अपमानको प्रवृत्ति

विरोध त्यसको हुन्छ, जसले केही नयाँ गर्न प्रयास गर्छ, क्रमभङ्गताको आरम्भ गर्छ

ओली प्रधानमन्त्री भएयता यस्तो भाषा माधवकुमार नेपालले धेरैपटक प्रयोग गर्नुभयो । प्रचण्डसँग गठबन्धन बनेपछि त नेपालमात्र होइन, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यो आसय फरक भाषामा प्रयोग गर्नुभयो । ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन माधव र प्रचण्डले सकेकाजति सबै अस्त्र प्रयोग गर्नुभयो तर जब सक्नुभएन, त्यसपछि ओलीलाई मात्र होइन, उहाँको पक्षमा लागेका सबैमाथि आक्षेप लगाइरहनुभएको छ ।
सत्तारूढ पार्टीकै वरिष्ठ नेताले प्रधानमन्त्रीको आलोचना गर्न शब्दकोशकै सहारा लिएपछि प्रतिपक्षी सांसदबाट स्वाभाविक रूपमा अनुदारता प्रदर्शन हुन्छ नै । प्रतिनिधिसभाको चैत २६ को बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले ‘दास’ शब्दको प्रयोग गर्नुभएन, त्यसको ठाउँमा ओली समर्थकलाई उहाँले ‘हुक्के, चिलिमे र बैठके’ शब्दको प्रयोग गर्नुभयो । प्रधानमन्त्री ओलीको जारी कार्यकालमा भएका विकास निर्माण र विकास निर्माणको सोचमाथि प्रश्न उठाउँदै त्यसमा आफू प्रधानमन्त्रीसँग बहस गर्न तयार रहेको बताउनुभयो ।
सांसद गगनलाई समकालीन नेता सांसद महेश बस्नेतले एकछिनपछि जवाफ फर्काउनुभयो । विकासमाथि स्वस्थ बहस हुनु सकारात्मक नै हो । तर, विकासबाट अत्तालिएर त्यसलाई पूर्वाग्रहमा परिणत गरी बहस उठाउनुचाहिँ नकारात्मक हो । नागरिकले देखेको विकास केही होइन भन्न मिल्छ र ?
ओली सरकारका पूर्वकृषिमन्त्री घनश्याम भुसालले उहाँकै भाषाको ‘प्रतिगमन’विरुद्ध प्रदर्शनीमार्गमा बोल्दा प्रधानमन्त्री ओलीका समर्थकलाई ‘साइबर स्याल’को वाक्यांश प्रयोग गर्नुभएको थियो । उहाँले सायद ओलीको पक्षमा सामाजिक सञ्जालमा लेख्ने युवाको समूह ‘साइबर सेना’लाई ‘साइबर स्याल’मा रूपान्तरण गर्नुभयो । उहाँको त्यसबेलाको आसय ओलीको पक्षमा साइबर स्यालबाहेक कोही पनि नरहेको भन्ने थियो । जबकि त्यसबेला पनि ओलीका सभामा तुलनात्मक उपस्थिति बाक्लो थियो ।
जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि प्रधानमन्त्री ओली र उहाँका समर्थकलाई आरोपित गर्नुभएको छ ।
नेताका शब्द र वाणीले वजन पाउँछन् तर उहाँहरूका अभिव्यक्तिप्रति कोही पनि गम्भीर भएनन् । ओलीलाई हटाउने सर्तमा आफ्नो राजनीतिक जीवनसमेत दाउमा लगाउन विद्वान् बाबुराम तयार देखिनुहुन्छ, उहाँका ट्वीट हेर्दा त्यस्तो लाग्छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूप्रति त्यति व्यक्तिगत टिप्पणी गरेको देखिँदैन । उहाँले चैत २७ मा ‘ओली लात खाएपछि बल्ल थाहा पाए र सहयोग माग्न आए’ भन्दै प्रचण्डमाथि कटाक्ष गर्नुभयो । यो पनि प्रचण्डले रात दिन ओली हटाउन किचकिच गरेपछि प्रतिक्रियास्वरूप आएको अभिव्यक्तिमात्र हो । प्रसङ्ग भने २०७४ को निर्वाचन परिणामपछि प्रधानमन्त्री बन्न प्रयास गर्नुभएका प्रचण्डले देउवासँग गरेको विमर्शको थियो । निर्वाचनमा सहकार्य गरेर आएको परिणामपछि प्रचण्ड पूर्वप्रतिबद्धताअनुसार, ओलीलाई प्रधानमन्त्री बनाउन तयार हुनुहुन्नथ्यो, बाध्य भएर स्वीकार्नुभएको थियो । त्यो पनि हैसियतअनुसार, सरकारको नेतृत्व गर्ने गोप्य लिखतपछि, जो पछि सार्वजनिक भयो नै ।
राष्ट्रिय राजनीति, गठबन्धन राजनीति, पार्टीभित्रको आन्तरिक राजनीतिमा उतारचढाव आउँछन् । ती उतारचढाव कसैका लागि अनुकूल र कसैका लागि प्रतिकूल हुन सक्छन् ।
अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा यस्ता अनुकूलन र प्रतिकूलता देखिन्छन् । सत्तालक्षित गठबन्धन राजनीति र अझ एउटा पार्टीभित्रको सत्ता राजनीतिमा आएका छाल बढी अस्थायी प्रकृतिका हुन्छन् । किनकि त्यहाँभित्र नेतालाई मान्ने समूह अदलबदल भइरहन्छ । झट्ट हेर्दा, झन्डै दुईतिहाइ जनमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी
(नेकपा)को सरकार सामान्य बहुमतमा सीमित भयो, पार्टी नै विघटन भएर पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिए । अझ एमालेभित्र माधव नेपालको समूह समानान्तर गतिविधि गर्दै अघि बढिरहेकाले अब नेपालबाट कम्युनिस्ट सकिए भन्ने निष्कर्ष निकालिनेछन् । तर, एउटै विकासक्रम र घटनाले पार्टीकै अस्तित्व सकिँदैन । पार्टीको विस्तार र क्षयीकरण उक्त पार्टीको आन्तरिक विभाजनले मात्र गर्दैन, विपक्षीको प्रभाव र हैसियतले पनि गर्छ । फेरि, अर्कोको कमजोरीको फाइदा उठाउने अवस्था अस्थायी विस्तारको अवस्थामात्र हो । प्रदर्शन गर्ने आफ्नै क्षमता र सामथ्र्य हो ।
मूल्याङ्कन गर्दा, कम्युनिस्ट पार्टीभित्र प्रचण्ड र माधव नेपालका लागि राजनीति प्रतिकूल छ भन्ने देखिन्छ । तर यो त्यस्तो प्रतिकूलता होइन, जो चिर्न नसकियोस् । एउटा यथार्थ हो– छिटो निर्वाचन भयो भने त्यो काँग्रेसका लागि अनुकूल हुन्छ । तर, पाँचवर्र्षे आवधिक निर्वाचन भयो भने त्यस्तो अनुकूलता नहुन पनि सक्छ । सायद, त्यही बुझेर देउवाको जोड शीघ्र निर्वाचनमा देखिन्छ ।
को सत्तारोहण हुने, कसलाई सत्ताच्यूत गर्ने, कसकाविरुद्ध कसले गठबन्धन बनाउने, कसलाई एक्लो पार्ने ? यी सबै राजनीतिमा हुन्छन् नै । तर, यहाँ उठान गर्न खोजिएको विषय नेताहरूबीच एक–अर्काको कटाक्षको होइन, उहाँहरूले एक–अर्काविरुद्ध प्रयोग गर्ने राजनीतिक अराजनीतिक भाषाको पनि होइन । किनकि एकछिन अघि सत्तोसराप गरेको नेतासँग एकछिनपछि सत्ता गठबन्धन निर्माण गर्ने नेपाली राजनीतिक संस्कृति नै छ । यो एकप्रकारले ठिकै पनि हो, किनकि स्थायी शत्रुता र मित्रताभन्दा मुद्दा र अवस्थाअनुसार परिवर्तनशील सम्बन्ध उपयुक्त हुन्छ । नेपाली राजनीतिक दल र तिनका शीर्षनेतृत्वमा मित्रताका लागि लचकता प्रदर्शन गर्ने चरित्र पनि छ ।
मूल मुद्दा सामान्य कार्यकर्ता, समर्थक, शुभेच्छुक र नागरिकमाथिको गम्भीर आक्षेपको हो । प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र गगन थापाहरूलाई प्रधानमन्त्री ओली मन नपर्न सक्छ । तर, त्यसको अर्थ ओलीलाई मान्ने कार्यकर्ता, समर्थक, शुभेच्छुक र नेपाली नागरिकमाथि ‘दास, हुक्के, बैठके’जस्ता गालीगलौजका शब्द प्रयोग गर्न मिल्छ वा मिल्दैन ? यसैलाई ठीक उल्टो पारेर उहाँहरूका कार्यकर्ता, शुभेच्छुक, समर्थक र नागरिकलाई ‘दास, हुक्के, बैठके, चम्चे’ भन्दा हुन्छ त ? हुँदैन । माधव नेपालको विराटनगर वाणीलाई हेरौँ । उहाँ भन्नुहुन्छ– विधानविपरीत काम गर्नेलाई साथ र समर्थन दिने दास हुन् । हामी दास होइनौँ ।’ पार्टी अध्यक्ष ओलीले विधानविपरीत काम गरेको भए त्यसलाई चुनौती दिने वैधानिक प्रक्रिया पनि त्यही विधानले व्यवस्था गरेको हुनुपर्छ । तर, त्यो बाटो माधव समूहले अपनाएको देखिँदैन । एमाले ब्युँतिएपछि पार्टी केन्द्रीय कमिटीको बैठकले बहुमतको निर्णयबाट माओवादी केन्द्र त्यागेर एमालेमै रहनुभएका पूर्वमाओवादी केन्द्रका नेतालाई केन्द्रीय सदस्य बनाएको हो । एमाले विस्तारका दृष्टिकोणबाट हेर्दा यो उपयुक्त कदम थियो । अब यहाँ कहाँ मालिक र कहाँ दासको प्रश्न आउँछ ?
प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने सबै दास हुन् भन्ने माधव नेपालको अभिव्यक्ति ओलीको रिसले गाउँस्तरसम्मका आफ्नै पार्टीका कार्यकर्तामाथिको अपमान हो । एकातिर, ओली समर्थकलाई उहाँ दासको संज्ञा दिनुहुन्छ, अर्कातिर हिजो उहाँसँग रहेका सांसद र नेताहरू उहाँलाई छाडी ओलीकै साथमा पुग्नुभएको छ । शेरबहादुर तामाङ, लालबाबु पण्डित, कृष्णभक्त पोखरेललगायतका सांसद र केही केन्द्रीय सदस्यले आफूलाई किन साथ दिएनन् ? किन ओली शिविरमा प्रवेश गरे भन्ने मूल्याङ्कन माधवले गर्नु राम्रो ।
ओली पक्षमा लागेका नेता र कार्यकर्ता, उहाँलाई समर्थन गर्ने नेपाली नागरिक सबै दास हुन् भन्ने माधव नेपाललाई १५ वर्ष पार्टी प्रमुख बनाएका नेता कार्यकर्ता पनि उहाँका दास थिए ? वा निर्वाचनबाट पराजित हुँदा प्रधानमन्त्री बनाउने संसद् र प्रधानमन्त्री मान्ने नागरिक उहाँका दास थिए ? माधव नेपालजस्तो वरिष्ठ नेताले यति किन नबुझ्नुभएको होला ? त्यसो भए किन धेरै दासको निर्माणमा लाग्नुभएको त ?
ओलीविरुद्धको अभिव्यक्तिकै विगत र वर्तमान हेर्दा, प्रचण्ड पनि कम हुनुहुन्न तर पनि उहाँले माधवजस्तै ढङ्गमा मालिक र दासको प्रयोग बारम्बार गरेको सुनिएको छैन । ओलीलाई समर्थन गर्न सक्नुहुन्न भने राजनीतिक रूपमा विरोध गर्दा हुन्छ तर ओली समर्थकलाई किन गाली गर्नुहुन्छ ?
देशका युवादेखि प्रबुद्ध नागरिकसम्ममा ओलीको लोकप्रियता पहिलाभन्दा बढ्दो छ । विकास निर्माणको सोच र कार्यान्वयनदेखि राष्ट्रिय स्वार्थको नेतृत्वसम्मका कारण ओली कार्यकालमा केही इतिहास निर्माण भएका छन्, जोकसैले चाहँदैमा तोडिँदैन । ओलीको वर्तमानकै निष्क्रियताले एमालेमाथि धावा बोल्न पाइन्छ भनेर विश्लेषण गरी विरोधमा उत्रने समूह पनि छ । जुन सरकार कर्मकाण्डीमात्र हुन्छ, जुन सरकार आवधिक निर्वाचन पर्खेरमात्र बस्छ, त्यसको विरोध हुँदैन । विरोध त्यसको हुन्छ, जसले केही नयाँ गर्न प्रयास गर्छ, क्रमभङ्गताको आरम्भ गर्छ । दुनियाँलाई थाहा छ– झगडा सत्ताको हो, विचारको होइन । देशनिर्माणको होइन, सत्ता नियन्त्रणको हो । प्रचण्डसँगको गठजोठ बाध्यतावश टुटेपछिको छटपटाहट आफ्नै कार्यकर्ता र नागरिकलाई गाली गरेर किन पोख्नु ? सके ओलीसँगै लड्नु, नसक्ने भए पनि ओलीलाई मान्नेको अपमान नगर्नु नै उपयुक्त हुन्छ ।
(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।)

 

photo

NOC1-250x300