November 28, 2018

नेतापुत्रहरूको ‘बिचौलिया’ धन्दा

 

मंसिर ११, काठमाडौं– एक दशक लामो गृहयुद्धको पीडा, ७ दशमलव ८ रेक्टर स्केलको महाभूकम्पको झड्का अनि भारतले लगाएको महिनौँ लामो नाकाबन्दीको कहरबाट उठेर बामे सर्दै गरेको हाम्रो मुलुकमा अहिले बिचौलियाहरूको बिगबिगी नै छ । देशको राजधानी काठमाडौंका गल्लीहरूमा चियाको चुस्कीसँग रमाउनेहरूदेखि तारे होटलको ह्विस्कीमा रम्नेसम्मले भन्छन्, ‘मुलुक भ्रष्टाचारी र बिचौलियाले खोक्रो बनाए ।’

किसानले मिहिनेत गरेर उत्पादन गरेको सागसब्जीमा समेत बिचौलियाकै आँखा लाग्ने हाम्रो मुलुकमा ठूला–ठूला सेटिङहरू राज्यसंयन्त्रमा रहेका शक्तिशालीहरूकै आडमा हुने गरेको उदाहरण प्रशस्त पाइन्छ ।

त्यस्तोमा पछिल्लो समय शक्तिशाली नेताका छोराहरूलाई प्रयोग गरेर बिचौलियाहरूले आफ्नो स्वार्थपूर्ति गर्ने गरेका छन् । अथक प्रयत्नले नेपाली राजनीतिको उच्च तहमा स्थापित भई इमानदार छवि बनाइसकेका कतिपय नेताका छोराछोरीहरू पनि तस्कर र दलालहरूको सङ्गतमा लागेर त्यस्ता  बिचौलिया धन्दा चलाउन थालेपछि त्यसको असर राज्य संयन्त्रमा समेत परेको पाइन्छ । कतिपय शक्तिशाली नेताका छोराहरू त्यस्ता तत्वको प्रभावमा परेर दबाब दिन आउँदा आफूहरू पटक पटक अप्ठ्यारोमा पर्ने गरेको गृह मन्त्रालयका एक उच्च पदस्थ कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा रातोपाटीलाई बताए ।

को–को हुन् त त्यस्ता शक्तिशाली बाबुका ‘बिचौलिया’ धन्दामा लागेका सन्तान, जसले आआफ्ना बाबुहरूले त्याग गरेर आर्जन गरेको शक्तिलाई दुरुपयोग गरिरहेका छन् ? पञ्चायतकालका राजाका भाइभतिजाहरूको अनि बहुदलीय कालमै पनि गिरिजापुत्री सुजाताको चर्चिकलाहरू बिर्साउने गरी देखापरेका त्यस्ता ‘बिचौलिया’हरूका बारेमा रातोपाटीले खोजतलास गर्दा गृहमन्त्री रामबहादुर थापादेखि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को छोरासम्मले पनि आआफ्नो बाबुको पद–प्रतिष्ठाको शक्ति दुरुपयोग गरेको भेटिएको छ ।

भीएलएन र बायोमेट्रिकको काम लिन दिपेश पुनको दौडधुप

उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छो छोरा हुन् दिपेश पुन । अखिल (क्रान्तिकारी)का उपाध्यक्षसमेत रहेका दिपेशको उठबस राजनीतिभन्दा बाहिरका मान्छेसँग हुन थालेपछि उनी पछिल्लो समय विवादित बन्दै गएका छन् ।

मलेसिया जाने कामदारको पासपोर्ट सङ्कलन गरेर भिसा लगाउने संस्था भीएलएन र स्वास्थ्य परीक्षण गर्ने संस्था बायोमेट्रिकको काम अर्को ‘बिचौलिया’ समूहलाई दिलाउनका लागि दिपेश अहिले सक्रिय भएका छन् । ती दुई संस्थाले गैह्रकानुनी काम गरेको भन्दै श्रम मन्त्रालयको आग्रहमा प्रहरीले त्यसका सञ्चालकहरूलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

भीएलएनका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले ठगी अभियोगमा पक्राउ गरेपछि श्रम मन्त्रालयले मलेसियामा श्रमिक पठाउन रोक लगाएको छ ।

केही समयअघि दिपेश मलेसिया गएका थिए । उनले मलेसियाका सरकारी अधिकारीहरूलाई भेटेर ‘भिएलएन’ र ‘बायोमेट्रिक’को काम आफूलाई दिन आग्रह गरेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिएका छन् ।

यसरी श्रम मन्त्रालय र प्रहरीले अवैध भनेको काम फेरि अर्को समूहलाई दिलाउन लागिपरेका दिपेशले पछिल्लो समय मलेसिया जाँदा बङ्गलादेशी मूलका हनिफलाई नेपाल लिएर आएका थिए । 

मलेसियन श्रम बजारमा ‘दलाल’ भनेर चिनिएका हनिफलाई बौद्धस्थित होटल हायातमा राखेर उनले माउन्टेन फ्लाइटसमेत गराएका थिए ।


मलेशियन श्रम बजारमा ‘दलाल’ भनेर चिनिएका हनिफ (पहेँलो ज्याकटमा) सँगै दिपेश पुन । 
 

प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा राम श्रेष्ठले १ अर्ब ८३ करोड बराबरको कारोबार गरेको देखिएको थियो । त्यही ठगी बिजनेस अहिले अर्को ‘बिचौलिया’ समूहले हात लगाउन खोजेको छ, जसमा दिपेशले तत्कालीन माओवादीतर्फ मिलाउने जिम्मा लिएको श्रम मन्त्रालयका एक उच्च पदस्थ अधिकारीले बताए ।
 
मन्त्रालयका ती उच्च अधिकारीका अनुसार श्रममन्त्री गोकर्ण विष्टको सचिवालयमा कार्यरत आयुष विष्ट, बालुवाटार बस्ने पूजा चन्द ठकुरी र मेनपावर व्यवसायी रघु पुरी मिलेर भीएलएन र बायोमेट्रिकको उक्त काम हात पार्न खोजेका हुन् ।

कात्तिकको अन्तिम साता मलेसियाको राजखलकका एक सदस्य नेपाल आएका थिए । ती राजकुमारले अन्नपूर्ण बेस क्याममा पुगेर आफ्नो ‘बर्थ डे’ मनाएका थिए । काठमाडौँ फर्केपछि ती राजकुमारले एक रेस्टुरेन्टमा नाचगानसहितको पार्टी गरेका थिए । उक्त पार्टीमा पुगेका दिपेशले भीएलएन र बायोमेट्रिकको काम आफूलाई दिलाइदिन ती राजकुमारसँग आग्रह गरेका थिए । 

सरकारले अवैध भनेर कारवाहीसमेत गरेको ब्यवसाय फेरि किन उल्ट्याउन चलखेल गरेको भनी सोध्न दिपेशलाई ९८५१२***** नम्बरमा पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
 
त्यसो त ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापको अवैध बालुवाखानीमा दिपेशले लगानी गरेको कुरा २०७४ सालमा नै सार्वजनिक भएको थियो । डुकुछापको ‘साइनिङ बालुवा वासिङ सेन्टर’को ब्यानरमा सोही स्थानमा अवैध क्रसर सञ्चालन भइरहेको तर त्यस क्रसर उद्योगमा दिपेशको संलग्नता रहेकै कारण हालसम्म पनि ललितपुर प्रहरी र स्थानीय निकायले नियमन गर्ने आँट गरेका छैनन् ।

आफ्ना बाबुको पदीय मर्यादाको दुरुपयोग गर्दै दिपेशले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हुने सरुवा–बढुवामा चलखेल गर्ने गरेका छन् । प्रहरीको सरुवा बढुवामा उनले गृहमन्त्रीका पुत्र प्रतीक थापामार्फत चलखेल गर्ने गरेको गृह मन्त्रालयका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

स्रोतका अनुसार त्यस्ता कार्यका लागि दिपेशले उपराष्ट्रपति कार्यालयको टेलिफोनलगायतका साधन स्रोतको दुरुपयोग गर्छन् ।

कहिले बाढी प्रभावित त कहिले राउटे बस्तीमा पुगेर ‘सेलिब्रेटी’ बन्न खोज्ने दिपेशले दरबारमार्ग र ठमेलको रात्री व्यवसायमा समेत लगानी गरेका दरबारमार्गका एक रात्री व्यवसायी बताउँछन् ।

दिपेशको अस्वाभाविक जीवनशैलीबारे टिप्पणी गर्दै अखिल (क्रान्तिकारीका)  एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी बीचमा कहिलेकाहीँ छलफल हुन्छ, दिपेश व्यवसायी हुन् कि विद्यार्थी नेता भनेर, उनको जीवनशैली विगतका राजकुमारहरूको जस्तै विलासी खालको छ ।’

राजनीतिभन्दा यस्ता खाले ‘सेटिङ’को धन्दाको चलखेलमा व्यस्त हुन थालेपछि अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले दिपेशलाई सङ्गठनबाट राजीनामा गर्न पटक–पटक भनेका छन् ।

क्रमश…

रातोपाटीबाट साभार गरिएको 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी