अज्ञानी हुन् कि औजार ?

डा. कुन्दन अर्याल

बैशाख ११, २०७८ शनिबार,

कुनै पनि सञ्चार माध्यममा गलत र कपोलकल्पित सामग्री किन छापिन्छ वा किन प्रसारित हुन्छ ? यो प्रश्नको उत्तर एउटा मात्रै हुनै सक्दैन । यही प्रश्न राखेर क, ख, ग र घ गरी चार वटा उत्तरमध्येमा कुनै एकमा रेजा लगाउनुस् भनेर सर्वेक्षणमा समावेश गर्न सकिन्छ । तर यही प्रश्नको पाँचौं वा छैठौं उत्तर पनि हुन सक्छ, त्योभन्दा बढी पनि हुन सक्छ । बृहत्तर रूपमा हेर्दा भने यो प्रश्नको दुई वटा उत्तर हुन सक्छ । पहिलो, पत्रकारिताको मूल्य, मान्यता वा व्यावसायिक मर्यादाका सम्बन्धमा वा पत्रकारिताकै विषयमा केही पनि नबुझ्ने अज्ञानीहरूबाट त्यस्तो गल्ती हुन सक्छ । दोस्रो, निहित स्वार्थका लागि पत्रकारिताका माध्यमले गलत प्रचार गराएर खास उद्देश्य पूरा गर्न चाहने औजारमा रूपान्तरित मानिसहरूले पनि जानी बुझी त्यस्तो गलत काम गर्न सक्छन् । संसारका विभिन्न देशका इतिहासमा समयक्रममा उजागर भएका कैयन त्यस्ता कथित समाचारहरूका आधारमा निस्कने निष्कर्ष यही हो ।
साँचो अर्थमा पत्रकारिता गर्ने दक्ष व्यावसायिकहरू वा पत्रकारिताको व्यावसायिक मर्यादा कायम गर्न समर्पित संस्थाहरूले मिडियामा आउने असत्य सामग्रीलाई पहिलो दृष्टिकोणबाट हेर्छन् । यस दृष्टिकोणबाट हेर्ने वित्तिक्कै पत्रकारहरू आफ्नो पेसामा दक्ष र यसका आधारभूत नैतिक मान्यताका बारेमा जानकार हुनुपर्छ भन्ने पक्षमा बढी ध्यान जान्छ । तर संसारमा राजनीतिक, आर्थिक, कूटनीतिक वा अन्य क्षेत्रका द्वन्द्वमा जीत हासिल गर्नका लागि आमसञ्चार माध्यमको प्रयोग सुरुवातकालदेखि नै हुँदै आएको छ । शासक वा शासनको लालसा राख्ने अन्य शक्तिशाली वर्गको औजारका रूपमा सञ्चालित भएको अवस्थामा मिडियाका सामु स्रोत, पुष्टि, अनुसन्धान सबैका बनावटी उपाय हुन्छन् ।
त्यसैले दोस्रो उत्तर दिनेहरू षड्यन्त्र, म्यानिपुलेसन र प्रोपागाण्डाका सिद्धान्तका आधारमा समस्याको गहिराइ पत्ता लगाउन खोज्छन् । यस आलेखमा भने पहिलो आशङ्कालाई नै मूल आधार बनाइएको छ । देशका सात वटा अनलाइन समाचार पोर्टलहरूले पत्रकारिताको सामान्य सीप, मूल्य र मान्यता विपरीत बनावटी कथ्यलाई समाचारका रूपमा प्रस्तुत गरेर गल्ती भएको स्वीकार गरिसकेका छन् । तर ती अनलाइन समाचार माध्यमहरूले सार्वजनिक रूपमा क्षमा मागिसकेपछि पनि नयाँ वर्षको सुरुवातसँगैको त्यो लाजमर्दो घटनाक्रमको पटाक्षेप भएको छैन । किनकि, त्यो घटना त नेपाली पत्रकारितामा शृङ्खलाबद्ध रूपमा देखिँदै आएको एउटा प्रवृत्तिको सादृश्य उदाहरण मात्र हो । पत्रकारितामा गल्ती कमजोरी हुन सक्छ, तर गल्ती सच्याउने तत्परतालाई अति आवश्यक गुण मानिन्छ । त्यस दृष्टिले हेर्दा भने सात वटै अनलाइनले विगतलाई स्मृतिमा राखेर आगामी दिनमा त्यस्तो गल्तीबाट बच्ने मौका पाएका छन् । तर सिक्न चाहने हो भने यस प्रकरणले समग्र नेपाली पत्रकारितालाई गम्भीर पाठ पढाएको छ ।
हरेक पेसा र व्यवसायका केही मौलिक विशेषता र धर्म हुन्छन् । सैद्धान्तिक रूपमा पत्रकारिताका सामग्रीको आममानिस वा बहुसङ्ख्यक मानिसको सूचना, मनोरञ्जन, जानकारी वा भावनात्मक अभिव्यक्तिको आवश्यकता परिपूर्ति गर्ने ध्येय हुन्छ । स्वच्छताको नियम पालना गरिएका पूर्वाग्रह विनाका ती सामग्रीको जति बढी सार्वजनिक खपत हुन्छ उति सत्यापन हुँदै जान्छ । जसको परिणामस्वरूप मिडियाप्रति आममानिसको भरोसा बढ्दै जान्छ । त्यसैले एउटा असल पत्रकार आफ्ना सामग्री सार्वजनिक रूपमा गलत वा गलत नियतबाट प्रेरित भएको कोटीमा नपरोस् भन्ने चाहना राख्छ । त्यही कारण पत्रकारितामा सूचनाको खोजी, तथ्यको सत्यापन र पुनःपुष्टिका सीपहरू प्रचलित छन् । पत्रकारिताको सबैभन्दा ठूलो धर्म सत्य र सबैभन्दा ठूलो शक्ति जनताको विश्वास र भरोसा नै हो । कुनै पनि आमसञ्चार माध्यम जति बढी भरोसायोग्य वा विश्वसनीय हुन्छ, त्यसको शक्ति पनि त्यही परिमाणमा स्थापित हुन्छ ।
विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि इन्टरनेटमा आधारित माध्यमको प्रभाव बढ्दै गएको छ । मानिस अब कागजमा होइन, मोबाइल, कम्प्युटर वा अन्य डिजिटल सामग्रीमा समाचार पढ्ने वा हेर्ने गरिरहेका छन् । इन्टरनेट प्रविधिका कारण आम उपभोक्तामाझ पत्रकारिताका ठूला संस्थाहरूकै हाराहारीमा ससाना संस्थाहरूको पहुँच स्थापित छ । अन्तर्वस्तुको उत्पादन र प्रसारको गति निकै बढेको छ । तर यससँगै पत्रकारिताका सीप र मूल्य–मान्यताको ख्याल गरिएन भने उपभोक्ता अन्योलमा पर्छन् र पत्रकारिताको विश्वसनियता घट्छ । त्यसैले झूठो र बनावटी लिखतका आधारमा बनाइएको सामग्रीलाई समाचारका नाममा प्रसार गर्ने अनलाइन समाचार पोर्टलहरूले आफ्नो गल्ती सच्याउनै पथ्र्याे । समयक्रममा उनीहरूले अन्तरआत्माबाटै त्यस्तो गल्ती स्वीकार गरेका हुन् भन्ने प्रमाणित हुन सक्यो भने उनीहरूकै इज्जत बढ्नेछ ।
प्रेस काउन्सिल नेपालमा उपस्थित भएर ती अनलाइन समाचार माध्यमका सम्पादकहरूले माफी मागेपछि तत्कालका लागि यो खास विषयको त अन्त्य भयो भन्न सकिन्छ । तर जसरी भारतीय जासुसी संस्थाका अधिकारी र नेपालका प्रधानमन्त्रीबीचको सहमतिको कागज भनेर झुठो सामग्रीलाई आधार मानी समाचारका रूपमा जस्तो सामग्री प्रस्तुत गरियो, त्यसले नेपाली पत्रकारिता, खासगरी नयाँ माध्यमका पत्रकारिताका अन्तर्वस्तुका सम्बन्धमा आशङ्का जन्माएको छ । यो आशङ्काको अन्त्य गम्भीरताका साथ, तुलनात्मक रूपमा अधिक स्रोत साधन सम्पन्न र व्यावसायिक रूपमा सञ्चालन भइरहेका अनलाइन माध्यमहरूको अझ सशक्त र भरपर्दो प्रस्तुतबाटै हुन सक्छ ।
प्रेस काउन्सिल नेपालले ती अफवाह फैलाउँदै आधारहीन सामग्री प्रकाशित गर्ने अनलाइनहरूको विशेष र निरन्तर निगरानी गरेर असल अभ्यास गर्नेहरूलाई प्रोत्साहित गर्नु पर्छ । काउन्सिलले पत्रकारिताको आचार संहिता उल्लङ्घन गर्ने पत्रकारहरूलाई निरन्तर सजग गराइरहेको खण्डमा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ । पत्रकारहरूकै साझा संस्था नेपाल पत्रकार महासङ्घको सहभागितामा तयार गरिएको नेपालका पत्रकारहरूको आचार संहिताको पालना गराउने मूल दायित्व पाएको काउन्सिलले भर्खरै मिथ्या सामग्री प्रसार गरेर आलोचित बनेका सात वटै अनलाइनका पत्रकारहरूका लागि अभिमुखीकरणको आयोजना गर्ने भएको छ ।
त्यस्तो प्रशिक्षणका क्रममा केही विषयमा ती पत्रकारहरूलाई प्रष्ट पारिएको खण्डमा आउँदा दिनमा यस्ता तथाकथित समाचारहरू प्रस्तुत गर्न धक मान्ने वातावरण बन्दै जानेछ । गलत सामग्री सम्प्रेषण गर्ने पत्रकारहरूका तर्फबाट देखाइएको गल्ती सच्याउने तत्परताको प्रसंशा गर्नुपर्छ । तर आमरूपमा पत्रकारिताका विभिन्न माध्यममा देखिँदै आएको एउटा उल्लेखनीय समस्या के छ भने भूल सुधारलाई भरिसक्य नदेखिने गरी प्रस्तुत गर्ने गरिन्छ । जबकि भूल सुधार त्यस अघि अञ्जानमा असत्य प्रस्तुत गरियो अब यो सत्यको सबैतिर प्रसार होस् भन्ने ध्येयका साथ गरिनु पर्ने हो । माफी माग्नु वा गल्ती सच्याउनुको मर्म सत्यको प्रसार होस् भन्नु हो । तर जसरी गल्ती सच्याउने तत्परतालाई विश्वव्यापी रूपमा स्थापित पत्रकारिताको एउटा महìवपूर्ण मान्यता मानिन्छ, त्यसैगरी सत्यलाई उत्साहका साथ प्रसार गर्ने गरेको पाइँदैन ।
दैनिक उपभोगका विभिन्न सामग्रीका कमजोर उत्पादकहरूले नाम चलेका ब्राण्डहरूको नक्कलको सहायताले उपभोक्तालाई छक्याउन खोजिरहेका हुन्छन् । उपभोक्ता सचेत हुन खोज्छन् । तैपनि रङ्ग, आकार वा ढाँचाकाँचाका बलमा पनि यस्तो ठगी भइरहेकै हुन्छ । समाचार वा समाचारजन्य सामग्रीदेखि मनोरञ्जन वा सूचनाका अनेक लेखन, श्रृव्य वा दृश्य सामग्री जनजीवनसँग अन्योन्याश्रित रूपमा जोडिँदै गएको आजको समयमा सञ्चार माध्यममा पनि त्यस्तै अस्वस्थ्य अभ्यास देखिँदै आएका छन् । समाचारका नाममा सरासर मिथ्या प्रस्तुत गर्ने सात वटा अनलाइन माध्यमहरूमध्ये केहीको नाम नेपालका स्थापित र ख्यातिप्राप्त सञ्चार माध्यमहरूसँग मिल्दोजुल्दो थियो । प्रेस काउन्सिल नेपालले यस प्रकरणमा केही उल्लेखनीय निर्णयहरू गरेको छ । तर आउने समयमा अनलाइन माध्यमहरूलाई सूचीकृत गर्दा मिल्दोजुल्दो नाम जुराउने गलत प्रवृत्तिलाई निरुत्साही गर्न पनि पत्रकारितामा स्वच्छताको पक्षपोषण गर्ने सबैले ध्यान पु-याउन जरुरी देखिन्छ ।
प्रेस काउन्सिल नेपालमा सूचीकृत दुईहजार ६६४ अनलाइन समाचार माध्यमहरूमध्ये अधिकांश लहड, कुनै खास स्वार्थ समूहको पहल वा व्यावसायिक दक्षता र आचरणप्रति सजग पर्याप्त जनशक्तिकै अभावमा सुरु गरिएका छन् । सूचीकृत भएकामध्ये धेरै कम सङ्ख्याका केही अग्रपङ्क्तिका नेपाली अनलाइन समाचार माध्यमहरूले तुलनात्मक रूपमा असल व्यावसायिक अभ्यास गरिरहेका छन् । तर आम पाठक–दर्शक वा असचेत प्रयोगकर्ताका सामु त गलत अभ्यास गर्ने अनलाइन माध्यमहरू पनि सञ्चार माध्यम नै हुन् ।
अझ समाचारका नाममा गलत सामग्रीको प्रसार गर्न चाहनेहरूका लागि त त्यस्ता डिजिटल सामग्री सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फिँजाउन पनि अति सजिलो छ । तर यस्तै गलत कार्यको परिणामस्वरूप सञ्चार माध्यममा उपभोक्ताको विश्वास घट्दै जाने गर्छ । कतिपय बेला केही माध्यमले गरेको अव्यवासायिक, अमर्यादित र पत्रकारिताको नैतिकता विरुद्धको कार्यले समग्र पत्रकारिताप्रति शङ्का उत्पन्न हुन सक्छ । त्यसैले पत्रकारिताका नाममा हुने यस्ता गलत कार्यका विरुद्ध सबैभन्दा पहिले पत्रकारहरू नै उभ्भिनुपर्छ । पत्रकारले आवश्यक ज्ञान बेगर काममा हात हाल्ने वा औजार बन्ने दुवै प्रवृत्तिबाटपरहेज गर्नुपर्छ । 
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

 

photo

NOC1-250x300