नेपथ्य ‘आँगनै भरि’ गीत रिलिज गर्दै

काठमाडौं । स्थापनाको २५ औं वर्ष मनाइरहेको नेपथ्यले म्यूजिक भिडियो रिलिज गर्ने क्रममा ब्याण्डकै पहिलो गीत छनोट गरेको छ । ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ ले समूहको सबैभन्दा पुरानो सम्झनालाई भिडियोको नयाँ आवरणमा प्रस्तुत गर्ने नेपथ्यले जनाएको छ ।

नेपथ्यको सांगीतिक जीवनमा सबैभन्दा पहिले रेकर्ड भएको मात्र होइन, उसको पहिलो एल्बमकै पहिलो गीतका रुपमा समेत प्रस्तुत भएको हिसाबले यसलाई ब्याण्डकै पहिलो आधिकारिक गीत मानिँदै आएको छ । उक्त एल्बम सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको थियो । त्यसै दिनलाई नेपथ्यको स्थापना दिवस पनि मानिएको छ । 

नब्बेको दशकको प्रारम्भमा पोखराका तीनजना तन्नेरीहरुको प्रयासबाट नेपथ्य ब्याण्डको जग हालिएको थियो । उनीहरु थिए दिपक जङ राणा, भीम पुन र अमृत गुरुङ । त्यसपछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङले यो टोलीसँग सहकार्य अघि बढाए । त्यो प्रयासकै प्रतिफलमा नेपथ्यको पहिलो एल्बम जन्मिएको थियो ।

‘नब्बेको दशक प्रारम्भमा यस गीतका शब्दहरु केलाउँदै मैले र दिपकले संगीत भर्ने कोशिस गर्दाका क्षण म अहिले पनि सम्झन्छु,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत भन्छन्, ‘पछि रेकर्ड हुँदा यसमा स्वर चाहिँ रविनले दिएका थिए ।’

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वटा स्वर्णीम वर्षहरु बिताइसकेको छ । त्यस क्रममा ब्याण्डले २१ जना संगीतकर्मीहरु उसका सदस्यका रुपमा भित्र्याउने र विदा गर्ने काम पनि गरिसकेको छ । उनीहरु सबैको योगदानको प्रतिफल नै आजको नेपथ्य नेपथ्यका नेपालयका निर्देशक अर्पण शर्माले जानकारी गराएका छन् ।

‘यो म्यूजिक भिडियो २५ वर्ष लामो यात्रामा ब्याण्डलाई योगदान दिने तमाम सदस्यहरु प्रति आभार प्रकट गर्ने माध्यम पनि बनेको छ,’ नेपथ्यलाई प्रवद्र्धन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भिडियोमा उनीहरु सबैलाई सम्झने कोशिस गरिएको छ ।’

यो भिडियो नेपथ्यको वर्तमान टोलीले प्रस्तुत गर्दाको प्रत्यक्ष रेकर्डमा आधारित छ । बुटवलमा २०७३ फागुन १४ मा नेपथ्यको कन्सर्टका बेला गाइएको आवाज नै यसमा प्रयोग गरिएको हो । त्यसैगरि दृश्यहरु पनि बुटवलको कालिका स्कुल, काठमाडौंको टुँडिखेल र पोखराको रंगशालामा कन्सर्ट गर्दाका क्षणबाट लिइएको हो ।

‘पहिलो एल्बमका निम्ति खिचिएका तस्बिरहरु हेर्दा म यो गीत रिलिज गर्ने क्षणहरु सम्झन पुग्छु जसले मलाई यो उमेरसम्मको लामो यात्रामा आइपुग्दाका प्रारम्भिक दिनहरुको सम्झना गराउँछ,’ अमृत भन्छन्, ‘त्यतिबेला २५ वर्षे ठिटो अहिले पचास पुग्नै लागेको छु । उमेरसँगै कपाल खरानी रंगमा परिणत हुँदै गएका छन् । यसरी सबैथोक फेरिँदा पनि हामीलाई मनपराइदिने श्रोतादर्शकहरु चाहिँ सदैव उस्तैगरि जहाँको त्यही रहिरहेको, अझ वृद्धि हुँदै गइरहेको देख्दा एक किसिमको अनुगृहित हुन पुगिँदोरहेछ । उहाँहरुको साथ र सहयोग नभइदिएको भए हामीले यति लामो यात्रा तय गर्नै सक्दैन थियौं ।’

नेपथ्यले रजत वर्ष मनाउन सुरु गरेदेखि नै आफ्ना हरेक कन्सर्टहरुमा नबिराइकन यो गीतलाई प्रस्तुतगर्दै आइरहेको छ । त्यसैगरि ब्याण्डले जसै यो गीत गाउन सुरुगर्छ त्यसै क्षण एउटा ठट्टा पनि गरिदिन्छ ।
‘२५ वर्ष बुढो गीत पो हो यो,’ गायक अमृतले भनिदिन्छन्, ‘यो कन्सर्टमा उपस्थित हुनुभएका धेरैलाई हेर्दा तपाइहरु त यो गीत आएको बेलामा जन्मिनु पनि भएको थिएन ।’
अमृतले यसो भनेपछि उपस्थित श्रोता दर्शकहरु माझ हाँसो फैलिनुका साथै आफ्नो प्रिय गीत सुन्नका निम्ति ताली बज्न थालिहाल्छ ।

यो गीत जसरी नयाँ श्रोताहरुको निम्ति नयाँ गीत हो, त्यसैगरि अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम । कन्सर्टहरुमा चालिस आसपासका श्रोता, मुख्यतः महिला श्रोताहरु प्रायः गायकसँगै साथमा साथ मिलाएर गाइरहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको