मतपत्र कहिलेसम्म च्यातिन्छ ?

dipesh-kc-1-e1500876840473जसरीपनि जित्नैपर्ने सोच लोकतन्त्रका लागि खतरा
दीपेश केसी । समाचार विश्लेषण । सर्वोच्च अदालतको फैसला अपेक्षित नै थियो । सम्मानित अदालतले कानुनको व्याख्या र विगतको नजिर अध्ययन गरेर फैसला गरेको थियो, भरतपुर महानगरपालिका—१९ को मतपत्र च्यातिएको घटनामा परेको रिटमा । अदालतको फैसलापछि राजनीतिक रूपमा पक्ष विपक्षमा बाँडिएका मध्ये एमाले पक्षधरले असन्तुष्टि पोखे । माओवादी केन्द्रका समर्थकले आधा चुनाव जितेको जसरी खुशी व्यक्त गरे । सायद, नेपाली काँग्रेसका समर्थकहरूलाई चाहिं कागलाई बेल पाक्यो हर्ष र सुर्ता भएको होला । बरू, आफ्ना उम्मेदवारले पक्का जित्ने थिए भनी अझै चुकचुकाइरहेका छन् । जिम्मेवार आम नागरिकले अदालतको फैसलाले वर्तमानमा भन्दा भविष्यको चुनावमा पार्ने असरबारे विचार गर्नु जरूरी छ । एउटा घटनाले परिघटनाहरू निम्त्याउँछ । राजनीतिमा रोपिएका कुनैपनि राम्रा नराम्रा वृक्षले कालान्तरसम्म जरा फैलाउँछ । जसरी भरतपुर घटनापछिको परिघटनाले भविष्यमा अनेकन नकारात्मक असर पार्न सक्छ ।

जसरी पनि जित्नैपर्ने?

नेपालमा राजनीतिको अर्थबारे समेत गतिलो बहस भइराख्दैन । राजनीतिलाई जे जसरी बुझिएको छ त्यसले देशमा गलत व्यक्तिहरू राजनीतिमा हावी भएका छन् । जस्तो फलको बीया रोप्यो त्यस्तै फल्ने हो । राजनीति भनेको पद प्राप्ति र सुखसयल हो भन्ने मान्यताले जरा गाडिसक्यो । कतिपयका लागि राजनीति शक्तिको दुरुपयोग गर्ने, वरिपरि पिछलग्गु देखाउने, सलाम खाने र कानुन सजिलै मिच्न छुट पाउने जस्तो भइरहेको छ । राजनीति राष्ट्रको निस्वार्थ सेवा हो र राष्ट्रमा नेतृत्व दिएर आफ्नो आचरण र व्यवहारबाट सही सन्देश दिनसक्नुपर्छ । यस्तो सन्देश हाम्रा राजनीतिज्ञले सायदै दिन सकेका छन् । त्यसैले हामी अझै राजनीतिज्ञका भन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सादगीपन सुनेर रमाउँछौं ।

जसरी पनि जित्नैपर्ने शैलीले हाम्रा राजनीतिज्ञहरू जितेर पनि हारे । अन्तर्राष्ट्रिय जगतले नेताहरूलाई हल्का रूपमा लिएर हेपाहा व्यवहार देखाए । उनीहरू मात्र हारेन देशले समेत हार्ने परिस्थिति बनिरह्यो । कुनैपनि विदेशीले नेपालीलाई सम्मानको नजरले हेर्ने अवस्था सृजना गर्न सकेनन् । नेपाल भनेको राजनीतिक रूपमा अस्थिर, सत्ताका लागि जुनसुकै हतकण्डा अपनाउने नेताहरू हावी भएको देश भनेर चिने । त्यसैले केही लाख डलर खर्चेर गलत नियतले पसेका विदेशीहरू हाम्रा नेताहरूलाई सजिलै जुधाइरहेका छन् । त्यो केही लाख डलर पनि घुमाई फिराई हाम्रै पैसा हो ।

बुथ क्याप्चर देखि मतपत्र च्यातचुत

देशमा २०४६ सालको जनआन्दोलनपछि प्राप्त प्रजातन्त्रपछि जनताले असल नेता पाउने आशाहरू राखे । राजनीतिक र सामाजिक क्षेत्रमा उत्कृष्ट पद्धति र प्रणाली स्थापित हुने आशा राखे । तर, प्रजातन्त्र प्राप्तिको केही वर्षमै फोहोरी खेलहरू हुनथाले । नेताहरू सत्तालिप्सामा यतिसम्म गिरे कि राजनीतिको आधारभूत मूल्य र मान्यतालाई बिर्सन पुगे । जनताको त्याग र बलिदानलाई चटक्कै बिर्सेर आफ्नो हितमा केन्द्रित भए । सत्तामा पुगेर शक्तिको दुरूपयोग गर्न सकिन्छ र विलासी जीवन बिताउन पाइन्छ भनेर जुनसुकै हतकण्डा अपनाएर चुनाव जित्ने कुसंस्कार स्थापित भयो । संसदीय चुनावमा बुथ क्याप्चर देखि हिंसा मच्चाउने गतिविधि भए । संसदमा प्रधानमन्त्रीको चुनाव हुँदा सांसद किनबेचका खेलहरू भए । इतिहासमा तीन घटना सुरक्षित छन् । चुनावमा फोहोरी खेलहरू भएपछि जनतामा चुनावप्रति आकर्षण नै घट्यो । ‘जुन जोगी आएपनि कानै चिरेको !’ मतदानमा जानेको संख्या पनि घट्दै गयो । यही मौकामा जनमतमा भन्दा हिंसामा विश्वास गर्ने माओवादीले जनप्रतिनिधिमाथि आक्रमण गरेर गाउँलाई एकछत्र आफ्नो प्रभावक्षेत्र बनाउन सफल भयो ।

आशामाथि अर्को प्रहार

दश वर्ष लामो सशस्त्र गतिविधि पछि जनताले शान्ति चाहे । शान्तिका लागि सडकमा उत्रिएर निरंकुश राजतन्त्रविरुद्ध आन्दोलन गरे । निकै कसरतपछि संविधानसभाको चुनावहरू पनि भए । पहिलो संविधानसभाको चुनावमा माओवादीमाथि बुथ क्याप्चर र धाँधलीको आरोप लाग्यो । यो आरोप लगाउने नेपाली काँग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ता थिए । धाँधलीको कारण मात्र माओवादीले पहिलो स्थान हासिल गरेको थिएन । काँग्रेस र एमालेप्रतिको जन असन्तुष्टि कायमै हुनु र नयाँ शक्ति भएकाले माओवादीले केही गर्छ कि, पुनः जङ्गल पस्दैन कि भनेर मत दिएका थिए । तर, माओवादीले जनअपेक्षा अनुसार काम गरेन । दोस्रो संविधानसभाको चुनावमा नराम्रो झड्का पर्ने गरी खुम्चियो । देशमा संविधान पनि जारी भयो । असन्तुष्ट पक्ष रहे र त्यो लोकतन्त्रमा भइनै रहन्छन् ।

संविधानमा टेकेर १९ वर्षपछि स्थानीय निकायको चुनाव शुरू भयो । चुनावमा जनतामा अपार उत्साह देखियो । बुथ क्याप्चर र धाँधलीका घटना सायदै सुनिए । लोकतन्त्र बलियो हुने र जनमतप्रति नेता कार्यकर्तामा सम्मान र विश्वास बढेको आभाष भयो । मतगणना ढिलो भएकाले असन्तुष्टि भएपनि जनताले धैर्यता देखाए । तर, पहिलो चरणको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यात्ने घटना गम्भीर बन्यो ।

घटनामा संलग्न दुईजना अभियुक्त पक्राऊ परे र अदालती कारबाहीका क्रममा धरौटीमा रिहा भए । के ती साँच्चै संलग्न थिए ? संलग्न थिए भने तिनलाई नियोजित रुपमा कसैले घटना घटाउन लगाएको थियो वा थिएन ? तिनीहरूमाथि कारबाही हुन किन ढिलो भयो ? यी विषय मात्र ती अभियुक्तको सवाल रहेन, देवी ज्ञवाली वा रेणु दाहालमध्ये कुनै एकले चुनाव जित्ने वा हार्ने सवाल देश र जनताका लागि खासै महत्वपूर्ण रहेन । यो एमाले र माओवादीको विषयमा सिमित रहेन । चुनावमा कुनै एकले जित्ने र बाँकीले हार्ने भइहाल्छ । चुनाव आउँछ जान्छ, उम्मेदवार आउँछन् जान्छन्, मेयर जित्ने पनि कार्यकाल सकेर जान्छ । तर, पद्धति र प्रणाली महत्वपूर्ण हुन्छ । भरतपुर महानगरपालिकाको निर्णय अब त्यहाँका जनताले गर्नेछन् ।

नेताबाट सुसंस्कार

सम्मानित अदालतले फैसला सुनाएपछि मेयरको टुंगो जनमतबाट हुन्छ । तर, लोकतन्त्रको अक्सिजन मानिने चुनावमा मतपत्र च्यात्ने प्रवृत्ति कहिलेसम्म अन्त हुन्छ । विगतमा एमाले कार्यकर्ताले बाग्लुङमा त्यस्तै घटना घटाएर पुनः मतदान भएको थियो । अहिले माओवादी कार्यकर्ताले इतिहास दोहो¥याए । लोकतन्त्रमा जनताको मतपत्र च्यात्ने जनविरोधी हो । त्यो जुनसुकै दलको किन नहोस् कडा सजाय पाउनुपर्छ । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । लोकतन्त्रको धज्जी उडाउने गतिविधिलाई प्रचण्ड हुन् या केपी ओली, शेरबहादुर देउवा नै किन नहुन्, उनीहरूले प्रश्रय दिनुहुँदैन । लोकतन्त्र विरोधी गलत गतिविधि गराएर कोही कसैले क्षणिक लाभ लिन खोज्छ भने त्यस्तो नेता बदनाम हुन्छ । जसले त्यस्ता गतिविधि गर्छन् तिनले भोलि अरू कसैको आदेशमा उनीहरूलाई नै डस्नेछन् । विषालु साँपलाई दुध पिलाएर पाल्दा त्यसले पालनकर्तालाई नडस्ला भन्न सकिन्न । सबैभन्दा खतरा पालनकर्तालाई हुन्छ । नेताहरूले लोकतन्त्रलाई मजबुत पार्ने हो भने जसरी पनि जित्नैपर्ने गलत पद्धतिको अन्त गर्नुपर्छ । आफू हारेर भएपनि देश र लोकतन्त्रलाई जिताउने त्याग देखाउन सक्नुपर्छ । शान्त, समृद्ध र स्थायित्वसहितको सुन्दर नेपाल निर्माणको अभियान तबमात्र साकार हुन्छ । बोलीले देश बन्दैन त्यसका लागि व्यवहार चाहिन्छ । नेतृत्वबाट सुसंस्कार विकास भई कार्यकर्ताले पालना गर्ने पद्धति बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग

नीतिगत भ्रष्टाचारको कानुनी जरा काट

नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान