१२ फागुन, काठमाडौं । केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिएको र केहीले हतियार उठाउने धम्की दिएको भन्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले यस्ता गतिविधि निस्तेज पार्न नेपाली सेना तयार रहेको बताएका छन् ।
सेना दिवसको अवसरमा सकल दर्जालाई बिहीबार सम्बोधन गर्दै क्षत्रीले भौगोलिक अखण्डता कायम राख्न सेना सक्षम रहेको बताएका छन् । अवाञ्छनीय विखण्डनकारी र हतियार उठाउने धम्की दिने समूहले मुलुकको सांस्कृतिक एवं सामाजिक सदभाव तथा सहिष्णुतालाई चुनौती दिएको क्षत्रीले बताए ।
उनले कसैको नाम नलिए पनि सीके राउत र विप्लव माओवादीतिर इशारा गरेका छन् । र, भनेका छन्, ‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने अवाञ्छनीय गतिविधिलाई निश्तेज गर्न नेपाली सेना हरमहेसा तयार छ ।’
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनापति क्षत्रीले सेना स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि सेनाले खेलेको भूमिका स्मरण गरेका छन् ।
‘उहाँले अखण्ड सुनौलो इतिहासलाई जिवित राख्न, राष्ट्रिय हित विरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाहृय सुरक्षा चुनौतीहरुको सामना गर्न, संविधान र सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभएको छ,’ निर्देशनालयले भनेको छ ।
साथै उनले सेनालाई सक्षम, व्यवसायिक सैनिक संगठनको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरुप उपलब्ध स्रोत साधनहरुको अधिकतम् प्रयोग गरी सबल र सक्षम संगठन तयार गर्ने बताएका छन् ।
चीनपछि बंगलादेशसँग सैन्य अभ्यास
प्रधानसेनापति क्षत्रीले सम्बोधनका क्रममा चीनका साथै बंगलादेशसँग पनि संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेको बताए ।
सैनिक कूटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनहरुसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान संयुक्त तालिम तथा अभ्यास भइरहेको उनले बताए ।
हालैमात्र पहिलोपटक श्रीलंकासँग सयुक्त अभ्यास भइसकेको छ भने बंगलादेश र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना रहेको उनले बताएका छन् ।