३२ जिल्लामा अाज मतदान : ७०२ उम्मेदवारबाट १११ सांसद चुनिँदै

Nepal-election

काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत आज ३२ जिल्लामा मतदान हुँदै छ । निर्वाचनबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सदस्य निर्वाचित हुँदै छन् ।

३ असोज ०७२ मा जारी संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन र संस्थागत विकासको पहिलो खुट्किलोका रूपमा निर्वाचन हुन लागेको हो । यो निर्वाचन सम्पन्नपछि ११ वर्ष लामो राजनीतिक संक्रमण अन्त्य हुनेछ ।

स्थानीय तह र केन्द्रीय सरकारको समन्वयकारी भूमिकामा रहने प्रदेश सभामा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रिपरिषद्लगायत हुनेछन् । ००४ मा ‘काठमाडौं म्युनिसिपालिटी’को निर्वाचन भएको थियो । काठमाडौंको विकासका लागि स्थानीयस्तरमा भएको यो निर्वाचन नै नेपालमा भएको पहिलो निर्वाचन थियो ।

२१ मंसिरमा मतगणना
१० मंसिरमा ३२ जिल्लामा मतदान भए पनि मतगणना भने २१ मंसिर साँझ ५ बजेबाट मात्रै सुरु हुनेछ । पहिलो चरणमा हुने ती जिल्लाका मतपेटिका सुरक्षित राखिने र दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

संविधान कार्यान्वयनको पहिलो खुट्किलो
प्रदेश र प्रतिनिधिसभा निर्वाचन ३ असोज ०७२ मा जारी संविधानअनुसार संघीयता र गणतन्त्र कार्यान्वयनको पहिलो खुड्किलो हो । २८ चैत ०६४ को संविधानसभा निर्वाचनपछि गठन भएको संविधानसभाले संविधान जारी गर्न सकेन र राजनीति संक्रमणकाल लम्बियो । ४ मंसिर ०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो । सभाले ३ असोज ०७२ मा संविधान जारी ग¥यो ।

निर्वाचनपछि ११ वर्षको संक्रमणको अन्त्य
प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार बन्नेछ । त्यससँगै नेपालमा ११ वर्ष लामो राजनीतिक संक्रमणको अन्त्य हुनेछ । एक प्रकारले राजनीतिक मुद्दा किनारा लाग्नेछन् ।

०६३ मा तत्कालीन माओवादी सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि राजनीतिक संक्रमण सुरु भएको थियो ।

मतदाता परिचयपत्र नभए के गर्ने ?
मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकता, पहिला आयोगले दिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ ।

यसरी गरिँदै छ मतपेटिकाको सुरक्षा

गृह मन्त्रालयले मतपेटिकाको सुरक्षालाई केन्द्रमा राखी आइतबार हुने पहिलो चरणको निर्वाचनको सुरक्षा रणनीति बनाएको छ । विकट मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ । मतपेटिकासँगै दलका प्रतिनिधि पनि हुनेछन् । २१ मंसिरको चुनावपछि मात्र मतगणना हुने भएकाले विवादरहित हुने गरी मतपेटिकाको सुरक्षा गर्न गृहले रणनीति बनाएको छ ।

मतदान अधिकृतको नेतृत्वमा प्रहरी, सशस्त्र, सेना र राजनीतिक दलका प्रतिनिधिसहितले मतपेटिका मतगणनास्थलमा ल्याउनेछन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मतगणनास्थल हुनेछन् । ती कार्यालय प्रायः अहिले जिल्ला सदरमुकाममा छन् ।

मतगणनास्थलमा मतपेटिका राखेको कोठालाई सिलबन्दी गरिनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको अलावा राजनीतिक दलका प्रतिनिधिले पनि ताला लगाउनेछन् । ताला लगाएको कोठाको सुरक्षा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको रेखदेख, अनुगमन र निर्देशनअनुसार सुरक्षा व्यवस्था मिलाइनेछ ।

मतगणनास्थलको सुरक्षा सेनाले गर्नेछ । ‘मतपेटिका दलहरूका प्रतिनिधिहरूको रोहबरमै रहने गरी व्यवस्था गरिनेछ,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने । २१ मंसिर साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरु हुनेछ ।

तीनघेरामा चुनावी सुरक्षा
मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी हुनेछन् । बीचमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा सेनाले दिनेछ ।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले कुनै पनि स्थानमा १० देखि ३० मिनेटभित्र प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल