चुनावी व्यवस्थापन दुरुस्त : आयोग

 

election-commission_DuY20iE3Yw

असार ११, २०७४- निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण व्यवस्थापन दुरुस्त रहेको बताए । ‘मतपेटिकासहित निर्वाचन सामग्री लिएर मतदान अधिकृतहरू सबै मतदान केन्द्र पुगिसकेका छन्, सुरक्षाकर्मी र अन्य कर्मचारीको उपस्थिति पनि भइसकेको छ,’ उनले भने, ‘हरेक ढंगले तयारी पूरा भइसकेको छ । कुनै प्रकारको समस्या छैन ।’

मतदान केन्द्रमा पुगेका कर्मचारीले मतदाता परिचयपत्र वितरण गरिरहेको पनि उनले जानकारी दिए । परिचयपत्र लिन आएकालाई मतपत्र देखाएर नमुना मतदान अभ्याससमेत गराइएको बताए । ‘कमसे कम मतपत्र बदर होस् भन्नेतर्फ आयोग सतर्क छ, त्यसका लागि मतदानको अघिल्लो दिनसम्म मतदान केन्द्रमा मतदाता शिक्षाका कार्यक्रम राखिएका छन्,’ उनले भने ।  

मतपत्र ठूलो रहेकाले बदरको प्रतिशत बढी देखिएको छ । पहिलो चरणको निर्वाचनमा ११ दशमलव १८ प्रतिशत मत बदर भएको पाइएको छ । दोस्रो चरणको निर्वाचनमा धेरै कम मत बदर हुने आयोगको दाबी छ ।

आयोगले मतदान केन्द्रबाटै १३ गतेसम्म मतदाता परिचयपत्र बाँडिने जनाएको छ । दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् । मौसम विभागले निर्वाचन अवधिमा सामान्य वर्षा मात्रै हुने पूर्वानुमान गरेको आयोगले जनाएको छ । मौसमको प्रतिकूलतालाई हेर्दै त्यसैअनुसार तयारी गर्न निर्देशन पठाइएको यादवले बताए । मतपेटिका छोप्न प्लास्टिक र खुला स्थानमा मतदान केन्द्र रहेका ठाउँमा टेन्टको व्यवस्था गर्न भनिएको उनले उल्लेख गरे । शान्ति सुरक्षा दृष्टिले पनि खासै चुनौती नरहेको प्रमुख यादवले बताए । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबाट कतैकतै अवरोध हुन सक्ने अनुमान गरिएका आधारमा त्यस्ता स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ पारिएको र अवरोध प्रयास सुरक्षाकर्मीले समयमै निस्तेज पार्ने उनले विश्वास व्यक्त गरे ।  

आयोगले सोमबारबाट चुनावी प्रचारमा समेत रोक लगाएको छ । राजनीतिक दल, उम्मेदवार वा समर्थकले कुनै प्रकारको चुनावी प्रचार गर्न नपाउने आयोगले जनाएको छ । प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन हुने दिनभन्दा ४८ घण्टापूर्वबाट मौन अवधि सुरु भएकाले उम्मेदवारको पक्ष वा विपक्षमा मत दिने वा लिने उद्देश्यले कुनै किसिमको प्रचार गर्न नपाउने बताए । स्थानीय तह निर्वाचन, निर्देशिकाको दफा ६९ मा मौन अवधिसम्बन्धी व्यवस्था छ । आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको आयोगले जनाएको छ । 

सहसचिव शर्माले ३५ जिल्लाका ८ हजार ३ सय ६४ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी आइतबार पुगिसकेको र उनीहरूले पनि आचारसंहिता अनुगमन गर्ने बताए । 

मौन अवधिमा सभा, सम्मेलन, घरदैलो सबै प्रकारका गतिविधिमा रोक लगाइएको उनले जानकारी दिए । वेबसाइट वा सामाजिक सञ्जालमार्फत पनि प्रचारप्रसार गर्न नपाइने आयोगले विज्ञप्तिमार्फत जनाएको छ । मौन अवधिमा प्रचार गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख आयुक्त यादवले स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्वाचनको सम्पन्नताका लागि आयोगले विभिन्न मतदान केन्द्रमा सूक्ष्म अनुगमनकर्ता पनि परिचालन गरेको बताए । साथै, प्रत्येक जिल्लामा विशिष्ट श्रेणी (सचिव, सहसचिव) स्तरका एकएक जना कर्मचारीलाई निर्वाचनको सम्पूर्ण पक्षको अनुगमनका लागि परिचालन गरिएको उनले जानकारी दिए । 

दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदै छ । यसअघि वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन भएको थियो । प्रदेश नम्बर २ का ८ जिल्लाको स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा