नेविसंघमा विवाद बढ्यो, संस्थापन पक्ष पेलेरै अगाडि बढ्न खोजे छुट्टै महाधिवेशनको चेतावनी

नेपाली कांग्रेसको संस्थापन इतर समूहले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिलाई स्वीकार नगर्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा बसेको संस्थापन इतर समूहको बैठकले संस्थापन पक्षले नेविसंघको अहिलेको कार्यसमिति भंग गरेर तदर्थ समिति गठन गरे कुनैपनि अवस्थामा स्वीकार नगर्ने निर्णय गरेको हो ।

वरिष्ठ नेता पौडेलको निवासमा मंगलबार बसेको संस्थापन इतर समूहका नेताहरुको बैठकले पूर्वनिर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गर्न नेतृत्वलाई दबाब दिने र तदर्थ समिति स्वीकार नगर्ने निर्णय गरेको बैठकमा सहभागी नेताहरुलाई उधृत गर्दै एक विद्यार्थी नेताले जानकारी दिएका छन् । बैठकमा वरिष्ठ नेता पौडेल, डा. शेखर कोइराला, अर्जुननरसिाह केसीलगायतका नेताहरु सहभागी थिए ।

बैठकमा संस्थापन पक्षले नेविसंघको महाधिवेशनका लागि इच्छा नदेखाए इतर समूहको छुट्टै महाधिवेशन गर्नेसम्मको विषयमा छलफल भएको सिटौला समूहमा निकट ति केन्द्रीय सदस्यको भनाइ छ । ‘‘बैठकमा संस्थापन पक्षले समन्वय गरेर महाधिवेशनको तयारी अगाडि नबढाएर आलटाल गर्दै तदर्थ समिति गठन गर्न खोजे प्रतिवाद गर्ने विषयमा छलफल भएको छ,’’ स्रोतले भन्यो, ‘‘छलफलमा महाधिवेशनका लागि संस्थापन पक्ष तयार नभए इतर समूहको छुट्टै महाधिवेशन गर्ने र त्यसमा जिल्लादेखि उपल्लो तहसम्मका नेता सहभागी गराउने कुरो भएको छ ।’’

बैठकले १–२ दिनभित्रै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट नेविसंघको विधान पारित गरेर सहमतिमा केन्द्रीय प्रतिनिधिहरु खटाउने काम शुरु नभए आफू निकटका विद्यार्थी नेताहरुलाई महाधिवेशनको तयारीमा खट्न निर्देशन दिने सहमति भएको बताइएको छ । 

भदौ २३ देखि लगातार तीन दिनसम्म चलेको नेविसंघको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक १६, १७ र १८ गते १२ औं महाधिवेशन सम्पन्न गर्ने निणर्य सर्वसम्मत ढंगले गरिसकेको छ । नेविसंघले संगठनको संरचनालाई संघीय संरचनाअनुसार विस्तार गर्ने गरि गत भदौमा विधान संशोधन गरेर मातृ पार्टीलाई अनुमोदनका लागि बुझाएको थियो । 

सहमतिमै १२ औं महाधिवेशन सम्पन्न गर्ने गरी संशोधित विधान पार्टीसमक्ष बुझाएपनि असोज दोस्रो साताबाट नेविसंघमा विवाद चुलिँदै गएको छ । असोज १० गते अध्यक्ष महरले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमको भ्राृत संगठन मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) का १५ जना विद्यार्थी नेताहरुलाई केन्द्रीय समितिमा समायोजन गरेपछि नेविसंघमा विवाद चुलिँदै गएको हो ।

नेविसंघमा चुलिएको विवाद साम्य पार्न सह–महामन्त्रीसमेत रहेका निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतले मंगलबार बेलुकी बोलाएको बैठकमा पौडेल निकट विद्यार्थी नेताहरुले बहिष्कार गरेका छन् । बैठकमा सिटौला समूह निकट विद्यार्थी नेता भने सहभागी भएका थिए । 

‘‘सह–महामन्त्रीज्यूले बोलाएको बैठकमा पौडेल समूह उपस्थित नै भएन । सिटौला समूहबाट महामन्त्री काफ्ले (कुन्दनराज काफ्ले) जानु भएको थियो । उहाँपनि आफ्नो कुरो राखेर बाहिरिनुभएको थियो,’’ महामन्त्री काफ्ले समूहमा आवद्ध नेविसंघका एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने । 

ति केन्द्रीय सदस्यका अनुसार महामन्त्री काफ्लेले बैठकमा पार्टीमा बुझाइएको विधान हुबहु पारित हुनुपर्ने, समयमै महाधिवेशन गरिनुपर्ने र अहिलेको कार्यसमिति बिघटन गरेर तदर्थ समूह गठन गरिए मान्य नहुने बताएका थिए । ‘‘उहाँले निर्देशन समितिका संयोजक डा. महत समक्ष विधान अनुमोदन नगरेर अल्टरनेट नखोज्न आग्रह गर्नुभयो । अल्टरनेट खोजिए आफूले आफ्नो ढंगबाट मुभमेन्ट अगाडि बढाउने र महाधिवेशनका लागि आमरण अनशनसम्म बस्ने चेतावनीसमेत दिनुभयो,’’ केन्द्रीय सदस्यले भने ।    

नेविसंघमा पछिल्लो समय चुलिएको विवादकै कारण सहजीकरणका लागि गठन भएको निर्देशन समितिको बैठक बस्न सकेको छैन । समिति संयोजक सह–महामन्त्री महतले आइतबार र सोमबार बोलाएको बैठक पौडेल समूह र सिटौला समूहमा आवद्ध नेताहरुले बहिष्कार गरेका थिए । ‘‘संस्थापन पक्ष सहमति विपरित अगाडि बढ्न थालेकाले हामी बैठकमा सहभागी नभएका हौं,’’ सिटौला समूहमा आवद्ध एक नेतालाई उद्धृत गर्दै स्रोतले भन्यो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक