January 30, 2018

यति सानो उमेरमा आई .पि. एल. मा खेल्न पाउनु मेरो र नेपालको लागि गर्बको कुरा : सन्दीप लामिछाने

लामिछाने १६ माघ २०७४ ।

विश्वका चर्चित खेलाडीहरूले अवसर पाउने गरेको क्रिकेटको ठूलो व्यवसायिक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग आइपिएलमा छानिएपछि नेपाली खेलाडी सन्दीप लामिछाने अहिले चर्चाको शिखरमा छन् ।  भारतीय क्लब दिल्ली डेयरडेभिल्सले पहिलो नेपाली खेलाडीको रुपमा सन्दीपलाई लिएपछि भविष्यमा यसले अन्य नेपाली खेलाडीको लागि पनि संभावनाको ढोका खोलिदिने आशा नेपाली क्रिकेटप्रेमीहरुले गरिरहेका छन् । १७ वर्षीय युवा लेग स्पिनर सन्दीप लामिछानेले यसलाई कसरी हेरिरहेका छन त ? प्रस्तुत छ हाल विश्व क्रिकेट लिगको तयारीमा दुबईमा रहेका सन्दीपसँगको कुराकानी:

तपाई आइपिएलमा छानिनेमा कत्तिको विश्वस्त हुनुहुन्थ्यो ?

सायद छानिन्छु होला जस्तो लागिरहेको थियो । आशा गरिरहेको थिए सबै कुरा राम्रो होस् भनेर । सबै कुरा राम्रो पनि भयो ।

के आधारमा छानिन्छु जस्तो लागेको थियो ?

केही दिनअघि दिल्ली पनि गएको थिएँ । ट्रायल दिएँ । ट्रायलमा राम्रो पनि गरें । उहाँहरुले सायद त्यही देखेर मलाई चाँहि सेलेक्ट गर्नुभएको जस्तो लाग्यो ।

दिल्ली जाँदा उनीहरुको प्रतिक्रिया कस्तो थियो ?

सबैकुरा राम्रो छ । तर, अझै पनि मेहनत गर भनेर भनेका थिए ।  दिल्ली डेयरडेभिल्सको टिममा त परिहालियो ।

अब मैदानमा देख्न सक्ने सम्भावना कत्तिको छ ?

त्यो त त्यही गएर थाहा हुन्छ । किनभने त्यहाँ प्रयाप्त अनुभवी खेलाडी छन् । पहिला त उहाँहरुसँग राम्रोसँग घुलमिल हुन पर्यो । त्यसपछि म्याचअनुसारको प्रस्तुति दिन पर्यो ।  टिममा परिसकेपछि प्लेयङमा खेल्नु नखेल्नुभन्दा पनि विश्वका उत्कृष्ट खेलाडीहरूसँग प्राक्टिससँगै हुने भयो । नेटमा पनि प्राक्टिस् गर्न पाउनुहुने भयो ।

त्यसबाट के सिक्न सकिन्छ जस्तो लाग्छ ?

अमित मिश्र पनि हाम्रै टिममा छन् । उनी एकदम राम्रो लेग स्पिनर बलर हुन् । सायद उनको अन्डरमा हुँदा पनि धेरै कुराहरु सिक्न पाइन्छ जस्तो लाग्छ । अमित मिश्र हुनु एउटा फाइदा भयो ।

तर, अमित मिश्र पनि लेग स्पिनर, जसका कारण तपाईंलाई मैदानमा छिर्नको लागि बाधा पुग्छ कि ?

जब म एउटा टिमको पार्ट हुन्छु । मलाई लाग्छ अब टिमको लागि जे निर्णय हुन्छ त्यही नै हामी सबैका लागि स्वीकार्नु पर्छ । चाहे त्यो नेपालको लागि खेलेको हौं या दिल्लीका लागि ।

क्याप्टेन गौतम गम्भीरसँग खेल्दै हुनुहुन्छत्यहाँ क्रिस मोरिस छन्, मोहम्मद सामी, जेशन रोयजस्ता खेलाडीसँग खेल्दाको अनुभव कस्तो होला ?

जुन खेलाडीलाई हामी पहिलेदेखि नै पच्छ्याउँदै आएका छौं, नाम आउँदा त यति खुसी हुन्छ, उनीहरूसँग खेल्न पाउँदा कस्तो होला ! आफै अनुमान गर्न सकिन्छ । म आफूलाई निक्कै भाग्यमानी ठान्छु । यति सानो उमेरमा पनि त्यहाँसम्म पुग्नु निक्कै गर्वको कुरा हो । मेरो लागि र नेपालको लागि पनि ।

अव त्यहाँ पुगेपछि म यो गर्छु भनेर केही सोच्नुभएको छ ?

म नेपालको लागि खेल्दा जे सोचिरहेको हुन्छु त्यहाँ पनि त्यही नै हुन्छ । आफ्नो तर्फबाट राम्रो गर्ने हो । तर खेल हो कहिलेकाँही तलमाथि हुन्छ । आफू इमान्दार हुने र टिमको लागि सतप्रतिशत नतिजा दिने । म माथि धेरै जिम्मेवारी छ । मैले गर्दा अरुलाई पनि फाइदा होस् भन्ने सोचेर खेल्छु ।  रंगशालामा खेल हेर्ने दर्शक, टेलिभिजन हेर्ने र लाखौं नेपालीले तपाईलाई हेर्ने भए ।

कत्तिको आत्मविश्वास छ ?

नेपाली दर्शकको अगाडि खेलिसकेको छु । त्यस्तो केही डर छैन अव ।

कसको विकेट लिन्छु भन्ने केही सोच्नुभएको छ ? 

त्यतिबेलाको सही कुरो जे हुन्छ त्यही गरौंला ।

मैदानमा पुगिसकेपछि एउटा केही चाहना हुन्छ होला नि ?

राम्रो बलिङ गर्ने । त्यही चाहना छ । एउटा खेलमा ४ जना मात्र विदेशी खेलाडी राख्न पाइन्छ ।

तपाईले खेल्न पाउनु भएन भने त नेपाली दर्शक निरास हुने भए नि ?

त्यस्तो निरास हुनुपर्ने कुरा नै छैन ।

आउने दिनमा अरू नेपाली खेलाडीका लागि तपाईको आइपिएल उपस्थितिले के महत्व राख्ला ?

म माथि धेरै अपेक्षा छ । म त्यहाँ छनौट भएँ । मैले राम्रो खेल्न सके भने आगामी अडिसनमा उनीहरूको सोचाईमा परिवर्तन हुनेछ भन्नेमा म आशावादी छु । मभन्दा धेरै राम्रा खेलाडी छन् टिममा । उनीहरूलाई पनि थाहा होस् कि नेपालमा पनि केही रहेछ भनेर ।

क्रिकेटप्रेमी वा क्रिकेट थाहा नभएका नेपालीहरूले पनि तपाईबाट धेरै अपेक्षा गरेका छन् । सफलताको कामना गरेका छन् । उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?

मलाई यत्तिकै मााया गरिरहनुस् र आर्शिवाद दिइरहनुहोला ।

-बिबिसी नेपालीसँगको कुराकानी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।