August 15, 2018

नेपालमै हुन्छ क्यान्सरको उपचार

 

  प्रा डा राजेन्द्रप्रसाद बराल

 

 

नेपालमा क्यान्सरको अवस्था बढ्दो क्रममा छ। यो रोग शरीरका कुनै पनि अंगमा र जुनसुकै उमेरमा पनि लाग्न सक्छ। विगतमा पनि क्यान्सरका बिरामी नभएका होइनन्। पहिले पनि मानिसहरू क्यान्सरबाट मर्थे। तर त्यसको कारण थाहा हुँदैथ्यो। तर अहिले रोग निदानको विकाससँगै यो पत्ता लाग्ने क्रम बढेको छ र बिरामी पनि बढेका छन्।

नेपालमा क्यान्सर रोगबारे कुनै पनि जनसंख्यालाई आधार मानेर कुनै सर्वेक्षण भएको छैन। अहिलेको उपलब्ध तथ्याङक भनेको अस्पतालमा आधारित हो। हरेक क्यान्सर अस्पतालमा कुन क्यान्सरका बिरामी, कति भन्ने फरक–फरक तथ्यांक छ। तर समग्रमा हेर्ने हो भने नेपालमा महिला–पुरुष दुवैमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा  छ। 

उदाहरणका लागि भरतपुर क्यान्सर अस्पतालमा मुख क्यान्सरका बिरामी बढी छन् भने भक्तपुर क्यान्सर अस्पतालमा पाचनप्रणालीका क्यान्सरका बिरामी बढी देखिएको छ। 

महिलाको मात्र कुरा गर्ने हो भने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ। जुन अवस्थामा नवयुवतिहरूमा स्तन क्यान्सर देखिएको छ त्यसले पाठेघरको मुखको क्यान्सरलाई उछिन्न सक्छ भन्ने हामीलाई आंशका छ। दक्षिण एसियाली देशमै पाठेघरको मुखको क्यान्सर धेरै  छ। यसो हुनुमा धेरै कारण छन्। जस्तो दुईभन्दा बढी जनासँग शारीरिक सम्पर्क राख्दा, सानो उमेरमै बिहे गरी धेरै बच्चा जन्माएका, ढिलो विवाह गर्नेजस्ता कारणले यो क्यान्सर हुने सम्भावना हुन्छ। तर पहिलो कारण भने ह्युमन प्यापिलोमा भाइरसको संक्रमण नै हो। 

त्यसैकारण  निकै सानो उमेरका महिलालाई पनि पाठेघरको मुखको क्यान्सर हुने गर्छ। तर, यो निकै कम देखिन्छ। यो रोग नियन्त्रणका लागि लगाउने भ्याक्सिन पनि आइरहेको छ। समय–समयमा पाठेघरको मुखको पानीको जाँच गरेर यो भाइरस भए–नभएको पत्ता लगाउन सकिन्छ।

हामीले कस्तो योजना बनाएर क्यान्सरविरुद्ध लड्नुपर्छ भन्ने कुरा जनसंख्यामा आधारित सर्वेक्षणबाट मात्र थाहा हुन्छ। त्यसो हुने हो भने फरक–फरक क्यान्सरलाई कसरी उपचार प्रक्रिया अपनाउने भन्ने आधार तयार हुन्थ्यो।

अहिले सर्नेभन्दा नसर्ने रोग बढी छ। अहिले जुन अस्पतालमा गयो त्यहाँ मिर्गौला, क्यान्सर, मुटुका बिरामी छन्। यो बढ्दो क्रममा छ। यस आधारमा नेपालमा पहिल्यै जनसंख्यामा आधारित सर्वेक्षण हुनुपथ्र्यो। अबचाँहि सुरु गर्ने तयारी छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठनलगायत मिलेर जनसंख्यामा आधारित सर्वेक्षण गर्ने प्रयास गरेका छन्। त्यसबाट आएको तथ्यांकबाट पनि हामीले धेरै प्रश्नको उत्तर दिन सक्छौँ।

बुझ्नुपर्ने कुरा के छ भने हरेक क्यान्सरको सुरु सुर्तिजन्य पदार्थका कारणले हुन्छ। त्यसैले यस्ता पदार्थको सेवन नियन्त्रण, स्वस्थ जीवनशैली, असन्तुलित आहारविहारमा ध्यान दिनु जरुरी  छ।
पछिल्लो समय क्यान्सरलगायत धेरै कडाखालका रोगको उपचार नेपालमै हुन्छ। विभिन्न रोगका विशेषज्ञको उत्पादनसँगै बिरामीको चाप पनि बढेको छ। नेपालमा हाल विभिन्न क्यान्सरका करिब एकसय जना विशेषज्ञ छन्। यो सय जनाको भागमा करिब  तीन लाख बिरामी पर्छ। 

२५–२६ वर्ष पहिले हामी बाहिरबाट पढेर आउँदा धेरै थोरै संख्यामा विशेषज्ञ मात्र थियौँ। त्यो समयमा  नेपालमा  क्यान्सरको विशेषज्ञता पढाई हुदैथ्यो। अहिले  न्याम्समै क्यान्सर विशेषज्ञता पढाइ भइरहेको छ। हामी अहिले के भन्न सक्छौँ भने नेपालमा ९० प्रतिशत क्यान्सर रोगको उपचार सम्भव छ। नयाँ उपकरण प्रविधि पनि भित्रने क्रम बढेकाले  उपचारलाई सहज बनाएको छ।  तर एकैपटक हाइ डोज रेडियसन प्रयोग गरी  सर्जरीलगायतका केही प्रविधि नेपालमा छैन। 

हामीले क्यान्सर बिरामीलाई उपचार गरी निको बनाएर घर पठाएपछि पनि जीवनभर हामीकहाँ आउनुहोस् भनेर पठाउँर्छौँ। समय–समयमा जाँच गर्दै उहाँको स्वास्थ्य स्थिति थाहा हुन्छ। तर रोग फर्कने कारण धेरै हुन्छ। कसैलाई एउटा क्यान्सर निको भए अर्को अंगमा क्यान्सर हुने जोखिम पनि हुन्छ। एउटै मानिसलाई तीन फरक–फरक क्यान्सर हुने व्यक्ति पनि धेरै छन्। फलोअप समय–समयमा गरेका सुरुका अवस्था पत्ता लगाउँदा उपचार भरपर्दो हुन्छ।

क्यान्सरका चार चरण हुन्छन्।  पहिलो चरणमा क्यान्सर पत्ता लागेमा उपचार  र निको हुने सम्भावना धेरै हुन्छ। विडम्बना के छ भने हामीकहाँ आइपुग्ने करिब ७० प्रतिशत बढी बिरामी चौँथो चरणमा पुगिसकेका हुन्छन्।

सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको म भर्खरै अध्यक्ष चुनिएको छु ।  यो २००१ मा सार्क राष्ट्रका क्यान्सर विशेषज्ञले स्थापना भएको हो। त्यसपछि हामीले २००१ मा नै नेपाल च्याप्टर खोलेका हौँ । यो संस्था नेपालमा निकै सक्रिय छ। यसको मुख्य काम क्यान्सरका बारे नयाँ–नयाँ आविष्कार सेयर गर्ने, युवा क्यान्सर चिकित्सकलाई  हौसला दिई फेलोसिपहरू दिलाउने, विभिन्न वैज्ञानिक कार्यक्रम बढाउने, समग्र क्यान्सर रोगको नियन्त्रणका के भूमिका खेल्न सक्छौँ भनेर काम गर्ने, नेपालको क्यान्सर उपचार सेवालाई अझ माथि पुुर्‍याउने तथा गुणस्तरीय बनाउने हो। यी काम गर्न हामी सक्रिय रुपमा लागिरहेका छौँ।

नर्भिक अस्पतालले पनि भर्खरै छुट्टै क्यान्सर यूनिट बनाएर उपचार सेवा सुरु गरेको छ नर्भिक क्यान्सर केयर सेन्टरको रुपमा। अहिले किमोथेरापी  मात्र सुरु भएको छ। निकट भविष्यमा नै ठूलो रेडियसन मेसिन र बोनम्यारो ट्रान्सप्लान्ट लिएर छुट्टै क्यान्सर अस्पताल बनाउने सोच नर्भिकको छ।

 (डा बराल नर्भिक क्यान्सर केयर सेन्टरका प्रमुख हुन् ) 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि