कसरी हुदैछ महाभारत गाँउपालिकामा विकासका संरचना ? (गाँउपालिका अध्यक्ष जिम्बासँगको अन्तर्वार्ता)

kanchalal jimba

महाभारत गाँउपालिका काभ्रेकै पिछडिएको र र्दुगम गाँउपालिका मानिन्छ । स्थानीय निकायको पुर्नसंरचनासँगै साविक पाँच गाविसहरु मिलेर स्थानीय तहमा रुपान्तरिक भए पनि गाँउपालिकामा न्यूनतम पूर्वाधार पुग्न सकेका छैनन । सडक, शिक्षा, स्वास्थ्य, जस्ता आधारभूत आवश्यकतावाट समेत महाभारत गाँउपालिकाका बासिन्दा बन्चित छन । स्थानीय तहमा करिव एक बर्षअघि जनप्रतिनिधि आएपछि गाँउमा केही विकास र सम्बृद्धिका सकारात्मक संकेतहरु देखापरेका छन् । तर कर्मचारीको अभावले दृढ इच्छाशक्ति भएका गाँउपालिका अध्यक्ष कान्छालाल जिम्बा सहितको नेतृत्वले नै काम गर्न सकिरहेका छैनन । महाभारत गाउँपालिकामा इलाका प्रशासन कार्यालयमार्फत सरकारले सिंहदरबार गाँउमै पु¥याउने भने पनि प्रशासन, शिक्षा, स्वास्थ्य, मोटरबाटोलगायतका विकासका पूर्वाधारमा अझै महाभारत गाउँपालिका पछि नै छ । तर यो गाँउपालिकाको अध्यक्षको जिम्मेबारी लिएका माओवादी नेता कान्छालाल जिम्बा भने विचिलित भएका छैनन् । जिल्लादेखि सिंहदरबारसम्म धाएर गाँउलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर दिनरात जुटिरहेका छन् । सुशासन सहितको भ्रष्टारचार मुक्त गाँउपालिका मात्रै हैन देशकै नमूना गाँउपालिका महाभारत बनाउने अभियानमा उनी निरन्तर जुटिरहेका छन । प्रस्तुत छ उनै गाँउपालिका अध्यक्ष जिम्बासँग काभ्रेपोष्टका प्रधान विष्णुप्रसाद चौलागाँईले गरेको कुराकानी ः–
० समग्र महाभारत गाँउपालिकाको काम कसरी अघि बढिरहेको छ ?
–महाभारत गाँउपालिकामा विकासका संरचना तयार पार्न पहिले पनि महाभारतै थियो, अहिले पनि महाभारत नै छ । साविक गाविसहरुमा पहिले एउटा बडा कार्यालय पनि थिएनन् । अहिले हामी सबै बडामा कार्यालय निर्माणको प्रक्रियामा छौं । गाउँपालिका कार्यालयको निर्माणको प्रक्रियामा पनि छौं । फेरि अहिले बजेट कार्यान्वयनको चरणमा हामीसामु जटिल समस्या आइरहेका छन् । प्राविधिक कर्मचारीहरु नभएकाले पनि थप समस्या परेको छ । इन्जिनियरहरु नहुँदा काम अघि बढाउन चुनौती देखिएका छन् । इन्जिनियर पठाउन पटक पटक जिल्ला प्राविधिक कार्यालयमा ताकेता गर्दा पनि कार्यालयले पठाएको छैन । हामीलाई एउटा ओभरसियरको भरमा काम गर्न धौ धौ भैरहेको छ । समग्र विकास बजेटलाई हेर्ने हो भने हामीले लगभग ४० प्रतिशतभन्दा बढि खर्च गरिसकेको अवस्था छ ।

० महाभारत गाँउपालिकाले अधिकांश विकास बजेट सडकमा मात्रै खर्च गरेको गुनासो पनि छ नि, के भन्नुहुन्छ ?
–महाभारत गाँउपालिकाको पहिलो प्राथमिकता सडक हो । अझै पनि कुनै पनि बडा कार्यालयसम्म सडक पुगेको छैन । सडक नपुगेको हुँदा विकासको पहिलो आधारका रुपमा त्यसलाई हामीले प्राथमिकतामा राखेका हौं । मन्त्रालय, विभागदेखि सरकारी स्तरका कार्यालयवाट एक दुईवटा वाटोलाई केही बजेट विनियोजन भएपनि अन्यमा बजेट परेको छैन । बडा कार्यालय र जिल्लावाट गाँउपालिकाको कार्यालयसम्म जाने वाटो समेत नभएको अवस्थामा वाटो बनाउनुपर्ने आवश्यकता थियो, त्यसकारणले गर्दा हामीले बाटोलाई प्राथमिकतामा राखेका हौं । महत्व दिएर बजेट पनि विनियोजन भएको अवस्था हो । त्यही अनुसार नै कार्यान्वयन पनि भैरहेको छ ।

० तपाईको गाउँपालिकामा जाने कटुञ्जे, सिपाली, बुढाखानीदेखि वनखु पुग्ने मोटरबाटो र महादेवटार, ग्याब्रेङ, वनखु सडकमा केही मानिसहरुले विवाद ल्याएका छन् किन रहेछ ?
–विगतदेखि नै महाभारत गाँउपालिकामा मोटरवाटो पु¥याउनका लागि पहल भैरहेको थियो । महाभारत गाउँपालिकाले बाटो बनाउनकै लागि ६० लाख बजेट विनियोजन गरेकै हो । त्यति पैसाले नपुग्ने भएपछि अर्को ५० लाख बजेट पनि जुटाइ विनियोजन गरिएको हो । त्यहाँ मोटरवाटो निर्माणका लागि छुट्टाछुट्टै निकायवाट बजेट विनियोजन भएकाले दुईवटा समिति गठन भएका छन् । समिति बनाउने जिम्मा सडक क्षेत्रका बडाध्यक्षहरुको हो । हाम्रो गाउँपालिकामा सडक क्षेत्रका बडाध्यक्षहरुले सर्वपक्षिय भेला गरेर सबैको सहमतिमा बाटो निर्माण समिति गठन गर्ने गर्दछन् । तपाईले गरेको प्रश्न धेरै व्यक्तिहरुले मलाई पनि गरेको र त्यहाँको वास्तविक अवस्था बुझ्दा पनि समितिका अध्यक्ष स्वतन्त्र ब्यक्ति हुनुहुन्छ । उपाध्यक्षमा कांग्रेसको, सचिवमा एमालेवाट हुनुहुन्छ । कोषाध्यक्ष कांग्रेसकै छन् । त्यसरी सर्वपक्षीय रुपमा समिति बनाइएको छ । तर अहिले कांग्रेसले एकलौटी समिति बनायो, हामीलाई जानकारी छैन भन्ने जुन आरोप लगाएको छ त्यो निराधार छ । विकासमा हामीले कहिलै पक्षधरता लिएका छैनौं ।

० गाँउपालिकाको समिक्षा बैठक पनि भैसक्यो होला नि ? आगामी बजेटमा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ?
–समिक्षा बैठक हामीले सम्पन्न गरिसकेका छौं । अहिले महाभारत गाँउपालिका महाभारतकै अवस्थामा छ । शिक्षा स्वास्थ्य खानेपानी र वाटो सबै क्षेत्रमा महाभारतकै अवस्था छ । शिक्षाको हिसावले पनि महाभारत गाँउपालिका काभ्रे जिल्लामै सबैभन्दा बढि विद्यार्थी भएको गाँउपालिका हो । ५४ सय विद्यार्थी हाले हाम्रो गाउँपालिका क्षेत्रभित्र अध्ययनरत छन् । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी छैन । यसमा जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म दरबन्दी पुरा गर्न चासो दिएको छैन । शिक्षक पठाउन ध्यान दिएको देखिदैन । जिल्ला शिक्षा समितिमा पनि पटक पटक कुरा पु¥याएका छौ । जिल्ला शिक्षा कार्यालयमा पनि पटक पटक कुरा पुराएका छौं । तर अहिले पनि मन्त्रालय तहदेखिनै दरवन्दी पु¥याउन पहल भएको छैन ।
अर्कोतर्फ स्वास्थ्य क्षेत्रको अवस्था पनि विकराल छ । ३१ जनाको दरवन्दी रहेको हाम्रो गाउँपालिकामा अहिले पनि २० जना अपुग छन । ११ जना मात्रै स्वास्थ्यकर्मीले काम चलाइरहेको अवस्था छ । पटक पटक जिल्ला स्वास्थ्य कार्यालयमा कुरा उठाउदा हामीलाई अधिकार पनि दिइएको छैन । समस्या समाधानको निम्ती स्थानीय विकास मन्त्रालयवाट हिजो एउटा परिपत्र जारी भएको छ । त्यसले केही हल हुनसक्ने सम्भावना छ ।

०विगतमा सिंहदरबारको अधिकार गाँउमा आइपुग्यो भन्ने गाउँलेहरु अहिले सिंहमात्रै गाउँमा आएको रहेछ, दरबार त आइपुगेको रहेनछ भनेर गुनासो गर्छन् नि ? यसमा के भन्नुहुन्छ ? महाभारत गाँउपालिकाको अवस्था के छ ?
–हाम्रो प्रयास सिंहदरबारको अधिकार गाँउमा पु¥याउने नै हो । हाम्रो चुनावी घोषणापत्र समावेश भएका एजेण्डाहरु त्यही नै थिए । हामीले यस कुरामा हरेश भने खाएका छैनौं । अहिलेसम्मको प्रयत्नमा सिंहदरबार गाँउमा पु¥याउन र कुनैपनि जनतालाई समस्या नहोस भनेर हाम्रो बडाध्यक्षहरु दिनरात खटेर आफ्नै बडामा सेवा दिइरहनुभएको छ । आफैले कार्यालय जेनतेन चलाउदै बडावाट नै काम अघि बढाउनेमा हाम्रो प्रयास भैरहेको छ । कर्मचारीको समस्याले गर्दा कर्मचारीहरु नभएका कारणले गाउँलेहरुले यो कुरा भनेका हुन सक्छन् । हामीले भएका कर्मचारी व्यवस्थापनमा सचिवहरुलाई दुईवटा वडाको जिम्मेबारी दिएर भए पनि गाउँलेलाई असुविधा नहोस् भनेर काम गरिरहेका छौं । कहिले काही सचिवहरु पनि गाँउमा नबस्दा समस्या आउने गरेको छ । क्रमशः स्थानीय जनताहरुले अन्य विभिन्न सिफारिसहरु आफ्नै बडा कार्यालयवाट पाइरहेको अवस्था छ ।

०महाभारत गाउँपालिकाका धेरै मानिसहरु सरकारी कामकाजमा आएको भनेर धुलिखेल, बनेपामा भेटिन्छन्, सिंहदरबार गाउँमा पुगेको भए उनीहरु सातु चामल बोकेर धुलिखेल, बनेपा आउने थिएनन् होलान् नि ?
– हामीले गाँउका मानिस सेवा सुबिधावाट बन्चित नहुन भनेर बडा कार्यालयवाटै नियमित सेवा सुबिधा दिइरहेका छौं । हामीले बडाध्यक्षमार्फत दिनुपर्ने सेवामा कुनै पनि कन्जुस्याई गरेका छैनौ । केही वडा सचिवहरु गाउँमा नबसी दिंदा जन्मदर्ता, बसाई सराई र मृत्यु दर्ताको सन्दर्भमा केही समस्या आएका हुने । गाउँ नआउने सचिवहरुलाई तीन महिनासम्म तलब रोकेर बडासचिवहरुलाई ताकेता गरिरहेको अवस्था छ । उहाँहरु काममा जान्छौ भन्नुभएको छ । सायद यो समस्या पनि अब धेरै समय रहदैन ।
० गाउँहरु शुन्य हुने र शहर रोज्ने स्थिती महाभारतमा पनि छ भनिन्छ, त्यसको अन्त्य या रोकथामको प्रयास गाँउपालिकाले कसरी गरिरहेका छ ?
– जिल्लाकै दुर्गम क्षेत्र भएकाले महाभारत गाँउपालिकाका जनता अहिले पनि गरिवीको रेखामुनि रहेका छन । यहाका जनताहरु हिँउदको समयमा सहरी क्षेत्र एवम् काठमाडौंसम्म पुगेर मजदुरी समेत गर्ने गर्दछन । रोजगारीको अवस्था नहुँदा मजदुरी यहाँका बासिन्दाको बाध्यता पनि बनेको छ । शिक्षा र चेतनाको अभाबका कारण रोजगारी सिर्जना गर्ने अवस्था पनि त्यति राम्रो छैन । त्यसैले वैदेशिक रोजगारीका लागि जाने, काठमाडौंमा रोजगारीका लागि आउने क्रम अहिले पनि जारी नै छ ।

० गाँउका मानिस आफ्नो सम्पती बेचेर कामका लागि अन्यत्र नगएकाले फर्कन्छन भन्न खोज्नुभएको हो ?
– महाभारत गाँउपालिकाका अधिकांश बासिन्दा शहर या अन्य क्षेत्रमा जग्गा किन्न सक्ने हैसियतका नै छैनन् । मजदुरी लगायतका काम गर्न जाने र फेरि गाँउ फर्किने नै हो ।

० आगामी आर्थिक बर्षका लागि गाँउपालिकाका लागि सरकारले के कस्ता शिर्षकमा कति बजेट विनियोजन गर्दिए हुन्थ्यो जस्तो लागेको छ ?
– मैले पटक पटक भन्ने गरेको छु । धेरै कार्यक्रममा पनि यो कुरा उठाइरहेको छु । हाम्रो काभ्रेका ९ जना माननीयहरु, उहाँहरुमध्ये गोकुल कामरेड त अहिले मन्त्री पनि भैसक्नुभएको छ । उहाँहरु सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितीमा महाभारत गाँउपालिकामा भएको कार्यक्रममा पनि मैले आफ्नो कुरा राखिसकेको छु । अहिले स्थानीय तहलाई १७ प्रतिशत मात्र बजेट पठाएको अवस्था हो । यो बजेटलाई तेब्बर बनाउन सकियो भने त्यसबाट प्रभावकारी काम गर्न सकिन्छ । विगतमा बजेट निर्माण जनसंख्यालाई आधार मानेर बनाइएको छ । त्यसमा हाम्रो महाभारत गाँउपालिकाको आपत्ति छ । महाभारत गाँउपालिका विकास नभएको दुर्गम ठाँउ तर जनसंख्याको हिसावले १८ हजार हाराहारीमा भएको तर क्षेत्रफलको हिसावले काभ्रे जिल्लाकै सबैभन्दा ठुलो गाँउपालिका हो । १ सय ८६ बर्गकिलोमिटर क्षेत्रफल हाम्रो गाँउपालिकाले ओगटेको छ । क्षेत्रफल र विकटताको आधारमा सरकारले पर्याप्त बजेट र कर्मचारी पठाइदियोस्, पाँचवर्षभित्र औंलामा गन्न सकिने गरी हामी महाभारत गाउँपालिकामा काम गरेर देखाउँछौं । भुगोललाई र विकटतालाई नै आधार मानेर हामीजस्ता गाउँपालिकाको लागि बढि बजेट विनियोजन गर्नुपर्छ भन्ने हाम्रो माग छ । यस आधारमा पनि हामीलाई बजेट पठाएको खण्डमा र जनशक्ति आफैले नियुक्त गर्नसक्ने अधिकार दिएको खण्डमा अहिले जसरी विकास अघि बढेको छ । यसको तेब्बर, चौब्बर काम गरेर हामी देखाइदिन्छौं । बजेट र जनशक्ति अभावको वावजुतपनि जनताको इच्छाशक्तिले महाभारत गाउँपालिकामा विकासको काम निक्कै अघि बढिसकेको छ ।

० गाँउमा पुग्ने बजेट दुरुपयोग हुन नदिन कस्तो प्रयास गर्नुभएको छ ,त्यसका लागि गाँउपालिकामा छुट्टै संयन्त्र छ कि अरु कुनै ब्यवस्था गरिएको छ ?
– हामीले उपभोक्ता समिति गठनदेखि नै बजेटलाई दुरुपयोग हुन नदिने गरि काम अघि बढाउने गरेका छौं । उपभोक्ता समिति गठनसँगै अनुगमन समितिको सिफारिस र रिपोटिङ्ग विना हामी काम नै अघि बढाउदैनौं । हामीले गाँउपालिकास्तरीय अनुगमन समिति पनि उपाध्यक्षको नेतृत्वमा गठन गरेका छौं । जुन पाँच सदस्सीय समितिले अनुगमन नगर्दासम्म अन्तिम भुक्तानी हाम्रो कुनैपनि योजनाको हुँदैन । त्यस्तो हुँदाखेरी हामीले महाभारत गाँउपालिकालाई सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कार्यलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । हाम्रो प्राथमिकता कायमै नै छ ।

०विकास निर्माणका काममा केही दवावहरु पनि आउछन होला नि, कसरी ब्यवस्थापन गरिरहनुभएको छ ?
– गाँउमा काम गर्दा चुनौती धेरै छन । दवावका घटनाहरु पनि बारम्बार आउने गर्दछन । जस्तो कि सुशासनको निमित्त महाभारत गाँउपालिकामा हामीले एक्साभेटरको रेट हामीले ४ हजार ७ सय तोक्यौं । छिमेकी गाँउपालिका घ्याङलेकले ५६ सयसम्म तोकेका छन । खानीखोलाले ६५ सय तोकेको छ । यसवाट पनि हामीले आर्थिक पारदर्शिता कसरी कायम गरिहेका छौं भन्ने देखाउछ । हामीले उपभोक्ता समितिलाई सहज बनाउनको निमित्त बजेटमा धेरैभन्दा धेरै काम होस भन्ने उद्देश्यले काम गर्दा या एक्साभेटरको कम रेट तोक्दा केही मानिसहरु हामीले काम गर्न सक्दैनौ भनेर चुनौती दिइरहेका थिए । तर अहिले हामीले एक्साभेटर लगेर धमाधम काम गरिरहेका छौं । अहिले गाँउमा ९÷१० वटा एक्साभेटरहरु हामीले तोकेकै रेटमा चलिरहेको अवस्था छ । गाँउमा रहेका विभिन्न समितिहरुमार्फत विभिन्न चरणमा गरेका अनुगमनले पनि सुशासनलाई अघि बढाउन चाहेको देखिएको छ । विगतमा केही मानिसमा रहेको जर्वजस्तीपन हिजो प्राविधिकलाई मनाएपछि हुन्छ भन्ने मानसिकतालाई हामीले गलत सावित गर्नुका साथै मुक्त बनाएका छौं । एउटा प्राविधिकलाई मनाएपनि हामी अर्को प्राविधिक लगेर अनुगमन गर्ने किसिमको संयन्त्र हामीले बनाएका छौं । सोही अनुसार काम पनि भैरहेको छ ।

० अन्त्यमा मैले सोध्न बिर्सेको र यहाँलाई भन्न मन लागेका केही कुरा छन भने भन्नुस ?
– काभ्रेको दुर्गम र पिछडिएको महाभारत गाँउपालिकाका विषयमा केही कुरा सार्वजनिक गर्ने मौका दिनुभएकोमा काभ्रे पोष्ट साप्ताहिक पत्रिकालाई धन्यवाद दिन चाहान्छु । गाँउगाँउमा सिंहदरबार लैजानका निमित्त जुन प्रयास हामीले गरिरहेका छौं । त्यसमा अझैपनि काभ्रेपोष्ट लगायत राष्ट्रिय पत्रिकाहरु सबै सबैले सहयोग गर्नुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु । तर अहिले पनि जिल्ला प्रशासन कार्यालय काभ्रेमा इलाका प्रशासन कार्यालयको नाममा कर्मचारीहरु आएको अवस्था छ । इलाका प्रशासन कार्यालय घर्तिछाप गाँउपालिकाको केन्द्रमा लैजानको निमित्त पटक पटक हामीले अनुरोध गरिरहेको अवस्था हो । अहिले पनि त्यसको कार्यान्वयन भएको छैन । यो विषय काभ्रेपोष्ट साप्ताहिक मार्फत सवन्धित पक्ष समक्ष ध्यानाकर्षण गराउन चाहान्छु ।
यो कार्यान्वयमा आओस भन्न चाहान्छु । गाँउपालिकामा सुशासन कायम गर्नका निम्ति तपाइयास् सञ्चारकर्मीहरु मिडियाजगतको सहयोग महत्वपुर्ण हुनेछ । आगामी दिनहरुमा पनि हाम्रा कामहरुलाई औलाइदिएर, गाँउपालिकाका विषयबस्तुलाई पत्रिकामा स्थान दिएर हामीलाई प्रोत्साहित गर्नुहुनेछ भन्ने अपेक्षा पनि राखेको छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जासुसी आरोपमा इरानका पूर्व सहायक रक्षा मन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौं । इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्डको सजाय दिएको छ । बेलायतका

व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना चाणक्य कलेजमा BBS को भर्ना खुल्यो

भक्तपुर – चाणक्य कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना कलेज हो ।

भक्तपुर विकासको बांकी कामलाई पुर्णता दिन क.महेश बस्नेतलाई संसदमा पठाउनुपर्छ:सहदेव न्यौपाने

         क.सहदेव न्यौपाने,नेता नेकपा एमाले,भक्तपुर   भक्तपुरको सुर्यविनायक नगरपालिका ४ दधिकोटको नेकपा एमालेलेमा

मेरो उम्मेदवारी भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा हो,चन्दन कृष्ण श्रेष्ठ

चार दशकदेखि निरन्तर राजनीतिमा रहेर दर्जनौं सामाजिक संस्थाहरुको स्थापना गरि सामाजिक काममा समर्पित चन्दन कृष्ण

कम्युनिस्टहरु बिच धुर्विकरण जरुरी छ – नाम्गेल मोक्तान

नेकपा मसाल दोलखाको सेक्रेटरी,वागमती क्षेत्रीयव्युरो सदस्य मसाल निकट विभिन्न जबस तथा खुल्ला मोर्चाहरुको केन्द्रिय भुमिका

‘संसद विघटन नगरेको भए प्रचण्डले एमाले कब्जा गर्थे, हामीसँग अरु धेरै सूचना थिए’:विष्णु रिमाल

पुस ५ को कदम प्रतिगामी थियो भनेर एमालेमै बस्न मिल्दैन, पार्टीमा फरक मत छैन  २०७८