February 13, 2018

ओली र प्रचण्ड दुबै सहअध्यक्ष र आलोपालो’ प्रधानमन्त्री बन्ने सहमति

 फाल्गुन १,काठमाडौं । एमाले र माओवादीबीच केही समयदेखि रहेको पार्टी एकताको गाँठो फुकेको छ।पार्टी शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व, वैचारिक विषय र सांगठनिक स्वरूपमा लगभग सहमति जुटेको दुबै पार्टीका नेताले बताए। दुई पार्टीबीच एकता गर्ने सैद्धान्तिक सहमति साढे ४ महिनाअघि नै भए पनि पछिल्लो एक महिनादेखि एकताको विषयमा प्रगति हुन सकेको थिएन।

एकतामा सबैभन्दा ठूलो अड्को नेतृत्वको विषयमा देखिएको थियो।माओवादी केन्द्रले दुई कार्यकारी पद प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक आफूले पाउनु पर्ने अडान लिँदै आएको थियो।अर्कोतिर एमालेले कम्तिमा महाधिवेशनसम्म केपी शर्मा ओली नै प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनु पर्ने सुझाएको थियो।

पछिल्ला केही हप्तादेखि महाधिवेशनसम्म एमालेले केपी ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने प्रस्ताव गर्दै आएको थियो।दुबै पार्टी एक कदम पछि हटेर नेतृत्वको विषयमा सहमति जुटाएका छन्। सहमतिअनुसार महाधिवेशनसम्म केपी ओली र प्रचण्ड दुबैजना सहअध्यक्ष रहनेछन्। माओवादीका एक नेताले प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि भएको बताए।‘दुबै नेता अढाई/अढाई वर्ष प्रधानमन्त्री बन्नुहुनेछ।’ एमाले नेताले प्रचण्ड र ओली पार्टीका सह- अध्यक्ष भएपछि भविश्यमा दुबै जना आलोपालो प्रधानमन्त्री बन्ने स्वभाविक प्रकृया भएको बताए। तर, आलोपालो भनेको आउने पाँच वर्ष भित्र अढाई/अढाई वर्ष बाँढेर दुई जना प्रधानमन्त्री बन्ने सहमति नभएको उनले जिकिर गरे।

पछिल्ला केही दिनदेखि ओली र प्रचण्डबीच भएका छलफल र दुबै नेताले आ–आफ्ना पार्टीका शीर्ष नेताहरूसँग गरेको परामर्शका आधारमा यो सहमति जुटेको दुबै पक्षका नेताले सेतोपाटीलाई जानकारी दिए।

आज पनि ओली र प्रचण्डबीच भेट भएको थियो।पार्टी एकताको अर्को प्रमुख मुद्दा वैचारिक दृष्टिकोणबारे पनि दुई नेताबीच सहमति जुटेको छ। एमालेले अंगिकार गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवादबीच कसरी वैचारिक संश्लेषण गरेर जाने भन्ने दुई पार्टीबीच विवाद थियो।अहिलेलाई जवज र माओवाद दुबैलाई कायम राख्दै महाधिवेशनमा गएर वैचारिक संश्लेषण गर्ने सहमति पनि शीर्ष नेताहरुले गरेका छन्।संगठनका सवाल दुबै पार्टीका केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिलाई समायोजन गरेर एउटै केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समिति बनाउने सहमति भएको छ।

एकीकृत पार्टीका यी माथिल्ला कमिटीमा दुबै पार्टीका कति-कति नेताहरू रहने भन्नेबारे अझै केही छलफल बाँकी रहेको एक एमाले नेताले बताए।‘दुबै पार्टी अध्यक्षहरूबीच भोलि (बिहीबार)  फेरि भेट हुनेछ, पार्टीका माथिल्ला समितिमा दुबैतर्फको प्रतिनिधित्वबारे उहाँहरूले सैद्धान्तिक सहमति जुटाएपछि बाँकी विषय टुंग्याउन बुधबार एकता संयोजन समितिको बैठक बोलाइएको छ,’ ती नेताले भने। बुधबार बस्ने संयोजन समितिको बैठकले भरसक बाँकी सबै विषयमा सहमति जुटाउने नेताहरूले बताएका छन्।

‘कुनै विषय बाँकी रहेमा छरितो कार्यदल बनाएर एक/दुई दिनमै पार्टी एकताको खाका सार्वजनिक गर्ने एक माओवादी नेताले जानकारी दिए।फागुन पहिलो हप्तामै नयाँ सरकार गठन हुने भएकाले पार्टी एकताको खाका पनि त्योअघि नै तयार भइसक्ने पनि उनले बताए।

तेस्रो चरणमा मधेसमा भएको स्थानीय चुनावपछि तीव्र भएको एमाले-माओवादी वार्ताले लगभग एक हप्ताभित्र आकार ग्रहण गरिसकेको थियो।असोज १७ गते दुबै पार्टीले चुनावी तालमेलको घोषणा गरेका थिए।एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच लगातार सात दिन कुराकानी भएपछि दुई नेताबीच प्रतिनिधि र प्रदेश सभामा चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति दसैंअघि नै जुटेको थियो।मिलेर चुनाव लडेका दुबै पार्टीले प्रतिनिधि र राष्ट्रिय सभामा बहुमत ल्याएका छन्। सातमध्ये ६ प्रदेशमा पनि वाम गठबन्धनको बहुमत आएको छ। दुई दलले ६ प्रदेशका मुख्यमन्त्री र सभामुख/उपसभामुख पनि भागबन्डा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका