अनुसन्धानको अभावमा कमजोर बौद्धिक

बौद्धिक कसलाई भन्ने?timthumb (1)

यो निकै जटिल प्रश्न छ। जीवन र जगतका सामाजिक, आर्थिक र राजनीतिक लगायत विभिन्न क्षेत्रमा चिन्तनमनन गर्ने र अभिव्यक्ति दिने व्यक्तिलाई बौद्धिक भन्न सकिन्छ भन्ने मलाई लाग्छ। साधारणतया बौद्धिकको कुरा गर्दा हामी जन-बौद्धिक वा पब्लिक इन्टलेक्चुअलको कुरा गरिरहेका हुन्छौं। तर, विज्ञताको हर क्षेत्रमा आफ्नै प्रकारको बौद्धिकता जोडिएकै हुन्छ भन्ने म ठान्दछु। साधारणतया बौद्धिक व्यक्ति- पब्लिक ईन्टलेक्चुअल-सँग तीन कुरा जोडिएको हुन्छ। पहिलो, जीवन र जगतलाई हेर्ने एउटा सांसारिक दृष्टिकोण (वर्ल्ड भ्यु)। यही  दृष्टिकोण भन्ने छैन तर अन्तरमा सन्निहित कुनै न कुनै दृष्टिकोण हुन्छ। दोश्रो, विगत, वर्तमान र आगतलाई तार्किक ढंगले जोडेर समालोचनात्मक विश्लेषण गर्ने क्षमता र गुण। तेस्रो, जीवन र जगतका सामाजिक, आर्थिक र राजनीतिक आदि विविध क्षेत्रमा चिन्तनमनन र समाजको भोगाईमा अन्तरनिहीत पीर-व्यथा, उपलब्धि-आकांक्षा र आगत आदिलाई जनसाधारणले बुझ्ने गरी अभिव्यक्त गर्ने क्षमता। यस्ता बौद्धिकले प्रायः विद्यमान राजनैतिक-आर्थिक शक्तिलाई चुनौति दिने हैसियत राख्दछन्। यस्तो प्रकारको बौद्धिक परम्परा पश्चिमा शिक्षा र सभ्यतासँगै भारत हुँदै नेपाल प्रवेश गरेको हो। अहिले यो विश्वव्यापी छ। पूर्वीय परम्परामा यस्तो छँदै थिएन भन्ने पनि होइन, नत्र चार्वाकको उदय हुने थिएन। विज्ञ हुँदैमा बौद्धिक हुँदैन तर कुनै बिषयको विज्ञ बौद्धिक हुने सम्भावना भने धेरै रहन्छ। नोम चोम्स्की साह्रै प्रखर र संसार भरी चिनिएका बौद्धिक हुन्। उनी आधुनिक भाषाविज्ञानका प्रणेता पनि हुन्। यस्ता धेरै उदाहरण छन्। नेपालमा कुनै पनि विधामा पिएचडी गर्नेहरू बौद्धिक हुन भन्ने एक किसिमको धारणा छ। आ-आफ्नो विज्ञताको सिमित घेराभित्र ती बौद्धिक होलान् तर जन-बौद्धिक वा पब्लिक ईन्टलेक्चुअल नहोलान्। नेपालमा बुद्धिजिवी र बौद्धिकलाई एकै प्रकारले हेर्ने चलन छ। बुद्धिजिवी पेशेवर हो, बौद्धिक होइन। यो सोच नेपालका विभिन्न राजनैतिक दलका बुद्धिजिवी संगठनका हकमा राम्ररी लागू हुन्छ किनभने त्यस्ता बुद्धिजीवीको पेशा नै सम्बद्ध राजनैतिक दलको र त्यसको नेतृत्वको पृष्ठपोषण गर्नु हो। बौद्धिकलाई हेर्ने अर्को दृष्टिकोण पनि छ। इटालीयन मार्क्सवादी चिन्तक आन्तोनियो ग्राम्चीले दुई प्रकारका बौद्धिकको चर्चा गरेका छन्। एकथरी, ‘पारम्परिक बुद्धिजिवी’ जो पुरानो बौद्धिक परम्परासँग हुर्केका र समाजको आर्थिक ढाचासँग सोझै नजोडिएका र कुनै वर्गसँग सामिप्य नराख्ने। अर्काथरी ‘जैविक बुद्धिजिवी’ जो समाजको आर्थिक ढाँचासँग सोझै जोडिएका र आर्थिक उत्पादनक क्रममा सिर्जित बौद्धिक समूह। समाजमा प्रभुत्व (हेजिमोनि) स्थापित गर्ने क्रममा यी दुवैखाले बौद्धिकको आ-आफ्नो भूमिका हुन्छ। बौद्धिक अभ्यासमा कमलप्रकाश मल्लजीको समयभन्दा हामी धेरै अगाडि आइसकेका छौं। बौद्धिक हुने हैसियत राख्ने जमात निसन्देह ठूलो छ। बौद्धिकताका लागि चाहिने ‘स्पेश’ अहिले धेरै फराकिलो भएको छ। तर, बौद्धिक अभ्यास निरन्तर र संस्थागत हिसाबले संगठित भने हुनसकेको छैन। बौद्धिकताका लागि चाहिने पूर्वाधारको अवस्था नाजुक छ। बौद्धिकतालाई संरक्षण गर्ने संस्थाहरू कमजोर भएका छन् र क्षयोन्मुख छन्।   

 

photo

NOC1-250x300