ने क पाका केन्द्रीय सदस्य ‘बेरोजगार’, काम ‘निर्णय सुन्ने’ मात्रै !

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को तल्लो तहसम्म एकीकरण प्रक्रिया चलिरहँदा केन्द्रीय सदस्यहरू भने अहिलेदेखि नै ‘बेरोजगार’ भएका छन् ।

7344188914-(1)

कार्यविभाजन र जिम्मेवारी बाँडफाँट नहुँदा ४४१ केन्द्रीय सदस्यहरू भूमिकाविहीन बनेका हुन् । “मन्त्री र सांसद् बनेकाहरूले आ–आफ्नो जिम्मेवारी निभाएका होलान्,” एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “बाँकी केन्द्रीय सदस्यको काम निसु (निर्णय सुन्ने) भएको छ ।” 
विपक्षमा हुँदा दिनहुँजसो भेला, बैठक गर्ने तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण पश्चात भने सुस्ताएका छन् । पार्टीका गतिविधि हुने होइन नेता कार्यकर्ता कार्यालय आउजाउ समेत गर्न छाडेको पार्टीका नेता बताउँछन् ।

“चुनाव जितेर थकाइ मार्न बसेजस्तो देखिएको छ ने क पा,” ती नेताले बाह्रखरीसँगको कुराकानीमा भने ।

एमाले हुँदा सबैको पारिभाषित जिम्मेवारी थियो । कमिटीहरू पनि चलायमान थिए । तर, एकीकरण प्रक्रियामा आएपछि कमिटीको आकार बढेको र निर्णय प्रक्रिया पनि प्रमुख नेतामा मात्रै केन्द्रित भएकाले ने क पाका स्थायी कमिटी र केन्द्रीय सदस्यहरूसमेत भूमिकाविहीन बनेका हुन् ।

मातहतका कमिटी एकीकरण प्रक्रिया निकै जटिल
 

विधान र नियमावली तथा २४ वटा जनसंगठन र प्रदेश तहका कमिटी एकीकरण गर्न कार्यदल बनेको र १५ दिनको समयावधि तोकिएको भए पनि हालसम्म महासचिव विष्णु पौडेलको संयोजकत्वको कमिटीले मात्रै कार्यसम्पादनलाई अन्तिम रूप दिएको छ ।
सम्भवतः शनिबार बस्ने स्थायी कमिटीको बैठकले त्यसलाई पारित गर्ने र केन्द्रीय कमिटीको बैठक बसेर अनुमोदन गर्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

विधान र नियमावली बनेपछि त्यसैलाई टेकेर तलका कमिटी एकीकरण गर्ने ज्ञवालीले बताए ।

तर, तलका कमिटी एकीकरण गर्न त्यति सजिलो छैन । तत्कालिन एमालेको जिल्ला कमिटी सदस्य मात्रै ७५–१००को हाराहारी छन् भने माओवादी केन्द्रको चारगुणासम्म ठूला छन् ।

“यसलाई एउटा कमिटीमा ढाल्न नेताहरूले सोचेजस्तो सजिलो छैन,” ने क पाकै सदस्य स्वीकार्छन् ।

प्रदेश, जिल्ला, नगर कमिटी निर्माण नहुँदासम्म पार्टी कामले गति नलिने र एकताको सन्देश तल्लो तहसम्म नपुग्ने भएका एकता प्रक्रियालाई द्रूत गतिमा अघि बढाइएको ज्ञवाली दाबी गर्छन् ।

‘सरकारले नै चलाएको छ पार्टी’
 

संगठन निर्माण र परिचालन, लेवी संकलन, सदस्यता वितरणको हिसाबले कुनै समय निकै व्यवस्थित थियो एमाले । एकीकरण प्रक्रिया शुरू भएपछि ती प्रणाली ज्यादै भुत्ते हुन थालेको हाल ने क पाका सदस्य तथा तत्कालिन एमालेका नेता बताउँछन् ।

“पार्टीकै नेतृत्वमा सरकार छ, त्यसैले पार्टी चलाएको छ । पार्टीको संरचना केलाई चाहियो भनेजस्तो देखिएको छ । आधारभूत तहको पार्टी संगठनको अवस्था त झन् विकराल छ,” ती सदस्य दाबी गर्छन् ।

यसलाई ने क पाका सदस्य ठाकुर गैरे पनि स्वीकार्छन् । पार्टी र सरकार फरक भएकाले जनताको एजेन्डा सरकारसमक्ष पुर्‍याउनुपर्ने र सरकारका नीति कार्यक्रम, बजेट जनताको बीचमा पुर्‍याएर कार्यान्वयनमा सघाउ पुर्‍याउने महत्वपूर्ण दायित्व पार्टीको काँधमा भए पनि एकीकरण प्रक्रियाले त्यसलाई बिथोलेको उनी बताउँछन् ।

शनिबार पार्टीको स्थायी कमिटीको बैठक बस्ने र त्यसले केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने र कार्यविभाजन तोकिने विश्वास उनको थियो ।

नत्र सरकारको नेतृत्व गरिरहेकामात्रैको भर पर्ने हो भने पार्टीको कार्यक्रम, नीति लागु गर्न नसकिने र जनताको आकांक्षाबाट क्रमशः विलुप्त हुँदै जाने खतरा रहेको उनले औँल्याए ।

‘सरकार र पार्टीको नेतृत्व फरक हो’
 

सरकारलाई सफल बनाउने कि असफल बनाउने पार्टी नेतृत्व र त्यसका सदस्यको हात रहेको औँल्याउँदै पार्टी नेतृत्वले नै त्यसको सीमारेखा छुट्याउनुपर्ने उनको तर्क छ । उनले पार्टीका नेता कार्यकर्ताले नै सरकारको नीति, कार्यक्रम, बजेट बोकेर जनताको बीचमा जाने भएकाले कम्युनिस्ट पार्टीका क्याडर भूमिकाविहीन हुन नहुने र बनाइन नहुने जिकिर गरे ।

जनसंगठन ‘मूर्छित’

युवा संघका उपाध्यक्ष प्रभातविक्रम कटुवालले आफूले नेतृत्व गरेको संगठन मूर्छित अवस्थामा पुगेको बताउँछन् । असार १५ र १६ गते दुवै संगठन ( युवा संघ र वाइसीएल) ले सल्लाह गरेर ‘खेतमा धान रोपौँ’ कार्यक्रम चलाउने निर्णय गरे पनि खासै गतिविधि हुन नसकेको बताए ।

एकीकरणअघिमात्रै आयोजक कमिटी पुनर्गठन गरेको युवा संघले संगठन निर्माण र परिचालन गर्न नसकेको उनले स्वीकार गरे ।

“आवश्यक पर्दा एकीकरणका लागि गठित कार्यदलसँग सल्लाह गर्ने भन्ने पार्टीको निर्देशन छ,” उनले थपे ।

त्यस्तै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले पनि संगठन गतिमान बन्न नसकेको स्वीकार गरिन् । संयुक्त विद्यार्थी आन्दोलन, संगठन निर्माण र क्याम्पसस्तरीय केही कार्यक्रम भए पनि एकता प्रक्रिया नसकिएसम्म संगठनले गति लिन नसक्ने उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक