ओलीको कार्यशैलीले एकताप्रति माओवादी सशंकित ! एमाले भन्छ– २ सय प्रतिशत ढुक्क हुनुस्

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला कार्यशैलीले पार्टी एकताप्रति आशंका व्यक्त गरेको नेकपा माओवादीका नेताहरुले बताएका छन् ।

1662863829Oli-and-Dahal-(1)

सरकारका कामकारवाहीबारे छलफल नगरेको, माओवादी मन्त्रीहरुले सम्हालेका मन्त्रालयमा पनि हस्तक्षेप गरेको, एकताका लागि चुनाव चिन्ह, जनयुद्ध र अनुपातमा आफ्नो अडान कायमै राख्ने तर लचकता नदेखाएको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति माओवादीका नेताहरुले आशंका व्यक्त गरेका हुन् ।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई समेत जानकारी नदिई सचिव सरुवा गरेपछि माओवादी केन्द्रले झनै शंका गरेको छ । यस्ता एकलौटी निर्णयले पार्टी एकतामा नै कठिनाई उत्पन्न हुने उनीहरुको धारणा छ । 

पार्टी एकताको लागि यही २० गते विधान तथा मस्यौदा कार्यदलले प्रारम्भिक विधान तथा मस्यौदा बुझाए पनि एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । मंगलबार बोलाइएको बैठक पनि अन्तिम समयमा स्थगित भएको थियो भने बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वास्थ्यमा केही खराबी देखिएको भन्दै सारिएको थियो ।

तर नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने विवादित भनिएका विषयमा छलफल नै नगरिएको बताउँदै सरकारसँगको विषय एकतामा जोड्न नहुने बताए । उनले पार्टी एकता अब २ सय प्रतिशतले हुनेमा ढुक्क रहन उनले सबैलाई आग्रह गरे ।

“म सबैलाई विश्वस्त हुन आग्रह गर्छु, वैशाख ९ गते नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ । अहिले बाहिर विवादित भनिएका विषयमा छलफल नै हुन पाएका छैनन्,” नेता नेम्वाङले बाह्रखरीसँग भने, “छलफल नै नभएपछि कसरी विवादित भयो ? मलाई अचम्म लागिरहेको छ । कुनै पनि विषयमा हाम्रो विवाद छैन । नेताहरुको व्यस्तताको कारण मात्र बैठक बस्न नसकेकको हो । अन्य कारण केही छैन । पार्टी एकता हुनेमा हामी त २ सय प्रतिशत विश्वस्त छौं । अब कसैले चाहेर पनि रोक्न सकिँदैन ।”

एकताको लागि एमाले र माओवादी केन्द्रबीच प्रारम्भिक विधान तथा प्रतिवेदन तयार भइसके पनि एकीकृत पार्टीको चुनाव चिन्ह, केन्द्रीय समितिको अनुपात र जनयुद्ध लगायतका विषय टुङ्गिन बाँकी  छ ।  त्यसमा चुनाव चिन्ह र जनयुद्धका बारेमा सहमति कायम हुने देखिएपनि एकतामा जाँदा अनुपात कसरी मिलाउने भन्ने विषय थप पेचिलो बनेको माओवादीका नेताहरुले बताएका छन् ।

“जनयुद्ध एमालेले कुनै न कुनै रुपमा स्वीकार गरिसकेको छ, चुनाव चिन्हका विषयमा पनि खासै विवाद छैन तर अनुपात कसरी मिलाउने भन्नेमा केही जटिलता देखिएको छ । पार्टीमा योगदान गरेका व्यक्ति पनि छुट्नुहुँदैन । हामीले त्यसैले बराबरी गरौं भनेका छौं । यसमा एमालेले मानेको छैन,”माओवादी केन्द्रका एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने ।

दुवै दलले यसअघि एकीकृत पार्टीको केन्द्रीय समितिमा २ सय ९९ सदस्य रहने निर्णय भने गरिसकेका छन् । तर, कुन पार्टीको कति संख्या कायम हुने भन्ने टुंगो लागेको छैन ।
यसलाई शीर्ष नेताहरु बसेर टुंगो लगाउने सहमति भएको छ ।

यसले एकता केही दिन पर सर्न सक्ने भए पनि एकतामै असर भने नपार्ने उनको भनाई छ ।

वैशाख ९ मै होला त पार्टी एकता ?

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले आगामी अप्रिल २२ अर्थात वैशाख ९ गते पार्टी एकता गर्ने बताएपनि दुवै दलका केन्द्रीय नेतादेखि कार्यकर्ता भने अझै विश्वस्त भइसकेका छैनन् ।  माओवादी केन्द्रका नेता मणि थापाले पछिल्लो समय सरकारको एकलौटी निर्णयबाट पार्टी सशंकित बनेको भन्दै वैशाख ९ गते पार्टी एकताको घोषणा हुन गाह्रो भएको बताए ।

“सरकारले एकलौटी निर्णय गरिरहेको छ, यो कुरा हामीलाई मन परेको छैन । कम्तिमा मन्त्रीहरुलाई त थाहा दिनुपर्छ । पार्टी नै एक भएर जाने भएपछि प्रधानमन्त्रीले मन्त्रीलाई जानकारी दिँदा के नै विग्रन्थ्यो र ? पार्टी एकताको लागि यो राम्रो सन्देश भएन ।  यो त पूरै तानाशाही प्रवृत्ति भयो । यसले जनतामा नकारात्मक असर पार्छ । हामी÷हामीमा त विश्वास छैन भने जनताले के आधारमा विश्वास गर्ने ? अहिले पार्टी एकताको लागि मुख्य तीन विषय मिल्न बाँकी छ । बैठक बस्न पनि सकेको छैन । यस्ता विषयले एकता केही पर धकेलिन सक्छ ।”

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि तोकिएको सयमभन्दा केही दिन पर धकेलिन सक्ने बताए ।  “केही प्राविधिक कारण सहमति हुन बाँकी विषयमा नेताहरुबीच छलफल हुन पाएको छैन । दुवै दलका नेताहरु व्यस्त हुनुहुन्छ । त्यसैले पार्टी एकता केहीदिन पर धकेलिन सक्छ,” पौडेलले भने ।

माओवादी केन्द्रकी नेतृ एवं प्रवक्ता पम्फा भूसाल भने नेताहरुको व्यस्तताको कारण बैठक बस्न नसकेको बताउँदै वैशाख ९ गते पार्टी एकताको घोषणा हुने बताइन् । “नेताहरुको कार्यव्यस्ताको कारण बैठक बस्न नसकेको हो । बुधबार पनि बैठक बस्ने भनिएको थियो तर हाम्रो पार्टीका अध्यक्ष बिरामी हुनुभयो, त्यसैले बैठक बस्न नसकेको हो, अन्य कारण केही छैन,” उनले भनिन् ।

एमाले ढुक्क 
तर नेकपा एमाले भने एकतामा ढुक्क देखिएको छ । एमालेले अब माओवादी पार्टी एकताबाट पछि फर्किन सक्ने अवस्था नरहेको टिप्पणी गर्दै आएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अब एकतामा आशंका नगर्न सबैसँग आग्रह गरे ।

कोही पनि पछाडि फर्कन नसकिने बताउँदै माओवादी केन्द्रलाई कुनै शंका नगर्न आग्रह पनि गरेको छ । एमाले नेता सुवास नेमाङले वैशाख ९ गते पार्टी एकता हुनेमा कुनै शंका नरहेको बताए ।  उनले सचिव सरुवाको विषयले पार्टी एकतामा कुनै प्रभाव पार्ने दाबी समेत गरे ।

पोखरेल भन्छन्– अब चाँडै टुंग्याउनुपर्छ 

एमाले महासचिव ईश्वर पोखरलेले शुक्रबारसम्म पार्टी एकता संयोजन समितिको बैठक बस्ने दाबी गर्छन् । बाहिर हल्ला गरेजस्तो केही पनि विमती नभएको उनको जिकिर छ । 

“एकदुई दिनभित्रै बैठक बसेर टुंग्याउँछौँ । कार्यदलले सुझाव दिएका विषय एकता संयोजन समितिमा छलफल हुन्छ,” उनले थपे । त्यस्तै उनले दुई अध्यक्षबीच अनौपचारिक संवाद भइरहेको र एकताको आन्तरिक गृहकार्य भइरहेकाले कुनै समस्या नरहेको जिकिर गरे ।

“बुधबार बैठक बस्ने तयारी थियो, प्रचण्डजी अस्वस्थ भएपछि रोकिएको हो, कार्यदलले सुझाव दिएकै मितिमा एकता गर्न बाधा छैन,” उनले भने ।

त्यस्तै एमाले नेता विष्णु पौडेलले पनि एकताको गृहकार्य मिहीन ढंगले भइरहेको बताउँछन् । “छिट्टै एकता संयोजन समितिको बैठक बस्छ र बाँकी विषय टुंग्याउँछ । एकताका लागि दुवै पार्टीका नेताहरूले आन्तरिक गृहकार्य गरिरहनुभएको छ,” उनले भने ।

मधेसवादी पनि सरकारमा आउँछन्

रक्षामन्त्रीसमेत रहेका एमाले महासचिव पोखरेलले मधेसवादी दल सरकारमा आउने विश्वास व्यक्त गरे । संघीय समाजवादी फोरमसँग कुराकानी टुंगिइसकेको र ३ मन्त्रालय बाँकीसमेत रहेकाले फोरम सरकारमा आउने विश्वास उनको थियो ।
“उहाँहरूसँग अनौपचारिक सम्वाद भइरहेको छ । सरकारमा नआउने भन्नु भएको छैन । उहाँहरू आउनुहुन्छ,” उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक