अग्राख पलाएको रात

बूढानीलकण्ठ तैरिरहेको कुण्डमा एकजना मानिस डुबुल्की मारिरहेको थियो। निकैबेर त्यो दृश्य हेरिरहेँ। तर त्यो मानिस अझै पनि निस्किएन। मेरो मनमा भने कौतूहलता उत्पन्न भइरहेको थियो–यो मान्छे को हो? किन यसरी डुबुल्की लगाइरहेको छ ? फेरि कतिकतिखेर पानीबाट उत्रेर ती बूढा नीलकण्ठको पाउमा आफ्नो शिर निहुराएर आशीर्वाद मागिरहेछ।

मलाई यस्तो पनि लाग्यो–यी कुनै साधु होलान् वा शिवभक्त होलान्। लगातारको उनको हरकत देख्दा पागल जस्तो पनि लाग्थ्यो। निकैबेर घोरिएर हेरिरहेँ। रमितेहरुको भीड जम्मा हुँदै गइरहेको थियो। मानिसहरु ओहोर दोहोर गरिरहेका थिए। कुण्डको वरिपरि घेरिएको बारबाट मानिसहरु त्यतैतिर आँखा लगाइरहेका थिए। कानमा शंख र घन्टाको आवाज पनि प्रवाहित भइरहेको थियो। एकथरी मानिसहरु जय शम्भो भनेर फलाकिरहेका थिए। वरिपरि बसेका पण्डितहरु आआफ्नै कर्म काण्डमा निवृत्त थिए।

त्यो कुण्डमा पौडी खेल्न मनाही थियो तथापि कुन सड्कोमा त्यो मानिस त्यहाँ पुग्यो कसैले भेउ पाउन सकेन।

एकछिनपछि कसैले फोन गरिदिएछ नारायणथानका पुलिस इन्सपेक्टर आफ्नो दलबलसहित त्यो स्थानमा आए। इन्सपेक्टरको निर्देशन पाएपछि एउटा सुन्डमुसन्ड हवल्दार पानीभित्र पस्नमात्रै के लागेको थियो त्यो व्यक्ति हतार हतार पानीबाट बाहिर निस्क्यो। बाहिर रहेका पुलिसले उसलाई च्याप्प समाए र थानामा लिएर गए। पहेँलो च्यादरले छोपिएका नीलकण्ठको दर्शन गरिसकेका भक्तहरु पनि रमिता हेर्न उनको पछिपछि लागे।

थानामा पुर्‍याएपछि हवल्दारले कड्केर भन्यो–के हेर्न आ ? जानुस् तपाईहरु। हवल्दारको एउटा वाक्य नै काफी भयो–मानिसहरु फर्कनका लागि। सबै मानिसहरु बाहिरिए। म चाहिँ एक्लै थानाको बाहिर पर्खालको सियालमा कान थापेर सुनिरहेँ। बाहिर निस्कँदा सबैको मुखबाट गाइगुइँ भइरह्यो–आखिर त्यो मान्छे को हो ?

भित्र लगेपछि त्यो मान्छेलाई थानेदारले बस्ने इशारा गरे अनुरुप ऊ थचक्क कुर्सीमा बस्यो।

थानेदारले कुरा यसरी उप्कायो–तिमीलाई थाहै होला, त्यो स्थानमा हाम्रा राजा महाराजा त आएनन् भने तिमी किन पौडी खेल्न आयौँ ?

मलाई सारै औडाहा भयो।

कस्तो औडाहा ?

छटपछि भो। मेरो जीउबाट भलभल्ती पसिना आयो। जिउ तातेर अखप भयो। त्यही डाहा शान्त पार्न यहाँ पौडिएको हुँ।

हवल्दारले एकफेर मजाले लठ्ठी घुमायो र सोध्यो–रंगशालामा पो जान पर्दथ्यो त। त्यत्रो पोखरी छ।

त्यो पोखरीमा कहाँ जानु ? फोहोरै फोहोर छ त्यहाँ त। आफ्नो घरमा नि थियो नि सानोतिनो पोखरी त। तर त्यो भन्दा त बरु नीलकण्ठ बूढा सुतेको स्थान नै पवित्र र शुद्ध छ भनेर यही आएको हुँ।

के भएर पसिना आयो त ?

खै किन आयो किन आयो ? अस्तिदेखि एमालेले संसद अवरुद्ध गरेदेखि मलाई यस्तो भएको हो।

पहिला पहिला पनि हुन्थ्यो र ? डाक्टरी पाराले उसले सोध्यो।

पहिला त त्यस्तो हुन्थेन। खै यसपाली चाहिँ कसरी भयो। मलाई नै आश्यर्च लागेको छ।

संसद अवरुद्ध र डाहा ……? यी दुइको तादात्म्यता कसरी भो र ?

एमालेले संसद अवरुद्ध नगरेको भए यतिन्जेलसम्म त म प्रधानमन्त्री भइसक्ने थिएँ नि। त्यसैले मलाई औडाहा बनाएको हो। हलाहल विष पिएर रन्थनिएका शिवजी जसरी गोसाइँकुण्डमा पुगेर विश्राम गरे, त्यसैगरी म पनि यो औडाहा समन गर्न यहाँ आएको हुँ। ‘मलाई माफ गर्नुस् तपाई को हुनुहुन्छ र ?‘ उसले सोध्यो।

मलाई तिमीले चिनेकै रहेनछौ। म त शेर बहादुर देउवा नामको प्राणी हुँ। यतै नजिकै बस्छु नि। नेपाली काँग्रेसको सभापति। पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्री पनि। अस्ति म बालकोट गएको थिएँ। त्यो बालकोटे राजासँग बिन्ती बिसाएँ–सरकार। मलाई एकपटक फेरि चान्स दिनुपर्यो। तर अहँ त्यो अहंकारी बालकोटेले मेरो कुरामा कुनै टेरपुच्छर लाएन। फेरि निहुरेर ढोग गरेँ, स्वस्ती गरेँ। तर त्यो अझै मानेन। अझै उसैले भन्यो–तिमी तीन तीन पटक प्रधानमन्त्री भयौ। देशलाई के दियौ र अब के दिनका लागि त्यहाँ जान खोज्दैछौ ? देशले त केही पाउने होइन। तिमीसँग के एजेन्डा छ ? प्रजातन्त्रप्रतिको तिम्रो समर्पणमा कसैले प्रश्न गरेको छैन छ तर तिमीसँग कुनै भिजन छैन। बार वर्ष अगाडिको नेपाल होइन यो। तिमीले बिपीलाई बिर्सेका छौ। उनका विचारलाई बिर्सेका छौ। नत्र देशको यो दुर्गति हुन्थेन। तिमी ठूला मान्छे त भयौ असल हुन सकेनौ। धिक्कार छ तिमीलाई। त्यसैले त रहेछ तिमीलाई निकम्मा भनेर राजाले गलहत्याएका। तिमीले माओवादीलाई काखी च्याप्यौ। उनीहरुभन्दा प्रजातान्त्रिक अभ्यास हामीले बढी गरेका थियौँ हामीसँग मिल्दा तिम्रो के खती हुन्थ्यो र ? भनेर यावत् मेरा गलत कार्यहरुको फेहरिस्त प्रस्तुत गरे। उनको कुराले मेरो धैर्यको बाँध टुट्यो। अनि म त्यहाँबाट हान्निदै घर आएँ। घरमा आउँदा मन्त्री पाउने आशमा बसेका केही नेताहरु मलाई नै कुरेर बसेका रहेछन्। तिनीहरुसँग पनि केही नबोली म सरासर माथि गएँ। आरजूले म नजिकै आएर सोधिन्–के भयो त हजुर बालकोटको वार्ता ?

‘जे नहुनु थियो त्यही भयो। त्यसले भरतपुरको कुरा उप्काइरह्यो। त्यहाँको समस्या समाधान नहुँदासम्म हामी संसद अवरुद्ध गरिरहन्छौँ भन्यो। रात रहे अग्राख पलाउँछ भन्छन् खै के हुने हो ? अग्राख पलायो भने त खत्तमै भो नि। यो मुखमा आएको पद जाला कि भन्ने मेरो डर हो। सुन्छु मेरा विरुद्ध एकथरी मानिसहरु लागिरहेका छन्।’

आरजूले भनिन् ’हुन त हो नि हजुर पनि। त्यहाँ त अचाक्ली नै भएको हो नि। पुरानो नजिर उप्काएर अरु नयाँ नजिरहरु स्थापना गर्ने बाटाृेमा हिँडियो। अब यस्ता घटनाहरु भइरहन्छन्। पराजयको नजिक पुग्नासाथ मतपत्र च्यातिदिने। यस्तो कुरामा पनि नेकाले चूप लागेर बस्न हुन्छ ? हामीले अरुलाई सिकाउने हो। जंगलीहरुलाई के थाहा छ प्रजातन्त्रको अभ्यास ? जंगलबाट टिपेर हामीले नै ल्याएको होइन र उनीहरुलाई संसदसम्म। हामीले नै गलत कुराको नजिर बसाल्ने ? साक्षी बनेर दोगला कुरा गरेर हुन्छ ? हामीले माओवादीलाई सधैँका लागि त संझौता गरेका होइनौँ नि। फेरि राजनीतिमा सधैँ शत्रु र मित्रु पनि त हुन्न नि। यो पटकको लागि पो हो त माओवादीलाई सघाएको। अर्को पटक एमालेलाई सघाउने हुन पनि सक्छ नि। विपीले भन्नुभाथ्यो द्धिविधा भए एक मुठी माटो हातमा लिएर सोध्नु जे उत्तर आउँछ त्यही गर्नु। तर भरतपुरका काँग्रेसीहरुलाई उल्टै देखेको कुरा बंग्याएर बोल्न भन्नुभयो। गलत निर्देशन दिनुभयो। के यसरी काँग्रेस अगाडि बढ्छ ? माओवादीले गल्ती गरेको थियो त गल्ती हो भनेर भन्न सक्नुपर्दथ्यो। सत्य त एउटै हुन्छ नि। माओवादीका स्वार्थका लागि सुशीला कार्कीलाई महाअभियोग लगाउनुभयो। लोकमान सिंह कार्कीलाई गलहत्याउनुभयो। पुलिस काण्ड भयो। तपाईले पापैपापका यतिविघ्न भारी बोकेर हुन्छ ? प्रजातन्त्रका खातिर मेरो जिब्रो काटिएको थियो भनेर हुन्छ अबको जमानामा ? अहिले त काम गर्न पर्छ काम। जनताका लागि अब कहिले गर्ने त ? प्रचण्डले बिसौनीमा बिसाएको भारी बोकेर त्यत्रो पहाड कसरी चढ्नुहोला भनेर मलाई त आश्चर्य लागिरहेको छ र कताकति डर पनि लागिरहेको छ।‘

अनि देउवाले भने–आरजूको कुराले आगोमा घ्यू थपेझैँ भयो। म अझै हतोत्साही भएँ। अनि मैले भनेँ–त्यो चन्दको व्रिफकेस कस्ले लियो ?

‘मलाई के थाहा त ?‘

‘तिमीले लिएको भनेर सारा सहरमा हल्ला छ।‘

‘खै, कस्ले के नियतले हल्ला गर्यो मलाई के थाहा त ? तर नेकाको हारमा त्यो हल्लाले पनि काम गरेको छ।’

‘मेरो कुरा सुनेर आरजू भान्सातिर लागी। म फटाफट दुइ पेग ह्वीस्की पिएर कसैसँग नबोली अनि यो कुण्डमा आएको हुँ।’

त्यो हवल्दारले उठेर जीउ सकेसम्म तन्कायो र जय नेपाल साप भन्यो र आफ्नो गल्तीमा पश्चाताप पनि गर्यो।

‘ए भाइ पनि काँग्रसी नै रहेछौ। भोट हाल्यौ त ?’

’भोट त हालेँ तर रुखमा होइन। जे पर्ला पर्ला गाईलाई हालिदिएँ। काँ हजुर त्यो हसिया हथौडामा भोट हाल्न त कसरी सकिन्छ र ? हजुरले उर्दी दिँदैमा मान्छेको मनबाट बाँदरमुढेको त्यत्रो त्रासदी कसरी हट्छ र हजुर ? फेरि जनता हजुरका हरवा चरवा पनि होइनन् नि।‘

यहीँ नै किन आउनुभयो त ?

मेरो घरको त्यो पोखरीले औडाहा त अलिअलि शान्त गर्दथ्यो होला तर मैले देश र जनताप्रति गर्न नसकेको न्यायका लागि, काँग्रेसको पराजयका लागि म प्रायश्चित पनि गर्न चाहन्छु। मेरो नालायकीका कारण यस्तो भएको हो। मैले यसको नैतिक जिम्मेवारी लिनुपर्छ। अब यो मेरो अन्तिम मौका हो। म ७० वर्ष पनि त भइसकेँ। अब त परत्र पनि त हेर्नुपर्यो। विगतका तीतामीठा कुराहरु भुलेर म यसपटक मेरो व्रम्हले देखेका कुरा गर्न चाहन्छु। गल्ती त मान्छेबाट हुने त हो नि। ती सब पाप पनि पखालौँ भनेर यही आएको हुँ।’

थानेदारले ड्राइभरलाई बोलायो। जयनेपाल भन्दै ड्राइभर पनि आइपुग्यो। गाडीको ढोका खोल्यो। थानेदारले ‘युवानेता‘लाई ढोकाभित्र छिरायो र जयनेपाल साप भन्दै बाहिर फक्र्यो।

गाडी कुइँकुँइ गर्दै ओरालो लाग्यो। म पनि पर्खालबाट जुरुक्क उठेँ। माइक्रोबसको सहयोगी कराइरहेको थियो–लौ, आउनुस् आउनुस् सिट खाली। रत्नपार्क, रत्नपाकर्, रत्नपार्क। म त्यसमै चढेँ। भरि रहेछ। उभिएरै यात्रा गर्न विवश भएँ। अघि अघि गएको साइरनको ध्वनि भने आकाशमा बिलिन भइसकेको थियो। अन्तिममा रत्नपार्क रत्नपार्क भनेपछि पाे ब्युभेँछु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 गोकुल बास्कोटाको पश्न गठबन्धनलाई – प्रधानमन्त्रीको उमेदवार को रहेछ ?

आइतबार, भाद्र २६,काठमाडौं / नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने आज ऋषिपञ्चमी

काठमाडौँ, १६ भदौ (रासस) : प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र

सपूतको ‘पीर’ले तरंगित माओवादी शिविर

 २०७८ फागुन २९ गते, आम मानिसको कथाव्यथालाई संवेदित ढंगले भावनात्मक कसीमा राखेर गीत सृजना गर्नु

आज सरस्वती पूजा, धुमधामका साथ मनाइदै

 माघ २३, काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज