२७ साउन, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । नेपाल आयल निगमले माग सम्बोधन गर्ने आश्वासन दिएपछि व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।निगमले इन्धन ढुवानी गर्दा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।यससँगै अब सहज रुपमा इन्धन बिक्री वितरण थाल्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनले जनाएको छ ।
बागमती पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष अच्युत खड्काले आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए ।निगम सञ्चालक समितिले बिहीबार पेट्रोल र डिजेलको ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेको थियो । जसमध्ये प्रति चार हजार लिटर पेट्रोलमा साविकमा दिइएको क्षतिपूर्तिलाई १० लिटरले बढाएर ४५ लिटर र डिजेलमा साविकमा दिइँदै आएको यस्तो क्षतिपूर्तिलाई २४ लिटरबाट बढाएर २७ लिटर दिने निर्णय गरेको थियो ।
प्राविधिक क्षतिपूर्ति बढाउनुपर्ने भन्दै व्यवसायीले बुधबारदेखि आयल निगमबाट पेट्रोल र डिजेल खरिद नै रोकेका थिए ।