मुख्यमन्त्री राईको अमेरिका भ्रमण विवादमा

कात्तिक २५: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ। कात्तिक १६ गते घाँटीको उपचारका लागि थाइल्याण्डको बैंकक गएका मुख्यमन्त्री राई उतैबाट कात्तिक १९ गते जर्मनी हुँदै अमेरिका पुगे।

दुई दिनअघि उनको अमेरिका भ्रमणबारे समाचार लेखेको विषयमा पत्रकार लोकमणि राईमाथि कुटपिट भएपछि उनको भ्रमणबारे चासो र विवाद बढेको हो।

कात्तिक ११ गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले राईको थाइल्याण्ड र अमेरिका भ्रमण स्वीकृत गरेको थियो। उनी निजी खर्चमा उपचार गर्न थाइल्याण्ड र भेटघाट गर्न अमेरिका जाने कार्यक्रम थियो। उनले भ्रमणका लागि संघीय सरकारसँग स्वीकृति लिएको भने देखिएको छैन।

‘सार्वजनिक कार्यक्रममा जाँदा स्वीकृति लिनुपर्छ, निजी कामका लागि प्रधानमन्त्रीले त कार्यालयमा जानकारी दिनुपर्छ, मन्त्रीहरूले पनि दिनुपर्छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने, ‘मुख्यमन्त्रीले पनि विदेश जाँदैछु भन्ने जानकारी दिएर समन्वय गरेरमात्र जानुपर्छ।’

मुख्यसचिव लोकदर्शन रेग्मीले मुख्यमन्त्री राईले प्रधानमन्त्री कार्यालयसँग समन्वय गरे/नगरेकोबारे आफूलाई जानकारी नभएको बताए। ‘मलाई जानकारी छैन, म बुझ्छु,’ उनले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पनि राईको अमेरिका भ्रमणबारे आफूलाई जानकारी नभएको बताए।

‘म बाहिर थिएँ, उहाँ कसरी जानुभएको हो मलाई थाहा भएन,’ बाँस्कोटाले भने।

प्रदेश १ का प्रवक्ता हिक्मत कार्कीले भने मन्त्रिपरिषद्को निर्णयपछि संघीय सरकारलाई यसको जानकारी दिइएको बताएका छन्।

राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै कार्कीले भनेका छन्- मुख्यमन्त्री राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो भ्रमणबारे जानकारी गराउनुभएको छ। तर उपचार तथा निजी भ्रमणबारे संघीय सरकारको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छैन।

निजी भ्रमणमा गएका मुख्यमन्त्री राई अमेरिकामा भने सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। बुधबार साँझ आदिवासी जनजाति महासंघ अमेरिकाले ज्याक्सन हाइटमा उनलाई सम्मान गरेको छ।

‘त्यो कार्यक्रम पहिला तय भएको थिएन उहाँ गएपछि बनाएछन्,’ राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने।

बैंककस्थित ब्रुमुनग्राड इन्टरनेशनल अस्पतालमा स्वास्थ्य चेकजाँच गरेका मुख्यमन्त्री राईको रिपोर्ट सोमबार आउनेछ। त्यसपछि उनी स्वदेश फर्कने छन्।

यसअघि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमण गर्न संघीय सरकारले अनुमति दिएको थिएन। गत जेठमा राउत जनरल कन्भेन्सन अफ मधेसी एशोसिएशन अफ अमेरिकाको निम्तोमा अमेरिका जान लागेका थिए। संघीय सरकारले प्रदेश बजेट बनाउनुपर्ने भएकाले अहिले विदेश भ्रमणमा जानु उपयुक्त नहुने भन्दै उनको भ्रमण अस्वीकृत गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने