July 12, 2018

‘विधिको शासनका लागि अधिनायकवाद दिनदिनै आउँछ’: गोकुल बाँस्कोटा

 

सरकार अधिनायकवादतिर जानै लागेको हो ?

 

संविधानले परिकल्पना गरेको आमचुनावमा कांग्रेससँगै प्रतिस्पर्धा गरेर जनताको रोजाइमा यो सरकार बनेको हो । कांग्रेसले अघि सारेका नीति तथा कार्यक्रम लागू नगर्दैमा यो सरकार अधिनायकवादी हुन सक्दैन । कांग्रेसले खुला रूपमा आरोप लगाउने, आफ्ना माग राख्ने र संसद् अवरुद्ध पार्ने काम गरिरहेकै छ । अनि, अधिनायकवाद कहाँबाट आयो ? त्यसैले यो वाहियात आरोप हो ।

निषेधित क्षेत्र तोक्ने काम किन गर्नुपर्यो  ?

मिडियालाई म प्रश्न गर्न चाहन्छु, विगतमा कांग्रेसकै सरकारले विरोध गर्ने निश्चित ठाउँ तोकेको होइन ? कसैले सिंहदरबारभित्रै गएर प्रदर्शन गर्छु भन्छ भने सरकारले छूट दिँदैन । कांग्रेसले भनेका सबै कुरा मान्न सरकार बाध्य पनि छैन । कांग्रेसले सत्ताबाट बाहिरिएको छटपटाहटमा मान्छेको ध्यान अन्यत्र मोड्न निषेधित क्षेत्र तोक्यो, अधिनायकवाद आयो भनेको हो ।

यो जनताको आवाज थुन्ने प्रयास होइन ?

सरकारको विरोध गर्न, कालो झन्डा देखाउन, गाली गर्न पाइन्छ । तर, जहाँ पायो त्यहीँ होइन । हामीले अस्पतालमा, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयअगाडि अनसन बस्न पाइँदैन भनेका न हौँ । भारतमै पनि जन्तरमन्तरमा बाहेक जहाँतहीँ विरोध प्रदर्शन गर्न पाइन्न । यहाँ पनि हामीले त्यस्तै थिति बसाल्न चाहेका हौँ ।

माथेमा कार्यदलले बुझाएको प्रतिवेदनचाहिँ किन काटकुट गर्नुभएको  ?

यस्ता आयोगले दिएका सुझाव संसारमा सबैले हुबहु लागू गरेजस्तो मलाई लाग्दैन । ती सुझाव चित्त बुझे सरकारले लागू गर्छ, नत्र गर्दैन । मेडिकल शिक्षाकै लागि वार्षिक १६/१७ अर्ब रुपियाँ बाहिरिरहेको छ । त्यसैले आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयार पारिएको छ भने मेडिकल कलेज जहाँ खोले पनि के फरक पर्‍यो र ?

डा गोविन्द केसीको माग तपाईंहरूको समाजवादी सपनासँग मेल खाँदैन  ?

सरकारको नीति तथा कार्यक्रम र बजेटमा वडासम्म कम्तीमा एक जना डाक्टर अनिवार्य रहने अस्पताल खोल्ने भनिएकै छ । सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने, सस्तोमा पढाउने, गरिब, पिछडिएका, सीमान्तकृत वर्गलाई छात्रवृत्तिमा पढाउने भनिएकै छ । सरकारले कहिले विरोध गर्‍यो र ?

सरकारले समृद्धिसुशासनको नारा दिए पनि त्यस अनुसार काम नगरेपछि असन्तुष्टि बढ्न थालेको होइन ?

आज समृद्धिको नारा लाग्यो, भोलिबाटै त्यसको ताजा फल खान पाउनुपर्छ भन्ने आमबुझाइ छ । रेल आजको भोलि नै त आउँदैन । सम्झौता भयो कि भएन, त्यो हेर्नुपर्‍यो । सरकारले समृद्धिको जग बसाल्यो कि बसालेन भनेर हेर्न एक वर्ष कुर्नैपर्छ ।

कम्युनिस्ट सरकार भएकाले अधिनायकवादी आरोप लगाइएको हो  ?

नेपालमा अधिनायकवाद सम्भव छैन । फेरि नेपालका कम्युनिस्टहरू माक्र्स, लेनिन, स्टालिन वा अरू कसैले कल्पना गरेजस्तो एकदलीय पक्षधर होइनन् । लोकतन्त्र ल्याउन कुन जेलमा बसेका छैनौँ हामी ? कांग्रेसले चाहँदैमा हामी अधिनायकवादतिर उन्मुख हुँदैनौँ ।

त्यसो भए अधिनायकवाद आउँदैन भनेर ढुक्क भए हुन्छ ?

कसैलाई त्यही नारा लगाउन मन छ भने लगाइरहे हुन्छ । खुद केपी ओली लोकतन्त्रका लागि शेरबहादुर देउवाभन्दा बढी जेल बसेर पञ्चायतविरुद्ध लडेर आएका नेता हुन् । लोकतान्त्रिक मूल्य–मान्यताबारे ओलीलाई कांग्रेसले सिकाइरहनुपर्दैन । म दाबाका साथ भन्छु, नेकपा मदन भण्डारीले दीक्षित गरेको पार्टी हो । त्यसैले नेपालमा कम्युनिस्ट पार्टीले अधिनायकवाद लाद्दैन ।

त्यो आरोप झन्झन् ठूलो स्वरमा किन लागिरहेको   ?

संविधानले व्यवस्था गरेका नियम र कानुन सबैले पालना गर्नुपर्छ भन्दा अधिनायकवाद आयो/आउँछ भनिन्छ भने त्योचाहिँ कम्तीमा पाँच वर्ष आएको आयै गर्ने भयो । विधिको शासन र समृद्धि स्थापना गर्न यस्तो अधिनायकवाद अब दिनदिनै आउँछ । यसमा डराउनुपर्ने कारण छैन ।

सरकार अलि हतास भएको हो ?

सरकार हतास भएको छैन । हुन जरुरी पनि छैन । हामी हरेक नेपालीको जीवन र व्यवहारमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा कार्यान्वयन गरेरै छाड्छौँ ।

प्रश्न उठाएकै आधारमा टेलिभिजन कार्यक्रम नै बन्द गरेको आरोप तपाईं आफैँ खेपिरहनुभएको   ?

म पनि लामो समय पत्रकारिता गरेर आएको मान्छे हुँ । नेपाली समाजको मानसिकता चाँडै नकारात्मकतातिर जाने छ । त्यसलाई बेलाबेलामा प्रेसले पनि उछाल्छ । जारी विश्वकप सुरु हुने समय र त्यो कार्यक्रम जुधेकाले टेलिभिजन व्यवस्थापनले हटाएको रहेछ । बाघ कराउनु र बाख्रो हराउनु संयोग मात्र हो ।

नेपाल साप्ताहीकबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग