नयाँ कानुनमा यी ६ अपराध गरेकोमा बाचुञ्जेल कैद

साउन ३०

 
Nepal Live

काठमाडौं– जंगबहादुर राणाले १ सय ६५ वर्षअघि मुलुकमा लिखित कानुन निर्माण गरी त्यसका आधारमा शासन गर्ने पद्धतिसमेत बसाएका थिए।  युरोप फर्केलगत्तै वि.स. १९१० मा प्रचलित धर्म–परम्परा, सनद–सवाल, प्रथा आदिमा आधारित मुलुकको पहिलो संहिताबद्ध कानुन जारी गरेका थिए। जसलाई ‘मुलुकी ऐन’ भनियो।

अबको केही दिनपछि लागू हुने गरी सरकारले उक्त ऐनलाई विस्थापन गर्दै मुलुकी संहिताको नाममा नयाँ ऐन ल्याएको छ। सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएका पाँच विधेयक पारित भई कानुनी स्वरुप पाइसकेका छन्।

        अघिल्लो शृ‌खलाः मुलुकी ऐनदेखि मुलुकी संहितासम्मकोसय ६५ वर्षे यात्रा (शृंखला)

नयाँ ऐनमा रहेका केही व्यवस्थाहरुलाई नेपाल लाइभले केलाउने प्रयास गरेको छ।

अपुताली हकः  पुस्ता घटाइयो, अघिल्लो पछिल्लो दुवैतर्फ जानसक्ने  
संहिताले अपुतालीसम्बन्धी हालको व्यवस्था परिमार्जन गरेको छ। हाल सात पुस्तासम्म रहेको अपुताली दाबीसम्बन्धी व्यवस्था अब तीन पुस्तामा झारिएको छ। छोरा–छोरी दुवैको तीन पुस्तासम्म अब अपुताली हकदाबी कायम रहने छ। तीन पुस्तासम्म पनि हक पुग्ने व्यक्ति नभए सम्पत्ति राज्यको हुने व्यवस्था नयाँ संहिताले गरेको छ। सामान्यतया अपुताली पछिल्लो पुस्तामा सर्ने भए पनि संहिताले अघिल्लो पुस्तामा सर्ने व्यवस्था पनि गरेको छ। अर्थात् छोराछोरीको कुनै सम्पत्तिको हक अब बाबु–आमामा पनि जानेछ।

पारिवारिक कानुनः विवाह योग्य उमेर बढाइयो
संहिताले पारिवारिक कानुनका केही नवीनतम पक्षहरू समेटेको छ। हालको पारिवारिक कानुनमा विवाह गर्ने उमेर १८ वर्षलाई २० वर्ष पुर्‍याइएको छ।  यस्तै, सम्बन्ध विच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्था गरिएको छ। अब उप्रान्त पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नसक्ने छन्। 

नागरिकको नयाँ परिभाषाः अक्षम, अर्धसक्षम र सक्षम
१८ वर्ष उमेर नपुगेका व्यक्तिलाई नाबालक, १० वर्ष मुनिकालाई अक्षम, १०–१८ अर्धसक्षम र १८ वर्षमाथिकालाई सक्षम नागरिक भनेर परिभाषित गरिएको छ। संरक्षक र बाबु–आमाको सम्बन्धमा नयाँ परिभाषा गरिएको छ। यसले गर्दा सरकारले कुनै विशेष परियोजना वा योजनाहरु निर्माण र लागू गर्न सहज हुने छ। लक्षित वर्ग समक्ष योजना तथा विकास रणनीति लागू गर्न अब सहज हुने छ।

जन्मकैदः अमानवीय अपराधमा जीवन रहेसम्म 
संहितामा क्रुर यातना दिई ज्यान मारेमा, वायुयान अपहरण गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक राखी ज्यान मारेमा, पेय पदार्थमा बिष हाली मारेमा, कुनै पनि जातिको नास गर्ने उद्देश्यका साथ हत्या (जेनोसाइड) गर्ने कसुर गरेमा र जबरजस्तीकरणी गरेमा जन्मकैद अर्थात जिवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था गरिएको छ। यी बाहेकका कैदहरुमा मात्र जन्मकैद भनेको २५ वर्ष हुने संहितामा उल्लेख छ। 

अन्य देशमा गरेका अपराधमा पनि सजाय गर्न सकिने
संहिताले यसअघि भन्दा फरक व्यवस्था गर्दै अन्य जुनसुकै देशमा कारबाही गरे पनि सजायको भागीदार नेपालमा बनाउन सक्ने व्यवस्था गरेको छ। अपराध संहितामा अन्य देशमा गरेका अपराधमा पनि नेपालीलाई कारबाही गर्न सकिने व्यवस्था छ। यो व्यवस्थाले गर्दा विदेशमा भएको कसुरमा पनि नेपालमा कारबाही गर्न सकिने छ। यो व्यवस्था नेपाली नागरिकका हकमा लागू हुने छ। चोरी, लुटपाट, ज्यान लिने उद्योग, अंगभंग, जबरजस्ती करणी, हाडानाता करणी, डाँका र सम्पत्ति कब्जा लगायतका काम गरेमा नेपालमा कारबाही गर्न सकिने बहुक्षेत्रिय अधिकार प्रयोगको व्यवस्था संहिताले गरेको छ। 

बेपत्ता पार्ने कार्यलाई पनि अपराधको मान्यता
नयाँ संहिताले व्यक्ति बेपत्ता पार्ने कार्यलाई अपराधका रूपमा परिभाषित गरेको छ। बेपत्ता पार्ने कार्यमा संलग्न हुनेलाई अधिकतम ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना गर्ने संहितामा उल्लेख छ। यसअघि व्यक्ति बेपत्ता पार्ने कार्यका बारेमा ठोस कानुन निर्माण हुन सकेको थिएन। बेपत्ता भएको व्यक्तिको सम्पति उसको हकवालाले प्राप्त गर्न पनि अब सहज भएको छ। पुरानो मुलुकी ऐनमा व्यक्ति बेपत्ता भएमा उसको परिवारले सम्पत्ति पाउन १२ वर्षसम्म कुर्नुपर्ने अवस्था थियो अर्थात् बेपत्ता भएमा मृत्यू भएको मान्न १२ वर्ष कुर्नुपर्थ्यो। अब तत्कालै उजुरी लिई कारबाही अगाडि बढ्ने भएकाले यो समस्या समाधान हुनेछ।

धम्काएर असुल गर्नेलाई पनि सजाय 
संहितामा डर देखाएर, धम्क्याएर असुल गरिने कार्यका लागि अलग्गै सजायको व्यवस्था गरिएको छ। यसैगरी जानाजान विश्वासघात गर्नेहरूलाई पनि सजाय गर्ने प्रावधान राखिएको छ। कैद तथा जरिवानामा नयाँ कानुनमा एकरुपता ल्याइएको छ। १ वर्ष कैद हुने मुद्दामा १० हजार, २ वर्ष हुनेमा २० हजार र ३ वर्ष हुनेमा ३० हजारका दरले वृद्धि गर्ने संहितामा उल्लेख छ। वैज्ञानिक न्याय प्रणालीअन्तर्गत पीडितलाई पीडक पक्षबाट क्षतिपूर्ति भराउने तथा सरकारका तर्फबाट पीडित राहतकोष स्थापना गरिने संहितामा उल्लेख छ। 

मानवता विरुद्धको अपराधहरुको वर्गिकरण 
संहितामा जधन्य तथा मानवताविरुद्धका अपराधहरुलाई वर्गिकरण गरी सजाय हुने उल्लेख छ। बलात्कार, हत्या, मानव बेचबिखन जस्ता मानवताविरुद्धका अपराधको वर्गीकरण गरी सजायमा छुट नदिइने व्यवस्था संहितामा गरिएको छ।

मानवता विरुद्धको अपराधमा जन्मकैदको सीमा वृद्धि गर्दै जीवनभर थुनामा रहने व्यवस्था गरिएको छ। कैदमा वैकल्पिक व्यवस्था लागू गर्नुपर्ने, मुद्दाको हदम्याद र क्षेत्राधिकारसम्बन्धी विवाद सुरु अदालतबाटै किनारा गर्नुपर्ने लगायतका नयाँ व्यवस्था पनि संहितामा छ।

कैदको सट्टा सामुदायिक सेवा 
कुनै पनि अभियोगमा दोषी ठहर भई अदालतबाट सजाय पाएको अभियुक्तले कैद तथा जरिवानाको सट्टा नयाँ सजाय पनि रोज्न सकिने व्यवस्था संहितामा उल्लेख छ। फौजदारी संहितामा कैदको सट्टा सामुदायिक सेवा गर्न सकिने प्रावधान राखिएको छ। संहिताको परिच्छेद ५ को सजाय तथा अन्तरिम क्षतिपूर्ति सम्बन्धी व्यवस्थाको सजायका प्रकारमा यसलाई राखिएको छ। संहिताको प्रस्ताव अनुसार जुनसुकै अभियोगमा दोषी प्रमाणित भए पनि अभियुक्तले चाहेमा समाज सेवा गर्न पाउने छ। त्यस बापत उसको सजाय कम हुँदै जाने छ।

कानुनको अनविज्ञता क्षम्य नहुने
कानुनको जानकारी नभएका कारण भएको अपराधमा माफी नपाउने कानुनको सिद्धान्तलाई संहितमा पनि निरन्तरता दिइएको छ। तर तथ्यको भ्रम परी गरेको काम भने कसुर नहुने संहितामा उल्लेख छ। तथ्यको भ्रममा परी कानुन बमोजिम गर्नुपर्ने मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसुर नमानिने संहितामा उल्लेख छ। एकै व्यक्तिलाई एउटै अभियोगमा एक पटकभन्दा बढी मुद्दा नचलाइने पनि संहितामा उल्लेख छ।

सवारी चलाएर लापरबाह गरे १० वर्षसम्म कैद 
लापरवाही रुपमा सवारी चलाएर दुर्घटना भई यात्रु वा अन्य व्यक्तिको ज्यान गए पनि कानुनी व्यवस्थाको फाइदा उठाएर धरौटीमा छुट्दै आएका सवारी चालकले अव उन्मुक्ति नपाउने भएका छन्। 

मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ नम्बर अनुसार २ वर्षसम्म मात्र कैद सजाय हुने अपराध भएमा धरौटी राखी रिहा हुन सकिने कानुनी व्यवस्थाको फाइदा लिदै धेरै चालक उम्कदै आएका थिए। तर नयाँ मुलुकी संहिताले सवारी दुर्घटनाको अपराधलाई गम्भीर रुपमा लिँदै धरौटीमा छुट्न बन्देज लगाउने व्यवस्था राखेको छ। कसैले लापरबाही गरी सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमको सवारी दुर्घटना भई सवारीमा रहेको तथा बाहिर जुन सुकै स्थानमा बसेको भए पनि एकासी दिनभित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था संहिताले गरेको छ। 

आमाको थर पनि राख्न पाइने 
मुलुकी संहिताले आमा र बाबु दुवैको थर लेख्ने पाउने नयाँ व्यवस्था गरेको छ। बालबालिका सम्बन्धी ऐन २०४८ को व्यवस्थालाई संशोधन गर्दै बालबालिकाले आमाको थर राख्ने चाहेमा राख्न पाउने व्यवस्था संहितामा गरिएको छ। पिताको ठेगान नलागेको व्यक्तिले पनि आमाको थर राख्न पाउने र उक्त आधारमा विद्यालय भर्ना, जन्म दर्ता र नागरिकता प्राप्त गर्ने प्रक्रिया शुरु गर्न पाउने छन्। 

६ महिनामा बच्चा जन्मे पनि स्वीकार गर्नुपर्ने 
सामान्यतया विवाह भएको ९ महिनापछि बच्चा जन्मने चक्र रहेको हुन्छ। ९ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा रहेको छ। तर मुलुकी संहिताले विवाह भएको मितिले एक सय असी दिन पछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मान्यता दिएको छ।

पतिको मृत्यू भएका वा वैवाहिक सम्बन्ध अन्त्य भएमा उक्त मितिबाट २ सय ७५ दिनभित्र अर्थात ९ महिनासम्म जन्मेको बच्चा पनि पूर्व पतिकै हुने संहितामा उल्लेख छ।

विवाह गर्ने तथा कुनै प्राकृतिक वा अन्य प्राविधिक कारण छिटो बच्चा जन्मेमा स्वीकार नगर्ने चलन अन्त्य गर्न यस्तो व्यवस्था गरिएको हो। विधायन समितिका तत्कालीन सदस्य रेवतीरमण भण्डारीले सम्बन्ध विच्छेद भए पनि उसको गर्भबाट ६ देखि ९ महिनासम्ममा बच्चा जन्मने सम्भावना हुने तर पतिले स्वीकार नगरेको देखिएकाले यस्तो व्यवस्था गरिएको बताए।

नाप तौलमा गडबड गरे तीन वर्ष कैद 
नाप तौलमा घटिबढि हुने गरी वा त्रुटीपूर्ण नाप तौल गरी ठगी गरेमा धरौटीमा उन्मुक्ति नपाउने व्यवस्था संहितामा राखिएको छ। यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना हुने संहितामा उल्लेख छ। नापतौल ऐनको विद्यमान व्यवस्थालाई संशोधन गरी संहितामा यस्तो व्यवस्था राखिएको हो। पुरानो ऐनको व्यवस्थामा २ वर्षसम्म अधिकतम भनिएकाले ठगी गर्नेहरु धरौटीमा छुट्दै आएका थिए। तर अब धरौटीमा सहज रुपमा छुट्न नपाउने गरी यस्तो व्यवस्था गरिएको हो। 

राहदानी दुरुपयोगमा कडा सजाय
संहिताले राहदानी दुरुपयोग गर्नेलाई कडा सजाय गर्ने व्यवस्था गरेको छ। आफ्नो नामको राहदानी अरुलाई प्रयोग गर्न दिएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्न विद्यमान राहदानी ऐन २०२४ लाई संशोधन गरिएको हो। झुट्टा विवरण दिई राहदानी प्राप्त गरेमा र जुन उद्देश्यका लागि दिएको हो त्यस बाहेकमा प्रयोग गरेमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुने संहितामा उल्लेख छ। 

हतियार अन्य व्यक्तिलाई दिँदा अनुमति लिनुपर्ने 
हात हतियार तथा खरखजाना ऐनमा भएको व्यवस्थालाई संशोधन गर्दै कुनै पनि व्यक्तिले कानुनी रुपमा लिएको हतियार भए पनि अरुलाई हस्तान्तरण वा बिक्री गर्नु परेमा सम्बन्धित जिल्ला प्रशासनको स्वीकृती लिनुपर्ने व्यवस्था संहितामा राखिएको छ। यो व्यवस्थाले एउटाको नाममा हतियार लिने र अन्यले नै दुरुपयोग गर्ने कार्यलाई सजाय गरी निरुत्साहित गर्ने छ। 

म्याद नाघेको औषधी बिक्री गरेमा ज्यान मुद्दा
औषधी ऐन २०३५ को कानुनी व्यवस्थालाई संशोधन गर्दै संहिताले म्याद नाघेको औषधी बिक्री गरेमा ज्यान मुद्दा बराबरको सजाय हुने संहितामा उल्लेख छ। 

औषधी ऐनको दफा २ लाई संशोधन गर्दै औषधी मिसावट गरेमा, म्याद नाघेको औषधी बिक्री गरेमा अन्य वस्तुलाई औषधी भनी दिएमा यस्तो सजाय हुने संहितामा उल्लेख छ।

गलत औषधी दिएर ज्यान गएमा ज्यान मारेको सरह, औषधी सेवनका कारण ज्यान मर्न सक्ने खतरा पुगेको वा पुग्ने सम्भावना भएमा ज्यान मार्ने उद्योग गरेको र शरीरको कुनै अंगमा क्षति पुगेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने संहितामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू