बालुवाटारमा ‘एक चौथाईवाला’ भन्दै पूर्वमाओवादीलाई ओलीको खप्की

‘माओवादी जम्मा एक चौथाई हो । प्रचण्डले यो कुरा मानिसकेका थिए । एकताको भाव राम्रो दिनुपर्छ भनेर मैले नै आधा-आधाजस्तो दिएर त्याग गरेँ, लचिलो भएँ । त्यसको परिणाम यही हो ? साढे एक वर्षपछि पनि संख्या मिलेन भनेर एक चौथाईवाला आउने ?’

यो ठाडो खप्की हो प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको । स्थान हो प्रधानमन्त्रीको निजी निवास बालुवाटर । मिति हो निवर्तमान सभामुख कृष्णबहादुर महरालाई युवतीले बलात्कार प्रयास आरोप लगाएको हप्ता ।

खप्की खाने समूह हो, बालुवाटारमा पार्टी समायोजनको गुनासो बोकेर गएको नेकपा विशेष प्रदेश ईञ्चार्ज लीलामणि पोखरेलको टोली ।

ओली कड्किएपछि कोही बोल्ने कुरा भएन । सबै चुपचाप बसे । गुनासो सुनुवाई होला भनेर जाँदा उल्टो ‘एक चौथाईवाला’को संज्ञा पाएपछि पूर्वमाओवादी टोली मन खिन्न बनाउँदै गुनासो गर्न अर्का अध्यक्षको निजी निवास खुमलटार पुगेको थियो । पूर्वमाओवादीलाई ओलीले थर्काउँदा पूर्वएमालेतर्फका साक्षी थिए महासचिव विष्णु पौडेल, अरुण नेपाल, डा.राजन भट्टराई लगायत नेताहरु पनि ।

नेकपाको विशेष प्रदेशमा युवा, विद्यार्थी, मजदुर, पेशागत र उद्योग व्यवसायी गरी चारवटा गैरभौगोलिक जिल्लाहरु पर्दछन् । ती जिल्ला कमिटीहरुलाई पूर्णता दिन संख्याको सहमति बाधक बनेपछि नेताहरु गुनासो गर्न बालुवाटार पुगेका थिए ।

पार्टी केन्द्रले नै चारवटै जिल्ला कमिटीका लागि इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकिसकेका छन् । काम ठिकठाक चलिरहेको थियो । कमिटीहरुलाई पूर्णता दिन एकतापूर्व बनेको कार्यदलले दिएको सुझावअनुसार काम भइरहेको थियो ।

तर, बीचमा महासचिवले पठाएको एक सन्देशले एकतामा जुटेका नेताहरु अप्ठेरोमा परे ।

महासचिवको ‘म्यासेज’
दुवै पार्टीका नेताहरुबीच सुरुमा विशेष प्रदेशमा पूर्वमाओवादी ७० र पूर्वएमाले ८१ को संख्यामा सहमति भए पनि महासचिवले पूर्वमाओवादीलाई ६६ हुने गरी एसएमएस भएपछि लफडा चुलिएको हो ।

सहमतिमा जिल्लाको हकमा कार्यदलको निर्णयअनुसार संख्या हुनुपर्ने अभ्यास हुँदै आएको थियो । महासचिव पौडेलले ओलीको निर्देशनअनुसार माओवादीलाई ‘माइनस’ गर्नेगरी सन्देश पठाएको माओवादी पक्षको आरोप छ ।

सहमतिअनुसार मजदुरमा पूर्वएमालेले ३६ र पूर्वमाओवादीलाई ३९, उद्योगमा पूर्वमाओवादी ३८ र पूर्वएमाले ३७, युवा-विद्यार्थीमा पूर्वएमाले ४० र पूर्वमाओवादी ३५, पेशागतमा पूर्वएमाले ४२ र पूर्वमाओवादी ३३ पाउने लगभग निश्चित थियो । तर महासचिवको एक सन्देशले यी सबै गृहकार्य भताभुङ्ग भयो र पूर्वएमालेले ४३ र पूर्वमाओवादीले ३२ पाउनेगरी गर्न भनियो ।

ओलीलाई किन उठ्यो रिस ?
ओलीलाई गुनासो गर्दै जब पूर्वमाओवादी तर्फका एक नेताले मजदुरमा माओवादीको बलियो उपस्थिति रहेको तर्क दिए, तब ओली रन्किइहाले । उनले पूर्वमाओवादीलाई ‘एक चौथाई’ मात्र भनेनन् माओवादी मजदुरहरु नक्कली भएको पनि आरोप लगाउन भ्याए ।

उनले प्रचण्डलाई ‘नयाँ-नयाँ शर्त ल्याउने’ भन्दै पूर्वमाओवादी नेताहरुकै अगाडि आलोचना गर्न थाले ।

भएको के भने चार कमिटीमा तीन कमिटीको अध्यक्ष पूर्वमाओवादीले पाएको थियो । त्यसमध्ये मजदुरमा जगत सिंखडा, उद्योग व्यवसायीमा रामप्रसाद सापकोटा, युवा र विद्यार्थीमा रमेश मल्ल माओवादीका तर्फबाट अध्यक्ष छन् । पेशागतमा मात्रै पूर्वएमालेका प्रेमप्रसाद पराजुली अध्यक्ष छन् । यद्यपि, ईञ्चार्ज भने तीन कमिटीमा एमाले र एकमा माओवादीको रहने निर्णय केन्द्रले नै गरेको थियो ।

विष्णु पौडेलले गरेको एमएमएसअनुसार काम गर्न गाह्रो भएपछि बालुवाटारमा दुवै अध्यक्ष राखेर कुरा गर्ने मनसाय थियो लिलामणि नेतृत्वको टोलीको । तर प्रचण्ड महराको लफडामा फसेपछि त्यता जान भ्याएनन्/पाएनन्/चाहेनन् ।

ओली झूटो कि प्रचण्ड ?

यसबीचमा पूर्वमाओवादीलाई पेशागत जिल्लाहरुमा बढी दिने सहमतिविरुद्ध एमालेमा ओली निकट नेताहरु रुष्ट थिए । उनीहरु ओलीसँगको प्रत्येक भेटमा यही गुनासो गर्थे । ती भेटहरुमा ओलीले आफूले सच्याउने बचन दिएका थिए । उनले आफ्नो विश्वास पात्र महासचिव पौडेललाई सन्देश पठाउन निर्देशन दिइहाले ।

यी सबै हुँदाहुँदै पनि एउटा प्रश्न भने रहस्यकै गर्भमा पूर्वमाओवादीका नेताहरुका लागि । यही रहस्य खोतल्दै लीलामणिले ओलीलाई सोधे, ‘अहिले पछि पठाइएको संख्या तपाईंहरु दुई अध्यक्षबीचको सहमति हो कि होइन ?’

ओलीले पनि ठाडै जवाफ दिइहाले, ‘सहमति नभई त्यसै जान्छ ? भएकै हो ।’ पौडेलले पनि हो मा हो मिलाउँदै भने, ‘अध्यक्षद्वयले निर्णय गरेर मलाई दिनुभएको, मैले त्यही तपाईंलाई पठाएको हो ।’

बालुवाटारमा ओलीको खप्की खाएर खुमलाटर पुगेको पूर्वमाओवादी टोली त्यतिबेला हिस्स पर्‍यो, जतिबेला लिलामणिले बालुवाटारकै प्रश्न प्रचण्डलाई सोधे । तर, प्रचण्डले त्यस्तो कुनै सहमति नभएको बताउँदै भने, ‘यो विषयमा कुनै सहमति भएको छैन । मलाई त जानकारी पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने