गुनबहादुर दम्पतीको पहिलो काठमाडौं यात्रा !

१० भदौ, काठमाडौं । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल-३ मा शुक्रबार बिहान थोरै आत्तिएको मुद्रामा एक दम्पती फेला परे । उनीहरु काठमाडौं जाने इण्डिगो एयरको विमानसम्म चढ्ने उपायको खोजी गर्दै थिए ।

dav

 

काँधे झोला भिरेका, हातमा कालो रंगको सानो नोकिया मोबाइल बोकेका उनी रहेछन्- गुल्मीका ५९ वषर्ीय गुनबहादुर कुँवर । आफूभन्दा एक वर्ष कान्छी जीवनसंगीनीका साथ गुनबहादुर जीवनमा पहिलोचोटि दिल्लीबाट काठमाडौं उड्न लागेका रहेछन् ।

अर्को संयोग, उनीहरुले विमानस्थलमा पाइला टेकेको र हवाइजहाज चढ्ने अवसर पाएको पनि यो नै पहिलो रहेछ । गोरखपुरदेखि दिल्लीसम्मको यात्रा गुनबहादुरले जीवनमा धेरै पटक गरे ।

सबैखाले चेकिङहरु छिचोलेर विमानको ढोका नजिकै पुग्दासम्म उनीहरु बाटो कता होला भन्दै आत्तिन छाडेका थिएनन् । ‘बाटो यतै हो हजुर, अब सुइँ सुइँ हिँड्नुभयो भने स्वात्तै हवाइजहाजभित्रै पसिन्छ ।’ पंक्तिकारले यसो भन्नासाथ गुनबहादुरले स्पष्टीकरण दिए- ‘जिन्दगीमा एकचोटि प्लेन चढौं न त कस्तो हुँदोरहेछ भनेर आएको सर ।’

विमानमा चढिसकेपछि गुनबहादुरकी पत्नी २४ नम्बर सीटको झ्यालतिर बसिन् । गुनबहादुर छेउमा बसे । उनीहरु बारम्बार झ्यातिर हेर्थे । गुनबहादुर पत्नी अन्य विमानतर्फ देखाउँदै भन्थिन्, ऊ त्यहाँ अर्को पनि हवाइजहाज रहेछ । ऊ त्यहाँ अर्को !

यस्तो लाग्थ्यो- दुई वालवालिका विमानमा पहिलोपटक चढेका छन् र रमाइरहेका छन् । आखिर खुशीले उमेर भन्दोरहेनछ !

जीवनको उत्तरार्धमा विमान चढ्ने ज्येष्ठ नागरिकहरु नेपालमा प्रशस्तै छन् । उनीहरु विमानमा चढ्दा जसरी पुलकित हुन्छन्, गुृनबहादुर दम्पतीले पनि त्यस्तै अनुभूति गरिरहेको देखिन्थ्यो ।

गुनबहादुरले गोजीबाट उनी कालो नोकिया निकाले । भने- सर यसबाट सेल्फी कसरी खिच्ने होला ?

किन सेल्फी ? मै खिचिदिन्छु तपाईहरुको दुबैजनाको फोटो !

फोटो खिचेर पनि गुनबहादुरलाई चित्त बुझेन । उनले अर्को प्राविधिक प्रस्ताव तेर्स्याए – सर, यसबाट एउटा भिडियो पनि खिच्नुपर्‍यो, बाहिर देखिने पिलेनको ।

गुनबहादुरका साथमा निकै पुरानो भर्सनको मोबाइल थियो । आखिर उनी आफू पनि पुरानै भर्सन -पुस्ता) का प्रौढ मानिस थिए । तथापि उनलाई सेल्फी खिच्ने रहर जाग्यो । भिडियो खिच्ने रहर पलायो । समयले ल्याएको परिवर्तनलाई उनले भरमग्दुर उपभोग गर्ने जमर्को गरे । यसमा उनको कुनै दोष थिएन ।

यद्यपि उनको ईच्छालाई पुरानो भर्सनको मोबाइलले साथ दिएन । त्यहीबेला विमान परिचारिकाले सूचना सुनाइन्- मोबाइल लगायतका डिभाइस प्रयोग नगर्नुहोला ।

भारतमै गुज्रिएको नेपाली जिन्दगी !

आजभन्दा ५८ वर्ष पहिले गुल्मीमा जन्मेका गुनबहादुरले शिक्षादीक्षा लिने खासै वातावरण पाएनन् । त्यसपछि उनी १६ वर्षको उमेरमा कामको खोजीमा भारततिर छिरे । ४२ वर्ष भयो, उनले आफ्नो जिन्दगीको उर्बर समय भारतमै गुजारे । छोराछोरी जन्मिएर विहाबारी भइसक्यो, तैपनि गुनबहादुरको बसाई भारतमै छ ।

‘गुल्मीको गाउँमा अहिले कोही पनि बस्दैन, गाउँ उजाड छ । हाम्रो घर अलि दुर्गममा पर्छ,’ गुनबहादुरले सुनाए, ‘एउटा छोरो सुनौलीमा बस्छ, यसो भारु साट्ने ओर्ने व्यवसाय गरेको छ, हामी काठमाडौंबाट उतै जाने हो ।’

दिल्लीमा गुनबहादुरले धेरै वर्षसम्म एउटा प्राइभेट कम्पनीमा जागिर गरे । अधिकांश नेपालीहरुले सेक्युरिटी गार्डमा काम गर्ने भए पनि उनले चाहिँ कम्पनीभित्र अन्य काम गरे ।

भारतमा कतिपय प्राइभेट कम्पनीले मजदुरहरुलाई अवकाशपछि पेन्सन दिने गरेका छन् । गुनबहादुर भन्छन्- ‘तर, पेन्सन ज्यादै थोरै हुन्छ, मैले पनि कामबाट अवकाश लिइसकेको छु ।’

गुनबहादुर बंशजका आधारमा नेपाली नागरिक हुन् । यसको प्रमाण उनले गोजीमा बोकेको नेपाली नागरिकताको प्रमाणपत्रले बकाइदा दिइरहेको थियो । तर, उनको गोजीमा अर्को पनि कार्ड थियो- भारत सरकारले दिएको आधार कार्ड ।

आधार कार्ड र पेन्सनको टेन्सन

नेपालबाट भारत पुगेर गुनबहादुरले जसरी नै रोजगारी गर्ने कतिपय मजदुरहरुको पेन्सन यति थोरै हुन्छ कि वर्ष दिनमा त्यो लिनका लागि दिल्ली जाने हो भने बाटोखर्च पनि पुग्दैन ।

पेन्सनका लागि सशरीर भारतमै उपस्थित हुनुपर्ने बाध्यताले उनीहरु मर्कामा पर्दै आएका छन् । त्यस्तो पेन्सन बैंकमा जम्मा गरिदिने वा नेपालबाटै लिने व्यवस्था गरिदिनुपर्ने प्रवासी नेपालीहरुले माग गर्दै आए पनि सुनुवाइ भएको छैन ।

दिल्ली लगायतका भारतका अधिकांश शहरमा नेपालीहरुले बैंक खाता खोल्ने सुविधा पाएका छैनन् । तर, सुनौली लगायत सीमानाकामा भने नेपाली नागरिकताका आधारमा समेत भारतीय बैंकमा खाता खोल्न पाइने गरेको प्रवासी नेपाली संगठनका नेताहरुको भनाइ छ ।

पछिल्लो समयमा मोदी सरकारले लागू गरेको आधार कार्डले भने नेपालीलाई केही सजिलो भएको गुनबहादुरको बुझाइ छ । उनले पनि भारत सरकारको आधार कार्ड लिएका रहेछन् ।

गुनबहादुरलाई अहिलेसम्म यो राज्यले एउटा नागरिकता बाहेक केही पनि दिएको छैन । वाल्यकालमा राज्यले दिनुपर्ने शिक्षा उनले पाएनन् । १६ वर्षमै उनी भारततिर लागे

भारतमा पाइने सुविधा उपयोग गर्नका लागि यो आधार कार्ड झण्डै -झण्डै ग्रीनकार्ड वा पीआर भनेजस्तै बन्न पुगेको छ नेपालीका लागि । तर, गुनबहादुरले आधार कार्डबाट सजिलो भएको छ भनिरहेकै अघिल्लो दिन भारतको सर्वोच्च अदालतले गोपनीयतासम्बन्धी एउटा फैसला सुनाउँदै आधार कार्डमाथि नै प्रश्न उठाइदिएको छ ।

गुनबहादुरको ब्राण्डको राष्ट्रवाद !

काठमाडौं ओर्लिएपछि गुनबहादुरले गोजीबाट फेरि नोकिया फोन निकाले । र, भर्खरै बिवाह गरेको जोडीले नवदुलहीको फोटो खिचेजसरी पत्नीको तस्वीर लिने प्रयास गरे । पंक्तिकारले पुनः दुबैको संयुक्त तस्वीर लिइदिँदा उनी खुशी देखिए ।

हातमा नेपाली नागरिता र भारतीय आधार कार्ड बोकेका गुनबहादुरले इमिग्रेसन फारम बुझाउने ठाउँ नजिकै आएपछि सोधे- ‘यहाँ पनि कागजपत्र देखाउनुपर्छ ?’

उनले थपे- ‘आफ्नै देश हो केको डर । सबै हामीजस्तै नेपाली दाजुभाइ त हुन् नि ।’

जीवनमा ६० वर्ष पुग्नै लाग्दा पहिलोचोटि काठमाडौं टेकेका गुनबहादुरभित्रको राष्ट्रवाद एकाएक मुखरित भयो ।

हुनत गुनबहादुरलाई अहिलेसम्म यो राज्यले एउटा नागरिकता बाहेक केही पनि दिएको छैन । वाल्यकालमा राज्यले दिनुपर्ने शिक्षा उनले पाएनन् । १६ वर्षमै उनी भारततिर लागे । अहिले बुढेसकालमा उनलाई भारतले पेन्सन दिँदैछ ।

जीवनका ४२ बसन्तहरु उनले भारतमै बिताए । तैपनि उनले दिल्लीलाई भन्दा काठमाडौंलाई नै आफ्नो महसुस गरिरहेका छन् । राज्यले गुनबहादुरमाथि खासै गुन नलगाए पनि गुनबहादुरले चाँहि राज्यसँग कुनै गुनासो पोखेको देखिएन ।

गुनबहादुरहरूलार्इ यसरी भारतका गल्लीमा जीवनको उर्बर समय गुजार्न लगाउनुको साटो आफ्नै देशमा पसिना पोख्ने वातावरण बनाउन सकिँदैन ? यसबारे न दिल्लीमा बहस हुन्छ, न काठमाडौंमा

गुनबहादुर जतिखेर दिल्लीबाट काठमाडौं आइरहेका थिए, नेपालका प्रंधानमन्त्री शेरबहादुर देउवाको टोली दिल्लीमै राजकीय सम्मान खाइरहेको थियो । त्यहाँ नेपाल र भारतका सम्बन्धका आयामहरुबारे चर्चा चलिरहेका थिए । तर, के गुल्मीका गुनबहादुरहरुलाई १६ वर्षको उमेरमा दिल्ली जानुको साटो काठमाडौं तान्न सकिँदैन ? के गुनबहादुरहरुलाई भारतका गल्लीमा जीवनको उर्बर समय गुजार्न लगाउनुको साटो आफ्नै देशमा पसिना पोख्ने वातावरण बनाउन सकिँदैन ? यसबारे न दिल्लीमा बहस हुन्छ, न काठमाडौंमा ।

गुनबहादुरले ५८ वर्षको उमेरमा पहिलोचोटि पाइला टेक्दा आफ्नो सम्झेको काठमाडौंले दूरदराजका नेपालीलाई कहिले आफ्नो ठान्ला ? मध्यपश्चिम निवासी गुनबहादुरका लागि त काठमाडौं ५८ वर्ष टाढा छ भने कणर्ालीका जनताका लागि काठमाडौं कति वर्ष पर होला ? एक जुनी या दुई जुनी ?

गुनबहादुरले आफ्नो देशको राजधानीमा पहिलोचोटि ओर्लिएको भनेर गर्व गरिरहेका बेला इण्डिगो विमानको लिस्नो छेवैमा खडा गरिएको भारतीय चेक पोस्टले गिज्याइरहेको थियो ।

भारतीयहरुले नेपाली विमानस्थलको सुरक्षा जाँचप्रति अविश्वास गर्दै यसरी विमानको लिस्नोमै चेकपोष्ट खडा गर्दै आएका छन् । अन्ततः गुनबहादुर यही पोष्टलाई कुल्चँदै भित्र छिरे । झोला कतिबेला आउला भनेर ब्यागेज कुर्ने ठाउँमा केही बेर आत्तिएका उनी अन्ततः काठमाडौंको अव्यवस्थित हिले सडकतर्फ अघि बढे जिन्दगीको प्रथम यात्रीका रुपमा ।

आफ्नो देशको राजधानीमा प्रवेश गर्दासम्म गुनबहादुरको उमेर ढल्किइसकेको छ । उनको पुस्ता यसैगरी राज्यको डिलडिलबाट यात्रा गरिरहेको छ । यो स्वार्थी मानिसहरु बस्ने काठमाडौं शहरमा गुनबहादुरको जोडीलाई स्वागत छ, ५८ कटेसी !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न