, संगठन निर्माणको क्रममा धैरै व्यवहारिक कठिनाईहरु पनि झेलेर अगाडि बढ्नुपर्छ । सेलिब्रेटी भएर र भावनात्मक कुरा गरेर पार्टी बनाउन सजिलो छैन । ती साथीहरुले पनि हाम्रो आलोचना गर्दागर्दै यदि पार्टी बनाइहाल्नुभयो भने यी सबै कुराहरु बुझ्नुहुनेछ कहाँ अप्ठेरो रहेछ भनेर ।

 

photo

NOC1-250x300