काठमाडौं । सरकारले सातवटै प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।
यसैबिच सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम समेत तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए ।
जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।यसैगरी एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका सुवासचन्द्र नेम्वाङले बताए ।राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् । राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ ।