‘कोरोनाभाइरसको अबको केन्द्र भारत बन्न सक्ने , १ महिनामा बढ्छ १० गुणा ’

चैत ५,काठमाडौं : विशेषज्ञहरुले कोरोनाभाइरसको अबको केन्द्र भारत बन्न सक्ने चेतावनी दिएका छन् । उनीहरुले एसियाका अन्य देशमा प्रभावकारी देखिएका सतर्कताका उपायहरु विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा भने प्रभावकारी नहुन सक्ने चेतावनी दिएका हुन् । भारतमा अहिलेसम्म १३७ संक्रमणको पुष्टि भएको छ र ३ जनाको ज्यान गइसकेको छ । भाइरसको प्रकोप बढ्दै गएपछि भारतले सीमा बन्द गर्ने, अन्य देशबाट आउनेहरु सबैको परीक्षण गर्ने र संक्रमण पुष्टि भएकाहरुसँग सम्पर्कमा भएकाहरुलाई समेत खोजी गरी क्वारेन्टाइनमा राख्ने जस्ता प्रयास गरिरहेको छ ।

मंगलबार इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले देशको कोरोनाभाइरस परीक्षण क्षमता दैनिक ५ सय नमूना परीक्षण गर्न सक्नेबाट बढाएर दैनिक ८ हजार नमूना परीक्षण गर्न सक्ने बनाउने घोषणा गरेको छ । काउन्सिलका महानिर्देशक बलराम भार्गवले समुदायमा भाइरस फैलिइरहेको कुनै प्रमाण फेला नपरेको बताएका छन् । तर, १ अर्ब ३० करोड जनसंख्या भएको यो देशका केही विज्ञहरु भने अहिलेसम्म भइरहेका प्रयास भाइरस फैलिनबाट रोक्न पर्याप्त नभएको बताउँछन् । उनीहरुले संक्रमण फैलिन नदिने उच्च जनघनत्व भएका शहरमा वाइस्प्रेड टेस्टिङ र सामाजिक रुपमा दूरी बढाउनु आवश्यक रहेको बताएका छन् ।

भारतमा अहिलेसम्म संक्रमणको वृद्धिदर ढिलो छ तर यो दर अप्रिल १५ सम्ममा बढेर १० गुणा उच्च हुने डा. टी ज्याकब जोनले बताएका छन् । भारतको इण्डियन काउन्सिल फर मेडिकल रिसर्च सेन्टरको एड्भान्स्ड रिसर्च इन भाइरोलोजीका पूर्व प्रमुख डा. जोनले चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै भने ‘उनीहरु बुझिरहेका छैनन् यो हिमपहिरो हो ।’ डा. जोन भारत सरकारको पोलियो मुक्त अभियान र भेल्लोरस्थित क्रिस्चियन मेडिकल कलेजको राष्ट्रिय एचआइभी एड्स रेफरेन्स सेन्टरका सल्लाहकार समेत रहिसकेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले भाइरस संक्रमण फैलिन नदिन आफ्नो क्षमताले भ्याएसम्म गरिरहेको बताएका छन् । भारतको मुख्य चिन्ताको क्षेत्र महाराष्ट्र हो जो भारतको सबैभन्दा धेरै शहरीकरण भएको राज्य हो । भारतको आर्थिक राजधानी मुम्बइ रहेको यो राज्य स्टक एक्सचेन्जको पनि बेन्चमार्क हो । यहीँ सबैभन्दा धेरै संक्रमण फैलिएको छ । महाराष्ट्रमा मात्र ३९ संक्रमित भेटिएका छन् । महाराष्ट्र सरकारले सोमबार यहाँका शहरहरुलाई ‘भर्चुअल लकडाउन’को घोषणा गरेको छ । यहाँका सबै सार्वजनिक स्थल बन्द गरिएका छन्, विश्वविद्यालयको परीक्षा स्थगित गरिएको छ र सबै सरकारी तथा निजी कम्पनीका कर्मचारीमध्ये आधालाई घरबाटै काम गर्न भनिएको छ ।

‘अहिले महाराष्ट्र दोस्रो चरणमा छ’ महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले भने ‘तर यदि हामीले संक्रमण फैलिनबाट घटाउन वा रोक्न सकेनौं भने हामी तेस्रो स्टेजमा चिप्लिनेछौं । हामीले कुनै हालतमा यसलाई रोक्नुपर्छ ।’ यसबाहेक भारतको अर्को चुनौती बाक्लो जनघनत्व हो । यहाँ प्रति वर्ग किलोमिटर ४२० को दरले मानिसहरु बस्छन् । यो चीनको १४८ जना प्रति वर्ग किलोमिटरको तुलनामा निकै बाक्लो हो ।

भारतको जनसंख्याले यहाँ भाइरस संक्रमणको परीक्षण द्रुत गतिमा गर्नु निकै कठिन भएको डा. के श्रीनाथ रेड्डी बताउँछन् । हार्वर्ड विश्वविद्यालयको टिएच चान स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर र भारतको स्वास्थ्य सम्बन्धी थिंक ट्यांक पब्लिक हेल्थ फाउण्डेशन अफ इण्डियाका अध्यक्ष डा. रेड्डी भन्छन् ‘सामाजिक दूरी बढाउने विषयमा धेरै कुरा भइरहेको छ तर यसले शहरी मध्यम वर्गमा मात्र काम गर्छ । शहरी गरिब र गाउँले जनसंख्यामा यो कठिन छ किनकि उनीहरु साना र कोचिनुपर्ने घरमा बस्छन् र उनीहरु यता ठाउँमा काम गर्न जानुपर्छ जो सामाजिक दूरी बढाउने हिसाबले उपयुक्त छैनन् ।’

भारतले मंगलबार राज्य सरकारले अनुमति दिएका प्रयोगशालाले कोरोनाभाइरसको परीक्षण गर्न सक्ने घोषणा गरेको थियो । तर, सरकारले अझैसम्म आधिकारिक प्रयोगशालाको सूची जारी नगरिसकेको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका प्रवक्ता डा. लोकेश कुमार शर्माले बताए । विश्वभरका १ लाख ८० हजार भन्दा धेरैलाई संक्रमण गरिसकेको र ७ हजारभन्दा धेरैको ज्यान लिइसकेको यो भाइरसले सुरुवातमा ढिलो फैलिँदै एक्कासी महामारीको रुप लिने गरेको छ । यसले मेनल्याण्ड चीनपछि दक्षिण कोरिया र इटलीलाई सबैभन्दा धेरै प्रभावित पारेको छ ।

दक्षिण कोरियामा गत महिना १ हप्तामा भाइरस संक्रमणको दर २ हजार प्रतिशत थियो तर उसले यसलाई धेरै हदसम्म नियन्त्रण गरेको छ । उसले हजारमा सय जनालाई क्लिनिक र ड्राइभ थ्रु स्टेशनमै परीक्षण गरेर संक्रमणको दर कम गरेको थियो । भारतमा ५ हजार २ सयभन्दा बढी सम्भावित केसहरु संक्रमितसँग सम्पर्क भएकाहरुलाई खाज्दै जाँदा भेटिएका छन् र सबैलाई सर्भिलेन्समा राखिएको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने