May 30, 2019

मन्त्रिपरिषद्का २७ निर्णयः लुम्बिनी विकासका सदस्य सचिव हटाउनेदेखि भारतसँगको रेल सम्झौताका लागि टोली गठनसम्म

Related image

जेठ १६, काठमाडौं । सरकारले नेपाल–भारत रेल सेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन नेपाली वार्ता टोली गठन गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल–भारत रेल सेवा सम्झौतको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपालीवार्ता टोली गठन गरिएको जानकारी दिएका हुन् ।

यस्तै सरकारले सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ईद उल फितरको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

लुम्बिनी विकास परिषद्को सदस्य सचिव विष्णुप्रसाद ढकाललाई पदबाट हटाउने निर्णय पनि गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषदका २७ निर्णय:

१.नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपालीवार्ता टोली गठन गरिएको छ।

२. नेपाली सैनिक चार्टर उडान विकास समितिलाई कायम राख्ने निर्णय गरिएको छ।

३. निम्न प्रयोजनका लागि वनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–

क) प्रगन्ना तथा बडकापथ सिँचाइ आयोजनाको नहर निर्माणका लागि दाङ जिल्लाको गढवा गाउँपालिका वडा नं. १–६ मा परेको १४ वटा सामुदायिक वन समेतको कूल २४.४० हेक्टर थप राष्ट्रिय वनक्षेत्र।

ख) ढोडरी–राजापुर–सतीघाट हुलाकी सडकको स्तरोन्नतीका लागि बर्दिया जिल्लाको राजापुर नगरपालिका १–९ मा रहेकातीन वटा सामुदायिक वन (कर्णाली, लठवा र सरस्वती) सहितको कुल १.४७ हेक्टर राष्ट्रिय वनक्षेत्र।

ग) वीरेन्द्रनगर नगरपालिकाका लागि ल्याण्डफिल साइट निर्माण गर्न सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका १ मा पर्ने कृष्ण सामुदायिक वनको ४.४७ हेक्टर राष्ट्रिय वनक्षेत्र।

घ) न्यादी १३२ के.भी. विद्युत प्रसारण लाइन निर्माणका लागि लमजुङको मस्र्याङ्दी गाउँपालिका ३ र ६ मा परेको महादेवस्थान सामुदायिक वन लगायत अन्नपूर्ण संरक्षण क्षेत्रको गरी कूल ३.०३२ हेक्टर राष्ट्रिय/सहकारी वनक्षेत्र (२५ वर्षका लागि)

४. लुम्बिनी विकास परिषद्को सदस्य सचिवश्री विष्णुप्रसाद ढकाललाई पदबाट हटाउने निर्णय गरिएको छ।

५. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र व्यवसायिक सञ्चालनका लागि सरकार–सरकार सम्झौतागर्ने कार्य अघि बढाउन सैद्दान्तिक सहमति दिइएको छ। 

६. भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा मिनिस्टर (इकोनोमी) पदमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवश्री कृष्णहरी पुष्करलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने र निजलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरिएको छ।

७. नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दोस्रो नवीकरण वापतको नवीकरण दस्तुर रु. २० अर्वमध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी प्रथमकिस्ता वापतको दूरसञ्चार (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सूचित गराउने निर्णय गरिएको छ।

८. मुस्लिम आयोगको सिफारिस समेतलाई दृष्टिगत गरी मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

९. नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरिएको छ।

१०. प्रदेशतथा स्थानीयतहकालागि कूटनीतिक मामिला सम्बन्धी निर्देशिका, २०७५ स्वीकृत गरिएको छ।

११. मदिरा उत्पादन र विक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश, २०७५ प्रचलित कानुनी र व्यवहारिक पक्ष हेरेर अध्ययन गरी पुनः पेश गर्न सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको छ।

१२. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ स्वीकृत गरिएको छ।

१३. व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७५ स्वीकृत गरिएको छ।

१४. बजेट वक्तव्य लगायत देहायका विधेयक संघीय संसद्को बैठकमा पेश गर्न स्वीकृति दिइएको छ–

क) आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्य

ख) विनियोजन विधेयक, २०७६

ग) आर्थिक विधेयक, २०७६

घ) राष्ट्र ऋण उठाउने विधेयक, २०७६

ङ) ऋण तथाजमानत (तेइसौं संशोधन) विधेयक, २०७६

त्यसैगरी सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सो आदेश मिति २०७६ जेठ १५ को अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ। 

१५. देहायका नियमावली स्वीकृत गरिएको छ–

क) मूल्य अभिवृद्धि कर (एक्काइसौं संशोधन) नियमावली, २०७६

ख) अन्तःशुल्क (उन्नाइसौं संशोधन) नियमावली, २०७६

ग) भन्सार (दशौं संशोधन) नियमावली, २०७६

घ) आयकर (नवौं संशोधन) नियमावली, २०७६

त्यसैगरी निजी गुण्टा, झिटी, भारी सम्बन्धी २०७३ जेठ २५ मा प्रकाशित सूचनाको सट्टा ‘यात्रुले अफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी सूचना’ स्वीकृत गरिएको छ।

१६. राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लि. सञ्चालन र अनिवार्य अवकाश भएका कर्मचारीको सुविधा उपलब्ध गराउने प्रयोजनका लागि रू १ करोड १३ लाख ४७ हजार ऋण लगानीको रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ।

१७. नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय विकास कोषको ऋण र अनुदानमा सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना आ.व. ०७६÷७७ देखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत छुट्टै बजेट उपशिर्षक कायम गरी कार्यक्रम र बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ ।

१८. नेपाल खाद्य  संस्थानको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका ११ स्थित कित्ता नं. २३९७ को क्षेत्रफल ६२–१–३–१ रोपनीबाट नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४ भदौ १९ गतेको निर्णयबाट प्रहरी परिसर काठमाण्डौंलाई उपलब्ध गराउने भनी निर्णय भएको ३२ रोपनी जग्गामध्ये हाललाई महानगरीय प्रहरी परिसर, काठमाण्डौंको नाममा १५ रोपनी जग्गा प्रतिआना रु. ५० लाखका दरले रु. १ अर्ब २० करोड रजिष्ट्रेशनपास गर्न लाग्ने रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय गरिएको छ ।

त्यसैगरी साविक नेशनल ट्रेडिङ लिमिटेड हाल नेपाल आयल निगमको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिकाको टेकु स्थित महानगरीय प्रहरी परिसर र अपराध महाशाखा, काठमाण्डौंको कार्य सञ्चालन भइरहेको भवन तथा सो वरिपरीको जग्गामध्ये ९ रोपनी जग्गा नेपाल प्रहरीको अपराध महाशाखा, काठमाण्डौंको नाममा रजिष्ट्रेशन पास गर्ने निर्णय गरिएको छ।

१९. मस्कट स्थित नेपाली राजदूतावासका लागि जग्गा लिज मालिने सम्झौता गर्न स्वीकृति दिइएको छ।

२०. विश्व पर्यटन संगठनको आधिकारिक भाषामा चिनियाँ भाषालाई समावेश गर्ने सम्बन्धी प्रस्तावलाई नेपालले समर्थन गर्ने विषय संघीय संसद्मा पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ।

२१. विर्तामोड–चन्द्रगढी सहायक राजमार्गको विर्ताबजार क्षेत्रमा सडक सीमा भित्र परेका जग्गामा बनेका स्थायी वा अस्थायी घर, टहरा तथा अन्य संरचनाहरूको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिइएको छ।

२२. बेसीसहर–चामेमा सडक खण्डमा निर्माणाधिन भलाम खोला पुलको एप्रोच सडक तथा पुलको रेखाङ्कनमा पर्ने जग्गा एवं स्थायीवा अस्थायी घर, टहरा तथा अन्य संरचना अधिग्रहण गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

२३. उत्तर–दक्षिण लोकमार्ग अन्तर्गत कालीगण्डकी कोरीडोर सडक निर्माणका लागि बेनी–जोमसोम–कोराला सडकखण्डको रेखाङ्कनमा पर्ने जग्गा एवं स्थायीवा अस्थायी घर, टहरा तथा अन्य संरचनाको जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

२४. पाइलट महासेनानी स्व. कैलाश गुरुङ्गलाई मरणोपरान्त सहायक रथी दर्जामा पदोन्नति गरी निजको परिवारलाई नियमअनुसार पाउने सम्पूर्ण सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ।

२५. प्राविधिक प्रमुख सेनानी राजेश शाहलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ।

२६. खुटिया–वी.पी. नगर–दिपालय सडक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।

२७. घरेलु तथा सानाउद्योग विकास समितिका सबै कर्मचारीको समायोजन गर्ने र उक्त समितिलाई सिद्धान्ततः कायम राखी सोको पुनःसंरचनाबारे मन्त्रालयले थप गृहकार्य गर्ने निर्णय गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा