सिरहा काङ्ग्रेसको इतिहास माओवादीमा विलय : अब जोगिएला विरासत ?

मंसिर ६, २०७४

काठमाडौँ– काङ्ग्रेसको विरासत थामेको परिवार नै माओवादी केन्द्रमा गएपछि सो विरासत ढलेको हो ।

काङ्ग्रेसका पुराना नेता सिरहा औरही गाउँपालिकाका सूर्यनाथ दास यादव र देवनाथ दास यादव परिवारका सदस्यहरू माओवादी केन्द्रमा जान थालेपछि सिरहामा काङ्ग्रेसमाथि दबाब देखिएको छ ।सूर्यनाथ दास यादव र देवनाथ दास यादव दुवै दाजुभाइ हुन् । दुवैजना सँगै पार्टीमा थिए । २०१५ सालको आमचुनावमा दुवै दाजुभाइ चुनाव लडेका थिए र दुवै जनाले जितेका पनि ।

सूर्यनाथ दास यादव अलि चलाख र भलाद्मी भएका कारण उनी दुई पटक मन्त्री पनि भए तर देवनाथ दास यादव अलि स्वभावले कडा मिजासको र क्रान्तकारी भएका कारणले उनी मन्त्री बन्न पाएनन् । बरु पार्टीले सुरु गरेको आन्दोलनमा सक्रिय भएर लागिरहे ।२०१७ सालको क्रान्तिमा सूर्यनाथ दास यादव पक्राउ परे भने उनी भारत प्रवासमा गएर बसे । उनलाई पटक पटक आत्मसमर्पण गर्न नेपाल सरकारले भनिरह्यो ।

तर, उनले ‘बरु यतै घरजम गरेर बस्छु तर सरकार समक्ष आत्मसमर्पण गर्दिनँ’ भने र उनले त्यही गरे ।भारतको दरभङ्गामा जग्गा लिएर घर बनाई त्यहीँ बस्न थाले । आन्दोलन चलिरहेका कारण छोरीको विवाह पनि उतै गरे । आन्दोलन समाप्त भएपछि उनी नेपाल फर्केका थिए ।

उनीहरूकै परिवारका दुईजना हालै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सिद्धार्थ यादव जो नेपाली काङ्ग्रेसको तरुण दलका जिल्ला अध्यक्ष थिए तर पार्टीले स्थानीय तहमा टिकट नदिएपछि उनी उम्मेदवारी मनोनय दर्ता गराउने दिन माओवादी केन्द्रमा प्रवेश गरेर टिकट लिई चुनाव जिते ।

त्यस्तै भयो, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा । देवनाथ दास यादवका छोरा सुरेशचन्द्र दास यादवले टिकट नपाएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेर टिकट प्राप्त गरी अहिले सिरहा क्षेत्र नम्बर २ को चुनावी मैदानमा छन् ।

२०४८ र २०५१ सालको प्रतिनिधिसभा चुनाव जितेका सुरेशचन्द्र दास यादव २०५२ सालमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए । सिरहाको काङ्ग्रेसमा राम्रो पक्कड बनाएका सुरेशचन्द्र दास यादव माओवादी केन्द्रमा गएपछि काङ्ग्रेसमा ठूलो धक्का लागेको बताइएको छ ।

सुरेशचन्द्र दास भन्छन्– ‘अब त्यो काङ्ग्रेस रहेन, टिकट माग्न जाँदा त अर्कै काङ्ग्रेस भइसकेको थियो, सिरहा जिल्लामा काङ्ग्रेसलाई हामीले नै बनाएको हौँ तर अहिले त्यहाँ नयाँ–नयाँ मान्छे आएर पार्टी नै कब्जा गरेकोे देख्दा दिक्क लागेर आयो र पार्टी छाडेर हिँडे ।’

जनयुद्धकालमा माओवादी केन्द्रले सुरेशचन्द्र दास यादवको थुप्रै जमिन कब्जामा लिएका थिए । माओवादीका कारणले सुरेश र उनका सबै परिवार भारतमा बस्न बाध्य थिए । तर, आज उनका परिवारका सदस्य धमाधम पार्टीमा प्रवेश गर्न थालेपछि धेरैले यसलाई अनौठो रूपमा लिएका छन् ।

देवनाथ र सूर्यनाथ दासलाई नजिकबाट बुझेका खुशीलाल मण्डलले भन्छन्, ‘काङ्ग्रेसले देवनाथ र सूर्यनाथको परिवारलाई पहिचान गर्न नसक्नु भनेको सिरहामा काङ्ग्रेस समाप्त हुनु हो ।’

उनले थपे– ‘काङ्ग्रेस पार्टी निर्माण गर्नमा त्यो परिवारको ठूलो हात रहेको छ । तर, आज पार्टीमा अयातित नेताहरूले सो परिवारलाई घेराबन्दी गरी काङ्ग्रेस नै छाड्न बाध्य पार्नु भनेको पार्टी समाप्त हुनु हो ।’
सुरेशचन्द्र दासको बुवा देवनाथको घरमा गिरीजा प्रसाद कोइराला र बीपी कोइराला पटक पटक गएको स्मरण गर्दैै मण्डलले भने– ‘गिरिजा प्रसाद कोइराला भारतको दरभङ्गामा बिरामी हुँदा एक साँझको १२७ रुपियाँ तिर्न नसक्दा त्यहाँस्थित देवनाथ दासको घरमा शरण लिनुपरेको थियो । त्यो आफ्नै आँखाले देखेको हुँ ।’

उनले उक्त परिवारबारे थपे, ‘पार्टीमा त्यो परिवारको कति लगानी छ, त्यसका थुप्रै उदाहरणहरू छन् । सिरहाका काङ्ग्रेसीले उनीहरूलाई माओवादीमा जान बाध्य पारेका हुन् । फिल्ड खालि होस् र खुलेआम राजनीतिक गर्न पाइयोस् भनेर ।’

सिरहा–२ मा काङ्ग्रेसले रामचन्द्र यादवलाई टिकट दिएको छ । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका चित्रलेखा यादवले रामचन्द्र यादवलाई जबर्जस्ती टिकट दिलाएको आरोप छ । फोरम नेपाल र राजपा नेपालका संयुक्त उम्मेदवार सत्रुधन सिंह कोइरी हुन् ।

त्यहाँ त्रिपक्षीय भिडन्त छ । काङ्ग्रेसबाट आएर वाम गठबन्धनका उम्मेदवार बनेका सुरेशचन्द्र दास यादव रेसमा अगाडि जस्तो देखिन्छन् ।

काङ्ग्रेसका पुरानो नेता भएका कारणले काङ्ग्रेसका थुप्रै मत उनलाई आउने आँकलन उनको छ ।

रामचन्द्र यादव चित्रलेखा यादवको उम्मेदवार भएको कारणले अर्को समूह असन्तुष्ट देखिएको छ । सुरेशचन्द्र दासलाई सघाइरहेको फोरम नेपालबाट माओवादी केन्द्रमा प्रवेश गरेका विनोद यादवले बताए ।

उता सत्रुधन सिंह कोइरी राजपा र फोरमको संयुक्त उम्मेदवार भए पनि त्यहाँ राजपा नेपालको खासै सङ्गठन छैन र सो क्षेत्रमा त्यो दलले एउटा पनि तह जितेका छैन । 

सो क्षेत्रमा आठवटा स्थानीय तह रहेका छन् । तीमध्ये माओवादी केन्द्रले चारवटा तह जितेको छ ।  फोरम नेपालले दुई र काङ्ग्रेस र एमालेले एउटा–एउटा मात्र जितेका छन् ।

स्थानीय तहको परिणामले पनि सो क्षेत्रमा वाम गठबन्धन बलियो रहेको पुष्टि हुन्छ । यद्यपि सत्रुधनसिंह कोइरी पनि मधेश आन्दोलनमा सक्रिय भएर लागेका कारणले मधेस आन्दोलनको भावनात्मक मत आउने विश्वास उनलाई छ ।

उनको दाबी छ, मधेसलाई धोका दिनेलाई मधेसी जनताले पत्याउँदैनन् । जसले मधेसका लागि यत्रो सङ्घर्ष गरे, ज्यानको बाजी लगाए, त्यसलाई नै जिताउने छन् ।’

सुरेशचन्द्र दास यादव भन्छन्, लोकतन्त्र र मधेसको समग्र विकासका लागि जनताले मलाई मत दिन्छ भन्ने विश्वास लागेको छ । आफ्नो पुर्खाले समेत यो क्षेत्रमा मात्र होइन, यो जिल्लालाई नै सेवा गरेका कारण मतदातामा मप्रति उत्साह देखिएको छ । त्यसैले जित्छु भन्ने पूर्ण विश्वास छ ।’  

राताेपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको