May 6, 2018

मार्क्सवादको नेपाली संस्करण हो जवज, छाड्न सकिन्न : एमाले

 

मार्क्सवादको नेपाली संस्करण हो जवज, छाड्न सकिन्न : एमाले

काठमाडौं  । नेकपा (एमाले) का वरिष्ठ नेताहरुले कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवादको नेपाली संस्करण जनताको बहुदलीय जनवाद (जवज) भएकाले छाड्न नसकिने बताएका छन् ।  

दुई वाम दलको एकता प्रक्रियापछि एमालेको जवज र माओवादी केन्द्रको २१ औं शताब्दीको नौलो जनवाद के हुने ? वहस चलिरहँदा एमाले नेताहरुको पछिल्लो सो धारणा आएको हो । मार्क्सको दुई शतवार्षिकी कार्यक्रममा शनिबार यहाँ धारणा राख्दै नेताहरुले त्यस्तो बताएका हुन् । एमाले तत्कालिन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जवज अहिलेको समाज रुपान्तरणको मुख्य सिद्धान्त भएको पनि एमाले नेताहरुको दाबी छ ।

त्यस्तै, माओवादी केन्द्रसँग हुन लागेको एकता प्रक्रियाको गृहकार्य अन्तिमचरणमा पुगेको र केही प्राविधिक विषयमात्र मिलाउन बाँकी रहेकाले चाँडै पार्टी एक हुने नेताहरुले बताए । एकता प्रक्रियामा कुनै समस्या नरहेको र अव दुई पार्टी एक हुनबाट कुनै शक्तिले रोक्न नसक्ने जिकिर नेताहरुको छ । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्क्सवाद नै समाज रुपान्तरणको माध्यम भएको र जवज त्यसकै नेपाली संस्करण भएको बताए । 

जवजको मूल मर्मको आत्मसात गर्दै मुलुकको रुपान्तरण गर्ने बताउँदै उनले भने, ”मार्क्सवाद मान्दैन भन्नेहरुले माक्र्सवाद बुझेकै छैनन् भनेर बुझ्दा हुन्छ ।” 

जनताको बहुदलीय जनवाद (जवज) माक्र्सवादकै वैज्ञानिक नेपाली संस्करण भएको उनले दावी गरे ।

“मार्क्सवादले व्यक्तिको आफ्नो स्वार्थको कुरा गर्दैन, जनता र देशलाई केन्द्रीत गरेर काम गर्न मार्गनिर्देश गर्छ, त्यसैले अवको पार्टी एकता पनि त्यही सिद्धान्तअनुसार हुन्छ,” अध्यक्ष ओलीले भने, “आफूलाई केन्द्रमा राखेर, आफ्नो स्वार्थअनुकुल एकता खोज्नु मार्क्सवादी चिन्तन हुँदै होइन ।”    

पदलोलुपता, सत्तामोह, व्यक्तिवादी स्वार्थको कुरा मार्क्सवाद नभएको बताउँदै उनले मार्क्सवाद हावाको झोक्काले हल्लाउने बाँसको टुप्पो नरहेको पनि बताए । 

मार्क्सवाद एउटा दर्शनमात्र नभएर व्यवहारिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपान्तरणको अस्त्र भएको जिकिर गरे । 

“कम्युनिष्टहरु कहिल्यै अधिनायकवादी हुनै सक्दैनन्,” प्रधानमन्त्री ओलीले भने, “धनीलाई झन धनी बनाउने मार्क्सवाद होइन, गरिब, पछाडि परेका वर्गलाई धनी बनाउने मूलनीति कम्युनिष्टको हो, त्यो हामी गरेर देखाउँछौं ।” 
मार्क्सवादको अर्को नेपाली सारांशकोरुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सरकारले तय गरेको उनले प्रष्ट पारे ।

“पार्टी एकता प्रक्रियामा केही प्राविधिक विषयमात्र मिलाउन बाँकी छ, एकताको बारेमा आज केही सन्देश दिने तयारी थियो तर सकिएन,” अध्यक्ष ओलीले भने ।

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले श्रमजीवी वर्गको उत्थान र समाजवाद ल्याउनका लागि दुई पार्टीको एकता अनिवार्य रहेको बताए । 

दुई पार्टीको एकताबाटै देशको विकास र समाजवादी व्यवस्था कायम भएमा माक्र्सवादको विजय हुने उनले चर्चा गरे । दुई पार्टी एकतामा अब कुनै समस्या नरहेकाले धर्तीको कुनै शक्तिले एकता रोक्न नसक्ने दावी उनले गरे ।  

वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक रुपान्तरण गर्ने जिम्मेवारी कम्युनिष्टको काँधमा आएको बताउँदै दुई पार्टीको एकताले समृद्ध नेपाल सम्भव भएको चर्चा गरे । माक्र्स जयन्तीमा दुई दल एक ठाउँमा कार्यक्रम नगरेकोमा आमनागरिकमा केही आशंका उत्पन्न भएको बताउँदै नेता नेपालले भने, “दुई दलबीचको आपसी सहमतिअनुसार नै अलग अलग कार्यक्रम गर्ने निर्णय भएको हो, एकता प्रक्रियामा समस्या आयो कि भनेर नबुझ्नु होला । एकता प्रक्रियामा कुनै समस्या छैन, चाँडै एकता घोषणा हुँदैछ ।”

नेता नेपालले माक्र्सवादकै अंश जवज भएकाले नयाँ पार्टीमा पनि जवजलाई मार्गनिर्देशक सिद्धान्तकोरुपमा लिएर अघि बढ्ने बताए । वैचारिक रुपान्तरण हुन र सैद्धान्तिक विषय मिलाउन केही समय लागेकाले एकता प्रक्रियामा ढिलाई भएको प्रष्ट पारे । माओवादीले उठाएको जनयुद्ध, २१ औं शताब्दीको नौलो जनवाद एमालेले स्वीकार गरेको बताउँदै उनले दुई दलबीचको विश्वासको वातावरणले नै नयाँ पार्टी दिगो हुने चर्चा गरे ।  

वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले अब बन्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैचारिक सिद्धान्तकारुपमा जवज नै रहने दावी गरे । “माक्र्सवादको नेपाली संस्करण जवज भएकाले त्यसलाई कुनै हालतमा छाड्न सकिन्न, नत्र लक्ष्यमा पुग्नै सकिँदैन,” गौतमले भने । “पार्टी एकता प्रक्रियामा जति ढिलाई हुन्छ त्यति नै समाजवाद आउनमा ढिलाई हुन्छ,” उपाध्यक्ष गौतमले माक्र्सलाई चिनाउने लेनिन र जेनीलाई पनि विर्सन नहुने बताए ।  

सन् १८१८ मे ५ मा जर्मनीमा जन्मेका माक्र्सको शनिबार दुईसय वर्ष पूरा भएको छ । सोही अवसरमा एमालेले प्रवचन कार्यक्रमको आयोजना गरेको थियो । यसअघि लेनिन दिवस र नेपाल कम्युनिष्ट दल गठन दिवस मनाउँदा एमाले र माओवादी संयुक्त कार्यक्रम गरेको भएपनि माक्र्स जन्मजयन्तीमा अलग अलग कार्यक्रम गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक