काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको नेपालको प्रतिक्रिया छ । बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए ।
‘पार्टीभित्र छलफल भएको छैन । पार्टीभित्र गम्भीर विषयमा छलफल हुनुपर्थ्यो’ नेपालले भने, ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’
आफूहरुसँग छलफल नै नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने नेता नेपालले बताए ।
मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, शान्ति सुरक्षा र सरकारको वैधानिकता स्वीकार गर्ने कुरामा कुनै बाधा आएमा पन्छाउनुपर्ने भन्दै नेता नेपालले यसरी कदम चाल्दा कमी कमजोरी भयो कि भएन भन्नेमा भने ध्यान दिनुपर्ने बताए ।