शक्तिशाली गृहमन्त्री बादलका पुत्र प्रतीक नै ‘बिचौलिया’ धन्दामा

 

मंसिर १२
 

काठमाडौं– एक दशक लामो गृहयुद्धको पीडा, ७ दशमलव ८ रेक्टर स्केलको महाभूकम्पको झड्का अनि भारतले लगाएको महिनौँ लामो नाकाबन्दीको कहरबाट उठेर बामे सर्दै गरेको हाम्रो मुलुकमा अहिले बिचौलियाहरूको बिगबिगी नै छ । देशको राजधानी काठमाडौंका गल्लीहरूमा चियाको चुस्कीसँग रमाउनेहरूदेखि तारे होटलको ह्विस्कीमा रम्नेसम्मले भन्छन्, ‘मुलुक भ्रष्टाचारी र बिचौलियाले खोक्रो बनाए ।’

किसानले मिहिनेत गरेर उत्पादन गरेको सागसब्जीमा समेत बिचौलियाकै आँखा लाग्ने हाम्रो मुलुकमा ठूला–ठूला सेटिङहरू राज्यसंयन्त्रमा रहेका शक्तिशालीहरूकै आडमा हुने गरेको उदाहरण प्रशस्त पाइन्छ ।

त्यस्तोमा पछिल्लो समय शक्तिशाली नेताका छोराहरूलाई प्रयोग गरेर बिचौलियाहरूले आफ्नो स्वार्थपूर्ति गर्ने गरेका छन् । अथक प्रयत्नले नेपाली राजनीतिको उच्च तहमा स्थापित भई इमानदार छवि बनाइसकेका कतिपय नेताका छोराछोरीहरू नै पनि तस्कर र दलालहरूको सङ्गतमा लागेर त्यस्ता बिचौलिया धन्दा चलाउन थालेपछि त्यसको असर राज्य संयन्त्रमा समेत परेको पाइन्छ । 

को–को हुन् त त्यस्ता शक्तिशाली बाबुका ‘बिचौलिया’ धन्दामा लागेका सन्तान, जसले आआफ्ना बाबुहरूले त्याग गरेर आर्जन गरेको शक्तिलाई दुरुपयोग गरिरहेका छन् ? 

त्यस्ता ‘बिचौलिया’हरूका बारेमा रातोपाटीले खोजतलास गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’देखि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को छोरासम्मले पनि आआफ्नो बाबुको पद–प्रतिष्ठाको शक्ति दुरुपयोग गरेको भेटिएको छ ।

रातोपाटीमा यसअघि हामीले उपराष्ट्रपति पासाङका पुत्र दिपेशको बिचौलिया धन्दा पर्दाफास गरेका थियौं । अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सामान्य युनिटदेखि हेडक्वार्टरसम्म आतङ्क मच्चाउँदै आएका गृहमन्त्री बादलका पुत्र प्रतीक थापाको बिचौलिया धन्दा :

 प्रतीक थापा : प्रहरी सरुवा बढुवाका नायक !
प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा शक्तिशाली गृहमन्त्री हुन् रामबहादुर थापा ‘बादल’ । गृहमन्त्री भएको केही दिनपछि सशस्त्र प्रहरी बलका पाँच डीआईजीको सरुवा फाइल तिनै शालिन नेताका छवि बनाएका ‘बादल’को टेबुलमा पुग्यो । 

सरुवा गर्नुपर्ने सबै डीआईजीहरूको नाम पढेपछि उनले भने, ‘चिनेका कोही छैनन् ।’ 

अनि, उनले सरुवा फाइलमा हस्ताक्षर गरे । तर त्यस्ता शालिन मन्त्रीका छोरा प्रतीक थापा पछिल्लो समय प्रहरीको सरुवा बढुवामा चासो मात्र राख्दैनन्, खुलेरै हस्तक्षेप गर्छन् ।   

गृहमन्त्री ‘बादल’को प्रमुख स्वकीय सचिवसमेत रहेका प्रतीक आजभोलि प्रहरीको सरुवा, बढुवा तथा फौजी ठेक्कापट्टा मिलाउने बिचौलिया धन्दामा सामेल हुनेगरेको सचिवालयका सदस्यहरू नै बताउँछन् ।
प्रहरीका उच्च पदस्थ अधिकारीहरूलाई समेत कस्तो परेको छ भने, ‘गृह मातहतको सरुवा बढुवामा प्रतीक थापा नायक हुन् ।’ 

प्रमुख जिल्ला अधिकारी बन्नका लागि होस् या कतै इन्चार्ज बन्नुपर्दा, अहिले गृह मातहतका कर्मचारीहरू प्रतीकको लिङ्क खोज्दै हिँड्छन् । 

बिरलै गृह मन्त्रालय पुग्ने प्रतीकले दरबारमार्ग, नक्साल र झम्सिखेलका होटल रेस्टुराँतिर बसेर त्यस्तो सेटिङ मिलाउने गरेको जानकारहरू बताउँछन् । 

दुई महिनाअघि प्रतीक एउटा होटलमा थिए । सोही होटलको एरिया हेर्ने प्रहरीका इन्चार्जलाई उनले एउटा म्यासेज पठाए, म्यासेजमा उनले लेखेका थिए, ‘म फलानो होटलमा छु, बाहिर हेर्दिनुहोला ।’ गृहमन्त्रीको छोराको म्यासेज आएपछि ती इन्चार्जले उक्त होटलमा एक दर्जन प्रहरी पठाइदिए । 

नव युवराजको शैलीमा होटल र रेस्टुरेन्टहरूमा बिचौलियासँग भेटिने प्रतीकको क्रियाकलापबाट गृहमन्त्री बादलसमेत आजित भएको उनको सचिवालयमा कार्यरत सदस्यहरू बताउँछन् ।  

सरकारी नम्बर प्लेटको लक्जरियस गाडीमा गुड्ने प्रतीकको जक्सन हो, नक्सालको ‘एटिक’ रेस्टुरेन्ट । त्यो ठाउँ, कुनै समय पूर्वराजा ज्ञानेन्द्रका पुत्र पारश शाहले जक्सन बनाएका थिए ।

प्रतीकले आफ्ना बाबुको पदको दुरुपयोग गर्दै राजमान मिश्र भन्ने ठेकेदारसँग मिलेर पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चुस्ताको स्पेसिफिकेसन परिवर्तन गर्ने खेलमा लागेका छन् ।

प्रहरीको डीएमएस बुट र चुस्ताको स्पेसिफिकेसन परिर्वतन गरेर यसअघि पनि करोडौँ कमिसनको खेल हुने गरेको थियो । उपेन्द्रकान्त अर्याल प्रहरी प्रमुख हुँदा परिवर्तन भएको स्पेसिफिकेसन फेरि फेर्ने चलखेलमा प्रतीक लागिपरेको नेपाल प्रहरीका एक उच्च पदस्थ अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

राष्ट्रिय अनुसन्धान विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको छ । तर, त्यहाँ पनि प्रतीकले सरुवा बढुवाका लागि चलखेल गर्न पुग्ने गरेको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने । ‘गृहको अधिकार क्षेत्रमै नरहेको अनुसन्धान विभागसम्म समेत उनको दवाव हामीले झेल्नु परिरहेको छ’, ती अधिकारीले रातोपाटीलाई बताए । 

प्रतीकको विचौलिया धन्दा विरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी समेत परेको स्रोतले जनाएको छ । 

उपराष्ट्रपति पासाङका पुत्र दिपेश पुनको पनि मिल्ने साथी हुन् प्रतीक । प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा प्रहरीको सरुवा बढुवामा दुवै मिलेर काम गर्ने गरेको गृह मन्त्रालय मातहतका एक सहसचिवले बताएका छन् ।

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनका छोरा कमल कोइराला अधिकार प्राप्तीको आन्दोलनमा लागेका थिए । डिल्लीरमण रेग्मी मन्त्री हुँदा उनका छोरा अधिकार प्राप्तीको आन्दोलनमा सडकमै थिए । 
एकातिर मातृका र डिल्लीरमणका छोराहरूले अधिकार प्राप्तिको आन्दोलनमा लागेर गौरवमय इतिहास कायम गरेको दृष्टान्त हामीसामु छ भने अर्कोतिर गणतन्त्र नेपालका नेताका छोराहरू भने नव युवराजको शैलीमा कुख्यात पारश शाहलाई समेत बिर्साउने गरी सत्ता र पदीय दुरुपयोगको चलखेलमा लागेका छन् ।

जानकारहरू भन्ने गर्छन्, गणतन्त्र आइसकेपछि पनि शक्तिशाली नेताका छोराहरूले ‘बिचौलिया’ बनेर राज्य संयन्त्रलाई नै फेल बनाउने हदसम्म चलखेल गर्दैछन् । 

यस्तो स्थितिमा स्वाभाविक रूपमा प्रश्न उठिहाल्छ, के जनताले खोजेको परिवर्तन यही थियो ?

रातोपाटी डटकमबाट साभार गरिएको 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी