काठमाडौँ, १० पौष । काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै न्युन मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान काठमाडौँको तापक्रम एक डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो बर्षकै न्यून मापन हो । हिजो बुधबार तीन डिग्री सेल्सियस मापन गरिएको थियो । एक दिनकै अन्तरमा तापक्रम २ डिग्रीले घटेको हो ।
आज देशका अन्य भूभागमा पनि तापक्रम घटेको छ । अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ ।
आज पनि त्यसैगरी मध्य, पूर्व र पश्चिमका धेरैजसो पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदलीसमेत हुने महाशाखाको भनाइ छ