January 24, 2019

काठमाडौंमै चल्छन् कोठी, बेचिन्छन् रचना र दक्षिणा

 

अप्राकृतिक मैथुनको दबावले खुल्यो खाजाघरभित्रको जबर्जस्ती यौनधन्दा

 

१० माघ, काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो ।

प्रहरी पुग्दा पनि ती महिला चिच्याउँदै थिइन् र उनीमाथि बाँसका भाटा र लाठीले कुटपिट चलिरहेको थियो । कविता खाजाघरको माथिबाट हानेको बाँसको भाटा प्रहरीको टाउकोमा पनि बज्रियो । कुटाइ खाने महिलाको उद्धार गर्न खोज्दा प्रहरीलाई समेत तथानाम मुख छाडिन् ‘खाजा घर’की साहुनीले ।

 

खाजाघरभित्र अर्कै धन्दा !

प्रहरीले कुटाइ खाने महिलालाई उद्धार गरेपछि अर्को कोठाको ढोकाभित्रबाट महिला चिच्याएको आवाज आयो । ढोका खोलेर हेर्दा १४/१५ वर्षकी किशोरी गुहार माग्दै रहिछन् । खाज घरकी साहुनीले यो मेरी छोरी हो भनिन् । तर, उद्धार गरिएका महिलाले ‘ऊ पनि मजस्तै’ काम गराउन राखिएकी बहिनी हो भनेपछि खाजाघरकी साहुनीको धन्दा खुल्यो ।

बाहिरबाट हेर्दा खाजा घर थियो । सटरभित्र तीनवटा टेबुल थिए । तर, पकाउने र खाने भाँडाहरुसमेत थिएनन् । सिसाको ढोका खोलेर माथि चढेपछि चारवटा कोठामा डस्ना र च्यादर ओछ्याइएको थियो । खासमा त्यो खाजाघर होइन, कोठी रहेछ । अनि प्रहरीलाई फोन गरेर बोलाउने र ढोका थुनेर बन्दी बनाइएका महिलालाई ‘जबर्जस्ती’ यौन कर्ममा लगाइएको रहेछ ।

प्रहरीले ३५ वर्षीया दक्षिणा सुवेदी र १५ वर्षीया रचना पुन मगर (दुवै नाम परिवर्तन) लाई राति नै केरकार गरेपछि खुल्यो– उनीहरुलाई खाजा घरकी सञ्चालिका कोठीवाली म्याग्दीकी मनु छन्त्यालले अघोषित रुपमा बन्धक बनाएर यौनकार्यमा लगाएकी रहिछन् ।

त्यस रातका गँजडी ग्राहकले अप्राकृतिक यौन सम्बन्ध राख्न दबाव दिएपछि प्रतिवाद गर्दा विवाद बढेर कुटपिट भएको रहेछ ।

अपाकृतिक यौन दबावले खुलेको रहस्य

त्यस दिन दक्षिणा सुवेदीले दिनभरिमा ३२ जना ग्राहकको चित्त बुझाइसकेकी थिइन् । थाकेर बसेकी उनलाई ‘कोठीवाली’ले दुईजना फुच्चे आएका छन्, आज राति यतै बस्ने भन्छन्, चित्त बुझाउनू भनिन् । अञ्दाजी १४/१५ वर्षका किशोर रक्सी र गाँजाको नशामा थिए । तीमध्ये एक दक्षिणासँग गए भने अर्का रचनासँग सुत्न गए ।

खानपिनसँगै यौनकार्य गरेपछि ती किशोर थप नशा चढ्दै जाँदा पशुवत व्यवहार गर्न थाले । दक्षिणाका अनुसार उनले मुख र गुद्वार मैथुन गर्न दबाव दिए । यस्तो काम त नगर्ने भनेपछि झगडा गर्दै कोठीवालीलाई बोलाएर आपत्ति जनाए । त्यसपछि कोठीवाली आक्रोशमा आएर भुत्ल्याउँदै कुट्न थालिन् ।

दिनभर करीव ३ दर्जन पुरुषको बासनाको शिकार भइसकेकी दक्षिणा निकै कमजोर थिइन् । कोठीवालीले ‘तँ बुढी भालुलाई अब राख्दिनँ, भर्खरका कलेज पढ्ने केटीहरु ल्याउँछु भोलिदेखि । तँ बुढी भालु अहिले नै निस्केर गइहाल्’ भन्दै निर्मम कुट्न थालिन् । अचाक्ली भएपछि मोबाइलबाट १०० नम्बर डायल गर्दै दक्षिणाले पुलिस बोलाइन् । तर, कोठीवालीले पुलिसले केही गर्दैन भन्दै उल्टै उनलाई थुनाउने धम्की दिन थालिन् ।

ज्यानको धम्की, घडेरीको प्रलोभन

म्याग्दीकी मनु छन्त्याल को यो धन्दा धेरै वर्षदेखि गोंगबुको एउटा सटरभित्र चलेकै थियो । उनी भन्ने गर्थिन्, ‘घरबेटीलाई महिनामा ५० हजार र पुलिसलाई ५० हजार दिएकी छु । तिमीहरुले यहाँभित्र यस्तो धन्दा हुन्छ भनेर कसैलाई भन्यौ र पुलिसमा गयौ भने ५० लाख खर्च गरेर भए पनि तिमीहरुलाई मार्दिन्छु । चुपचाप मैले भनेको मानेर ग्राहक खुसी पार्‍यौं भने एकदिन काठमाडौंमा जग्गा किन्ने पैसा दिन्छु ।’

ज्यान मार्ने धम्की र काठमाडौंमा जग्गा किन्ने पैसा पाउने प्रलोभन यिनै दुई कारण थिए दक्षिणा र रचनाहरु खाजाघरभित्र दिनहुँ अस्मिता लुटाउन विवश हुनुमा । त्यहाँ उनीहरुभन्दा अघि र पछि पनि धेरै युवती आए, केही दिन शरीर बेचेर पैसा नपाएपछि बेपत्ता भए । उनीहरु किन प्रहरीमा गएनन् ? सायद ५० लाख दिएर पनि मार्ने धम्कीको डरले नै हो कि ? तर, यसपटक दक्षिणाले जीवनबाटै हारेपछि प्रहरी गुहारिन् ।

विवशताले कोठीमा पुर्‍यायो

जीवनमा धेरै हण्डर ठक्कर खाएर सबै उपाय सकिएपछि सिन्धुलीकी दक्षिणा घरको सरसफाइको काम गर्न भन्दै गोंगबुको त्यो खाजाघरमा पुगेकी थिइन् । ज्यामी काम गर्दा शरीरले साथ नदिएको र डिप्रेसनको औषधी खान तथा छोरी पढाउन पैसा नपुगेपछि कुनै व्यक्तिले दक्षिणालाई त्यहाँ पुर्‍याएका थिए । जेठको पहिलो साता उनलाई त्यहाँ घरेलु श्रमिकका रुपमा लगिएको थियो ।

गएकै दिन साहुनीले गेष्टलाई बियर र स्न्याक्स पुर्‍यायाउन लगाइन् । बियर लिएर कोठामा पुगेकी दक्षिणा फर्किन लाग्दा ग्राहकले समातेर जबर्जस्ती गर्न खोजे । उनी भाग्न खोज्दा ग्राहकले साहुनीलाई बोलाए । साहुनीले ग्राहकले भनेबमोजिम गर्नु भन्दै ढोका थुनिदिइन् । त्यस दिन उनीमाथि जबर्जस्तीकरणी भयो ।

उनले साहुनीसँग यस्तो काम गर्दिनँ भन्दै रोइन् । तर, उनीसँग अरु विकल्प पनि थिएन । वैदेशिक रोजगारीमा गएका श्रीमान १० वर्षदेखि सम्पर्कमा छैनन् । १५ वर्षको छोरो गँजडी बनेर हिँडिसकेको छ । उनले १० वर्षकी छोरीको अनुहार सम्झिइन् । साहुनीले काठमाडौंमा जग्गा किन्ने पैसा केही महिनामै कमाइदिने प्रलोभन पनि दिइन् । सम्झेर ल्याउँदा उनको अगाडि कुनै विकल्प थिएन ।

उनी खाजाघरभित्र अघोषित बन्धक थिइन् । कहिलेकाहिँ छोरीलाई भेट्न पाउँथिन् । छोरी एकजना छिमेकी बहिनीको जिम्मा लगाएर उनी काठमाडौंमा जग्गा किन्ने सपना देख्दै दिनमा कम्तिमा २० देखि ३५ जनासम्म यौन पिपासु ग्राहकहरुको चित्त बुझाउँथिन् । एकजना ग्राहकबाट साहुनीले ५ सय देखि २ हजारसम्म बुझ्थिन् । तर दक्षिणाको हातमा एक पैसा परेन ।

कोठीमा टुक्रियो रचनाको सपना

जेठदेखि माघ पहिलो सातासम्म उनी सय होइन, हजारको संख्यामा ग्राहकको शिकार बनिन् । तर, यो आठ महिनामा जम्माजम्मी करीव ५० हजार रुपैयाँ उनले पाइन् । एकातिर ज्यान मार्ने र छोरी बेपत्ता बनाउने धम्की, अर्कोतिर घडेरीको प्रलोभन, यस्तै चुंगुलमा थिइन् उनी । कतिपय युवती चाहिँ केही दिनमै भाग्थे ।

यसै सिलसिलामा एक महिनाअघि मात्रै १५ वर्षीया रचना खाजाघरमा आइपुगिन् । नुवाकोटकी रचना ८ वर्षको उमेरदेखि काठमाडौंमा आफन्तको घरमा बसेर हुर्किन् । गत वर्ष काठमाडौंकै एक बोर्डिङबाट एसइइ दिएकी रचनाको पढाइ बिग्रिएपछि बेकरीमा काम गर्न थालिन् ।

आफन्तले हेला गर्न थालेपछि एक्लै केही गर्छु भनेर काम खोज्दै हिँडेकी रचनाका सपना अन्ततः खाजाघरको नारकीय कोठीमा पुगेर टुक्रिए ।

उनलाई पनि फूपुकी साथीले घरमा सरसफाइ गर्ने, लुगा धुने र भाँडा माझ्ने काम गर्ने भनेर लगेकी थिइन् । गएकै दिनबाट यौनकार्यमा लगाइयो । ती किशोरीले ‘म यस्तो काम गर्न आएकी होइन’ भन्दै प्रतिवाद गरिन् । तर, साहुनी र उनका भतिजाले ‘नत्र के गर्न आएकी, नखरा पार्छेस् ?’ भन्दै ग्राहकसँग सुत्न दबाव दिए । उनका लागि त्यस्तो काम विल्कुल नयाँ र अनुभव बाहिरको थियो ।

यौन सम्बन्ध भनेको प्रेम र भावनात्मक सम्वन्धमा अन्तिम आनन्द हो भन्ने अनुभव गर्न नपाउँदै उनी अपरिचित बाहुबलीबाट लुटिइन् । उनले पटक–पटक दक्षिणालाई ‘दिदी हामी यहाँबाट भागौं र पुलिसलाई खबर गरौं’ भन्थिन् । तर, दिदीले भन्थिन्, ‘यिनीहरुसँग अरबौं रुपैयाँ छ, पुलिस प्रशासन सबै किनेका छन् । हामीलाई बाँच्न दिँदैनन् ।’

आजको युग, त्यसमा पनि काठमाडौंमै कुनै महिला र बालिकालाई बन्धक बनाएर यौन कार्यमा लगाइन्छ भन्ने कुरा धेरैले नपत्याउन सक्छन् । तर दक्षिणा र रचनाका दुःखका पत्रहरु पल्टाउने हो भने हाम्रो समाज कुन हदसम्म अपराधको आहालमा डुबिरहेको छ भन्ने पत्याउन बाध्य भइन्छ । दक्षिणा र रचनाहरु अरु त सयौं होइन, हजारौंको संख्यामा ठूला शहरमा बेचिइरहेका छन् ।

प्रहरीले दक्षिणा र रचनाको उद्धार गरी शक्ति समूहको जिम्मा लगाएको छ । उद्धारपछि बेसहारा बनेका उनीहरुको जिबिकोपार्जनका आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले बताइन् । १५ वर्ष मुनिकी बालिका भएकाले रचनाको सन्दर्भमा सुरक्षित आवासमै राखेर उनको उच्च शिक्षाका लागि सहयोग गर्ने नीति लिइएको दुनुवारले बताइन् ।

प्रहरी भन्छ– ठूलो जालो छ

प्रहरीले ‘खाजाघर’की सञ्चालिका मुख्य अभियुक्त मनु छन्त्यालविरुद्ध मानव बेचबिखनको मुद्दा दायर गर्ने भएको छ । हाल उनलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले बताए । १५ वर्षमुनिकी किशोरीको हकमा भने जबर्जस्तीकरणी उद्योग गरेको मुद्दा पनि दायर गर्नुपर्ने देखिएको प्रसाईले बताए ।

यो घटनाको अनुसन्धान गर्दा धेरै तथ्यहरु फेला परेको प्रहरीले जनाएको छ । कविता खाजा घरजस्तै गोंगबु बसपार्क र बालाजु क्षेत्रमा जबर्जस्ती यौन कार्यमा लगाउने धन्दाहरु चलेको आशंका प्रहरीको छ । प्रसाईले अरु शंकास्पद ठाउँमा पनि अप्रेसन चलाउन लागिएको अनलाइनखबरलाई बताए ।

उनले भने– यो भनेको आन्तरिक बेचबिखन नै हो । महिला र बालिकालाई डरधम्की र प्रलोभन देखाएर जबर्जस्ती यौनकार्यमा लगाइएको छ । यसलाई हामीले मानव बेचबिखनमात्र होइन, बालिकामाथि बलात्कारको जघन्य अपराधका रुपमा पनि अनुसन्धान अघि बढाएका छौं ।

त्यस दिनका ग्राहकलाई भने खाजाघर सञ्चालिका मनुले भगाएको दक्षिणा र रचनाले बताएका छन् । दक्षिणालाई बलात्कार गर्ने ग्राहक भागेका थिए भने रचनासँग रहेका ग्राहकलाई मनुले आफ्नो भतिजो भन्दै जोगाएको उनीहरुले बताए । प्रहरीले मनुका श्रीमान गोविन्दलाई पनि आरोपीका रुपमा मुद्दा दायर गर्ने बताएको छ ।

डिप्रेसनमा लैजाने यी कहानी

नारकीय जीवनबाट मुक्त भएका दक्षिणा र रचना आफूहरुलाई यौनकर्मी बनाउने अपराधीमाथि कडा कारवाही भएको देख्न चाहान्छन् । अपराधीलाई कानुनले कारवाही गर्ला तर, उनीहरुको भविष्य भने अनिश्चित बनेको छ । छोरीलाई पढाएर सिलाई बुनाइ सिकाउने दक्षिणाको चाहना छ । तर, उनीसँग अब कुनै विकल्प छैनन् ।

अनलाइनखबरकर्मीसँग उनले भनिन्– मेरा आफन्तहरु गाउँदेखि काठमाडौंसम्म छन् । तर, मेरा लागि कोही पनि छैनन् । डिप्रेसनको दबाइ खाएको १५ वर्ष भयो । तर, मलाई जन्म दिने बाबुआमाले पनि के भयो भनेर सोधेनन् । छोरो गाँजा खाएर हिँड्छ, उसले मलाई कहिल्यै पनि बुझेन । सरकारी स्कुलमा ५ कक्षामा पढिरहेकी छोरीको थप पढाइ र उसलाई बचाउने सहयोग भइदिए पुग्छ ।

दक्षिणाले ०६० सालमा बिहे गरिन् । धरान घर भन्थे श्रीमानले । तर, न त घर लगे, न आफन्तहरु चिनाए । ०६४ सालमा पेटमा छोरी ३ महिनाकी हुँदा बैदेशिक रोजगारीमा गएका श्रीमान त्यसपछि कहिल्यै फर्किएनन् । उनको घर खोज्दै जानलाई कोही चिनेकी छैनन् । घर कहाँ भन्ने पनि थाहा छैन । छोराछोरीको जन्मदर्ता पनि छैन ।

अर्कोतिर रचनाको पनि कहानी उस्तै छ । ७ वर्षकी हुँदा आमा बितेपछि उनी ठूलीआमासँग काठमाडौं आइन् । त्यसयता नुवाकोटको गाउँमा फर्किएकी छैनन् । सौतेनी आमासँग फोनमा कुरा हुन्थ्यो । तर, बुबाको अनुहार पनि उनलाई याद छैन । मावलीकै थर पुन मगर राखेकी छन् । अब नागरिकता बनाउने बेला कुन थर राख्ने भन्ने पनि उनलाई थाहा छैन ।

दुबैको कहानी उस्तै छ । दलालले घरमा सरसफाइको काम लाइदिने भनेर गोंगबुको खाजाघरमा छाडिदिए । खाजाघरकी साहुनीले बन्धक बनाएर यौनकार्यमा लगाइन् । दिनमा ३२ जनासम्म ग्राहकलाई सेवा दिँदादिँदै जिन्दगीबाट थाकेपछि भाग्न खोज्दा उल्टै मरणासन्न पारेर कुटिए । १५ र ३७ वर्षीया यी दुई दिदीबहिनीको व्यथा यहाँभन्दा बढी सुन्न पनि सकिन्न ।

आखिर किन गरीव र बेसहारामाथि नै यस्ता दुःखका पहाड खस्छन् ? के यिनीहरुले सम्मानका साथ बाँच्ने समाज कहिल्यै बन्दैन ? अनुत्तरित प्रश्नको भारी बोकेर फर्कियौं हामी ।

अन्लाईन खबरबाट साभार गरिएको 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे