आइन्स्टाइन र न्यूटनका अचम्मका बानीबाट हामीले के सिक्नुपर्छ ?

 

हामी महान, सफल र बुद्धिमान मानिसहरुबाट धेरै कुरा सिक्न सक्छौं । उनीहरुको काम गर्ने तरिका र उनीहरुको बानीले नै सायद उनीहरुलाई महान बनाउँछ । तर थुप्रै बुद्धिमान मानिसहरुको अचम्मका बानी पनि हुन्छन् । त्यसोभए के तिनै बानीले उनीहरुलाई सफल हुन सधाएको थियो त ?

अथवा के चर्चित व्यक्तिका त्यस्ता अचम्मको बानीलाई सिकेर हामी पनि उनीहरुजस्तै सफल हुन सक्छौं ? पहिला तपाईंलाई केही महान व्यक्तिका यस्ता केही बानी बारे बताउँदै छौं । २० औं शताब्दीका महान आविष्कारक निकोला टेस्ला हरेक रात आफ्नो औंला घुमाउने व्यायाम गर्दथे ।

खुट्टाका हरेक औंलालाई कम्तीमा पनि उनले सय पटक घुमाउने गर्दथे । टेस्लाको दाबी अनुसार यसले उनको दिमागको कोशिका सक्रिय हुने गर्दछन् । २० औं शताब्दीका महान गणितिज्ञ भनिने पल अर्दोस एमफेटामाइन नामको रसायनको मद्दतले अंकको पहेली सुल्झाउने गर्दथे ।

एक पटक पललाई उनका साथीले एक महिनासम्म एम्फेटामाइन नलिए पाँच सय डलर दिने शर्त राखे । पल यसो गर्न सफल त भए तर आफूले गणितलाई एक महिना पछाडि धकेलेको उनले साथीलाई बताए । यस्तै महान बेलायती भौतिक विज्ञानशास्त्री न्यूटनको पनि आफ्नै विशेषता थिए ।

न्यूटनका बानीः

उनका अनुसार मानिसले विवाह गर्नु हुँदैन । सेक्सबाट टाढा रहनुपर्छ । उनले आफ्नो यो धारणालाई जीवनभरी पालना गरेको बताइन्छ । निकोलस टेस्ला पनि जीवनभर विवाह र सेक्स बिना नै रहेको बताइन्छ ।

यद्यपी, पछि टेस्लाले आफूलाई एक परेवासँग प्रेम बसेको बताएका थिए । संसारभरीका थुप्रै वैज्ञानिकका निकै रोचक विशेषता छन् । जस्तै इशापूर्वका गणितिज्ञ पाइथागोरसलाई सिमिको प्रयोगमा आपत्ती थियो । यस्तै गरी, अमेरिकी वैज्ञानिक बेन्जामिन फ्रेंकलिन नाङ्गो बसेर एयर बाथ अर्थात् वायु–स्नान गर्ने गर्दथे ।

त्यसो भए के बुद्धिमान मानिसहरुको यस्तै बानी हुन्छ ? के यसै कारण उनीहरुले यस्तो यस्तो सफलता पाएका हुन् ? वैज्ञानिकका अनुसार कुनै व्यक्ति अत्यधिक बुद्धिमान हुनुको सबैभन्दा ठूलो कारण वरिपरिको माहोल हुन्छ । दैनिकका बानीले पनि कुनै व्यक्तिलाई महानताको सिँढिमा चढ्न मद्दत गर्दछ ।

संसारभरीका महान व्यक्तिमध्ये सबैभन्दा अचम्मका वैज्ञानिक अल्बर्ट आइन्स्टाइन नै थिए । के हामी उनका अचम्मका बानीबाट केही सिकेर आइन्स्टाइनजस्तो बन्न सक्छौं ? यसबारे पत्ता लगाउने कोसिस गरौं ।

\

बुद्धिमान हुनुका कारणः

१० घण्टाको निन्द्रा र एक सेकेन्डको ‘न्याप’

हामी सबैलाई थाहा छ कि मिठो निन्द्रा हाम्रो दिमागलाई राम्रोसँग काम गराउनका लागि निकै आवश्यक छ । आइन्स्टाइन दैनिक १० घण्टा सुत्ने गर्दथे । जबकी अहिलेको समयमा एक अमेरिकी औसतमा ६.८ घण्टा मात्र सुत्ने गर्दछ ।

चर्चित लेखक जोन स्टिनबेकको भनाई अनुसार थुप्रै समस्याको समाधान राती मज्जाले सुत्दा हुने गर्दछ । जब राती मज्जाले निदाइन्छ तब समस्याको समाधान चुट्कीभरमा हुने गर्दछ । संसारका थुप्रै आविष्कार, विज्ञानका थुप्रै थ्योरी सुतिरहेका बेलामा नै दिमागमा आएका थिए ।

उदाहरणका लागि डीएनएको बनावट वा आइन्स्टाइनको थ्यारी अफ स्पेशल रिलेटिभिटी । सन् २००४ मा जर्मनको ल्यूबेक युनिभर्सिटीमा केही मानिसहरुलाई नम्बरको एक खेल सिकाउने कोसिस गरियो । जो मानिसहरुलाई सुत्ने मौका दिइयो उनीहरुले उक्त खेल निकै सजिलै सिके ।

जब हामी राती सुत्छौं तब हाम्रो अर्को दिमाग हल्का निन्द्राबाट गहिरो निन्द्रासम्मको चक्रबाट गुज्रिने गर्दछ । हरेक डेढ देखि दुई घण्टामा दिमागमा हलचल हुने गर्दछ । जब हामी सुतिरहेका हुन्छौं हाम्रो दिमाग निकै सक्रिय हुन्छ । हामी जति गहिरो निन्द्रा लिन्छौं दिमागले त्यति नै सक्रिय हुने मौका पाउँछ ।

दिमागको सक्रियताः

थ्यालामस भनिने दिमागको एक हिस्साले स्टिचिङ सेन्टरको जस्तो काम गर्दछ । जसले विभिन्न प्रकारका सिग्नल हाम्रो दिमागको भिन्न–भिन्न भागलाई पठाउने गर्दछ । यसको मद्दतले हामी राम्रोसँग सुत्न पाउँछौं । जो मानिसहरुको दिमाग सुतिरहेका बेला धेरै सक्रिय हुन्छ उनीहरु धेरै बुद्धिमान हुने बताइन्छ ।

सुतिरहेका बेला दिमागको सक्रियताका कारण उनी धेरै बुद्धिमान भए वा बुद्धिमान भएका कारण उनको दिमाग धेरै सक्रिय रह्यो त्यो भने स्पष्ट बताइएको छैन ।  आइन्स्टाइन काम गर्ने बेला पनि ‘न्याप’ लिने गर्दथे । उनी हातमा चम्चा लिएर आरामसँग कुर्सीमा सुत्ने गर्दथे र भुईंमा थाल राख्ने गर्दथे ।

ता कि निदाएपछि उनले समातेको चम्चा हातबाट फुस्किओस् र थालमा झरोस् । त्यसपछि उक्त आवाजले उनी ब्यूँझिने गर्दथे ।

दैनिक घुम्नेः

आइन्स्टाइन दैनिक टहल्न जान्थे । जब उनी न्यू जर्सीको प्रिन्सटन युनिभर्सिटीमा काम गर्ने गर्दथे तब दैनिक उनी चार किलोमिटरको पैदलमा निस्कने गर्दथे ।

चर्चित जीव वैज्ञानिक डार्विन पनि दैनिक ४५ मिनेटसम्म टहल्ने गर्दथे । अब यसको के फाइदा छ ? टहल्नु स्वास्थ्यको लागि मात्र फाइदाजनक छैन । यसले स्मरणशक्ति पनि बलियो बनाउँछ । रचनात्मक हुनका लागि खुल्ला हावामा हिँड्नु अत्यावश्यक छ । तर यस्तो कसरी हुन्छ ?

उत्कृष्ट स्मरणशक्तिः

सतहबाट सोच्दा यस्तो लाग्छ कि टहल्दा दिमागले सोच्ने काम राम्रोसँग गर्न पाउँदैन । हिँडिरहेका बेला सन्तुलन बनाइराख्न दिमाग क्रियाशिल हुने देखिन्छ तर वास्तवमा हिँडिरहेका बेला दिमागका केही भाग आराम गर्न थाल्छ ।

यतिबेला दिमागले सोच्नका लागि एकदम नयाँ तरिका अपनाउँछ । दिमागको जुन हिस्साको मद्दतले हाम्रो स्मरणशक्ति राम्रो हुन्छ, त्यसले निर्णय लिनसक्छ र हाम्रो सोचलाई बुझ्ने गर्दछन् त्यसकारण आफ्नो सक्रियता थोरै कम गर्ने गर्दछन् । यतिबेला हामी गहिरो सोचबाट गुज्रिने गर्दछौं । यस्तो काम दिमागले डेस्कमा बसिरहेका बेला गर्न सक्दैन ।

स्पागेटी खानुः

आखिर तेज दिमाग भएका मानिसहरु के खान्छन् ? आइन्स्टाइनलाई स्पागेटी निकै मनपर्ने बताइन्छ । वास्तवमा हाम्रो दिमागलाई काम गर्नका लागि थुप्रै ऊर्जाको आवश्यक पर्छ । दिमागको तौल हाम्रो शरिरको कूल तौलको दुई प्रतिशत मात्र हुने गर्दछ ।

तर दिमागले शरिरको कूल ऊर्जाको २० प्रतिशत उपभोग गर्ने गर्दछ । दिमागलाई निकै सजिलै पाइने ऊर्जा चाहिन्छ र लगातार चाहिन्छ । अहिलेको समयमा कार्बोहाइड्रेटको धेरै प्रयोग नगर्न सल्लाह दिइन्छ । तर मानिसहरुको दिमागले  यसलाई सबैभन्दा रुचाएको ऊर्जाको स्रोत हो ।

रसायनको मद्दतः

दिमागले ग्लूकोजजस्ता सजिलै ऊर्जा दिने कुराहरुलाई मन पराउँछ । ग्लूकोजजस्तो कार्बोहाइड्रेटका साथै ऊर्जाका अन्य स्रोत जस्तै प्रोटिनलाई दिमागले त्यतिबेला प्रयोग गर्दछ जब यसलाई ऊर्जा अत्यावश्यक रुपमा चाहिन्छ ।

मानिसको शरिरले आफ्नो ऊर्जाको एक भागलाई बोसोको रुपमा बचाएर राख्दछ । तर दिमागलाई बचत जस्तो कुरामा विश्वास हुँदैन । त्यसकारण दिमागलाई अचानक अत्यधिक ऊर्जाको आवश्यकता पर्नसक्छ ।

यस्तो अवस्थामा शरिरका अन्य भागबाट ग्लायकोजेनजस्ता रसायनको मद्दतले दिमागले आफ्नो आवश्यकता पूरा गर्ने गर्दछ । धेरैजसो जब हामी खाना खाँदैनौं तब हामीलाई चक्कर लाग्ने गर्दछ । यस्तो यसकारण हुन्छ किनभने दिमागले आवश्यक ऊर्जा पाउँदैन ।

दिमागलाई तत्काल खाना चाहिएको हुन्छ । यस्तो अवस्थामा हामी राम्रोसँग सोच्न पनि सक्दैनौं । यस्तो मौकामा चीनी हाम्रो दिमागलाई तत्काल राहत दिन्छ । तर अन्य खानेकुरा खान छोडेर स्पागेटी वा कार्बोहाइड्रेटले भरिएका खानेकुरा मात्र खान सुरु गर्नुहोस् भन्न खोजिएको भने होइन ।

सिगार पिउनुः

आइन्स्टाइन सिगारका शौखिन थिए । उनी यूनिभर्सिटी क्याम्पसमा धेरैजसो धुँवा उडाउँदै हिँड्थे । तर के महान हुनुको पछाडि उनको धुम्रपान गर्ने बानी पनि हो ? यो कुरालाई पक्का रुपमा भन्न सकिन्नँ । आइन्स्टाइन त सडकमा फ्याँकिएका चुरोटको टुक्रा उठाएर आफ्नो सिगारमा भर्ने गर्दथे ।

तर यो कुरा ४० र ५० को दशकको हो । त्यतिबेला मानिसहरुलाई यो थाहा थिएन कि चुरोट र क्यान्सरको गहिरो नाता छ । यो कुरा आइन्स्टाइनको मृत्युको सात वर्ष पछि संसारलाई थाहा भयो । आज हामी सबैलाई थाहा छ कि धुम्रपान स्वास्थ्यको लागि कति हानिकारक छ । फोक्सोको क्यान्सरसँग यसको सिधा सम्बन्ध छ ।

साथै, धुम्रपानका कारण दिमागमा नयाँ कोसिका बन्न बन्द हुन्छ । दिमागको एक हिस्सा अर्थात् कोटेक्स पातलो हुने गर्दछ । धुम्रपान गर्दा दिमागले राम्रोसँग अक्सिजन पाउँदैन । तर एक अचम्मको अनुसन्धान पनि छ ।

धुम्रपानको लतः

अमेरिकामा  करिब २० हजार किशोरमाथि भएको सर्वेक्षणका अनुसार जसलाई धुम्रपानको लत लागेको थियो उनीहरु १५ वर्षपछि धेरै बुद्धिमान भए । यद्यपी, बेलायतमा भएको एक अनुसन्धानका अनुसार धुम्रपान गर्नेहरुको आइक्यू कम हुन्छ ।

मोजा नलगाई बस्नुः

आइन्स्टाइनको अचम्मको बानीमा उनको मोजा नलगाउने बानी पनि पर्दछ ।

उनको मोजा धेरैजसो औंला नजिकैबाट च्यातिने गरेको उनी बताउँथे । यसका लागि उनले मोजा नै नलगाउने निर्णय गरे । अब बुद्धिमान हुने कुरामा उनको यो बानीको कति भूमिका छ त्यसबारे भने अनुसन्धान हुन बाँकी छ ।

यद्यपी, एक अनुसन्धानमा यो पत्ता लागेको छ कि जो मानिसहरु फर्मलको साटो क्याजुअल लगाएर परीक्षा दिन जान्छन् उनीहरु असफल हुने आशंका धेरै हुने गर्दछ । यद्यपी, आइन्स्टाइनको नजरमा बुद्धिमान हुनुको सबैभन्दा ठूलो तरिका प्रश्न सोधिरहनु हो । मानिसले कहिले पनि प्रश्न गर्न बन्द गर्न नहुने उनी बताउने गर्दथे ।

 

photo

NOC1-250x300